काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने जनाएको छ। अब आउने नयाँ लहरमा बालबालिकाहरु उच्च जोखिममा रहने भन्दै सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि सार्वजनिक रुपमै भनिसकेको छ।
मन्त्रालयले देशभरका सबै अस्पतालहरुलाई कुल बेड संख्याको २० प्रतिशत बेड बालबालिकाका लागि व्यवस्थापन गर्न निर्देशन समेत दिइसकेको छ।
कोरोना भाइरस विरुद्धको खोपको विकास भइसकेको अवस्था छ। नेपालमा पनि कोरोना भाइरस विरुद्धको कोभिसिल्ड र भेरोसेल खोप १८ वर्ष भन्दा माथिकाले मात्र पाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसमम २२ लाख ४४ हजार ६१९ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज पाइसकेका छन्। यस्तै ६ लाख ९१ हजार ४९४ जनाले कोरोना विरुद्धको खोपको दुवै डोज पाइसकेका छन्।
तर खोप पाउने यो जनसंख्यामा १८ वर्ष मुनिका बालबालिकाहरु भने छैनन्। अमेरिकाले १२ वर्ष भन्दा माथि उमेर समुहका बालबालिकाहरुलाई पनि खोप दिन सुरु गरिसकेको छ।
अमेरिका लगायतका विकसित देशहरुले बालबालिकाको लागि पनि उपयुक्त हुने खालको कोरोना विरुद्धको खोप विकास गर्न अध्ययन तथा अनुसन्धानमा लागेका छन्।
नेपालमा जुनसुकै उमेरका व्यक्तिलाई पनि खोप लगाउन बिदेशी मुलुककै भर पर्नुपर्ने अवस्था छ। त्यसले गर्दा पनि नेपालमा बालबालिकाका लागि छिट्टै खोप प्राप्त हुने सम्भावना नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।
बालबालिकाका लागि खोप नभएकाले उनीहरु आगामी दिनमा कोरोना संक्रमणको उच्च जोखिममा रहने डा पौडलेको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले बालबालिकाहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै मन्त्रालयले उपचारात्मक सेवा थप गर्ने तथा विस्तार गर्ने कामको पूर्व तयारीम जुटिसकेको डा पौडेलले जानकारी दिए।
उनका अनुसार अस्पतालहरुमा आइसीयू, एचडीयू तथा भेन्टिलेटर थप गर्दा वा कोरोना महामारीका लागि अस्पतालको अन्य भौतिक पूर्वाधारको विकास गर्दा बालबालिकामैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
यस्तै दातृ निकायहरुबाट प्राप्त हुने स्वास्थ्य सामाग्रीमा पनि बालबालिकाको लागि उपयुक्त हुने किसिमको सहयोग गर्न आग्रह गरिएको डा पौडेलले बताए।
तेस्रो लहरको कोरोना महामारीमा बालबालिका लक्षित स्वास्थ्य तयारी के छ? डा पौडेलको भनाइ जस्ताको जस्तैः
यो भन्दा अगाडिका लहरहरुमा कोभिड–१९ ले विशेषगरी वृद्धवृद्धाहरु, विभिन्न किसिमका दीर्घ रोग भएर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई बढी असर गर्यो।
पहिलो लहरको कोरोना महामारीपछि नेपालमा कोरोनाविरुद्ध खटिएका फ्रन्टलाइनरले दुबै कोरोना विरुद्धको खोप पाउनुभयो। यस्तै वृद्धवृद्धाहरुले पनि खोपको पहिलो डोज भनेपनि प्राप्त गर्नुभयो।
त्यसले गर्दा दोस्रो लहरको संक्रमण ज्येष्ठ नागरिक भन्दा पनि युवाहरुमा बढी देखियो।
विभिन्न देशहरुमा पनि कोरोनाको भेरियन्ट परिवर्तन हुदै जाँदा पहिला जोखिममा नपरेका उमेरका व्यक्तिहरुमा प्रभाव पर्दै गएको देखिएको छ।
हाम्रोमा पनि अब कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भनिएको छ।
हाम्रोमा अहिलेसम्म बालबालिकाहरुले खोप पाएको अवस्था छैन। बालबालिकाहरुका लागि तत्काल खोप उपलब्ध गराउन सक्ने अवस्था पनि छैन। त्यसले गर्दा आगामी दिनमा बालबालिकाहरु बढी जोखिममा हुनसक्छन्।
हिजोआजकै तथ्यांकलाई हेर्दा पनि नेपालमा कुल संक्रमण दरको ८ दशमलब ८ प्रतिशत संक्रमण बालबालिकामा देखिएको छ।
तर हाम्रो देशमा कुल जनसंख्यामा करिब करिब २८–३० प्रतिशत बालबालिकाको संख्या रहेको छ।
बालबालिकाका लागि कोरोना विरुद्धको खोप नभएकाले संक्रमणको अबका लहरमा उनीहरुलाई बढी असर पर्छ भनिएको हो।
त्यसैले अब हामीले यी उमेर समुहका बालबालिकालाई उपचारात्मक सेवा तर्फ लगानी गर्नुपर्ने देखिएको छ।
हालसम्म अस्पताल विस्तार, अक्सिजन प्लान्ट, कन्सन्ट्रेटरमा लगानीहरु गरेका छौं। यो लगानी बालबालिकाहरुका लागि पनि हुन्छ। तर शय्या, भेन्टिलेटरहरु बालबालिकाको तौल र उमेर अनुसार फरक–फरक चाहिने हुन्छ।
भेन्टिलेटरमा हुने ट्युविङहरु, सेटिङहरु बालबालिकाका लागि फरक हुन्छन्। त्यसैले यस्ता पूर्वाधारको तयारी अहिले नै गरेनौं भने भोलि संक्रमणले बालबालिकाहरु बढी प्रभावित हुन्छन्।
अहिले देखि नै उपकरणहरु लिँदा, शय्याहरु छुट्याउदा बालबालिकालाई उपयुक्त हुने गरी २० प्रतिशतको हाराहारीमा तयारी गरौं भनेर लागेका छौं।
अहिले देशभरिका करिब २० वटा अस्पताल, मेडिकल कलेज र ठूला अस्पताल बाहेकमा पनि बालरोग विशेषज्ञ हुन सक्छन्।
हाल देशैभरी ३५० जना बाल रोग विशेषज्ञहरु विभिन्न अस्पतालमा काम गरिरहेका छन्। धेरै ठाउँमा बाल रोग वार्डहरु पनि छन्। काँही–काँही बालबालिकाको लागि एनआइसीयूहरु पनि छ, न्यु बर्न केयर युनिटहरु छन्। तर १४ वर्षमाथिका बालबालिकाहरुका लागि धेरै पूर्वाधार छैन।
यस्तै क्रिटिकल केयर आवश्यक पर्ने बिरामीको उपचारमा संलग्न एनेस्थेसियाका डाक्टरहरु हुनुहुन्छ । तर बालबालिकाको हकमा बाल रोग विशेषज्ञले नै हेर्नुपर्ने अवस्था पनि छ।
अब जहाँजहाँ बाल रोग विशेषज्ञहरु हुनुहुन्छ। त्यो ठाउँमा बालबालिकाको लागि उपचारात्मक पूर्वाधारण थप गर्ने यो नै उपयुक्त समय हो।
अहिले नै तयारी गरियो भने अबको महामारीमा धेरै बालबालिकाहरुलाई बचाउन सकिन्छ।
योसँगै कोरोना महामारीबाट जोगाउन बालबालिकाको लागि पनि बचावटकै कुरा महत्वपूर्ण हो । त्यसैले खोपको विकास भएका देशहरुमा खोपका लागि पनि प्रयासहरु गर्दैछौं।
यस्तै बालबालिकाहरु रहने घर तथा विद्यालयमा अभिभावक र शिक्षकले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउनु पर्छ।
बालबालिकालाई संक्रमणबाटै बचाउन विद्यालयहरु सञ्चालन गर्दा कसरी गर्ने? बालबालिकालाई घर, समाज र विद्यालयमा कसरी सुरक्षित राख्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।
स्वास्थ्य मन्त्रालयले अहिले जोड दिएको कुरा भनेको उपचारात्क सेवामा लगानी गर्दा बालबालिका मैत्री बनाउने र बालबालिकाको बचावटमा घर र विद्यालयमा कसरी जनस्वास्थ्यका उपाय पूर्ण रुपमा पालना गराउने भन्ने विषय पनि हो।
हामीले उपकरण ल्याएर अस्पतालहरुलाई बेड थप गर भनेर मात्र बालबालिकाको उपचार सम्भव हुँदैन। उपकरण र बेडसँगै उनीहरुको लागि उपचार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति पनि महत्वपूर्ण हुन्छ। यसका कारण राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले देशका विभिन्न अस्पतालमा रहेका नर्सिङ स्टाफहरुलाई पेडियाट्रिक नर्सिङ केयर तालिम दिएको छ। यस्तै क्रिटिकल केयरको पनि तालिम लिएका नर्सहरु छन्।
यस्तै देशैभरी रहेका ३५० जना बाल रोग विशेषज्ञलाई पनि अहिले सम्भव भएसम्म क्रिटिकल केयरको तालिममा पनि जोड दिनुपर्ने अवस्था छ।
बालबालिकाको स्वास्थ्य उपचार भनेपछि सबैलाई एउटै खालको पूर्वाधारले हुँदैन। २८ दिनसम्मको नवजात शिशुलाई केयर गर्ने, १ वर्षसम्मको बालबालिकालाई केयर गर्ने र त्यो भन्दा माथिको उमेर समुहका बालबालिकालाई केयर तथा उपचार गर्ने उपकरण तथा दक्ष जनशक्ति फरक –फरक आवश्यक पर्छ।
बालबालिकाको उमेर र विकासक्रम अनुसार तालिमप्राप्त जनशक्ति चाहिन्छ।
यसका लागि कान्ति बाल अस्पतालमा केही जनशक्ति तयार भएका छन्। पाटन अस्पतालमा पनि क्रिटिकल केयरको जनशक्ति तयार पारेको छ। केही विशेषज्ञ चिकित्सकहरु एमडी गरेर क्रिटिकल केयरमा फेलोसिप गरेर आएका जनशक्ति पनि हुनुहुन्छ। उहाँहरुलाई परिचालन गर्ने योजना छ।
नेपाल पेडियाट्रिक सोसाइटिलाई पनि संलग्न गराएर देशभरी बालबालिकाको लागि आवश्यक पर्ने जनशक्ति थप गर्ने योजना छ।
स्वास्थ्य मन्त्रालयले जनशक्ति नियुक्ती गर्न सहज खालको अधिकार पनि दिएको छ। यसले गर्दा आवश्यक नर्स, मेडिकल अफिसर तथा बाल रोग विशेषज्ञ थप गर्न पनि सहज हुने देखिएको छ।
अबका दिनमा बालबालिकालाई जोखिम हुनसक्ने भएकाले बैंकर्स एसोसिएसनले पनि रुची दिएर सहयोग गर्ने भनेको छ। यस्तै हेक्याप ३६० नामक संस्थाले १५० वटा भेन्टिलेटर बालबालिका मैत्री भेन्टिलेटरहरु थप दिँदै हुनुहुन्छ। त्यो पनि ठूलो रिसोर्स हो। यस्तै ५० वटा भेन्टिलेटर आफ्ना साझेदार संस्थालाई उपलब्ध गराउने भन्नुभएको छ। त्यो पनि हाम्रै बालबालिकाका लागि प्रयोगमा आउनेछ। हामी बालबालिकाको उपचारात्मक सेवा र जनशक्तिको तयारीका लागि पनि लागिसकेका छौं।
भिडियो-अनुराग लम्साल