काठमाडौं– त्रिवि शिक्षण अस्पतालको एनेक्स थ्री भवनको ७२३ नम्बर बेडमा ३२ वर्षीय हेमन्त लामिछाने अक्सिजन सपोर्टमा उपचाररत छन्। उनकै छेउमा डबल मास्क लगाएर कुरुवा बसेका छन् दाजु गोकर्ण लामिछाने।
‘हाम्रो समस्याको विषयमा पनि समाचार बनाइदिनुस् न’ क्यामेरा र स्वास्थ्यखबरको कार्ड भिरेको देखेपछि गोकर्णले हामीसँग आग्रह गरे।
‘के समस्या पर्यो तपाईंलाई भन्नुस् न,’ उनको आग्रहपछि हामीले सोध्यौं।
‘सरकारले कोरोनाको निःशुल्क उपचार हुन्छ भन्यो तर भाइको उपचारमा मात्र हाम्रो १० लाख खर्च भयो, अहिले ऋणमा छु,’ उनले दुखेसो गर्दै भने, ‘पहिला सरकारीमा बेड पाइएन, बाध्य भएर निजीमा आउनु पर्यो तर अहिले ऋणको भारी थपियो।’
गत जेठ १५ गते सरकारले गरेको बजेट भाषणमा सबै कोरोना संक्रमितको उपचार निःशुल्क हुने भनिएको छ।
सरकारले उक्त बजेट भाषण अघिपनि कोरोना विशेष अस्पताल भनेर तोकेका अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने भनेको थियो।
तर कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमण उच्च विन्दुमा पुग्दा गत वैशाख र जेठको पहिलो दोस्रो सातासम्ममा अस्पतालहरुमा बेड पाउनै मुस्किल हुने अवस्था आयो।
सरकारी अस्पतालले उक्त समयमा आकस्मिक कक्ष बाहिर नै राखेर उपचार सेवा दिए।
त्यही समयमा सरकारी अस्पतालमा बेड नपाएपछि गोकार्णले बल्लबल्ल निजी अस्पतालमा भाइका लागि बेड पाउन सकेका थिए। सरकारीमा बेड नपाएपछि भाइको जीवन बचाउन बाध्यतावस निजी अस्पताल पुगेका गोकर्णको थाप्लोमा अहिले १० लाख ऋण थपिएको छ।
तर उपचार भने अझै सकिएको छैन। उपचारमा लाखौं ऋण लागेका गोकर्णले सरकारी अस्पतालमा बेड पाउन थालेपछि अहिले भाइलाई निजी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ल्याएका छन्।
१० दिनदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हेमन्तको उपचार खर्च लागेको छैन। तर यसअघि यति अस्पतालमा लागेको खर्चको ऋण कसरी तिर्ने भन्ने चित्ता गोकर्णलाई छ।
‘सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गराउने भनेपनि सरकारीमा बेड नपाएर निजीमा उपचार गराउनुपर्ने बाध्यता भयो,’ गोकर्णले भने, ‘९,१० लाख ऋण लाग्यो, त्यो ऋण कहाँबाट कसरी तिर्ने भनेर तनाव भएको छ।’
उनले सरकारले कोरोना संक्रमितको सम्पर्कमा हुनेलाई पिसिआर परीक्षण नै नगराएको गुनासो पनि गरे।
‘हामी बिरामीको केयरका लागि सँगै बसेका छौं, सबै अस्पतालमा संक्रमितसँगै उनका आफन्तहरु छन् तर कसैले कन्ट्याक ट्रेसिङ गरेको छैन’ उनले भने, ‘भाइको उपचारका लागि म भाइसँगै बसेको छु, मेरो कन्ट्याक ट्रेसिङ, कोरोना परीक्षण केही भएको छैन, आफैंले गरौं भने खर्च थपिन्छ।’