काठमाडौं– खोटाङका ४८ वर्षीय हरि नारायण राईलाई अत्याधिक ज्वरो आयो । उनकी श्रीमति विनिता राईले घरमै भएको सिटामोल खान दिइन्। तर, सिटामोलले ज्वरो कम भएन, रातमा अत्याधिक पसिना आउने, खाना नरुच्ने भएपछि विनिताले श्रीमानलाई घर नजिकैको एउटा क्लिनिकमा लिएर गइन्। क्लिनिकका चिकित्सकले टाइफाइड भएको हुनसक्ने भन्दै ५ दिनका लागि पुग्नेगरी औषधि दिएर घरमै पठाइदिए।
तर ५ दिनसम्म औषधि खाएपनि हरि नारायाणलाई निको भएन। ५ दिनपछि उनीहरु फेरी जचाउन गए।
पिसाब र रगतको जाँच गराए। रिपोर्टमा इन्फेक्सन र मधुमेह भएको देखियो। त्यसपछि क्लिनिकका चिकित्सकले कोरोना संक्रमणको आशंका गर्दै जिल्ला अस्पताल खोटाङमा जान सल्लाह दिए।
जिल्ला अस्पताल खोटाङमा कोरोना परीक्षण गराउँदा जेठ २१ गते रिपोर्ट पोजिटिभ आयो।
जिल्ला अस्पतालमा कोरोनाको रिपोर्ट आउँदासम्म हरि नारायाणको अक्सिजन लेबल ६४ प्रतिशत मात्र थियो। त्यसपछि उनलाई अक्सिजन दिएपछि लेबल बढेर ९२ सम्म पुग्यो।
तर अस्पतालमा अक्सिजन पर्याप्त नभएको भन्दै त्यहाँबाट अन्यत्र लैजान सुझाव दिइयो।
त्यसपछि विनिताले नगरपालिकाका प्रमुख तथा जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगरपालिकाकै गाडीमा शनिबार राती १२ बजे काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइन्।
‘सुरुमा ५ दिनसम्म टाइफाइड भएको होला भनेर औषधि खुवाएर घरमै राखियो,’ विनिताले स्वास्थ्यखबरसँग भनिन्, ‘अक्सिजन कम हुँदै गएपछि जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएर काठमाडौंसम्म ल्याउनुपर्ने अवस्था आयो।’
विनिताले आफ्नो श्रीमानको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको बताइन्।
‘मेरो श्रीमान् अहिले यहाँ आकस्मिक कक्षमा हुनुहुन्छ, यहाँ ल्याएपछि उहाँको स्वास्थ्यमा केही सुधार भएको छ,’ उनले भनिन्, ‘केही दिन ढिला भएपनि अस्पतालमा आइपुगेपछि श्रीमानको स्वास्थ्य अवस्था राम्रो भएको छ। म सबैलाई कोरोनाको लक्षण देखिए घरमै नबसौं समयमै अस्पतालमा आऊ भन्न चाहन्छु।’
हरि नारायण जस्तै काठमाडौं उपत्यका बाहिरबाट रेफर भएर शुक्रराज अस्पतालमा आइपुगेका छन् रौतहटका ५२ वर्षीया पुरुष बाबुलाल श्रेष्ठ।
शुक्रराज अस्पतालको आकस्मिक कक्षको बेडमा उनी अक्सिजन सपोर्टमा उपचाररत छन्।
उनीसँगै छोरी संगीता कुरुवा बसेकी छन्।
‘अझै पनि अवस्था राम्रो भइसकेको छैन,’ संगीताले स्वास्थ्यखबरसँग भनिन्, ‘अक्सिजन लेबल कम नै छ।’
संगीताका अनुसार उनका बुबा बाबुलाललाई पहिलादेखि नै मधुमेह र उच्च रक्तचापको समस्या थियो।
मधुमेह र रक्तचापको समस्या बढेपछि संगीताले बुबालाई स्थानीय अस्पतालमा लगिन्। तर त्यहाँ उपचार सम्भव नभएपछि उनले रौतहटको चन्द्रनिगापुर अस्पताल (निजी अस्पताल) मा लगिन्।
अस्पतालले ८ दिनसम्म भर्ना गरेर उपचार गरेपनि बाबुलाललाई निको हुने संकेत देखिएन।
त्यसपछि अस्पतालका चिकित्सकले वीरगञ्जको नायारणी अस्पतालमा रेफर गरिदिए।
नारायाणी अस्पतालका चिकित्सकहरुले पनि उनको स्वास्थ्यअवस्था गम्भीर भएको भन्दै चितवनमा जान सुझाव दिए। संगीत बुबालाई लिएर चितवन मेडिकल कलेजमा पुगिन्। करिब ५/६ दिनसम्म चितवन मेडिकल कलेजमा उपचार गराउदा पनि बाबुलालको स्वास्थ्य अवस्थामा सुधार भएन। स्वास्थ्यमा सुधार नआएपछि संगीताले बुबालाई काठमाडौं ल्याउने निर्णय गरिन्।अस्पतालका चिकित्सकलाई रेफर गरिदिन आग्रह गरिन्। अस्पतालले रेफर गरिदिएपछि संगीताले बुबालाई लिएर आइतबार बिहान ४ बजे शुक्रराज अस्पतालमा आइन्।
बाबुलाललाई कोरोना संक्रमण पुष्टि भएको करिब १४ दिन भइसकेको छ। संगीताको बुबाको स्वास्थ्य अवस्थामा त्यति धेरै सुधार आइसकेको छैन।
चिकित्सक तथा स्वास्थ्यकर्मीले राम्रोसँग केयर तथा उपचार गरेको भन्दै संगीताले बुबाको स्वास्थ्यमा छिट्टै सुधार हुने आशा राखेकी छन्।
‘त्यहाँ ल्याएपछि डाक्टर नर्सहरुले राम्रोसँग केयर उपचार गर्नुभयो, बुबा पनि खुशी हुनुभएको छ, यहाँ धेरैजना डाक्टर नर्सहरु देखेर,’ संगीताले लामो श्वास फेर्दै भनिन्, ‘तर अहिले पनि अक्सिजन लेबल कम नै छ, निको हुने आशा लिएर यहाँसम्म आइपुगेको छु, छिट्टै निको हुन्छ भन्ने आशा छ।’
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर केही घटेको छ। संक्रमित घट्दै जाँदा अस्पतालहरुमा वैशाख महिनामा जस्तो अस्पतालको प्यासेज तथा कुर्सीमै राखेर बिरामीको उपचार गराउनुपर्ने बाध्यता छैन।
काठमाडौं उपत्यकामा नै संक्रमितको संख्या कम हुँदै गएपनि उपत्यकाका अस्पतालमा बाहिर जिल्लाबाट गम्भीर अवस्थामा रेफर भएर आउने क्रम भने बढ्न थालेको शुक्रराज अस्पतालको आकस्मिक कक्षमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुधिर बानियाँले बताए।
‘अहिलेको अवस्थामा काठमाडौं उपत्यकाका बिरामीको चाप न्युन भएको छ,’ उनले भने, ‘तर गाउँमा आइसोलेसनमा बसेका संक्रमितहरु निमोनिया भएर सिरियस अवस्थामा आउन थालेका छन्।’
उनले गाउँगाउँमा कोरोना संक्रमण फैलिएको हुनसक्ने र संक्रमणले स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्र बिरामीहरु अस्पताल आउन थालेको अस्पतालमा आउने बिरामीको संख्याले देखाइरहेको जानकारी दिए।
‘गाउँगाउँमा रहेका व्यक्तिहरुले कोरोना संक्रमणको लक्षण देखिए समयमै अस्पताल आउनपर्छ,’ उनले भने, ‘अहिले रेफर भएर आएकाहरुको संख्या हेर्दा गाउँमा संक्रमण धेरै फैलिएको अनुमान गर्न सकिन्छ।’
शुक्रराज अस्पतालका कोभिड–१९ फोकल पर्सन डा अनुप बास्तोलाका अनुसार अस्पतालमा आइतबार करिब ८२ जना कोरोना संक्रमित उपचाररत छन्। ती मध्ये २१ जना भेन्टिलेटर सहित गरी २७ जना आइसीयूमा उपचाररत छन्।
केही दिनयता काठमाडौं उपत्यकाकै कोरोना संक्रमितहरु कम भएपनि उपत्यका बाहिरबाट आउने बिरामीको संख्या भने केही बढेको डा बास्तोलाले बताए।
उनका अनुसार अस्पतालमै उपचाररत पुराना संक्रमित र उपत्यका बाहिरबाट गम्भीर अवस्थामा आइपुगेका कोरोना संक्रमितले गर्दा अस्पतालहरुमा अहिले पनि आइसीयू र भेन्टिलेटर भरिएको छ।
‘महामारीको उच्च बिन्दुमा संक्रमित भएका गम्भीर अवस्थाका बिरामीहरु अझैपनि उपचाररत छन्,’ डा बास्तोलाले भने, ‘यस्तै काठमाडौं उपत्यकाबाहिरका जिल्लाहरुमा निमोनिया भएर गम्भीर भएर आएकाले पनि आइसीयू र भेन्टिलेटर भरिएका छन्।’
शुक्रराज अस्पतालमा मात्र होइन काठमाडौंका ठूला सरकारी अस्पताल वीर, पाटन तथा त्रिवि शिक्षण अस्पतालमा पनि काठमाडौं उपत्यकाका कोरोना संक्रमितको संख्या केही कम भएको छ। तर, उपत्यका बाहिरबाट गम्भीर अवस्थाका संक्रमित भने आइरहेका छन्।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार अस्पतालमा कोरोना संक्रमितको संख्या केही कम भएको छ।
अस्पतालमा भर्ना हुने आउने बिरामीले सहज रुपमा अक्सिजन सहितको शय्या पाउन थालेको उनले बताए।
तर आइसीयू र भेन्टिलेटर बेड भने खाली नभएको र अझै पनि आइसीयू भेन्टिलेटर खोज्ने बिरामीहरु सम्पर्कमा आइरहेको जानकारी दिए।
‘अहिले बिरामीको संख्या अलिकति ओरालो लागेको छ, पहिला पहिला बिरामीले अक्सिजन सहितको बेड पाउन मुस्किल थियो, अहिले बिरामीले सहज रुपमा पाइरहेका छन्,’ उनले भने, ‘अहिले काठमाडौं उपत्यका बाहिरबाट धेरै बिरामी आइरहेका छन्, आइसीयू र भेन्टिलेटर पाउन भने अझै पनि गाह्रो नै छ।’
दोस्रो लहरको कोरोना संक्रमणको दर उच्च रहेको अवस्थामा दैनिक ६९ देखि ७० जना संक्रमित भर्ना हुने गरेकोमा हाल दैनिक १५ जना नयाँ बिरामी भर्ना भइरहेको डा बमले जानकारी दिए।
यस्तै डिस्चार्ज हुने बिरामीको संख्या पनि बढ्दै गएको उनको भनाइ छ।
संक्रमणको अहिलेको अवस्था कम नै नभइसकेको भन्दै उनले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना भइरहेमा भने अबको दुई सातामा संक्रमणको दर कम हुँदै जाने अनुमान गरे।
‘कोरोना संक्रमणको दोस्रो लहरबाट मुक्ति पाइने संकेतहरु देखिन थालेको छ, संक्रमण दर घट्न थालेको छ,’ उनले भने, ‘तर, संक्रमणको तेस्रो लहर पनि आउने कुरा छ त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालन गर्नुपर्छ।’
त्रिवि शिक्षण अस्पालमा ३७३ बेड कोरोना संक्रमितका लागि व्यवस्थान गरिएको थियो। संक्रमणको उच्च दर रहेको अवस्थामा वैशाखमा यी सबै बेडहरु पूर्ण रुपमा भरिएको थियो। आइतबार भने १८० जना मात्र संक्रमित उपचाररत रहेको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा सन्त कुमार दासले जानकारी दिए।
डा दासका अनुसार आइतबार १८० जना कोरोना संक्रमित उपचाररत रहेकोमा ५७ जना आइसीयू र २८ जना भेन्टिलेटरमा छन् । आइसोलेसन बेड खाली भएपनि आइसीयू र भेन्टिलेटर बेड भने खाली छैन।
कोरोना युनिफाइड अस्पताल (वीर अस्पताल) का प्रमुख डा जागेश्वर गौतमले पनि वीर अस्पतालमा करिब आधा बिरामी काठमाडौं उपत्यकाका र बाँकी उपत्यकाबाहिरबाट रेफर भएर आएका संक्रमित उपचाररत रहेको जानकारी दिए।
अस्पतालमा २९० बेड कोरोना संक्रमितका लागि छुट्याइएकोमा हाल १२७ जना संक्रमित उपचाररत रहेको र ती मध्ये ३ जना भेन्टिलेटर सहित १५ जना आइसीयूमा उपचाररत छन्।