काठमाडौं - अस्पताल, शैक्षिक संस्था, सार्वजनिक स्थान र मन्दिर छेउछाउमा सूर्तिजन्य पदार्थको बिक्रि वितरण र प्रयोग गर्न पाइँदैन।
‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ ले यसलाई कानून विपरित मान्छ। यही ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्रि वितरण र सेवन गर्न बर्जित गरेको छ। अस्पताल लगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तिजन्य पदार्थको बिक्रि वितरण गर्न नपाइने ऐनमा उल्लेछ।
तर यो ऐन कतै लागू भएको छैन। अस्पतालको छेउछाउमै सूर्तिजन्य पदार्थको खुल्लम खुल्ला बिक्रि हुन्छ। पाटन, वीर, थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतलको परिसरमै यही कानूनको खिल्ली उडिरहेको छ।
सूर्तिजन्य पदार्थको बिक्रि वितरण र प्रयोगको कुरा मात्र नभई सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने कुरा पनि ऐनले बोलेको छ। तर ऐन आएको सात वर्ष पुग्नै लाग्दा पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।
यो ऐन २०६८ सालमा आएपनि २०७१ सालदेखि मात्र लागू भएको हो। सरकारले २०७१ सालमा सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमलूक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका जारी गरेको थियो। तर बजारको करीब ८० प्रतिशत बढी माग धानेको सूर्य नेपालले यसको उल्लंघन गर्दै ७५ प्रतिशत मात्र छाप्दै आएको छ। यति मात्र नभई महिला, बालबालिकालाई बिक्रि वितरणलाई ऐनले रोक लगाएको छ। तर पनि लागू भएको छैन।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि सरकारले बनाएको कानून कागजमै सीमित भएको छ। स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य पदार्थको न्यूनीकरणका लागि भन्दै ऐन त बनायो। तर प्रभावकारी कार्यान्वयन हुन सकेन। ऐन कार्यान्वयन गर्ने निरिक्षक सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको प्रशासकीय अधिकृतलाई तोकिएको छ। तर उनीहरु बीच नै समन्वयको अभाव देखिन्छ।
सरकारले चाहे साता दिनमै ऐन कार्यान्वयन हुन्छ
ऐन कार्यान्वयन र सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि विभिन्न संस्थाहरुले पैरवी गर्दै आइरहेका छन्। जसमध्ये एक रहेको एक्सन नेपालले सम्बन्धित निकायबीच समन्वयको अभावका कारण ऐन कार्यान्वयन हुन सकेको निष्कर्ष निकालेको छ।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्द भन्छन्, ‘सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले ऐन बनायो। तर ऐन कार्यान्वयन गर्न विभिन्न निकायबीच समन्वयको आवश्यकता पर्छ। त्यही समन्वयको अभाव हुँदा ऐन कार्यान्वयन फितलो देखियो।’
सूर्तिजन्य पदार्थमा लगाइने कर, स्टीकर लगाएर कार्यान्वयन गर्ने पाटोमा पनि आन्तरिक राजश्व विभाग उदासिन देखिएको उनी बताउँछन्। सूर्तिजन्य उद्योगको प्रभावका कारण पनि ऐन कार्यान्वयन हुन नसकेको उनले बताए।
ऐन कार्यान्वयनका लागि सरकारलाई चौतर्फी दबाब र्सिजना गर्नुपर्ने बताउँदै उनले भने, ‘ऐनले चुरोट २० खिल्लीको मात्र हुनुपर्छ भनिएको छ। तर २० खिल्लीलाई १० खिल्लीको बनाइएको छ। जति पनि नियम कानून मिचिएको छ, त्यो सबै सूर्य नेपालबाटै मिचिएको छ।’
ऐन कार्यान्वयनका लागि स्थानीय तहको भूमिका हुने उनले बताए। स्थानीय तहका जनप्रतिनिधि अग्रसर भएर लागे ऐनको प्रभावकारी कार्यान्वयन हुने उनी सुनाउँछन्।
‘नगरपालिका वा कुनै स्थानीय तहका प्रतिनिधिले म मेरो क्षेत्रमा यो गरिछाड्छु भन्यो भने नहुने होइन।’ उनले भने, ‘कर्मचारी प्रशासन जागरुक भएर नियम बनाएपछि कार्यान्वयन गर्नैपर्छ भनेर अघि बढ्ने हो भने केही दिनमै लागू हुन्छ।’
द युनियन एसिया प्यासिफिक रिजनका निर्देशक डा तारासिंह बम सरकार कानून कार्यान्वयन तर्फ उत्तरदायित्व हुनुपर्ने बताउँछन्। स्थानीय, प्रदेश र केन्द्रीय सरकारले समन्वयात्मक भूमिका निर्वाह गरी अघि बढे ऐनको प्रभावकारी कार्यान्वयन हुने उनले बताए।
सरकार कानून कार्यान्वयन तर्फ गम्भीर नदेखिएको भन्दै उनले सूर्तिजन्य पदार्थका उद्योगहरुसँगको सम्बन्ध अन्त्य गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘ऐन कार्यान्वयनमा सरकार गम्भीर देखिएन। तीन वटै सरकारबीच समन्वयात्मक सम्बन्ध हुनुपर्छ। साथै सरकारले सूर्तिजन्य पदार्थका उद्योगहरुसँगको सम्बन्ध अन्त्य पनि गर्नुपर्छ।’
स्वास्थ्य मन्त्रालयको एकल प्रयासले सम्भव छैन
यता स्वास्थ्य मन्त्रालय भने सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि पहल गरिरहेको बताउँछ। यद्यपि स्वास्थ्य मन्त्रालयको एक प्रयासले मात्र ऐन कार्यान्वयन संभव नरहेको मन्त्रालयका कानून उपसचिव मानबहादुर बस्नेत बताउँछन्।
‘स्वास्थ्य मन्त्रालयले नियन्त्रण गर्ने, स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावकारी जनचेतना जगाउने हो। ऐन कार्यान्वयनका लागि अर्थ, गृह मन्त्रालयको पनि भूमिका हुन्छ। मन्त्रालयबीच अलि समन्वय हुन नसकेको छैन’ उनले भने।
मन्त्रालय आपसमा मात्र नभई तीन तहका सरकारबीच पनि समन्वयको खाँचो रहेको उनले बताए। संघीय संरचना लागू भइनसकेको अवस्थामा यो ऐन आएकाले हाल संघीय संरचना अनुसार यसलाई लागू गर्न समस्या भएको उनी सुनाउँछन्।
उनले भने, ‘यो ऐन एकात्मक शासन व्यवस्था खालको छ। अहिले तीन तहको सरकारको भूमिका के हुने भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने देखिन्छ।’
ऐन कार्यान्वयनका लागि आफुहरुले कर बढाउन पहल गर्ने गरेको उनले बताए। उनका अनुसार यी तीन कुराहरुबीच समन्वय भए ऐनको प्रभावकारी कार्यान्वयन हुन सक्छ।
एक, राजश्व वृद्धिमा अर्थ मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गनुर्पछ। दोस्रो, गृह मन्त्रालयले भूमिका निर्वाह गर्नुपर्छ र तेस्रो, तीन तहका सरकारबीच समन्वय हुनुपर्छ।
स्वास्थ्य कर कोषमा आउने रकम कहाँ र कसरी खर्च हुन्छ ?
सुर्तिजन्य पदार्थमा लगाइएको करबाट वर्षेनी करिब १६ अर्ब राजश्व संकलन हुने गर्छ। जसमध्ये २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा राख्नुपर्ने ऐनमा उल्लेख छ। १६ अर्बको २५ प्रतिशतले स्वास्थ्य कर कोषमा वर्षेनी ४ अर्ब आउनुपर्नेमा हाल ४० करोड रुपैयाँ मात्र आउने गरेको उनले बताए।
स्वास्थ्य कर कोषमा आउने उक्त ४० करोड रुपैयाँ रकम तीन किसिमले खर्च हुन्छ। ४० करोडमध्ये ७५ प्रतिशत अर्थात् करिब ३० करोड रुपैयाँ क्यान्सर रोगको उपचार, नियन्त्रण र अनुन्धानका लागि अस्पतालहरुमा मन्त्रालयले पठाउने गरेको छ। ती अस्पतालहरुमध्ये पनि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्र २५ करोड रुपैयाँ पठाउने गरेको उनले जानकारी दिए।
बिपी कोइराला सहित भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, शहील गंगालाल ह्रदयरोग केन्द्र, जिपी कोइराला श्वासप्रश्वास अस्पताल, वीर अस्पताल र कान्तिबाल अस्पताललाई पनि रकम उपलब्ध गराइन्छ।
बाँकी २५ प्रतिशतमध्ये १५ प्रतिशत सूर्तिजन्य पदार्थको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम, प्रचारप्रसार र विज्ञापनका लागि प्रयोग गरिने उनले बताए। १० प्रतिशत अर्थात् ४ करोड रकम भने गैरसरकारी संस्थालाई प्रस्ताव आह्वान गर्ने गरेको मन्त्रालयले जनाएको छ।
सुर्तिजन्य पदार्थको सेवन गर्नेमध्ये ५० प्रतिशत बढीलाई मुटु रोग
वर्षेनी बढ्दो नसर्ने रोगको मुख्य कारकमध्ये सूर्तिजन्य पदार्थको प्रयोग एक हो। सूर्तिजन्य पदार्थको प्रयोग गर्नेमा मुटु सम्बन्धी रोग प्रकोप जस्तै देखा परेको छ। ह्रदयघात, मस्तिष्कघातको मुख्य कारण नै सुर्तिजन्य पदार्थ हो।
सूर्तिजन्य पदार्थको प्रयोग गर्नेमध्ये ५० प्रतिशत बढीलाई मुटु रोगको समस्या हुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी बताउँछन्। यसको प्रयोगले प्रयोगले उच्च रक्तचाप बढ्नुका साथै मुटुको धमनीमा समेत असर गर्छ।
उनी भन्छन्, ‘सूर्तिजन्य पदार्थको प्रयोग गर्नेहरुमा मुटु रोग हुने संभावना नखानेलाई भन्दा झण्डै चार गुणा बढी हुन्छ। मृत्यु पनि यसको सेवनहरुमा संभावना बढी हुन्छ।’
लामो समयपछिको सेवनपछि विभिन्न क्यान्सर भएपनि युवाहरुमै ह्रदयघात, उच्च उक्तचापको समस्ष देखिने गरेको उनले बताए। डा रेग्मी सूर्तिजन्य पदार्थलाई मुटुको सबैभन्दा ठुलो शत्रु भन्न रुचाउँछन्।
अर्का मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल युवाहरुले २/३ वटा चुरोट सेवन गरेको केही वर्ष भएपनि ह्रदयघातको जोखिम हुने बताउँछन्। युवाहरुलाई लक्षित गरी सरकारले चुरोट लगायत सूर्तिजन्य पदार्थको प्रयोग घटाउनका लागि कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ। धुम्रपानले सबैभन्दा बढी मुटुलाई असर गर्ने बताउँदै उनले धुम्रपानको सेवनले युवाहरुमा ह्रदयघातको समस्या तिव्र गतिले बढ्दै गएको जानकारी दिए।
उनले भने, ‘सूर्तिजन्य पदार्थको लतमा बढी युवाहरु देखिन्छ। त्यसैले कलिलै उमेरमा पनि ह्रदयघात अनि उच्च रक्तचापको समस्या देखिने गरेको छ। सरकारले अब युवाहरुलाई लक्षित गरी कार्यक्रम ल्याउन आवश्यक छ।’