काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका जनस्वास्थ्य निरीक्षक सुधीर बानियाँ अस्पतालको आकस्मिक कक्षमा ब्यस्त रहन्छन्।
कोरोना संक्रमण भएर आत्तिँदै अस्पतालको आकस्मिक कक्षमा आइपुग्ने बिरामीहरुको स्वास्थ्य जाँचमा खटिन्छन् सुधीर ।
बिरामीको अक्सिजन लेबल हेर्छन्। ब्लड प्रेसरको अवस्था जाँच गर्नछन् र उनीहरुको लक्षण तथा हिस्ट्रीबारे सोधपुछ गर्छन्।
प्रारम्भिक स्वास्थ्यजाँच र बिरामीको अवस्था हेरेपछि बिरामीलाई आकस्मिक कक्षमा अब्जरभेसनमा राख्नुपर्ने वा होम आइसोलेसनमै रहन मिल्छ भन्ने निर्णय गर्छन्। र, सोहीअनुसार बिरामीको व्यवस्थापनमा सहजिकरणमा लाग्ने गर्छन् ।
केही साताअघि शुक्रराज अस्पतालमा बिरामीको अत्यधिक चाप हुँदा अस्पतालका सबै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले बिरामीलाई कुर्सी, टेबल र म्याटमै राखेर उनीहरुको उपचार तथा केयरमा खटिएका थिए।
अस्पतालले बिरामीको चाप धान्नै मुस्किल परिरहेको अवस्थामा बिरामीको केयरमा निरन्तर खटिएका शुक्रराज अस्पतालका स्वास्थ्यकर्मीको टोलीमा सुधीर पनि सरिक थिए।
अस्पतालको बेड समेत खाली नहुँदा पनि कुर्सी, टेबल र म्याटमै राखेर बिरामीहरुलाई अक्सिजन सेपार्ट दिने तथा औषधि उपचार गर्नमा सुधीर पनि २४सै घण्टा खटिए।
अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै गएपछि आफैंले इच्छा देखाएर कोभिडका बिरामीको सेवामा खटिएको सुधीर बताउँछन्।
‘म पहिला रेविजको सेक्सनमा थिए, दोस्रो लहरको संक्रमण तीव्र रुपमा बढेपछि म आकस्मिक सेवामा संक्रमितको स्वास्थ्यजाँच तथा उपचारमा खटिए,’ उनले भने, ‘हाम्रो अस्पतालमा बिरामीको अत्यधिक चाप भएको समयमा १६ दिनसम्म २४सै घण्टा पनि खटिनुप¥यो।’
पीपीई, डलब मास्क र फेससिल्ड लगाएर २४सै घण्टा कोरोना संक्रमितको स्वास्थ्य उपचारमा खटिँदा बिरामीले आफूलाई ‘रोबोट’ जस्ता स्वास्थ्यकर्मी भन्ने गरेको उनले सुनाए।
‘बिरामीको चाप थियो, बेड नभएर अस्तव्यस्त पनि थियो, त्यो समयमा पनि हामी २४सै घण्टा खटियौं,’ उनले भने, ‘हाम्रो खटाइ देखेर बिरामीहरुले ओहो! कस्तो रोबोट जसरी खटिएको भन्ने गर्नुहुन्थ्यो । बिरामीले खुसीका साथ कामको तारिफ गर्दा स्वास्थ्यकर्मी भएकोमा गर्व लाग्थ्यो।’
ड्युटी अवधिभर पानी तथा खाना नखाइ, शौचालय समेत नगइ काम गर्दा पनि मनभित्रको सेवाभावमा कमी नआएको उनले सुनाए।
‘कोरोना संक्रमण देखिएपछि आत्तिएर, डराएर आएका बिरामीलाई हामीले काउन्सिलिङ गरेपछि अलि ढुक्क हुने, स्वास्थ्यकर्मीको निगरानीमा आएपछि अब बाँचिन्छ भन्ने आसा राख्नुहुन्थ्यो,’ उनले भने, ‘जब हामीलाई देखेर बिरामीको मनोबल बढ्थ्यो, त्यो बेलामा हामीलाई पनि आफु २४ घण्टा नै खटिएकोमा दुःख लाग्दैन थियो।’
सुधीर आफूले भोगेको पीपीईको सकस भन्दापनि कोरोना संक्रमणबाट बिरामी परेकाहरुको पीडालाई ठूलो मान्ने गर्छन्।
‘अस्पतालमा बिरामीको अत्याधिक चाप भएको समयमा २४ घण्टा नै पीपीई लगाएर काम गर्न एकदमै गाह्रो भएको थियो। त्यो समय अहिले सम्झिँदा कसरी काम गरिएछ भनेर आफैँलाई अचम्म लाग्छ,’ उनले भने, ‘तर कोरोना संक्रमणले डराएर, त्रसित हुँदै अस्पताल पुग्ने बिरामीको पीडाको तुलनामा हाम्रो पीडा कम हो भन्ने लाग्छ।’
सुधीर अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएपछि घरमा नै जान्छन्। तर, उनी घरपरिवारका सदस्यबाट भने टाढा नै बस्छन्।
कोरोना संक्रमतिको उपचारमा खटिएपछि आफू सधैं संक्रमणको जोखिममा हुने भएकाले परिवारसँग भने दूरी कायम गर्ने गरेको सुधीरले सुनाए।
‘यहाँ ड्युटी सकेर म घरमै जान्छु, तर घरमा छुट्टै कोठामा बस्ने गरेको छु,’ सुधीरले भने, ‘म त रिक्समा हुन्छु त्यसैले परिवारसँग दुरी कायम गरेर बस्ने, खाने गरिरहेको छु।’
कोरोना संक्रमितको उपचारमा निरन्तर खटिएका सुधीरले आजभोली धेरै कोरोना संक्रमितहरु ढिला अस्पतालमा आइपुग्दा उपचार शुरु गर्न नपाउँदै मृत्यु हुने गरेको प्रत्यक्ष देखेका छन्।
यसरी ढिला उपचारमा आउदा संक्रमितको मृत्यु भइरहेको भन्दै सुधीरले कोरोना संक्रमणको लक्षण देखिए वा संक्रमणको आशंका लागे समयमै अस्पताल आउन पनि सबैलाई आग्रह गरे।
‘संक्रमण देखिएर लक्षण देखिएपछि पनि घरमै बस्ने, अवस्था गम्भीर बनेपछि मात्रै अस्पताल आउनेमध्ये धेरैजनाको ज्यान बचाउन सकिँदैन। कति बिरामीको त अस्पताल आइपुग्दानपुग्दै मृत्यु हुने गरेको छ, त्यो अवस्था देख्दा दुःख लाग्छ। समयमै आइदिएको भए हामीले बचाउन सक्ने थियौं कि भन्ने लाग्छ,’ उनले भने, ‘अहिलेको कोभिड दोस्रो सातामा पुगेपछि बिरामी गम्भीर भइहाल्ने देखिएको छ, त्यसैले शुरुवाती अवस्थामै सावधानी अपनाएर अस्पतालमा आउन म आग्रह गर्न चाहन्छु।’
भिडियो– अनुराग लम्साल