काठमाडौं– ‘दिदीलाई होम आइसोलेसनमा राखेको छु, मसँग दुईवटा अक्सिजन सिलिण्डर छ, एउटा घरमा दिदीले अक्सिजन लिइरहनु भएको छ, अर्को यहाँ रिफिलिङका लागि लाइनमा राखेको छु।’
केही दिनअघि बालाजु औद्योगिक क्षेत्रमा रहेको शंकर अक्सिजन ग्यास प्रालिमा भेटिएका एक पुरुषले हामीसँग भनेका थिए।
ती पुरुषजस्तै होम आइसोलेसनमा रहेका बिरामीका लागि अक्सिजन लिन खाली सिलिण्डर लिएर उद्योगमै पुग्नेहरुको भिड थियो।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा आइसोलेसन, एचडीयू तथा आइसीयू बेडको अभाव समेत देखियो। अस्पतालहरुमा बेड अभाव भएपछि धेरै संक्रमितहरु घरमै छन्।
स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने संक्रमित समेत अक्सिजन अभावका कारण घरमा नै आफैं अक्सिजनको व्यवस्थापन गरेर बसेको पाइएको छ।
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका आफन्तहरु उद्योगमै घण्टौंसम्म लाइनम बसेर अक्सिजन लिएर गएको कुराले पनि यसलाई पुष्टि गर्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार बिहीबार देशभर १ लाख १५ हजार ८५२ जना सक्रिय कोरोना संक्रमित छन्। ती मध्ये १ लाख ८ हजार ३८ जना संक्रमित होम आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहेका कतिपय बिरामीहरुलाई उनका आफन्तले अक्सिजन दिएरै राखेका छन्।
तर होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको परामर्शविना अक्सिजन दिँदा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन्।
ह्याम्स अस्पतालका पल्मोनोलोजिष्ट डा राजु पंगेनीले अक्सिजन आवश्यक पर्ने बिरामीलाई विश्व स्वास्थ्य संगठनले नै गम्भीर अवस्था मान्ने भएकाले अक्सिजन आवश्यक पर्ने बिरामीलाई घरमा राख्न नहुने बताए।
‘अक्सिजन चाहिने अवस्था भनेको सिभियर केस हो, अक्सिजन चाहिने कोरोना संक्रमितलाई सिभियर कोभिड भनेर वर्गिकरण गरिएको छ,’ डा पंगेनीले भने, ‘यस्ता बिरामीलाई घरमै राखेर अक्सिजन दिएर मात्र निको हुँदैन, सिभियर बिरामीलाई त अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ।’
उनले आजभोलि अस्पतालमा नै अक्सिजन अभाव भइरहेको घटनाले गर्दा बिरामीहरु अस्पताल नगइ अक्सिजनको व्यवस्थापन गरि घरमै बस्ने गरेको सुनाए।
गम्भीर अवस्थाका कोरोना संक्रमितलाई घरमा अक्सिजन दिएर मात्र निको नहुने डा पंगेनीले बताए।
‘अक्सिजन भनेको कोभिडको विभिन्न उपचार पद्धतीमध्ये एउटा उपाय मात्र हो। अक्सिजन मात्र लिएर कोभिड निमोनिया तथा अन्य जटिलताहरु निको हुदैन,’ डा पंगेनीले भने, ‘अरु औषधि पनि गर्ने र अक्सिजन पनि दिने गर्दा औषधिले काम नगर्दासम्म अक्सिजन सपोर्टिभ उपचार हो। तर अक्सिजन मात्रै दिएर कोभिड निको हुने होइन।’
डा पंगेनीले श्वासप्रस्वासको दीर्घ रोग सीओपिडी तथा दमका बिरामीलाई धेरै अक्सिजन दिँदा कार्वनडाइअक्साइड फोक्सोमै जमेर बसेको र अझै समस्या बढेको अध्ययनहरुले देखाइसकेको समेत बताए।
उनले कोरोना संक्रमितलाई पनि आवश्यकता भन्दा बढी अक्सिजन दिँदा शरीरमा नकारात्मक असर पर्ने बताए।
‘कोभिडका बिरामीलाई पनि आवश्यक पर्ने भन्दा बढी अक्सिजन दिँदा फोक्सोलाई हानी गर्न सक्छ,’ उनले भने, ‘अक्सिजन लेबल ९६ प्रतिशत भन्दा बढी दिएमा हानी गर्ने अध्ययनहरुले देखाएको छ, चाहिने भन्दा बढी अक्सिजन लिँदा फोक्सोलाई झनै हानी गर्छ।’
उनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सक वा स्वास्थ्यकर्मीको निगरानी नहुने हुँदा अक्सिजन आवश्यक पर्ने बिरामीलाई अस्पतालमै लैजान उपयुक्त हुने बताए।
‘कोभिडका बिरामीलाई अक्सिजन दिँदा निगरानी पनि गर्नुपर्छ, अक्सिजनको मात्रा हेरिरहनु पर्छ,’ उनले भने, ‘तर, त्यो निगरानी गर्न नसक्ने व्यक्तिले आफ्नो आफन्तलाई अक्सिजन दिँदा धेरै वा कम अक्सिजन जानसक्छ, जसले गर्दा झनै समस्या बढ्नसक्छ।’
नेपाल प्रहरी अस्पतालका पल्मोनोलोजिष्ट डा मनोज यादवका अनुसार घरमै रहेका सिओपिडी तथा दमका बिरामीलाई चिकित्सकहरुले अक्सिजन सिफारिस गर्ने गरेका छन्। यसरी घरमा नै अक्सिजन दिएर राख्नुपर्ने अवस्थाका दमका बिरामीलाई लो फ्लो मा अक्सिजन दिइन्छ। त्यस्ता बिरामीलाई प्रति मिनेट बढीमा ३ लिटर मात्र अक्सिजन दिए पुग्छ। यस्ता बिरामीलाई २४ सै घण्टा अक्सिजन भने दिनु पर्र्दैन। श्वासप्रश्वासमा कठिनाइ हुँदा वा रातको समयमा मात्र अक्सिजन दिन चिकित्सकहरुले सुझाव दिने गरेका छन्।
दीर्घ दमका बिरामीलाई ‘लङटर्म’ अक्सिजन थेरापीका लागि चिकित्सकले सिफारिस गर्ने गरेको भएपनि आजभोलि होम आइसोलेसनमा रहेका कतिपय कोरोना संक्रमित समेत घरमै अक्सिजन सपोर्टमा बस्न थालेको डा यादवको भनाइ छ।
उनका अनुसार अक्सिजनको कमी भएर श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई तत्काल अक्सिजन सिलिण्डर मार्फत अक्सिजन दिनु राम्रो कुरा हो। तर कोरोना संक्रमितलाई घरमै अक्सिजन मात्र दिएर राखिरहनु भने सहि निर्णय होइन।
‘९३ प्रतिशत भन्दा कम मात्रामा अक्सिजन भएको बिरामीलाई अस्पतालमा आउन भन्छौं र अक्सिजन सपोर्टमा राख्छौं, उनीहरुलाई कति मात्रा अक्सिजन दिँदा लेबल ठिक हुन्छ भनेर निरन्तर निगरानी गरिरहेका हुन्छौं,’ उनले भने, ‘अहिले हामीले सिकिस्त बिरामीलाई भेन्टिलेटरमा भएको अवस्थामा ९० देखि ९२ प्रतिशत भएमा हामी खुसी हुन्छौं। तर घरमै अक्सिजन दिएर मात्र त हुँदैन।’
बिरामीलाई आवश्यकता भन्दा बढी वा कम अक्सिजन दिँदा फोक्सोले काम नै गर्न नसक्ने गरी विग्रन सक्ने डा यादवले बताए।
‘बिरामीलाई चाहिने भन्दा बढी मात्रामा अक्सिजन दिँदा संक्रमितको बिरामी फोक्सोले दिइएको सबै अक्सिजन लिन सक्दैन, र अक्सिजन खेर जान्छ,’ डा यादवले भने, ‘यस्तै बढी मात्राको अक्सिजनले त्यो फोक्सोलाई विस्तारै हानी गर्छ।’
अक्सिजन बढी दिँदा फोक्सोमा मात्र नभइ आँखामा समेत असर पर्ने डा यादवले बताए।
‘फोक्सोको काम वातावरणको हावाबाट अक्सिजन लिएर रगतमा मिसाउने र रगतमा भएको कार्वनडाइअक्साइड बाहिर फाल्ने हो, धेरै मात्रामा अक्सिजन दिँदा यो दुवै काम बिग्रिन्छ,’ उनले भने, ‘‘बिरामीलाई चाहिने भन्दा बढी अक्सिजन दिँदा फोक्सोमा नकारात्मक असर गर्छ नै यसले बिरामीको आँखामा अन्धोपनको समस्या समेत निम्तिन सक्छ।’
डा यादवले कोरोना संक्रमितलाई चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श बिना घरमै अक्सिजन दिएर राख्न नहुने बताए।
‘घरमै अक्सिजन दिँदा पल्स अक्सिमिटरले अक्सिजनको मात्रा हेरिरहनुपर्छ र सोही अनुसार अक्सिजन दिनुपर्ने हुन्छ, अक्सिजन कति दिने भन्ने हेर्नुपर्छ,’ उनले भने, ‘सामान्य व्यक्तिलाई यो विषयमा जानकारी नहुन सक्छ, त्यसैले स्वास्थ्यकर्मीको निगरानी वा परामर्श बिना घरमै अक्सिजन दिन उपयुक्त हुँदैन।’