काठमाडौं– ‘मेरो ड्युटी त अहिले सातै दिन, २४सै घण्टा छ। अस्पतालमा फिजिसिएन म मात्र छु’ डा सुनिल शर्मा आचार्यले हाँस्दै भने।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आउने कोरोना संक्रमित गर्भवती, सुत्केरी तथा अन्य महिलाहरुको उपचारमा खटिएका डा आचार्य २४ सै घण्टा खटिन पर्दा दुखी भने छैनन्।
‘श्वास फेर्न सकस भएर आएका कोरोना संक्रमित महिलाहरुलाई उपचारपछि निको पारेर मुस्कान सहित घर पठाउन पाउँदा २४ घण्टा काम गरेको छु भनेर दुःख लाग्दैन, बरु गर्व महशुस हुन्छ,’ डा आचार्यले भने, ‘यसरी नै बिरामीको सेवा गर्न नै त डाक्टर बनेको हुँ।’
डा आचार्य थापाथलीमा रहेको प्रसूति गृहको कोभिड आइसोलेसन, आइसीयू र कुपन्डोलमा रहेको एचडीयू सबै वार्डमा रहेका कोरोना संक्रमितको स्वास्थ्य उपचार तथा परामर्श दिन व्यस्त रहन्छन्।
महामारीको समयमा प्रसूति गृहले कोभिड र ननकोभिड गर्भवती, सुत्केरी तथा अन्य महिलाहरुलाई दिइरहेको स्वास्थ्य सेवाको अवस्थाबारे बुझ्न स्वास्थ्यखबरको टोली त्यहाँ पुगेको थियो।
अस्पतालका एक्ला फिजिसियन डाक्टर आचार्य थापाथलीमा रहेका संक्रमितहरुको अवस्था जाँच गरेर कुपन्डोलमा रहेको एचडीयूमा रहेका बिरामीको स्वास्थ्य जाँच गर्न दिउँसो ४ बजेतिर पुगेका थिए।
बिहान ७ बजेदेखि नै ड्युटीमा खटिएका उनको अनुहारमा थकान देखिन्थ्यो। तर बिरामीको अगाडी उनी सकेसम्म आफूलाई नथाकेको देखाउने पर्यात्नमा लागेका थिए।
२४ सै घण्टा कोरोना संक्रमितको सेवामा खटिँदा आफूलाई पनि कोरोना सरिहाल्छ कि भन्ने डर भने उनको मनमा पनि छ।
‘कोरोना लागि पो हाल्छ कि भन्ने डर त लाग्छ,’ उनले भने, ‘कोरोना लागेर लक्षण देखियो र आफैँ थला परियो भने यहाँ त अरु बिरामी हेर्ने डाक्टर अभाव हुन्छन् कि भन्ने डरले बढी सताउँछ।’
उनी आफ्नो परिवारसँग टाढा रहेर अस्पतालमै बसेर बिरामीको स्वास्थ्य उपचारमा खटिएका छन्।
‘घरबाट परिवारले पनि फोन गर्नुहुन्छ, जोगिएर काम गर्नु भन्नुहुन्छ, सपोर्ट नै गर्नुहुन्छ,’ डा आचार्यले भने, ‘परिवारले यही कामको लागि त डाक्टर बनाएको हो, महामारीको समयमा आफ्नो पेसाबाट हामी भाग्न मिल्दैन। डराउन हुँदैन।’
हामीसँग केही समय कुराकानी गरेपछि उनी पिपिइ लगाएर एचडीयुमा रहेका बिरामीको स्वास्थ्य जाँच गर्न निस्किए।
कोरोना संक्रमितको उपचारका लागि प्रसूति गृहले कुपन्डोलमा रहेको नयाँ भवनमा ५० बेडको एचडीयू सञ्चालनमा ल्याएको छ। त्यहा अक्सिजन सपोर्टमा उपचार गर्नुपर्ने कोरोना संक्रमित महिलाहरुलाई भर्ना गरिएको छ।

सोही वार्डमा ड्युटीमा रहेकी नर्स रजनी देउलाले एचडीयूमा आएका कोरोना संक्रमित महिलाहरु धेरैजस्तो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पतालबाट रेफर भएको बताइन्।
कोरोना संक्रमितको उपचारमा खटिँदा डर लाग्ने गरेको भएपनि उनले आफ्नो डरलाई नियन्त्रणमा राखेर बिरामीको सेवामा खटिएको सुनाइन्।
‘अहिलेको कोरोना अलि संक्रामक छ, ड्युटीमा खटिँदा कोरोना लाग्छ कि भन्ने डर त मनमा हुन्छ,’ उनले भनिन्, ‘तर हामी बिरामीको केयर गर्न नै नर्सिङ पढेको हो। यो महामारीमा खटिनु पर्छ भन्ने लाग्छ।’
एचडीयूमा कोरोना संक्रमितको उपचारमा खटिएका डा दिपक झा लगायतका चिकित्सक तथा नर्सहरु बिरामीको स्वास्थ्य जाँचमा व्यस्त थिए।
डा झाले आफ्नो सुरक्षाका लागि सावधानी अपनाएर नै ड्युटीमा खटिएको बताए।
‘अस्पतालले हामीलाई जस्तो छ त्यस्तै गरी हाम्रो सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउनु भएको छ,’ उनले भने, ‘बिरामीको उपचारमा खटिँदा हामी ट्रिपल गाउन, पञ्जा लगाएर खटिएका हुन्छौं।’
प्रसूति गृहको कुपन्डोलको नयाँ भवनमा मात्र होइन। थापाथलीमा पनि कोरोना संक्रमितका लागि आइसोलेसन र आइसीयू बेड व्यवस्थापन गरिएको छ।
कोरोना संक्रमितका लागि छुट्याइएको वार्डमा एकजना नर्स बिरामी डिस्चार्ज गर्ने तयारीमा थिइन्।
‘तपाईंको बिरामीलाई अहिले ठिक छ, अब डिस्चार्ज गरिदिन्छौं, यो औषधिहरु घरमा पनि खान दिनुस्। बच्चालाई आमाको दुध खुवाउन दिँदा कोरोना सर्दैन। सुरक्षित भएर मास्क, भाइजर लगाएर खुवाउन लगाउनुस्। ज्वरो आयो वा अन्य समस्या भयो भने आकस्मिक कक्षमा आउनुस् है’ ती नर्सले कोरोना संक्रमित सुत्केरी महिलाको आफन्तलाई सुझाब दिइन्।
वार्डकी इन्चार्ज सावित्री दाहालले कोरोना संक्रमणमा खटिएको धेरै समय भइसकेकाले आजभोलि बिरामीको केयर गर्दा डर लाग्न छाडेको बताइन्।
‘अघिल्लो पटक त बिरामीको नजिक जानै डर लाग्थ्यो,’ उनले भनिन्, ‘धेरै भयो ड्युटीमा खटिएको आजभोलि पहिलाजस्तो डर त लाग्दैन।’
उनले वार्डमा रहेका कोरोना संक्रमित सुत्केरी महिलाका नवजात शिशुहरुलाई संक्रमित आमासँगै राख्ने गरेको सुनाइन्।
संक्रमित आमाहरुलाई मास्क र भाइजर लगाउन लगाएर नवजात शिशुलाई स्तनपान गराउन लगाइएको उनले सुनाइन्।

‘आमाको दुधबाट कोरोना सर्दैन भनिएको छ, त्यसैले यहाँ रहेका संक्रमित सुत्केरीसँगै नवजात शिशुलाई राख्न दिएका छौं, सुत्केरी आमाले शिशुलाई स्तनपान गराउनुहुन्छ, केयर गर्नुहुन्छ,’ उनले भनिन्, ‘हामी ती सुत्केरी तथा अन्य गर्भवती महिलाहरुको केयर गर्छौं।’
उनले बिरामीहरु आत्तिएर आउँदा ‘आफू पनि पहिला कोरोना संक्रमण भएको र अहिले निको भएपछि ड्युटीमा खटिएको’ सुनाउने गरेको बताइन्।
‘कोरोना लागेका महिलाहरु आत्तिएका हुन्छन्, त्यो अवस्थामा हामीले उहाँहरुलाई परामर्श पनि दिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘म आफैँ पनि पहिला संक्रमित भएको थिए, आत्तिएका बिरामीलाई सम्झाउन मैले आफु संक्रमित भएर निको भएको कुरा पनि उहाँहरुलाई बताउँछु।’
अस्पतालकी निर्देशक डा संगीता मिश्राले कोरोना संक्रमित कुनै पनि महिलाहरु अस्पतालमा आएपछि उपचार नपाएर फर्किनुपर्ने अवस्था नरहेको जानकारी दिइन्।
अस्पतालमा आउने गर्भवती, सुत्केरी तथा अन्य महिलाहरुलाई सुरुमा आकस्मिक कक्षमा राखिने र त्यहाँबाट कोरोना संक्रमण छ वा छैन पहिचान गरी संक्रमित भएकालाई कोभिड वार्ड र नभएकालाई अन्य वार्डमा भर्ना गरिँदै आएको डा मिश्राको भनाइ छ।
‘कोभिड संक्रमित गर्भवती र सुत्केरीको उपचार त हाम्रो जिम्मेवारी नै हो, अहिले कोभिड र ननकोभिड दुवै सेवा सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘कोभिड र ननकोभिड गर्भवतीलाई प्रसूति गराउन, डेलिभरी रुम र अप्रेसन थिएटर पनि छुट्टाछुट्टै बनाइएको छ।’
डा मिश्राका अनुसार अस्पतालमा हाल दैनिक २ सयभन्दा बढी बिरामीहरु ओपिडीमा आइरहेका छन्। यस्तै प्रतिदिन ६० देखि ८० जना बिरामी भर्ना भएर सेवा लिइरहेका छन्।
अस्पतालमा दैनिक ४० जना नर्मल डेलिभरी र २२ जनाको अप्रेसन गरी सुत्केरी गराइएको डा मिश्राको भनाइ छ।
उनले कोरोना संक्रमित गर्भवती तथा सुत्केरीका लागि थापाथलिमा ३० बेडको कोभिड वार्ड, ५ बेडको आइसीयू र कुपन्डोलमा रहेको भवनमा ५० बेडको एचडीयू सञ्चालन भइरहेको डा मिश्राको भनाइ छ।
उनका अनुसार कोभिड बिरामीको उपचारमा खटिएका कर्मचारीलाई अस्पतालमा आवासको व्यवस्था गरिएको छ।
भिडियो: निमेष जंग राई