काठमाडौं– ‘यता आउनुस् न मलाई बोल्न मन छ। म पनि केही सन्देश दिन्छु,’ नेपाल प्रहरी अस्पतालको आइसीयूमा उपचाररत दुर्गा आचार्यले हामीलाई देख्ने बित्तिकै उत्साहित हुँदै बोलाइन्।
‘अक्सिजन सपोर्टमा हुनुहुन्छ, बोल्दा गाह्रो हुन्छ होला। हामी तपाईंको कुरुवासँग बोल्छौं नि हुन्छ?’ आइसीयूमा उपचाररत बिरामीलाई बोल्दा स्वास्थ्य अवस्था बिग्रिन सक्ने भएकाले हामीले सम्झायौं।
‘यहाँ आएपछि त म धेरै ठिक भइसकेँ, बोल्न सक्छु’ आचार्यले हातै जोडेर आफ्नो कुरा सुनिदिन आग्रह गरिन्।
आइसीयूमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र आचार्यको आफन्तले पनि कुराकानी गर्न सक्ने अवस्थामा रहेको जानकारी दिदैं कुराकानी गर्न सहमति जनाएपछि हामीले उनीसँग कुराकानी गर्यौं।
‘मलाई कोरोना पोजिटिभ भएर १० दिनअघि गाह्रो भएको थियो, एक सातादेखि पुलिस अस्पतालमा छु, म त मर्न लागिसकेको मान्छे, यहाँ आएर उपचार पाएपछि बाँचे,’ आचार्यले खुशी हुँदै भनिन्, ‘यहाँका नर्स, चिकित्सक, सबैले धेरै राम्रो उपचार गर्नुभयो। अब त मलाई धेरै ठिक भइसक्यो।’
अक्सिजन सपोर्टमै बेडमा बसेकी आचार्यले आफ्नो कुरा राखेपछि अस्पतालका सबै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई दोहोर्याएरै धन्यवाद भनिन्।
कोरोना संक्रमण भएपछि अस्पतालमा बेड पाइदैन कि भन्ने डरले घरमै बस्न नहुने उनले बताइन्।
‘अहिले धेरैजना अस्पतालमा राम्रो उपचार हुँदैन, आफन्तको मुख देख्न पनि पाइदैन कि भन्ने डरले घरमै बस्ने गर्नुभएको छ,’ उनले भनिन्, ‘अस्पतालमा राम्रो उपचार हुन्छ, आफन्तहरुले सँगै बसेर हेरचाह गर्न पनि पाउनुहुन्छ, घरमै डराएर नबसौं भन्न चाहन्छु।’
यस्तो छ उनको सन्देश
यहाँको सिस्टरहरुले मलाई धेरै केयर गरेर सुधार गराइदिनु भएको छ। अहिले मलाई आशा जागेको छ-अब म बाँच्ने छु। म यो सन्देश दिन चाहन्छु, कोभिड भयो भनेर डराएर घरभित्र लुकेर नबसौं, समयमै अस्पतालमा आऊँ। समयमै अस्पतालमा आउँदा निको हुन्छ।
म यहाँ आएपछि धेरै रिकभर भएको छु, म घरमा हुँदा १० दिनसम्म सुत्नपनि सकेको थिइन। खान पनि सकेको थिइन। यहाँ आएको एकसाता भयो। अहिले आफैंले खान पनि सक्छु। यसरी बोल्न सक्छु। अहिले अक्सिजन लेबल पनि बढेको छ। म त मर्न लागिसकेको मान्छे। मेरो अवस्था नाजुक भइसकेको थियो। यहाँ आएर म ठिक हुन लागेको छु। म आइजी साब, डिइआइजि, डा आशा, डा विनोद, डा अच्यूत, यहाँका नर्सहरु, अन्य सहयोगीहरु सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
यहाँ उपचाररत सबैलाई निको होस्। म मर्न लागेको मान्छे बाँचे त्यसैले कोरोना लागेमा अस्पतालमा आउनुस्। नआत्तिनुस् नडराउनुस्। कोरोना हुँदा किन डराउने? यो त रोग हो अस्पतालमा आएपछि उपचार पाइन्छ। रोगसँग हामीले लड्नुपर्छ।
००
महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापनको अवस्थाबारे बुझ्न आइतबार स्वास्थ्यखबरको टोली अस्पतालको आइसोलेसन, एचडीयू तथा आइसीयू वार्डहरुमै पुगेका थियौं।
स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाउँदै हामी त्यहाँ पुगेका थियौँ।
अस्पतालकी एक नर्सले हामीलाई कोरोना संक्रमितको उपचार भइरहेको सबै वार्डहरु देखाइन्।
अस्पतालमा उपचाररत कोरोना संक्रमितको हेरचाहका लागि कुरुवाहरुलाई पनि बिरामीसँगै रहन पाउने व्यवस्था गरिएको रहेछ।
तर, कोरोना संक्रमितको हेरचाहका लागि आइसोलेसन, एचडियु तथा आइसीयूमा बस्ने कुरुवाहरुले आफैंले पिपिइ व्यवस्थापन गरी अनिवार्य पिपिइ लगाउनुपर्ने नियम बनाएको छ।
पिपिइ लगाएरै कोरोना संक्रमित आफ्ना आफन्तलाई खाना खुवाउन तथा आफैंले हेरचाह गर्न पाउँदा कोरोना संक्रमितका कुरुवाहरु खुशी थिए।
बिरामीसँगै रहेकी कुरुवा अस्मिता गुरुङले नर्सहरुले मात्र केयर गर्न नभ्याउने भएकाले आफैं खटिएर आफ्नो आफन्तको हेरचाह गरिरहेको सुनाइन्।
‘आइसीयूमा लगेपछि त देख्न पनि पाइँदैन कि भन्ने डर लागेको थियो, तर पिपिइ लगाएपछि आउन पाइयो,’ उनले भनिन्, ‘यसरी बस्दा बिरामीलाई पनि खुशी लाग्छ, उहाँको आत्मबल बढ्छ, हामीले केयर गर्न पनि पाउछौं। आफ्नो सुरक्षाको लागि पिपिइ लगाउनु नराम्रो कुरा पनि त होइन।’
कोरोना संक्रमण भएर आइसीयूमा पुग्नुपर्ने अवस्था भने नराम्रो अनुभव भएको गुरुङ सुनाइन्।
‘यसरी कोरोना संक्रमण भएर आइसीयूमा पुग्नु एकदमै नराम्रो अनुवभ हो,’ उनले भनिन्, ‘यस्तो अनुभव कसैले भोग्न नपरोस् भन्ने कामना गरिरहेको छु।’
आइसीयू कक्षमा पिपिइ लगाएकी एकजना स्वास्थ्यकर्मी खरबुजा, चिया र बिस्कुट लिएर आइन्। बेडको छेऊमा पिपिइ लगाएर बसेका संक्रमितका कुरुवाले आफन्तहरुलाई चिया, बिस्कुट र खरबुजा खुवाउन थाले।
खरबुजा देख्ने बित्तिकै आइसियूमा रहेकी एक महिलाले खान चाहेको कुरा हातले इसारा गरिन्। बिरामी कुरुवा र एक नर्सले ती महिलालाई खरबुजा खान दिइन्। खरबुजा आफ्नो हातमा पाउने बित्तिकै उनी खुशी भइन् र हतार हतार खान लागिन्।
केही मात्रामा खाएपछि नर्सले उनको मुखमा फेरी अक्सिजन मास्क लगाइदिन्। केही समय पछि नर्सले अक्सिजन मास्क खोलिदिइन् ती बिरामीले फेरी खरबुजा खाइन्।
बिरामी कुरुवा र नर्स मिलेर उनलाई बेला बेलामा खरबुजा खुवाउने र अक्सिजन मास्क लगाउने गरिरहे। खरबुजा सकिएपछि ती बिरामीलाई नर्सले अक्सिजन मास्क लगाइदिन्। उनी बेडमा सुतिन्।
पिपिइ लगाएर आफन्तले नै हेरचाह गर्दा र खाना खान दिँदा आत्मबल बढेको संक्रमितहरुले बताए। उनीहरुले भने, ‘आत्मबल बढेको छ, अब कोरोना जितिन्छ।’
संक्रमितका कुरुवालाई नै पिपिइ लगाएर हेरचाहमा खटाउँदा संक्रमितको आत्मबल बढ्ने हुँदा मञ्जुरीनामामा हस्ताक्षर गरेर भित्र जान दिइएको अस्पतालले जनाएको छ।
कोरोना संक्रमितको उपचार तथा केयरमा आइसीयूमा खटिरहेकी थिइन् अर्की नर्स हिमाला रिमाल।
पछिल्लो समय युवाहरु पनि कोरोना संक्रमणले गम्भीर अवस्थामा पुग्ने र मृत्यु हुने क्रम बढिरहेको रिमालले सुनाइन्।
‘कोरोनाले गम्भीर अवस्थामा पुगेर आइसीयूमा आएका भाइहरु एकैछिन अघि बोलिरहेका हुन्छ, एकैछिनमा दिदी मलाई गाह्रो भयो भन्छन्, हामीले केयर गर्दागर्दै पनि एकदैछिनमा उहाँहरुको मृत्यु हुन्छ,’ रिमालले दुखी हुदै भनिन्, ‘अहिलेको कोरोना अलि डरलाग्दो छ, बोलिरहेका युवाहरुको एकैछिनमा मृत्यु भइरहेको हुन्छ।’
उनले अस्पतालमा कोरोना संक्रमितको उपचार तथा केयरमा खटिँदा डर नलाग्ने गरेको भएपछि घर–परिवार र बालबच्चाको नजिक जाँदा भने डर लाग्ने गरेको सुनाइन्।
‘यहाँ बिरामीको केयरमा खटिँदा त खाँसै डर लाग्दैन, तर घर जाँदा तीनवर्षको बच्चा र बुवाआमाको नजिक पर्न भने डरलाग्छ, कतै आफूपनि संक्रमित छु कि भनेर,’ उनले भनिन्, ‘ठूलो मान्छेसँग टाढा बसेपनि बच्चाले बुझ्दैनन्, मम्मि भन्दै अंगालो हाल्न आइपुग्छ। त्यो बेलामा अलि झस्किन्छु।’
आइसीयू वार्डभन्दा तल्लो तलामा रहेको एचडीयू वार्डमा पिपिइ लगाएर वार्डमा रहेका बिरामीको अक्सिजन मास्क मिलाउदै थिइन्, नर्स लक्ष्मी भण्डारी।
पिपिइ, मास्क र भाइजर भित्र अलिकति मात्र देखिएको उनको आँखा र निधारको भागमा पसिना निस्किरहेको हामीले प्रत्यक्ष देख्यौं।
‘यसरी कतिसमय सम्म काम गर्नुपर्छ? गाह्रो महशुस हुदैन?’ हामीले साध्यौं।
‘गाह्रोको त कुनै नगरौं ट्रिपल मास्क लगाउँदा, पिपिइ लगाउँदा पसिना आएर उकुसमुकुस हुन्छ, पसिना पुछ्न मिल्दैन। ७, ८ घण्टासम्म त पसिनाले भिजिसकेका हुन्छौं,’ उनी अलिकति मुस्कुराइन् र भनिन्, ‘हामीलाई भन्दा गाह्रो त कोरोनाले जटिल अवस्थामा पुगेका बिरामीहरुलाई छ, त्यसैले हामी हाम्रो असहजतालाई भुलेर बिरामीलाई कसरी सहज गराउने भन्नेतिर ध्यान दिन्छौं।’
अस्पतालका रेडियोलोजिष्ट डा केदार खड्कीले अहिले कोरोना संक्रमण हुनेमा छिट्टै जटिल अवस्थामा पुग्ने गरेको सुनाए ।
अहिले देशलाई नै संकट परिरहेकाले कोरोना संक्रमण फैलिन नदिन घरमै सुरक्षित भएर बस्न सबैलाई आग्रह गरे।
‘अहिले संक्रमणको अवस्था धान्न सरकारलाई गाह्रो परेको छ,’ उनले भने, ‘आकस्मिक सेवा लिन आउने अघिकांश बिरामीहरु गम्भीर अवस्थामा आइपुगेका छन्, यो कोरोना संक्रमणको दर कम गर्न घरबाहिर ननिस्किनुस्।’
अस्पतालका पल्मोनोलोष्टि तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर मनोज यादवका अनुसार नेपाल प्रहरी अस्पतालले सबै नेपाल प्रहरी तथा उनका परिवारका सदस्यहरुलाई विशेष व्यवस्थाका साथ उपचार गर्ने गर्छ।
कोरोना महामारीको समयमा आम सर्वसाधारणलाई पनि प्रहरी र उनका परिवारका सदस्यलाई जस्तै उपचार र केयर गरिएको डा यादवको भनाइ छ।
नेपालमा देखिएको दोस्रो लहरको कोरोना संक्रमण पहिलाको तुलनामा संक्रामक रहेको डा यादवले बताए।
‘अहिलेको संक्रमण पहिलाको जस्तो छैन, आज आकस्मिकमा आएका बिरामी आइसोलेसनमा भर्ना हुन्छ, भोलिपल्ट सम्म त उसलाई आइसीयू, भेन्टिलेटर नै चाहिन्छ,’ उनल भने, ‘अहिले संक्रमण भएपछि धेरैजस्तो बिरामीको फोक्सोमा असर पर्ने र सिकिस्त भइहाल्ने गरेको पाइन्छ।’
अस्पतालकी मेडिकल डाइरेक्टर डा आशा सिंहले पछिल्लो समय कोरोना संक्रमितको चाप बढ्दै गएकाले आकस्मिक सेवा र आकस्मिक अप्रेसनको सेवा बाहेक अन्यका ननकोभिड सेवा बन्द गरिएको सुनाइन्।
अस्पतालमा कोभिड इमर्जेन्सी, आइसोलेसन, एचडीयू र आइसीयू गरी २६० वटा बेड छुट्याइएको डा सिंहले जानकारी दिइन्।
‘हामीसँग कोरोनाका बिरामीको उपचारका लागि जनरल बेड १८०, एचडीयू ५०, भेन्टिलेटर सहितको आइसीयू बेड २० र आइसीयू बेड १० वटा छ,’ उनले भनिन्, ‘हामीले अहिलेसम्म ३ हजार ६४ जनालाई उपचार सेवा दिइसकेका छौं, ती मध्ये अहिलेसम्म ५५ जना संक्रमितको मृत्यु भयो।’
डा सिंहले अस्पतालमा उपचाररत सबै संक्रमितलाई खानाको व्यवस्थापन गरिएको सुनाइन् ।
उनका अनुसार नेपाल प्रहरीमा आवद्ध व्यक्तिहरुका लागि रेमडिसिभिर लगायत सबै किसिमको औषधि उपचार निशुल्क गरिएको छ।
उनले औषधि अभावको समयमा भने सर्वसाधारण र प्रहरीका परिवारलाई रेमडिसिभिर औषधि बिरामीले खरिद गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिइन्।
डा सिंहका अनुसार अस्पतालका सबै चिकित्सक, नर्स, पारामेडिक्स् लगायत सबै स्वास्थ्यकर्मीलाई तीनवटा समुहमा विभाजन गरि ड्युटीमा खटाइएको छ।
हरेक ५ दिनसम्म ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनमा पठाउने गरी रोटेसन मिलाइएको डा सिंहको भनाइ छ।
उनले कोरोना संक्रमितको उपचारमा खटिने डाक्टर तथा नर्सलाई अस्पतालमै बस्ने व्यवस्था गरिएको पनि जानकारी दिइन्।
अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएपनि अस्पतालको प्लान्टले धान्न नसक्ने भएकाले अक्सिजनको माग धान्न गाह्रो भएको सुनाइन्।
‘अहिले हामीलाई अक्सिजनको व्यवस्थापन गर्न गाह्रो भइरहेको छ, करिब १० दिनदेखि दिनहुँजस्तो अक्सिजन १० मिनेटको लागि मात्र बाँकी रहेको अवस्था हुन्छ तर उता अक्सिजन लिन गएको गाडी लाइनमै हुन्छ,’ उनले भनिन्, ‘यस्तो अवस्थाको सामना गरिरहेका छौं, अक्सिजनकै लागि दौडधुप गर्नुपरिरहेको छ।’
भिडियो :
फोटो:
भिडियो र तस्बिरहरु : निमेष जंग राई