काठमाडौं - मैतीदेवी काठमाडौंका ३९ वर्षीय सुशील कुमार मण्डलले वैशाख ८ गते कोभिड १९ विरुद्धको खोप लगाए।
खोप लगाएको बेलुकीदेखि नै उनलाई गाह्रो भयो। त्यसको भोलिबाटै उनलाई ज्वरो आयो। शरीरमा पनि दुख्यो। उनलाई लाग्यो खोप लगाएपछि यसको प्रतिअसर स्वरुप ज्वरो देखिएको हो। तर तीन दिन बित्दा पनि ज्वरो घटेन। त्यसपछि कोरोनाको आशंकामा उनले वैशाख १२ गते पिसिआर परीक्षण गराए।
नभन्दै पिसिआर परीक्षणले उनलाई कोरोना पोजिटिभ पुष्टि ग¥यो। त्यसपछि उनी घरमै आइसोलेसनमा बसे। ज्वरो, खोकी र शरीर दुख्ने बाहेक उनलाई गम्भीर खालको लक्षण देखिएन। त्यसैले चिकित्सकको परामर्शमा उनी होम आइसोलेसनमै बसे। उनी स्वयं पनि एक स्वास्थ्यकर्मी हुन्, त्यसैले उनलाई यसको उपचार र जटिलता बारे जानकारी थियो।
हाल उनी कोरोना मुक्त भइसकेका छन्। होम आइसोलेसनमा बस्दा उनले गरेका उपचार, अपनाएका सावधानी र कसरी कोरोना जिते लगायत विषयमा उनले आफ्ना अनुभव हामीसँग साटेका छन्।
उनको अनुभव उनकै शब्दमा:
मैले वैशाख ८ गते कोभिड १९ विरुद्धको खोप लगाएको थिएँ। खोप लगाएको त्यस दिनबाट नै शरीर दुख्ने भएको थियो अनि रातीबाट ज्वरो आएको थियो। लगातार तीन दिनसम्म ज्वरो आएको थियो। मैले खोपले गर्दा नै ज्वरो आएको होला भनेर बसेँ। १०२ डिग्रीसम्मको ज्वरो थियो।
तर वैशाख १२ गते मैले कोरोना परीक्षण गराएँ। मेरो कोरोना पोजिटिभ आयो। त्यसपछि म होम आइसोलेसनमा बसेँ। आइसोलेसनमा बसेपछि खकार सहितको खोकी लाग्यो। ज्वरो हरायो तर खोकी लाग्ने र शरीर दुख्ने, थकाइ लाग्ने भइरह्यो।
म वैशाख १२ देखि २५ गतेसम्म होम आइसोलेसनमै बसें। म त्रिवि शिक्षण अस्पतालमा हिस्टोप्थालोजी ल्याबको इन्चार्ज हुँ। मैले चिकित्सकको सम्पर्कमै उपचार सुरु गरे। उपचार सामान्य खालको नै थियो। चिकित्सकले दिए अनुसार नै मैले औषधिहरु खाएँ। औषधिसँगै भिटामिन बी सी सबै खाएँ। जीवन जल पनि खाएँ।
मेरो शरीरमा अक्सिजनको मात्रा चाँही कम भएन। त्यसैले म केही ढुक्क हुन सकें। तर रगत जम्ने, ह्रदयघात हुन सक्ने भन्ने कुराले भने भित्रभित्रै डर लाग्थ्यो। मैले छातिको एक्सरे, रगतको परीक्षण पनि गराएको थिएँ। यी सबै पनि सामान्य नै थियो। म कसरी संक्रमित हुन पुगे आफैँलाई थाहा छैन।
आइसोलेसनमा बस्दा मृत्यु भएको खबरहरु हेर्ने गर्थे। यस्तो समाचार हेर्दा डर लाग्ने रहेछ। दिमागमा विभिन्न नकारात्मक सोचहरु आउने रहेछ। सामाजिक सञ्जालले एक किसिमको तनाव उत्पन्न गराउने रहेछ। त्यसैले मैले सामाजिक सञ्जाल धेरै प्रयोग गर्थिन।
कोरोना जित्न मनोबलको आवश्यक धेरै नै छ। मनोबल उच्च त बनाउनु पर्छ नै हामीले आवश्यक सावधानी पनि अपनाउनुपर्छ। तातो पानी, तातो झोलिलो पदार्थ खाने गर्नुपर्छ। यो होम आइसोलेसनका क्रममा मैले चिसो खानेकुरा कुनै पनि खाइन। तातो पानी, तातो खानेकुरामै बढी जोड दिए। दिनमा तीन चार पटक बाफ लिने गर्थें।
त्यसैले कोरोनासँग लडिरहनुका भएका सबैलाई नआत्तिन म आग्रह गर्दछु। मनोबल उच्च बढाउनुहोस्। खानपीनमा जोड दिनुहोस्। शरीरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै तत्काल अस्पताल जानुपर्छ। घरमै बसिरहनु हुँदैन।
अस्पताल गएर शय्या पाउँदैन भनेर घरमै बसिरहनु हुँदैन। शय्या पाएपनि नपाएपनि एक पटक अस्पताल जानैपर्छ। अस्पताल पुगेपछि चौरमा राखेर हुन्छ की त्रिपाल मुनि तपाईले उपचार पाउनुहुन्छ। त्यसैले घरमा बस्न सक्नु राम्रो कुरा हो तर जोखिम मोलेर बस्नु हुँदैन।