काठमाडौं– बालाजु औद्योगिक क्षेत्रको गेटमै करिब २०/२५ वटा अक्सिजन सिलण्डर लाइनमा राखिएको छ। ती सिलिण्डरहरु खाली छन्।
होम आइसोलेसन तथा अस्पतालमा रहेका कोरोना संक्रमितका आफन्तहरुले बालाजुको औद्योगिक क्षेत्रमा रहेको शंकर अक्सिजन ग्यास प्रालिमा अक्सिजन भर्न ती खाली सिलिण्डर ल्याएका हुन्।
घर तथा अस्पतालमा कोरोना संक्रमणले थला परेका बिरामी अक्सिजन सपोर्टमा छन्। ती बिरामीका आफन्त अक्सिजन उद्योगमै अक्सिजन किन्न आइपुगेका छन्। उद्योगमै खाली सिलिण्डर लिएर पुग्दा पनि उनीहरुले सहज रुपमा अक्सिजन भने पाउन सकेका छैनन्।
‘दिदीलाई होम आइसोलेसनमा राखेको छु, मसँग २ वटा अक्सिजन सिलिण्डर छ, एउटा घरमा दिदीले अक्सिजन लिइरहनु भएको छ, अर्को यहाँ रिफिलिङको लागि लाइनमा राखेको छु,’ एकजना पुरुषले भने, ‘घरमा रहेको अक्सिजन सिलिण्डर नसक्किदै यो सिलिण्डर भरेर घर पुर्याउनु छ, नत्र दिदीलाई जे पनि हुनसक्छ।’
उनले हिजोसम्म अक्सिजन उद्योगले खाली सिलिण्डर लिएर आउनेहरुलाई सहज रुपमा अक्सिजन दिएपनि आजबाट भने अक्सिजन लिन घण्टौं लाइन बस्नुपरेको सुनाए।
औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्धारमा मानिसहरु अक्सिजन पाउने आसामा खाली सिलिण्डर लिएर लाइनमा बसेका छन्। खाली सिलिण्डर लिएर आउनेहरुको संख्या थपिदै गएको छ।
‘२ घण्टा भइसक्यो पालो कुरेको भित्र अक्सिजन लिनै बोलाउदैनन्, लौ न हजुर भित्र तपाईंहरु गएर किन ढिला भयो बुझिदिनुस्,’ हामीलाई देख्ने वित्तिकै एकजना व्यक्तिले आग्रह गरे।
ट्याक्सीमा अक्सिजन सिलिण्डर झारेर दुईजना युवाले लाइनको अन्तिममा अक्सिजन सिलिण्डर राखे। ती युवाका अनुसार उनका आफन्त अल्का अस्पतालको आइसीयुमा उपचाररत छन्।
अस्पतालले कि अरु नै अस्पतालमा लैजानु कि अक्सिजन आफैं व्यवस्थापन गर्नु भनेपछि उनीहरु आफ्नो आफन्तलाई बचाउन उद्योगमा अक्सिजन लिन धाइरहेका छन्।
‘अल्का अस्पतालको आइसीयूमा आफन्त हुनुहुन्छ, अस्पतालले अक्सिजन आफैं ल्याउनु भनेको छ,’ ती युवाले चिन्तित हुँदै भने, ‘यहाँ त लाइन रहेछ, अक्सिजन कुनबेला भर्न पाइन्छ थाहा छैन।’
स्वास्थ्यखबरको टोली औद्योगिक क्षेत्रबाट भित्र प्रवेश गरी शंकर अक्सिजन ग्यास प्रालितर्फ लाग्यो।
अक्सिजन उद्योग परिसरमा करिब ३ बजे पुग्दा त्यहा प्रवेशद्वारमा भन्दा पनि धेरै भिडभाड र अक्सिजन सिलिण्डरको लाम थियो।
२० भन्दा बढी अस्पतालका सवारीसाधन खाली सिलिण्डर लिएर अक्सिजन भर्ने पालो कुरेर बसेका थिए।
अक्सिजन उद्योगभित्र पनि होम आइसोलेसन तथा अस्पतालमै रहेका कोरोना संक्रमितका आफन्तहरु अक्सिजन पाउने आसामा थिए।
कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नु अनिवार्य हुन्छ। तर, अक्सिजन उद्योग परिसरमा सामाजिक दुरी कायम गरी आफू कसरी जोखिने भन्ने तर्फ कसैको ध्यान थिएन।
सबैजना अक्सिजन प्लान्टमा खाली सिलिण्डर रिफिलिङका लागि कहिले पालो आउला भन्ने चिन्तामै थिए। उद्योगमा अक्सिजन लिन पुग्ने अस्पतालहरुका कर्मचारी र संक्रमितका आफन्तहरुको भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्म परेको थियो।
उद्योगका कर्मचारीले अक्सिजन प्लान्टबाट अक्सिजन रिफिलिङ गर्न खाली सिलिण्डर भित्र लैजान गेट खोल्ने वित्तिकै बिरामीका आफन्त तथा अस्पतालबाट अक्सिजन लिन पुग्नेहरु ठेलमठेल गर्दै सकिनसकी अक्सिजन सिलिण्डर घिर्सार्दै थिए।
‘अस्पतलमा बिरामीलाई दिइएको अक्सिजन सकिन लागिसक्यो, छिटो अक्सिजन ल्याउनुस् भनेर अस्पतालबाट फोन आइसक्यो,’ एकजना महिलाले भनिन्, ‘यहाँ बिहानदेखि पालो कुरेर बसेको छु, अझै अक्सिजन भर्न पाएको छैन।’
अक्सिजन उद्योग परिसरमा खाली सिलिण्डर बोकेका सावारी साधनहरुको जाम छ। ती सवारीसाधानले हरेक ३० देखि ४० मिनेटमा बल्लतल्ल ३० मिटर दुरीमात्र सवारीसाधन अघि बढाउन सक्छन्।
‘अस्पतालबाट अक्सिजन सकिन लाग्यो भने १० पटक फोन आइसक्यो, बिहान ७ बजेदेखि अक्सिजन भर्न खाली सिलिण्डर लिएर आएको १ बजेसम्म पनि पालो आएन,’ अक्सिजन लिन पुगेका एक अस्पतालका कर्मचारीले भने, ‘अब अस्पतालमा दुइघण्टालाई मात्र पुग्ने अक्सिजन बाँकी छ भन्ने खबर आइसक्यो, यहाँ पालो नै आउलाजस्तो छैन।’
उद्योग परिसरमा दिउँसो ३ बजेसम्ममा २० भन्दा बढी ट्रकहरु अक्सिजन भर्ने पालो कुरेर बसेका छन्।
शंकर अक्सिजन उद्योगका एक कर्मचारीका अनुसार ३ वटा अक्सिजन प्लान्ट रहेको उद्योगमा अहिले एउटा प्लान्ट विग्रिएको छ। दुईवटा मात्र प्लान्टबाट अक्सिजन रिफिलिङ गर्दा हरेक ४५ मिनेटमा ३३ वटा मात्र सिलिण्डर रिफिलिङ गर्न सकिन्छ। तर उद्योग परिसरमा ५०० भन्दा बढी खाली अक्सिजन सिलिण्डर भर्न अस्पतालका कर्मचारी तथा कोरोना संक्रमतिका आफन्तहरु पालो कुरेर बसिररहेका छन्।
‘एउटा प्लान्ट बिग्रेको छ, दुईवटाले ४५ मिनेटमा ३३ वटा मात्र सिलिण्डर रिफिलिङ हुन्छ,’ उद्योगका एक कर्मचारीले भने, ‘२४ घण्टा नै सञ्चालन गर्दा पनि धान्न मुस्किल परिरहेको छ।’
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
फोटो र भिडियो: निमेष जंग राई