काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या र मृत्युदर दैनिक बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना छन्। ती मध्ये ८९ हजार ९१४ जना संक्रमित होम आइसोलेसन, ७ हजार ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै १ हजार ८४ जना आइसीयू र २९० जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा देखिएको दोस्रो लहरको कोरोना संक्रमण संक्रामक रहेको चिकित्सकहरुले बताउदै आएका छन्।
अहिले आइसीयट्ठ र भेन्टिलेटरमा हुने कोरोना संक्रमितलाई मात्र होइन अस्पतालमा भर्ना भएर उपचार गराइरहेका अघिकांश संक्रमितलाई पनि अक्सिजन सपोर्टमा दिनुपर्ने अवस्था छ। यस्तै होम आइसोलेसनमै रहेका कतिपय संक्रमित समेत अक्सिजन सपोर्टमा रहेका छन्।
संक्रमित बढ्दै जाँदा अक्सिजन अभावको अवस्था देखिएको भन्दै काठमाडौं उपत्यकाका निजी अस्पतालहरुले त कोरोना संक्रमितलाई भर्ना नै नलिने घोषणा समेत गर्न थालेका छन्।
नेपालमा अक्सिजन अभावको अवस्था कसरी आयो? अक्सिजन व्यवस्थापनको लागि सरकारले के गर्दैछ? हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई सोधेका छौं।
डा गौतमले हाल काठमाडौं उपत्यकामा दैनिक ८ हजार ५०० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको तर माग भने १२ हजार सिलिण्डर रहेकाले अभावको अवस्था देखिएको बताए। अक्सिजनको समस्या व्यवस्थापन गर्न सरकारले अक्सिजन प्लान्ट थप गर्ने, लिक्विड अक्सिजन ट्यांक थप गर्ने तथा सिलिण्डरहरु ल्याउने काम गरिरहेको उनको भनाइ छ।
सरकार अक्सिजनको व्यवस्थापनमा लागेको भन्दै केही समयभित्रै अक्सिजन अभावको समस्या अन्त्य हुने डा गौतमले जानकारी दिएका छन्।
सरकारले अहिले बिरामीको चापको आधारमा अस्पतालहरुमा समानुपातिक ढंगले अक्सिजन वितरण गरिरहेको समेत उनले बताएका छन्।
अक्सिजनको व्यवस्थापनका विषयमा डा गौतमले दिएको जानकारी उनकै शब्दमा :
निजी अस्पतालहरुले अक्सिजनले जति धान्न सक्छ त्यति नै बिरामीको उपचार गर्ने हो। सरकारी अस्पतालहरुमा चाँही अक्सिनजको अभाव बढेको थियो। निजी अस्पतालहरुले मज्जाले अक्सिजन पाइरहेका थिए। अहिले सरकारीमा धेरै बिरामी बढेका छन्।
पाटन,सिभिल, वीर, ट्रमा सेन्टर, टिचिङ अस्पताल, गंगालाल अस्पतालमा संक्रमित धेरै छन्।
सरकारी अस्पतालमा बिरामी कम हुँदा निजीमा अक्सिजन सप्लाई धेरै थियो। सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि सरकारले बिरामीको चापको आधारमा अक्सिजन दिनुपर्यो। सरकारले जहाँ गरिवको उपचार हुन्छ, त्यहाँ बढी प्राथमिकता दिनै पर्यो।
अहिले हामीले सिलिण्डर व्यवस्थापन गर्दै छौं। ४०० सय सिलिण्डर चीनबाट आएको छ।
काठमाडौं उपत्यकामा २४ घण्टामा ८ हजार ५०० सिलिण्डर भरिदो रहेछ। तर अहिले माग भने दैनिक १२ हजार सिलिण्डर छ। त्यसैले हामीले सिलिण्डरहरु जम्मा गरेर एक हाजार सिलिण्डर भर्न पोखरामा पठाएका छौं।
चितवनमा ५००, विराटनगरमा ७००, सिमरामा ५०० सिलिण्डर अक्सिजन भर्न सकिन्छ। त्यसैले हामीले अहिले सिलिण्डर जम्मा गरेर भर्न पठाएका छौं। अबको दुईतिन दिनमा यो सहज हुन्छ।
वीर अस्पतालमा अक्सिजन अभावको कारण ५०० वेड सञ्चालनमा नआएको होइन। अरु प्रशासनिक कारणले अप्ठ्यारो छ। अक्सिजन त दुईदिनमा व्यवस्थापन हुन्छ। किनकी हामीले अरु विकल्पकहरु पनि खोजेका छौं।
जहाँजहाँ लिक्विड अक्सिजन भारतबाट ल्याउन सकिन्छ, जहाँजहाँ लिक्विड अक्सिजन राख्ने ट्यांक छ। त्यहाँ ट्यांकहरु ल्याएर भर्दै छौं। भरीरहेका छौं।
अक्सिजनको ४ वटा स्रोत छ।
एउटा अस्पतालमा भएका अक्सिजन प्लान्ट। ती सानासाना छन्। अरु बेलामा यति धेरै अक्सिजन चाहिदैन थियो। प्रसूति गृहमा १५ सिलिण्डर भए पुग्थ्यो, म त्यहा हुदा २५ वटा ठूला सिलिण्डर भर्थे। प्लान्ट थियो । तर आज माग बढ्यो पुगेन।
कतिपय अस्पतालमा अक्सिजन प्लान्ट छन् । प्लान्ट भएकाले प्लान्ट चलाउछन्। जस्तै कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृहमा आफ्नै प्लान्ट छ। तर, बिरामी बढेका हुनाले प्लान्टले नपुग्न सक्छ।
दोस्रो कुरा कतिपय अस्पतालमा लिक्विड अक्सिजन ट्यांक छन्। जस्तो ट्रमा, टेकु अस्पतालमा लिक्विड अक्सिजन ट्यांक छन्। त्यहाँ भारतबाट लिक्विड ल्याएर भर्ने हो। लिक्विड अक्सिजन हामीले कुटनीतिक तरिकाले सम्झौता गरेर ल्याइरहेका छौं।
तर, समस्या के रहेछ भने त्यो ट्यांकर बोग्ने शंकर अक्सिजन प्रालिसँग दुईवटा ट्यांकर मात्र रहेछ। हामीले ट्यांकर पनि थप्न लगाएका छौं।
तेस्रो अक्सिजन उद्योगहरु हुन्। काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग रहेछन्। उनीहरुकोमा कतिपय ठाउँमा बिजुरी निरन्तर नभएर उत्पादन धेरै भएको छैन। ती ठाउँमा हामीले २४ घण्टा बिजुरी आपूर्तिको लागि विद्युत प्राधिकरणलाई आग्रह गरेका छौं। कतिपय ठाउँमा कामदारमा कोरोना पोजिटिभ भएर काम रोकिएको थियो। त्यहाँ नेपाली सेनाबाट जनशक्ती परिचालन भएर चलाइएको छ।
चौँथो कन्सन्टेटर। उनीहरुले धेरै अक्सिजन दिन सक्दैनन्। सामान्य केसमा मात्र काम लाग्छ। अलि सिरियस बिरामीलाई काम लाग्दैन। तर अरु रोगका बिरामीलाई पनि अक्सिजन चाहिन्छ। यो अवस्थामा कन्सलटेटर प्रयोग गर्न थालेका छौं।
हामीले ७५ वटा कन्सन्टेटर चीनबाट ल्याएका छौं। त्यसैले हामीले १० देखि १५ दिनभित्र १० वटा जति लिक्विड अक्सिजन ट्यांक, १५ वटा अक्सिजन प्लान्ट ल्याउदै छौं । यस्तै बाँकी रहेको २० हजार सिलिण्डर मध्ये १९ हजार ६०० सिलिण्डर ल्याउन बाँकी छ। अहिले ४०० मात्र आयो। त्यो बाँकी सिलिण्डर प्लेन मार्फत २ हजार ल्याउछौं। अरु स्थलमार्गबाट केरुङ हुदै ल्याउने तयारी गरेका छौं।
अस्पतालमा अक्सिजनको उचित र बिरामी संख्याका आधामा व्यवस्थापन सरकारले गरिरहेको छ। यो स्वास्थ्य मन्त्रालयले मात्र गरेको होइन। सिसिएमसीले गर्छ। सबै निकायका प्रमुखहरु बसेर निर्णय र नियमन गरेको हो।
हामीले यो सिलिण्डर एकैठाउँबाट सरकारले संकलन गर्ने निर्णय नगरेको भए आउने ७ दिनभित्र काठमाडौंका आधा सिलिण्डर हराइ सक्थे। सम्पन्न व्यक्तिका घर वा निजी अस्पतालमा पुग्थ्यो।
अनि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीले अक्सिजन पाउदैन थिए। त्यसैले यो स्वास्थ्य मन्त्रालयले मात्र होइन सिसिएमसीले निर्णय गरेको हो। यसलाई स्वास्थ्य मन्त्रालयले सकारात्मक रुपमा लिएको छ।
अक्सिजनको समस्या व्यवस्थापन हुन २,४ दिन लाग्छ। किनकी अहिले उत्पादन नै कम छ। सिलिण्डर कम छ।
जहाँ धेरै बिरामी छन् त्यहा धेरै अक्सिजन अनि जहाँ बिरामी कम छन् त्यहाँ थोरै वितरण गर्ने हो।
हामीले बिरामीको संख्याको आधारमा समानुपातिक वितरण गर्ने हो। निजी अस्पतालले जति अक्सिजन पुग्छ त्यति बिरामी लिने हो। निजी अस्पतालले पनि अक्सिजनको प्लान्ट वा ट्यांक राख्नुपर्छ। अर्काले उत्पादन गरेको अक्सिजन ल्याएर झारा टार्ने काममा चलाएर भएन नि।
कुनै पनि अस्पतालले अक्सिजनको व्यवस्था के हुने भनेर अस्पताल खोल्नुपर्छ। तर अहिले तत्काल त सम्भव छैन। यो भन्दा अगाडी त म्यानेज गरेका थिए। तर आपतकालित अवस्थामा के गर्ने भन्ने योजना पनि हुनुपर्छ।
सरकारले अबको १० दिनमा प्लान्ट ल्याउछ, ट्यांक ल्याउछ। निजी अस्पतालले पनि ल्याउनुपर्यो। आफ्नो व्यवस्थापन नगर्ने, गर्ने चाहना नराख्ने?
मेडिसिटी अस्पतालको व्यवस्थापनले फोन गरेका थिए। यस्तो गरिदिनुस् भनेर। त्यत्रो ठूलो अस्पताल खोल्दा २, ४ वटा प्लान्ट नराख्ने? प्रसूति गृह, कान्ति बाल अस्पताल, गंगालाल, टेकु अस्पतालले अक्सिजन प्लान्ट राख्न सक्ने ट्रमा सेन्टरले राख्न सक्ने तर, उहाँहरुले राख्न नसक्ने? उहाँहरु अहिलेसम्म के गरिरहनु भएको थियो?
कतिपयले भने निजी अस्पतालले त निजी कम्पनीसँग किनेको थियो नि। निजी कम्पनीसँग त सरकारी अस्पतालले पनि किन्छ। समस्या परेको बेला निजी कम्पनीको निजीलाई मात्र छोड्ने भनेर छोड्दैन नि सरकारले। अहिले कोरोना व्यवस्थापन सरकारले गरेको छ।
कुनै पनि निजी अस्पतालले आफ्नो अक्सिजनको व्यवस्था गर्नुपर्छ। निजी अस्पतालले छिटो भन्दा छिटो आफ्नो अक्सिजन प्लान्टको व्यवस्था गर्नुपर्छ। बरु त्यसका लागि सरकारले के गर्नपर्छ? भन्सार छुट गरिदिने हो कि? ल्याउन सहजिकरण गरिदिने हो कि? कहाँबाट ल्याउने हो त्यो सरकारसँग कुटनीतिक रुपमा पहल गर्नुपर्ने भए त्यसमा सरकार सकारात्मक छ।