काठमाडौं - सामाजिक सञ्जालमा एक चिकित्सकको तस्विर भाइरल भइरहेको छ। ती चिकित्सकको निधारमा डाम छ, अनुहारभरी पसिना छन्, पिपिइभित्र पहिरिएको गाउन निथ्रुक्कै भिजेको छ र ग्लोब्सभित्रै गुम्सिएर पटपटी फुटेका छन् हप्केला।
त्यो तस्विरले महामारीमा चिकित्साकर्मीको वास्तविक जीवनको चित्र दर्शाएको छ।
तस्विरमा देखिएको उक्त दृश्यले धेरैलाई भावुक बनायो। ती चिकित्साकर्मीप्रति सम्मान जनाउँदै सामाजिक सञ्जालमा फैलाइयो।
कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको अवस्थालाई प्रतिनिधित्व गथ्र्यो त्यो तस्विरले। घण्टौं पिपिइ, मास्क र ग्लोब्सभित्र बाफिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा कसरी दिनरात खटिरहेका छन्? भन्ने प्रष्ट्याउँछ।
अवस्था धेरै स्वास्थ्यकर्मीको यही हो तर ती चिकित्साकर्मी को हुन्? तस्विर पछ्याउँदै जाँदा भेटिए। उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डा विनोद प्याकुरेल रहेछन्।
कोरोनाको हटस्पट मानिएको बाँकेको कोहलपुरमा उनी कार्यरत छन्। बिरामीलाई निको बनाएर घर फर्काउन दिनरात सक्रिय छन्। त्यहाँको गर्मीमा लगातार १६ घण्टासम्म पिपिइमा बाफिन्छन्। पसिनाले निथ्रुक्क हुने गरी भिज्छन्।
१६ घण्टासम्म पनि भोकै
नेपागलञ्जको गर्मी अनि लगातार १६ घण्टासम्म पिपिइ पहिरिनु सामान्यजनका लागि यातना जस्तै हुन्छ। उनी भन्छन्, ‘यहाँ यस्तो गर्मी छ। ग्लोब्स पनि तीनवटा लगाउँछौ। फेससिल्डले निधारमा दुख्ने गरी डाम हुन्छ। शरीर पूरै पसिनाले भिज्छ। हात बाफेर पटपटी फुट्छ। एकदम गाह्रो छ।’
भोक, प्यास, निद्राको उनलाई मतलव हुँदैन। कुनै बेला त आफू १६ घण्टासम्म भोकै बसेर पनि ड्युटीमा खटिएको उनी बताउँछन्। यतिसम्म कि डाइपर लगाएर समेत ड्युटी गर्नु परेको अनुभव उनीसँग छ।
‘ड्युटी सुरु हुने बेला खानेकुरा खाने हो। त्यसपछि कतिबेला हुन्छ थाहा नै हुँदैन,’ उनले भने, ‘एकछिन होल्ड गर्न मिल्दैन। बिरामी आएको आयै हुन्छ।’
हामीले नगरे कसले गर्ने?
कोरोनाका बिरामी बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले वैशाख ३ गतेदेखि कोरोनाका बिरामीको उपचार सुरु गर्यो। त्यो बेलादेखि नै उनी कोरोना संक्रमितको उपचारमा खटिरहेका छन्।
उनका अनुसार सुरुवाती दिनमा कोरोनाका बिरामी जम्मा ५÷६ जना मात्र थिए। तर त्यसको भोलिपल्ट नै बिरामीको संख्या ह्वात्तै बढ्यो। करिब ७७ जना बिरामी एकैदिन भर्ना भए।
उनले भने, ‘पहिलो दिन त बिरामी खासै थिएनन्। तर दोस्रो दिनबाट बिरामीको संख्या निकै बढ्यो। हाम्रो ड्युटीको समयमा पनि बढ्यो।’
कोरोनाको उपचारमा खटिनुपर्ने कुराले उनलाई मनमा डर नभएको होइन। तर बिरामीको सेवा गर्ने भावले उनको त्यो डरलाई जित्न दिएन। यो बेला हामी स्वास्थ्यकर्मीहरु पछि हट्नु हुँदैन भन्ने विचार उनको मनमा सधैं आइरहन्थ्यो।
‘बिरामीहरु दैनिक बढीरहेका थिए। कतै पनि बेड खाली थिएन। उपचार नपाएर बिरामीहरु छटपटाइरहेका छन्। यो बेला हामीले नगरे कसले गर्ने ?’ उनको मनोभाव छ।
संक्रमित भए आफैँले बेड नपाउने डर
संक्रमितको उपचारमा खटिदै गर्दा उनी आफैँ पनि संक्रमित भए। वैशाख ११ गतेदेखि उनलाई सामान्य खालको लक्षण देखिएको थियो। खोकी लाग्ने र ज्वरो आउने भएपछि उनले वैशाख १२ गते पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आयो।
कोरोना पोजिटिभ रिपोर्ट जब उनको हातमा प¥यो उनको मनमा धेरै कुरा आएनन्। उनको मनमा एउटै डर थियो, ‘यसले गाह्रो पा¥यो भने अब मैले बेड पाउँछु कि पाउँदिन।’
उनलाई पोजिटिभ भएको रिपोर्ट आएको दिनसम्म सबै आइसीयू र सबै वार्ड भरिएका थिए। ‘मलाई गाह्रो भयो भने मैले कहाँ गएर उपचार गर्ने भन्ने विचार आउँदो रहेछ,’ उनले अनुभूति सुनाए।
उनलाई गम्भीर खालको लक्षण देखिएन। त्यसैले उनी अस्पताल भर्ना हुनु परेन। तर आफैँ स्वास्थ्यकर्मी भएपनि अस्पतालमा शय्या नपाउने डर उनको मनमा अझै पनि छ।
उनी भावुक हुँदै भन्छन्, ‘मेरो परिवारकै कुनै सदस्य संक्रमित हुनुभयो भने कहाँ लगेर उपचार गर्ने ? सबै ठाउँमा शय्या भरिएका छन्। अक्सिजनको अभाव छ। यो डर र विचार अझै पनि आउने रहेछ।’
उनी अहिले पुनः ड्युटीमा फर्किएको एक साता जति भयो। हामीसँगको कुराकानीका क्रममा उनी पटक पटक खोकी रहेका थिए।
उनी भन्छन्, ‘अरु लक्षण त छैन। तर खोकीचाहिँ लागिरहेको छ। अरु साथीहरु पनि पोजिटिभ आएर आइसोलेसनमा हुनुहुन्छ। ड्युटी गर्ने कोही हुँदैन। त्यसैले म पुनः ड्युटीमा फर्किएको एक साताजति भयो।’
नेपाल भारतको अर्को रुप हुन सक्छ...
उनका अनुसार भारतमा कोरोनाको दोस्रो लहर चलिरहँदा नेपालले पनि सोही अनुसारको तयारी अघि बढाएको भए यो दर्दनाक स्थितिलाई रोक्न सकिन्थ्यो। तर सरकारले गर्न सकेन।
उनी प्रश्न गर्छन्, ‘कोभिड सेन्टरमा अक्सिजन नै छैन। बिरामी शय्या र अक्सिजनको अभावमा छटपटाएर मरिरहेका छन्। यसको जिम्मा कसले लिने?’
अक्सिजनको खपत हाल दैनिक बढिरहेको उनी बताउँछन्। कोरोना नियन्त्रण सरकारको हात बाहिर गइसकेको भन्दै उनी चिन्ता व्यक्त गर्छन्। सरकारले कोरोना नियन्त्रणका लागि केही नगरे भारतभन्दा पनि अवस्था दयनीय हुने उनी बताउँछन्।
बिरामीहरु शय्या नपाएर अस्पताल बाहिरै बस्छन्। कति छटपटाएर मर्छन्। यो सबै दृश्य उनले देखेका छन्। भोगेका छन्। यसले उनको मन भतभति पोल्छ।
‘दैनिक बिरामी बढीरहेका छन्। आइसीयू छैन। भेन्टिलेटर छैन। अक्सिजन छैन। एउटा बेडमा बिरामी मरिरहेको छ। अर्को बेडको बिरामी टाउको लुकाएर सुत्नु परेको छ। यो बेला हामीले सम्झाउनु बाहेक अरु कुनै विकल्प नै छैन,’ उनले भने।
नेपालमा देखिएको दोस्रो लहर पहिलोभन्दा खतरनाक रहेको उनी बताउँछन्। पहिले दीर्घ रोगी, ज्येष्ठ नागरिकहरु बढी संक्रमित हुने गर्थे भने अहिले युवाहरु पनि संक्रमित भइरहेको उनी सुनाउँछन्।
‘अहिले २०, २५, ३० वर्षको युवाहरु पनि छाति खराब भई निमोनिया भएर अक्सिजन कम भएर भर्ना भइरहेका छन्। हेर्दाहेर्दै कतिको मेरै आँखा अगाडी मृत्यु भएको छ,’ उनले भने।