काठमाडौं– कोरोना महामारी नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको १० दिन पुरा भइसकेको छ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर सहित देशभरका देशभरका ७७ जिल्लामध्ये ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। ती मध्ये ५० जिल्लामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ भने १३ जिल्लाका शहरी क्षेत्र तथा कोरोना संक्रमण फैलिएका गाउँपालिकामा निषेधाज्ञा जारी भएको छ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले अघिकांश जिल्लामा निषेधाज्ञा जारी गरेपनि निषेधाज्ञा जारी भएकै जिल्लाहरुमा कोरोना संक्रमणको दरमा भने कमी आएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा निषेधाज्ञा जारी भएका जिल्लामा संक्रमणको दर झन् हरेक दिन बढ्दो क्रममा छ। ५०० भन्दा बढि सक्रिय संक्रमित हुने जिल्लाको संख्या २२ पुगेको छ। यस्तै २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन्।
निषेधाज्ञा लागू भएको दिन वैशाख १६ गते देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ थियो। तर अहिले देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ। निषेधाज्ञाको १० दिनमा ४९ हजार ३७६ सक्रिय संक्रमित थपिएका छन्। संक्रमित थपिने क्रम हरेक दिन बढ्दो क्रममा छ। पछिल्लो केही दिनदेखि ८ देखि ९ हजार संक्रमित हरेक दिन थपिएको मन्त्रालयको तथ्यांकले देखाउँछ।
कडा निषेधाज्ञा लागु भएको काठमाडौं उपत्यका मात्र दैनिक ४ हजारभन्दा बढि नयाँ संक्रमितहरु भेटिएका छन्।
निषेधाज्ञा लागु भएपनि किन घटेन संक्रमणको दर?
हामीले स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेललालाई सोधेका छौं। डा पौडेलको जवाफ उनकै शब्दमा:
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागु भएको दोस्रो सातामा प्रवेश गरेका छौं। एकसाता अघि सबै क्षेत्रहरु खुला थियो। भिडभाड थियो। निषेधाज्ञा लागु हुनुअघिल्लो दिनसम्म एक्स्पोज भएका व्यक्तिहरुमा संक्रमण सरेको हुनसक्ने सम्भावना १० दिनसम्ममा थाहा हुन्छ। कुनैपनि व्यक्तिलाई कोरोना संक्रमण सरेको ५ देखि १० दिनभित्र लक्षण आउने हो। करिब २ सातासम्ममा कोरोना संक्रमणको लक्षण देखिने भएकाले निषेधाज्ञा भएको दुइसाता पुरा भइसकेको छैन। त्यसैले पनि संक्रमणको दर अहिले नै कम भइहाल्ने अवस्था छैन।
निषेधाज्ञा हुनुभन्दा अघि खोप लगाउने स्थानमा भिडभाड नै थियो, सार्वजनिक यातायातमा पनि भिडभाड थियो। जो व्यक्तिहरु काठमाडौं छोडेर जानुभयो। उहाँहरुले जनस्वास्थ्यको मापदण्ड पुर्ण रुपमा पालना गर्नुभएको थिएन। त्यसले गर्दा यो निषेधाज्ञा जुनजुन जिल्लामा सुरु भयो। निषेधाज्ञाको अवधि तीनसाता पुरा नहुँदासम्म संक्रमण दर कम हुन गाह्रो छ।
सरकारले कडाइ गर्न नखोजेको त होइन होला। तर कतिपय क्षेत्रका कार्यालय अहिलेपनि खुला छन्। मोटरसाइकलहरु चलिरहेका छन्। बैंकहरु पनि खुला भयो। तरकारी पसल, किराना पसल बिहान बेलुका खुला भए। पसलहरु अहिले बिहान खुला हुन थालेको छ।
यी र यस्ता गतिविधिका कारणले पनि संक्रमण बढेको देखिन्छ। त्यसैले अझै पनि संक्रमण रोक्न चुनौती छ। निषेधाज्ञाको कारण संक्रमण दर कम हुने समय अझै भइसकेको छैन। अबको दुई सातामा चाँही संक्रमण दर कम देखियो भने हामीले निषेधाज्ञा गरेको प्रतिफल मान्न पाउनेछौं।
निषेधाज्ञाको एकसातामै संक्रमण दर कम हुन्छ भन्ने अपेक्षा गर्नु हतारो हुन्छ।
सबै क्षेत्रमा जति होसियारी लिनुपर्ने थियो त्यो भएन। त्यसले गर्दा अहिले शय्याकै अभाव हुनेगरी संक्रमितहरु बढेका छन्। अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित बढेका छन्। धेरै जना संक्रमितहरु होम आइसोलेसनमा समुदायमै बसेका छन्। तथ्यांक हेर्दा पनि अघिकांश संक्रमित घरमै छन्। केही मात्र अस्पतालमा भर्ना भएका छन्।
जतिपनि संक्रमित होम आइसोलेसनमा छन्। उहाँहरुले अरुलाई संक्रमण नसरोस् भनेर होम आइसोलेसनमा बस्दा अपाउनुपर्ने सावधानी पूर्ण रुपमा पालना गर्न सक्नुभएको छैन। होम आइसोलेसनमा बस्नेले नियमको पानाला सहि तरिकाले नगर्दा पनि संक्रमण बढिरहेको हुनसक्छ।
अहिले देशभर ७५ हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन्। लगतभग ५ हजार संक्रमित मात्र अस्पतालमा छन्।
अहिलेको अवस्थामा कोरोना संक्रणण नियन्त्रणका लागि होम आइसोलेसनमा भएका ७५ हजार भन्दा बढी संक्रमितले होम आइसोलेसनमा हुँदा अपनाउनुपर्ने मापदण्ड पुर्ण रुपमा पालना गर्न अत्यन्तै जरुरी छ। होम आइसोलेसनमा हुनेको निगरानी गर्न पनि आवश्यक छ।
संक्रमित धेरै भएपछि स्वास्थ्य प्रणालीलाई चाप बढ्छ। अहिले हामीले देखेका छौं। अस्पतालमा संक्रमितको चाप बढेको छ।
अर्को कुरा हामीले जहिल्यै ओकालत गरिरहेको तर, त्यसलाई गम्भीर रुपमा नलिएको अवस्था पनि संक्रमण बढ्नुको कारणमध्येको एक हो। जस्तो काठमाडौं जस्तो उच्च जोखिमयुक्त स्थानबाट गाउँगाउँमा फर्किदा, अन्य देशबाट फर्किदा १० दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु भनेका थियौं। तर त्यो नियम त्यति पालना भएन। मानिसहरु बिदेशबाट आएका तथा काठमाडौंबाट गाउँ गएकाहरुले पनि १० दिन क्वारेन्टाइनमा बसेनन्।
नेपालमा अन्तराष्ट्रिय उडान बल्ल बन्द भएको अवस्था छ। बैंकहरुको पनि सेवा थोरै ठाउँबाट मात्र दिइने भनिएको छ। त्यसैले अब आशा गरौं दुईसाता भित्रमा संक्रमणको दर कम हुन्छ कि!
अहिले संक्रमित भएकाहरुमा कन्ट्याक ट्रेसिङ गर्नुपर्ने तर प्रभावकारी रुपमा हुन नसकेको पनि पाएका छौं। कन्ट्याक ट्रेसिङका लागि गतवर्ष नै १७४ जना देशका विभिन्न भागमा तथा प्रदेशमा खटिनु भएको छ।
हाम्रो स्वास्थ्य सेवातर्फ करिब ३० हजार जनशक्ति छन्। ती मध्ये २६ हजार जनशक्ति स्थानीय तहमा छन्। त्यो बाहेक कतिपय स्थानीय तहले थप स्वास्थ्यकर्मी पनि राख्नुभएको छ।
पालिकाहरुले गतवर्ष कन्ट्याक ट्रेसिङ गरेबापतको भुक्तानी समयमा पाएनन् भन्ने गुनासो थियो। तर यो पटक वैशाख ६ गतेको आदेशमा पनि उल्लेख छ। स्थानीय पालिकाले कन्ट्याक ट्रेसिङ गर्ने र लागेको खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तथ्यांक पेस गरेपछि दिइने भनिएको छ। त्यसैले अहिले हामीले स्थानीय तहलाई भनिरहेका छौं। तर, आशातित रुपमा कन्ट्याक ट्रेसिङमा पालिकाहरुले जसरी अपनत्व लिएर गर्नुपर्ने हो त्यो नभएको अवस्था छ। पछिल्लो दिनमा भने उहाँहरुको सक्रियता बढेको छ।
जब गतवर्ष संक्रमितको संख्या बढेपछि पुन कम हुदै गयो। त्यसपछि कन्ट्याक ट्रेसिङ कम भयो। अहिले संक्रमणको दर फेरि ह्वात्तै बढेपछि अन्य कामहरु बढ्यो त्यसले गर्दा संक्रमितको कन्ट्याक ट्रेसिङ पनि प्रभावकारी रुपमा हुन नसकेको हो। तर कन्ट्याक ट्रेसिङ हुनुपर्छ। समुदायमा संक्रमितको पहिचान हुनु महत्वपूर्ण कुरा हो। यसमा हाम्रो जोड छ। हामीले ७४ जनासँग कन्ट्याक ट्रेसिङको विषयमा केके चुनौती छन् ? केके समस्या छन् भनेर भर्चुअल मिटिङ गरेका छौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशमा फोकल पर्सनहरु तोकेको छ। कन्ट्याक ट्रेसिङको विषयमा उहाँहरुसँग छलफल गरेका छौं।
स्वास्थ्य मन्त्रालयले पालिकाहरुसँग बैठक गर्दा पनि कन्ट्याक ट्रेसिङलाई जोड दिनुपर्छ भन्ने विषय उठाएका छौँ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जोखिमयुक्त स्थान पहिचान गरी जोखिमयुक्त क्षेत्रका स्थानीयमा कोरोना परीक्षणको दायरा बढाउने तयारीमा पनि छौं। जसले गर्दा समुदायमा लक्षण हुनुअघि नै संक्रमित पहिचान गर्न सकिन्छ र सामान्य बिरामीका लागि होल्डिङ सेन्टर र आइसोलेसन बनाउन सकिन्छ।
अहिले सातै प्रदेश र काठमाडौंमा पनि होल्डिङ सेन्टर बन्दै छ। नेपाली सेनाले होल्डिङ सेन्टर बनाउदैछ। जो संक्रमित होम आइसोलेसनमा बस्न सम्भव छैन। अस्पताल मै भर्ना हुनुपर्ने अवस्था पनि छैन उहाँहरुलाई होल्डिङ सेन्टरमा राख्न सकिन्छ। जसले गर्दा अस्पताल हुने चाप पनि कम हुन्छ। संक्रमितको उपचार व्यवस्थापनमा पनि सहज हुन्छ।