काठमाडौं- सरकारले भारतको सेरम इन्स्टिच्युटबाट सिधै खरिद गरेको कोभिडविरुद्धको खोपमा समेत कमिसन मागेर खोप ल्याउन अवरोध गर्ने एजेन्टलाई नै कोभिशिल्ड खोप आयातको अनुमती दिएको छ।
औषधि व्यवस्था विभागले कोभिडविरुद्धको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिव्युर्टसलाई अनुमति दिएको हो। विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप ल्याउन इमराल्डलाई अनुमति दिएको जानकारी दिए।
हुकम त्यही एजेन्ट कम्पनी हो जसले भारतको सेरम इन्स्टिच्युटबाट सरकारले खरिद गर्न लागेको कोभिसिल्ड भ्याक्सिनमा ‘एजेन्ट’का नाममा १० प्रतिशत कमिसन माग गरेको थियो।
सरकार र कम्पनीबीच सिधै खरिद गर्न लागिएको खोपमा आफ्नो कुनै संलग्नता नभएपनि हुकमले कमिसनका नाममा रकम माग गरेपछि खोप खरिद प्रक्रिया नै अवरुद्ध भएको छ। हुकमले कम्पनीसँग १० प्रतिशत कमिसन माग गरेपछि स्वास्थ्य मन्त्रालयले खोपका लागि अग्रिम रुपमा रकम पठाएपनि १० लाख डोज खोप अझै आउन सकेको छैन।
हुकम सेरमको नेपाल एजेन्ट हो। हुकमले खरिद प्रक्रियामा कुनै पनि संलग्नाता नभए पनि सेरमबाट खोप ल्याउँदा आफूलाई १० प्रतिशत कमिसन चाहिने भन्दै खरिद प्रक्रिया नै रोकेको हो। हुकमले खरिद प्रक्रियामा अवरोध गरेकै कारण सरकारले सेरमसँग ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया समेत रोकिएको छ।
हुकम कम्पनीमा व्यवसायी सुरज वैद्य र विजय दुगड हुन्।
हुकमले कमिसन माग गरेकै कारण खोप खरिद प्रक्रिया प्रभावित हुन लागेको समाचार स्वास्थ्यखबरले गत फागुन २६ गते नै प्रकाशित गरेको थियो।
हेरौं समाचार : कोभिड खोप खरिदमा ३२ करोड कमिसनको खेल
उक्त समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कमिसनको खेलका कारण खोप खरिदमा समस्या आएको सार्वजनिक प्रतिक्रिया दिएका थिए। तर उनले कमिसन मागेर खोप खरिद प्रक्रिया रोक्ने एजेन्टको नाम भनेर सार्वजनिक गरेका थिएनन्।
मन्त्रि त्रिपाठीले कमिसन एजेन्टको नाम गोप्य राख्नुको पछाडि पनि केही स्वार्थ रहेको स्वास्थ्यका कर्मचारीले बताउँदै आइरहेका छन्। '
दुई महिनाभन्दा बढी समयसम्म मन्त्री त्रिपाठीले पनि ऐजेन्टको नाम गोप्य राख्नुको थुप्रै कारण छन्,' मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, 'यो सेटिङमा कहाँ के कुरा नमिलेपछि अहिले आएर एजेन्टको नाम सार्वजनिक भएको हो। तर अहिले फेरि त्यही ऐजेन्टलाई खोप ल्याउने अनुमति दिनुको पछाडि पनि कारण छ।'
औषधि व्यवस्था विभागका कर्मचारीले भने प्रक्रिया अनुसार नै कागजपत्र हेरेर अनुमति दिएको बताएका छन्।
खोप खरिदका क्रममा सरकारको प्रयासलाई असफल बनाएर निजीलाई छिराउने खेल भएको समाचार पनि स्वास्थ्यखबरले चैत १ गते प्रकाशित गरेको थियो।
हेरौं समचार : कोभिड खोपमा एजेन्टको खेल : सरकारलाई असफल बनाउने, निजीलाई प्रवेश गराउने
कमिसनका कारण बढ्यो खोपको मुल्य
स्रोतका अनुसार सरकारले खरिद गर्न लागेको ५० लाख डोज कोभिसिल्ड खोप खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसिन उपलब्ध गराउने खेल सुरु भएपछि खोपको मुल्य नै बढेको छ। खोप उत्पादक कम्पनीले पनि स्वास्थ्य मन्त्रालयलाई एजेन्टलाई उपलब्ध गराउनु पर्ने १० प्रतिशत कमिसन जोडेर खोपको नयाँ मुल्य प्रस्ताव गरेको थियो।
‘कम्पनीले १० प्रतिशत कमिसन जोड्दा प्रति डोज ६ दशमलव ०५ डलर पर्ने प्रस्ताव गरेको थियो’ स्रोत भन्छ, ‘उक्त कमिसन नजोड्दा प्रति डोज ५ दशमलव ५० डलर पर्छ।'
सरकारले अघिल्लो पटक प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको थियो। तर हुकमको खेलपछि प्रति डोज ६ दशमलव ०५ डलरमा ५० लाख डोज रकम पुगेको हो। पछिल्लो समय कोरोना संक्रमण बढेपछि यो रकम पनि थप बढाउने खेल सुरु भइसकेको छ।