काठमाडौं– ‘तपाईंहरु बिरामीको गुनासो सुन्न आउनुभएको हो?’ पाटन अस्पतालको ज्वरो क्लिनिक नजिकै भेटिएका एक पुरुषले हाम्रो 'गेटअप' देखेर जिज्ञासा राखे। हातमा क्यामेरा बोकेका कारण उनलाई पत्रकार भनेर पहिचान गर्न मुश्किल परेन।
‘हामी अस्पतालको सेवा प्रवाह बारे रिपोर्टिङ गर्न आएको, तपाईंलाई केही समस्या परेको छ?’ हामीले सोधखोज गर्यौं।
‘बिहान १० बजे नै कोरोना परीक्षण गराउन आएको थिएँ, कहिले भिडियो एक्सरे गर्न उता जानु भन्छन्, कहिले कता पठाउँछन्,’ आफूलाई चित्त नपरेको कुरा एक सासमा भने, ‘कोरोनाको रिपोर्ट अझै आएको छैन ५ बज्न लागिसक्यो।’
दिनभरीको दौडधुप र कोरोना संक्रमणको डरले उनलाई थकाएको अनुहारमा प्रष्टै देखिन्थ्योे। उनी नजिकै रहेको बेञ्चमा थचक्क बसे। आफ्नो गुनासोको बिट मारे, ‘यहाँको व्यवस्थापन नै राम्रो रैनछ।’
त्यही नजिकै रहेको अर्को बेञ्चमा बसिरहेकी एक महिला बदाम खाँदै हाम्रो कुरा सुनिरहेकी थिइन्। ती पुरुषसँग कुरा सकिएको थाहा पाउनेबित्तिकै बोलाइन्, ‘मेरो पनि गुनासो छ, मलाई नि भन्न दिनुस् न।’
हामीले उनीसँग कुरा सुरु गर्यौं। उनले सिलसिलेवार रुपमा आफ्नो गुनासो पोखिन्, ‘म महालक्ष्मी नगरपालिका–९ देखि श्रीमानलाई लिएर आएको। हिजो पनि आए ठाउँ पाइएन। उहाँको अक्सिजन ८० बाटतल झरेको छ, कोरोना पोजिटिभ भएर नगरपालिकाको एम्बुलेन्समा अक्सिजन लगाएर अस्पतालसम्म ल्याएँ। बाफ लाउने कुरा, अक्सिजन नाप्ने कुरा पनि किनिसकेँ, उहाँ निलो भइसक्नु भयो। एकसाता भनेपनि अस्पतालमा राखेर डाक्टरले हेर्दिए हुन्थ्यो भनेको ठाउँ छैन भन्छन्।’
‘डाक्टरले के भन्नुभयो त?’ हामीले उनलाई सोध्यौं।
‘डाक्टरहरुले केही गरेका छैनन् भन्न त मिल्दैन। तर सबैलाई एकनासले गर्नुपर्छ, फोन गर्नेको, मान्छे हुनेको मात्र समस्या सुन्न हुँदैन नि,’ उनले असन्तुष्टिको जनाउँदै भनिन् ‘सबैको ज्यानको माया सबैलाई लाग्छ। यहाँ अक्सिजन ९२ लेवल छ रे, घर गएपछि फेरि कम हुन्छ। हिजो पनि ल्याए। आज पनि ल्याए भर्ना नै लिँदैनन्।’
उनको श्रीमान् बिरामी भएको १० दिन भइसकेको रहेछ। त्यसपछि पिसिआर गर्दा कोरोना पोजिटिभ आयो। एक दिन घरमै राखियो। तर, स्वास्थ्य झन् बिग्रिएपछि अस्पतालमा ल्याएकी रहिछन्। ‘तर डाक्टरले भर्ना गर्दैनन्,’ उनले भनिन्, ‘उहाँलाई सास फर्ने ज्यादै गाह्रो हुन्छ। चक्कर लाग्छ।’
छेउमै बसिरहेका श्रीमानलाई देखाउँदै भनिन्, ‘हेर्नुस् न गाह्रो भएर निलो भइसक्नु भयो, अक्सिजन कम भयो भने लिएर आउनुस् भन्नुहन्छ। यहाँ ठिकै हुन्छ, घरमा लगेपछि फेरि गाह्रो हुन्छ, अस्पतालमै राख्न पाए हुन्थ्यो।’
उनको मात्रै होइन, होम आइसोलेसनमा भएका धेरै बिरामीको यो साझा समस्या रहेछ। पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्य होम आइसोलेसनमा भएका बिरामीहरु यसरी नै आत्तिदै अस्पतालमा आइपुग्ने बताउँछन्।
अस्पतालको आकस्मिक कक्षमा आइपुगेकाहरुको स्वास्थ्य जाँच गरी भर्ना गर्नैपर्ने बिरामीलाई मात्र बेड व्यवस्थान गर्ने गरिएको जानकारी उनले दिए। बेडको अभाव भइरहेकाले जुनसुकै बेला पनि चिकित्सकीय निगरानी जरुरी हुने बिरामीलाई प्राथमिकता दिनुपर्ने हुन्छ। अस्पतालले त्यही गरिरहेको डा शाक्यको भनाइ छ।
‘होम आइसोलेसनमा बस्ने कतिपय संक्रमितहरु भर्ना हुनुपर्ने अवस्थाका हुँदैनन् तर आत्तिएर आइरहेका हुन्छन्,’ डा शाक्यले भने, ‘उहाँहरुलाई इमर्जेन्सीमा हुने डाक्टरले स्वास्थ्य जाँच गर्नुहुन्छ। कतिपय बिरामी भर्ना हुन नपर्ने अवस्थाका हुन्छन्। त्यस्ता बिरामीलाई काउन्सिलिङ गरेर घर नै पठाइन्छ। तर भर्ना हुनैपर्ने बिरामीलाई भने अहिलेसम्म व्यवस्थापन गरिरहेका छौं।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारसम्म १८२ जना संक्रमित भर्ना भएर उपचार गराइरहेका छन्। अस्पतालको तथ्यांकअनुसार आइसियुमा १२ र भेन्टिलेटरमा ९ जना संक्रमित छन्। अस्पतालमा उपचारत कोरोना संक्रमितमध्ये अक्सिजन र मोनिटर सहित राख्नुपर्ने बिरामी १०० भन्दा बढी रहेका छन्।
डा शाक्यका अनुसार लक्षण सहित संक्रमण भएर भर्ना हुन आएका अधिकांश बिरामीलाई अक्सिजन सपोर्टमा राख्नुपर्ने अवस्था छ। पाटन अस्पतालमा कोरोना संक्रमितमध्ये १५ जना बालबालिकाहरु पनि उपचारत छन्।
पाटन अस्पतालमा कोरोना संक्रमितका लागि आइतबारदेखि ३०० बेड व्यवस्थापन गरिएको डा शाक्य बताउँछन्।तीमध्ये २१ वटा आइसियु बेड वयस्क व्यक्तिका लागि छ भने ५ वटा बालबालिकाहरुका लागि छुट्याइएको छ। दुईवटा भेन्टिलेटर बालबालिका लागि छुट्याइएको छ। सबै गरेर १७ वटा भेन्टिलेटर छन्।
पाटन अस्पतालमा आइसियु, एचडियु बेडहरु भरिसकेको डा शाक्यले जानकारी दिए।
रेफरल सेन्टरको रुपमा रहेको पाटन अस्पतालमा रेफर भएर आउने बिरामी धेरै हुन्छन्। त्यसैले बिरामी रेफर गर्दा चिकित्सकसँग समन्वय गर्नुपर्ने डा शाक्यको भनाइ छ।
‘आइसियु, भेन्टिलेटर वा एचडियु चाहिने हो भने हाम्रो अस्पतालमा डाक्टरसँग समन्वय गरेर मात्र पठाउनु भन्ने गरेका छौं,’ उनले भने, ‘अस्पताल–अस्पताल बीच समन्वय गरेर मात्र रेफर भएमा बिरामीले बेड नपाएर भौतारिनु पर्ने अवस्था हुँदैन।’
नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएकाले अन्य वार्डहरुमा बिरामीको चाप कम हुँदैछ। सबै स्रोत साधन र जनशक्तीलाई कोरोना संक्रमितको उपचार व्यवस्थापनमा खटाउने गरेको डा शाक्यको भनाइ छ।
‘आवश्यक पर्यो भने हाम्रो अस्पताल परिसर सम्भव भएसम्म उपयोग गरेर, भएका स्रोतसाधन र जनशक्ती सबै खटाएर हामी बिरामीको उपचार गर्नेछौं,’ उनको प्रतिवद्धता छ, ‘विपदको समयमा यतिमात्र संक्रमित हेर्नसक्छु भन्न मिल्दैन, आशा गरौं धेरै भयावह अवस्था नेपालले भोग्न नपरोस्।’
उनले पाटन अस्पतालमा मात्र ७० भन्दा बढि स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेको जानकारी दिए।
डा शाक्यले हाल कोरोना बाहेकका अन्य रोगका बिरामीहरु पनि उपचाररत रहेको जानकारी दिए।
‘ननकोभिड बिरामीहरु पनि अहिले उपचारत छन्, हामीले नन्कोभिड सेवाहरुलाई पनि जारी राखेका छौं,’ उनले भने, ‘निषेधाज्ञा पनि अन्य रोगका बिरामीको चाप भने घटेर गएको छ। प्रसूती सेवा, सर्जरी सबै सेवा भइरहेको छ।’
०००
पाटन अस्पतालको कोभिड वार्डमा विगत ५ महिनादेखि कार्यरत छन् डा कुन्दन सिंह।
उनका अनुसार पाटन अस्पतालमा कोभिड वार्ड, आइसोलेसन, एचडियु र आइसियु वार्ड छन्। सुरुमा कोरोनाको आशंकामा आउने बिरामीलाई आइसोलेसनमा राख्ने र कोरोना परीक्षण गराउने गरिएको छ।
आइसोलेसनमा भएका बिरामीलाई कोरोना रिपोर्ट पोजिटिभ आएमा कोभिड वार्डमा सिफ्ट गरेर १० दिनसम्म उपचार गर्ने र फेरी पिसिआर परीक्षण गर्ने गरिएको उनले सुनाए। यस्तै सिकिस्त अवस्थामा पुगेका बिरामीलाई एचडियुमा मोनिटर र अक्सिजन सपोर्टमा राख्ने गरिन्छ।
एचडियुमा पनि बिरामीको अवस्था बिग्रँदै गएमा आइसियुमा राख्ने गरिएको उनले बताए। एचडियु र आइसियु बेडमा बिरामीको चाप बढिरहेको उनको भनाइ छ।
कोरोना संक्रमितको उपचारका लागि करिब ६ घण्टासम्म पिपिई लगाउनुपर्ने भएकाले सो समयमा शौचालय जान र पानी तथा खाना खान नपाईने डा सिंहको अनुभूति छ।
‘हामीले पिपिई लगाएपछि त ६ घण्टाजति खाना पानी नखाइ बस्नुपर्छ, शौचालय पनि जाँदैनौं,’उनले भने।
पाटन अस्पतालमा कोरोना संक्रमितको केयरमा अस्पतालकै नर्स तथा चिकित्सक मात्र हुन्छन्। अस्पतालको शय्यामा उपचार बिरामीहरु संक्रमणको जटिलताले भन्दा पनि मानसिक विचलनले ग्रसित हुने गरेको डा सिंहको अनुभव छ।
कोभिड वार्डमा उपचार बिरामीहरु धेरै आत्तिने भएकाले चिकित्सकहरुले उनीहरुलाई उपचार भन्दा धेरै परामर्श दिनुपर्ने अवस्था रहेको डा सिंहले बताए।
‘भर्ना भएका बिरामीहरु धेरै आत्तिनुहुन्छ, कोरोना लाग्यो भनेर धेरै डराउनुभएको हुन्छ,’ उनले भने, ‘हामीले काउन्सिलिङ गर्छाैं, हामी पनि पोजिटिभ आएर निको भएर ड्युटी गरिरहेका छौं भनेर काउन्सिलिङ गर्छौं। हामीले यसरी काउन्सिलिङ गरेपछि भने डाक्टरलाई त निको भएछ भन्ने सोच उहाँहरुमा आउँछ।’
डा सिंह पनि कोरोना जितेर ड्युटीमा फर्किएका हुन्। उनीजस्ता धेरै स्वास्थ्यकर्मी छन्, जो अरुलाई कोरोनाबाट मुक्ति दिलाउन आफैं संक्रमित भए, त्यसलाई जितेर फेरि उही कर्ममा होमिए।
डा सिंहजस्तै पाटन अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ७० पुगिसकेको छ। ती मध्ये कतिपय स्वास्थ्यकर्मी संक्रमण जितेर ड्युटीमा खटिन थालिसकेका छन्।
संक्रमितलाई आफ्नै अनुभूति मिसाएर परामर्श दिँदा पनि कोरोनालाई जित्ने आत्मबल आउने उनी बताउँछन्। कोरोनाको संक्रमणभन्दा पनि डरका कारण धेरैलाई समस्या आउने गरेको डा सिंहले पाएका छन्।
‘जब उहाँहरुलाई हामी पनि कोरोना संक्रमण भएको थियौं। हामी अहिले संक्रमणमुक्त भएर यहाँ तपाईंहरुको सेवामा छौं भन्छौं। त्यसपछि उहाँहरुमा सकारात्मक ऊर्जा आउँछ,’ उनले भने।
अस्पतालमा आउने संक्रमितलाई मात्र नभई सामान्य समस्या भएर घरमा बसेका संक्रमितलाई पनि हौसला र साथ दिन डा सिंहको सुझाव छ।