काठमाडौं- ‘आज त यहाँ ५ वटा शव रहेछ, सबै कोरोना संक्रमितको शव हो त्यसैले हामी व्यवस्थापनका लागि आएका हौं,’ त्रिवि शिक्षण अस्पताल परिसरमा भेटिएका नेपाली सेनाका एक अधिकारीले बताए।
अस्पतालको शव गृह नजिकै नेपाली सेनाको शव वाहन थियो। पीपीई लगाएका व्यक्तिहरु शव निकाल्दै थिए। ‘पाँचवटा रहेछ कुन पहिला लिएर जाने?’ पीपीई लगाएका सेनाका कर्मचारीले अन्योलमा पर्दै उच्च तहका सहकर्मीलाई सोधे।
‘जसको आफन्त छन्, शव लैजाने अनुमति पाइसकेका छन्, उनीहरुको पहिला गरेर पालै पालो लैजाऊ’ उनले भने।
‘अहिले त एउटा–एउटा गरेर लगिरहेका छन्, कुनदिन यसरी व्यवस्थित तरिकाले लान पनि सम्भव हुन्छ कि हुँदैन भन्न सकिन्न। अवस्था भयावह हुँदैछ।’ अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले थपे।
त्रिवि शिक्षण अस्पतालमा बुधबार साँझ र बिहीबार बिहान मृत्यु भएका ५ जना कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली अस्पतालमा पुगेको थियो।
काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितको मृत्यु हुँदा नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ।
‘पहिला पहिला हाम्रो अस्पतालमा भेन्टिलेटर आइसीयूमा भएका संक्रमित निको भएर फर्किन्थे, मृत्युको केस कम थियो,’ अस्पतालका प्रवक्ता अधिकारीले भने, ‘अहिले त ५ वटा शव एकै ठाउँमा भइसक्यो। अवस्था भयावह हुने संकेत हो यो।’
महामारीमा अस्पतालहरुले संक्रमति र अन्य बिरामीलाई दिइरहेको उपचार सेवाको अवस्थाबारे बुझ्न स्वास्थ्यखबरको टोली बिहीबार त्रिवि शिक्षण अस्पतालमा पुगेको थियो। अस्पतालका प्रवक्ता अधिकारीले कोरोना संक्रमित राख्ने वार्ड, आइसीयू तथा अन्य बिरामी राखिएका ठाउँदेखि संक्रमितको व्यवस्थापनका लागि थप गरिदै गरेका नयाँ भवनको अवस्थासम्म देखाए।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सामान्य अवस्थामा हुने भिडभाड भन्दा केही कम थियो। कोरोना बाहेक अन्य रोग तथा समस्याको अत्यावश्यक सेवा लिन आइपुगेका बिरामी र बिरामी कुरुवा भने अस्पताल परिसरमा देखिन्थे।
मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको नयाँ भवनमा कोरोना संक्रमितको लागि आइसीयू बेडको व्यवस्थापन गरिएको थियो। सबै बेड संक्रमितले भरिएका थिए।
‘अहिले त वेड खालि नै छैन,’ ड्युटीमा खटिएकी एक नर्सले भनिन्।
कोरोना संक्रमितलाई राखिएको ठाँउ छुट्टै छ। आइसीयू प्रस्ट देखिने गरी नर्सिङ स्टेसन रहेको छ। नर्सहरु एन् ९५ मास्कमाथि सर्जिकल मास्क लगाएर अस्पतालकै ड्रेसमा थिए । उनीहरुले पीपीई लगाएका थिएनन्।
‘यहाँ बस्दा पीपीई लगाउनु पर्दैन?’ हाम्रो प्रश्नमा ड्युटीमा रहेकी एक नर्सले भनिन्, ‘संक्रमितलाई सेवा गर्न जाँदा मात्र पीपीई लगाउछौं। यहाँ बाहिर स्टेसनमा बस्दा चाँही लगाउँदैनौं।’
त्यहाँबाट हामी अस्पतालले केही दिन अघि मात्र थप गरेको नयाँ कोभिड वार्डमा पुग्यौं। पेडियाट्रिक सर्जरी भवनमा २२ बेड अक्सिजन व्यवस्थापनसहित र अर्को ३० वटा आइसोलेसन वार्ड छ। २२ वेड मध्ये करिब १० वेड एचडीयू हुन्।
त्यहाँ पनि संक्रमित भरिभराउ थिए।
कोरोना संक्रमित सुतिरहेको बेडको छेउमा कुरुवा पनि मास्क र फेससिल्ड लगाएर बसिरहेका थिए। कतिपय संक्रमितसँग त दुई जनासम्म कुरुवा बसिरहेका थिए ।
‘यहाँ दुईजना बस्न पाइँदैन, तपाईहरुलाई पनि कोरोना सर्नसक्छ,’ एकजना मात्र बसिदिनुस्’ ड्युटीमा खटिएका नर्सहरुले बिरामी कुरुवालाई बाहिर जान आग्रह गर्दै थिइन्।
कतिपय कुरुवाहरु अटेरी पनि देखिए। केही समयपछि वार्डमा खटिएका सुरक्षागार्ड आएर दुईजना बसेका कुरुवाहरुलाई आइसोलेसन वार्डबाट बाहिर निकाले।
‘संक्रमितसँगै कुरुवा दुईजना नबस्नुस् भन्छौं, मान्नुहुन्न’ ड्युटीमा रहेकी नर्सले दिक्क मान्दै भनिन्, ‘भन्दा भन्दा हैरान हुन्छौं, कोरोनाको डरै लाग्दैन कि के हो खै?’ निलो कलरको डिस्पोजेवल फुल गाउन लगाएकी दुईजना नर्स अक्सिजन सपोर्टमा राखिएका बिरामीको केयरमा खटिएका थिए। वार्डमा हिँड्न पनि उनीहरुलाई असहज भएको हामीले प्रत्यक्ष देख्यौं।
‘असजिलो भए जसरी हिँड्नुभएको छ नि?’ बिरामी हेरेर फर्किएपछि हामीले साध्यौँ।
‘असजिलो त छ नि के गर्नु अस्पतालमा यस्तै गाउन छ, हामीले आफ्नो सजिलो भन्दा पनि बिरामीको केयरमा ध्यान दिएका छौं’ यति भनेर उनी मुस्कुराउदै अर्को वार्डमा बिरामी हेर्न गइन्।
पीपीइमै ड्युटीमा खटिएकी नर्स मनिषा अधिकारीले आफूलाई गाह्रो भएपनि बिरामीको केयरमा केन्द्रित हुने गरेको सुनाइन्।
‘८ घण्टाको सिफ्टमा ६ घण्टा त पीपीई लगाउनुपर्छ, आफ्नो सुरक्षाको लागि लगाउनै पर्छ,’ उनले भनिन्, ‘गर्मी महिना छ, पसिना आउँछ, गाह्रो हुन्छ। सिफ्टभरी खाना खान पाइँदैन, पिसाब गर्न जान पाइँदैन, आफूलाई प्रिपेयर गरेर बिरामीको केयर गर्नुपर्छ भन्ने भावले आफुलाई कन्ट्रोल गरेर काम गर्नुपर्छ।’
पेडियाट्रिक सर्जरी भवनमा रहेको कोभिड वार्डकी नर्सिङ अफिसर सरला केसीले अस्पतालमा पर्याप्त मात्रामा पीपीई उपलब्ध नभएको सुनाइन्।
‘हामीसँग फूल पीपीई त छैन, डिस्पोजेवल छ, बिरामी हेर्न जाने दुईजना नर्सले त्यहीँ लगाउनुहुन्छ,’ उनले भनिन्, ‘बिरामीको चाप बढिरहेको छ, आवश्यक मात्रामा सामग्री पाएका छैनौं। तर, नपाउँदा पनि बिरामीलाई केयर गरिहेका छौं।’
उनले नर्सहरुलाई बिहान र दिउँसोमा ड्युटी गर्नेलाई ८ घण्टा र रातिको ड्युटीमा रहनेले १२ घण्टाको ड्युटी अवधि रहेको सुनाइन्।
अस्पतालमा खटिएका नर्सहरु पनि संक्रमित भइरहेको र बिरामीको चाप अनुसार नर्सिङ स्टाफ कम रहेको केसीले बताइन्। ‘अहिले हाम्रो बहिनी (नर्सहरु) पनि संक्रमित भइरहेका छन्, संक्रमित भएपछि लक्षण नभए उनीहरु १० दिन आइसोलेसनमा बस्छन्, त्यो हुँदा पनि नर्सिङ जनशक्ति कमी हुन आउँछ,’ केसीले भनिन्, ‘हामीसँग जनशक्ति त छ, तर बिरामीको चाप अनुसार पर्याप्त छैन।’
अघिल्लो वर्ष कोरोना संक्रमतिको उपचारमा खटिएका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई अस्पतालले आवासको व्यवस्था तथा होटल क्वारेन्टाइनमा राखेको थियो। तर अहिले संक्रमितको स्वास्थ्य उपचारमा खटिने चिकित्सक तथा नर्सहरु आफ्नो घरमै जान्छन्। काठमाडौंमा निशेधाज्ञा लागू भएपछि अस्पतालले यातायातको व्यवस्था गरेको छ।
तर, अस्पतालमा धेरै स्टाफ हुने भएकाले व्यवस्थापन गरेको सवारीसाधनमा धेरै भीड हुने नर्स केसीको भनाइ छ। ‘अस्पतालमा कोरोनाका बिरामी हेर्ने नर्सहरु पनि नुहाएर घरै जानुहुन्छ, पहिलाको जस्तो होटल क्वारेन्टाइन छैन। आउन, जान अस्पतालले सवारीसाधनको व्यवस्था गरेको छ,’ उनले भनिन्, ‘तर, धेरै स्टाफ भएकाले यातायातमा त धेरै भिडभाड हुन्छ, नहुनु भन्दा त त्यहीँ पनि ठिक छ भने हामी भिडभाड भएपनि त्यसमै यात्रा गर्छौं।’
त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको स्वास्थ्य उपचारमा खटिँदै आएका सह–प्रध्यापक एवं छाति रोग विशेषज्ञ डा निरज बमले कोरोना संक्रमितको चाप सुनामीको लहर जसरी आएको बताए।
‘हामीले संक्रमितका लागि जति बेड थप गर्छौं, थप भएकै दिन संक्रमितले भरिन्छ,’ डा बमले भने, ‘संक्रमण अहिले सुनामीको लहर जसरी आइरहेको छ, अबका दिन भयावह हुनसक्छ।’
त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका सदस्यसमेत रहेका डा बमले त्रिवि शिक्षण अस्पतालले सुरेश वाग्ले क्यान्सर सेन्टरको ५० वेडको थप गर्न लागिएको पनि बताए।
कोरोना संक्रमितको चाप बढ्दै गए अन्य सेवाहरु सञ्चालन भइरहेका भवनहरुमा पनि कोरोना संक्रमितलाई उपचार व्यवस्थापन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
‘हाम्रो क्षमताले धान्ने परिस्थिति भन्दा बाहिर छ संक्रमितको चाप, अघिल्लो वर्षको भन्दा भयावह अवस्था आइसकेको छ,’ डा बमले भने, ‘लक्षण देखिएर परीक्षण गराएका अघिकांशमा संक्रमण देखिएको छ।’
डा बमले नेपालमा पनि कोरोना संक्रमणको अवस्था भारतको जस्तै हनुसक्ने बताए। ‘भारतमा अहिले अक्सिजन, जनशक्ति, शय्या अभावको अवस्था छ, भारतले अहिले अभाव नै अभाव झलिरहेको छ, त्यो अवस्था हामीकहाँ पनि आउछ जस्तो मलाई लाग्छ,’ उनले भने, ‘हामीले पनि पिपिईको अभाव झेलिरहेकै छौं।’
डा बमले आगामी दिनमा स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमणको दर बढ्न सक्ने बताए ।
‘हामीले मास्कको प्रयोग र दूरी कायम गर्ने काम त गरीरहेका छौं तर हाम्रो पनि आकलन के छ भने आगामी दिनमा हाम्री स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुने सम्भावन धेरै छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी संक्रमित भएमा जनशक्ति अभाव हुनसक्ने सम्भावना छ।’
आगामी दिनमा संक्रमणको दर बढ्दै जाँदा स्वास्थ्यकर्मी अभाव हुने देखिएमा टिचिङ अस्पतालले लक्षण नभएका कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत काममा खटाउनुपर्ने अवस्था आउनसक्ने उनले बताए।
उनले भने, ‘हामीले तयारी गरिरहेका छौं, स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण बढेर अभावको अवस्था आयो भने लक्षण नदेखिएका स्वास्थ्यकर्मीलाई पनि खटाउने योजना बनाएका छौं।’
डा बमले कोरोना संक्रमितको चाप बढ्दै गए अन्य वार्डहरुलाई मर्ज गर्दै कोभिड वार्ड बनाएर त्यहाँका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचारमा व्यवस्थापन गरिने योजना रहेको बताए।
डा बमले कोरोना संक्रमितको कुरुवाहरु संक्रमितसँगै हुने भएकाले कुरुवाहरुलाई समेत अस्पतालको अन्य क्षेत्रमा जान नपर्ने गरी एकतर्फी बाटो बनाउने योजना रहेको पनि जानकारी दिए।
संक्रमितको केयरमा खटिने नर्सिङ जनशक्ति कम भएकाले कोरोना संक्रमितलाई खाना खुवाउन तथा अन्य हेरचाहका लागि संक्रमितका एकजना आफन्तलाई समेत संक्रमितसँगै बस्न दिएको उनको भनाइ छ।
‘हामीले ३०० बेडमा संक्रमितको उपचार गर्ने लक्ष्य लिएका छौं, त्यो हुँदा संक्रमितको प्रत्येक बेडमा पुगेर हाम्रो जनशक्तिले औषधि, खाना खुवाउन भ्याउँदैनन् ,’ डा बमले भने, ‘त्यसैले एउटा बिरामीलाई एकजना कुरुवाले भौतिक दूरी कायम गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पालना गरेर खाना खुवाउने तथा सामान्य औषधि खुवाउने गरिदिनुस् भनेर हामीले आग्रह गर्यौं।’
उनले संक्रमित थपिँदै जादा कम जनशक्तिले धेरै बिरामीलाई धेरै सेवा दिन पर्ने अवस्था भएको बताए। डा बमले सघन उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गरिएपनि अन्य वार्डमा भने उपलब्ध नभएको बताए।
‘सघन उपचार कक्षमा जाँदा अलि बढी जोखिम हुने भएकाले त्यहाँ पीपीई लगाएर जाने गरेका छौं, अन्य आइसोलेसन, एचडीयू वार्डहरुमा भने हामीले पूरा पीपीई लगाएका छैनौं, मास्क, फेस सिल्ड भने लगाउछौं,’ डा बमले भने, ‘हाम्रो अस्पतालमा पूरा पीपीईको अभाव अहिलेपनि छ।’
प्रवक्ता रामविक्रम अधिकारीले अस्पतालमा कोरोना संक्रमितसँगै अन्य रोगका बिरामीलाई पनि उपचार सेवा नरोकिएको बताए।
उनले अस्पतालको नियमित सेवामा भर्ना भएर उपचारत बिरामीलाई पनि उपचार सेवा दिइरहेको सुनाए।
‘हाम्रो अस्पतालले अहिलेसम्म कोभिड र नन्कोभिड सबैलाई सेवा दिइरहेका छौं, महिनौदेखि सर्जरीका लागि पालो कुरेका बिरामी, नियमित डायलाइसिस गर्ने बिरामी र अन्य रोग लागेर भर्ना भएका बिरामीलाई सेवा दिइरहेका छौं,’ प्रवक्ता अधिकारीले भने, ‘कोरोना संक्रमितको चाप पनि बढिरहेको छ।’
प्रवक्ता अधिकारीले संक्रमितको चाप बढ्दै गएकाले अस्पताल परिसरमा रहेको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई पनि कोभिड वार्ड बनाउन लागिएको जानकारी दिए।
अस्पतालले बेड, अक्सिजन लगायतका भौतिक पूर्वाधार विस्तार गरिरहेपनि संक्रमितको उपचार व्यवस्थापनका लागि जनशक्तिको अभाव भने हुन थालेको बताए।
‘हामीले संक्रमित राख्ने ठाउँ त थपिरहेका छौं, तर समस्या भनेको अहिले जनशक्तिकै हो,’ उनले भने, ‘हामीसँग भएका जनशक्तिले मात्र उपचार व्यवस्थापन गर्न गाह्रो परिरहेको छ।’
उनले संक्रमितको चाप अहिलेकै अवस्थामा बढ्दै गए संक्रमितको व्यवस्थापन गर्न टिचिङ अस्पताललाई पनि समस्या हुने बताए।