काठमाडौं– ‘कस्तो छ अहिले? ठिक छौ नि हैन?’ डा सौरभ श्रेष्ठले आइसियु बेडमा सुतिरहेकी कोरोना संक्रमित युवतीको टाउको सुमसुमाउदै सोधे।
‘ठिकै छु’ युवतीले डा सौरभलाई हेर्दै मलिन स्वरमा जवाफ दिइन्।
‘आज त बेडबाट खुट्टा झारेर अलिअलि हिड्नुपर्छ है,’ डा सौरभले भने।
‘सक्छु होला र?’ ती युवतीले कमजोर महसुस गर्दै डा सौरभलाई सोधिन्।
‘किन आत्तिएको। एक्लै हिँड्ने होइन नि, म आइहाल्छु नि! विस्तारै यहीँभित्र मात्र हिँड्ने हो। अब त ठिक हुन लागिक्यौ’ डा सौरभले उनको टाउको सुमसुमाउदै सम्झाए।
‘ल अब हाँस त हाहाहा...’ डा सौरभ आफू पनि हाँस्दै ती युवतीलाई हसाउने प्रयासमा लागे।
युवती पनि मुसुक्क हाँसिन्।
‘ल पन्च हान’ डा सौरभले दाहिने हात मुठ्ठि पार्दै युवतीलाई भने। युवतीले पनि आफ्नो हात उठाउदै हाँस्दै डाक्टरको हातमा पन्च हानिन्।’
युवतीको टाउको सुमसुमाउदै कुरा गर्ने डा सौभर ती युवतीका दाजु, भाइ, काका, बुबा वा आफन्त होइनन्।
डा सौभरले ती बिरामीलाई हौसला दिन गरेको त्यो व्यवहार भने एउटा परिवारको सदस्यले अर्को सदस्यलाई गर्ने माया, स्याहार र हौसला भन्दा कम थिएन।
डा सौभरले ती युवतीसँग कुराकानी गरेको दृश्य नजिकैबाट नियालिरहेका हामीलाई पनि खुशी लाग्यो।
कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेकी ती युवतीलाई आइसियुमा राखेर उपचार गरिएको डा सौरभको भनाइ छ।
डा सौरभका अनुसार ती युवतीको स्वास्थ्य अवस्थामा अहिले सुधार भइरहेको छ।
डा सौरभ ती युवतीसँग कुरा गरेपछि अर्को आइसियु बेडमा रहेका वृद्ध पुरुषलाई भेट्न पुगे।
‘नमस्कार बुबा! ठिक छ हैन?’ डा सौरभले दुई हात जोड्दै नमस्कार गरे।
बेडमा सुतिरहेका ती वृद्ध पुरुषले पनि नमस्कार फर्काए।
डा सौरभले बेडमा सुतिरहेका कोरोना संक्रमित वृद्ध पुरुषको हात समातेर ढाडस दिँदै भने, ‘अब त डिस्चार्ज भएर घर जानुपर्छ। जाने कि नजाने?’
डा सौरभको प्रश्न नसकिदै ती वृद्ध पुरुषले मुन्टो र हात हल्लाउदै नजाने संकेत गरे।
‘हाहा...’ डा सौरभले लामो हाँसो हास्दै सोधे, ‘किन नजाले ठिक भएपछि त घर जाने हो यहाँ त बिरामी मात्र बस्ने हो नि।’
‘पुरानो घर जाने’ डा सौरभको हाँसोमा हाँसो मिलाउदै वृद्ध पुरुषले पनि जवाफ दिए।
‘पानी खान्छु’ उनले पानी खाने इसारा गरेपछि डा सौरभ र अर्का एक चिकित्सक र नर्सले बेड उठाए र उनलाई पानी खुवाए।
यो दृश्य बलम्बुमा रहेको शसस्त्र प्रहरी बल अस्पालको कोरोना आइसियु कक्षको हो।
आइसियुमा कोरोना संक्रमणको जटिलताले थला परेका बिरामीहरूलाई चिकित्सक तथा नर्स उपचार तथा केयरमा खटिँदै थिए।
आफ्नो स्वास्थ्य सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) लगाएर संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सहरू बिरामीलाई उपचार र स्यहार मात्र होइन आफन्तले जस्तै कुराकानी पनि गर्थें।
डा सौरभ एपिएफ अस्पतालको कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट हुन्।
नेपालमा कोरोना संक्रमणको पहिलो लहरदेखि नै कोरोना संक्रमितको उपचार व्यवस्थापनमा खटिँदै आएका डा सौरभले दोस्रो लहरको संक्रमण बढ्दै गएसँगै आइसियु तथा भेन्टिलेटरमा बिरामीको चाप बढ्दै गएको बताए।
उनले कोरोना संक्रमतिहरू छिट्टै गम्भीर अवस्थामा पुग्न थालेको सुनाए।
‘अहिले २२, २४ वर्षको उमेरदेखि ७५ वर्ष उमेर भन्दा माथिका बिरामीहरू आइसियुमा आइरहनुभएको छ,’ डा सौरभले भने, ‘कतिपय बिरामी बार्डबाट पनि निको नभएर झन् सिरियस भएर आइसियुमा आएका छन्, कतिपय बिरामीहरू अन्य अस्पतालबाट रेफर भएका पनि छन्।’
उनले आफ्नो आइसियु प्रोटोकल अनुसार बिरामीको स्वास्थ्य अवस्था हेरेर बिरामीलाई आइसियु तथा भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको जानकारी दिए।
आइसियु बेड नजिकै अर्को भवनमा कोरोना आइसोलेसनमा कोरोना संक्रमितहरूलाई राखिएको छ।
एपिएफ अस्पतालका केही चिकित्सक तथा नर्सहरू पनि संक्रमित भएर सोही अस्पतालमा उपचाररत छन्।
अस्पतालकी इन्स्पेक्टर डाक्टर अन्जु गुरुङ कोरोना संक्रमण भएर सोही अस्पतालको आइसोलेसनमा उपचाररत छिन्।
नेपालमा कोरोना संक्रमण देखिएदेखि नै बिरामीको स्वास्थ्य उपचारमा खटिएकी डा अन्जुले स्वास्थ्य सतर्कता अपनाउदा अपनाउदै पनि संक्रमित हुने पुगेको सुनाइन्।
‘कोरोना संक्रमणको शुरुआती अवस्था देखि नै म पनि मेडिकल अफिसरको रुपमा खटिएको थिएँ। सावधानी अपनाउँदा अपनाउँदै पनि यो दोस्रो लहरमा म सुरक्षित रहन सकिनँ,’ डा अन्जुले भनिन्, ‘अहिले ज्वरो आउने, खोकी लाग्ने छाती दुख्ने समस्या देखिएको छ।’
उनले आफू संक्रमित भएपनि आफ्नो मनोबल कमजोर नभएको बताइन्।
‘हामी स्वास्थ्यकर्मी आफू जोखिममा छौं भनेर बिरामीको उपचार गर्न छाडेर भाग्न मिल्दैन, मेरो मनोबल कम भएको छैन,’ उनले भनिन्, ‘हामी बाध्यताले संक्रमितसँग सम्पर्कमा छौं, तर सर्वसाधारणले सावधानी अपनाउन सम्भव छ, सावधानी अपनाउनुस् भन्न चाहन्छु।’
कोरोना संक्रमितलाई राखिएको अस्पतालको ब्लक सी–२ मा कोरोना संक्रमित ठूलो बुबासँगै थिइन् डा अञ्जिता थापा। उनी पनि कोरोना संक्रमित हुन्।
कोरोना संक्रमित आफन्तको काजक्रियामा खटिएको समयमा संक्रमति भएका उनका ठूलो बुबा शुरुमा होम आइसोलेसनमा थिए। फोनबाट चिकित्सकले दिएको परामर्श र औषधि सेवन गरिरहेका थिए। तर, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एपिएफ अस्पतालमा ल्याइएको डा अंकिताले बताइन्।
तर, अस्पतालहरूमा बेड पाउन भने मुश्किल अवस्था रहेको उनको भनाइ छ।
‘सबै अस्पतालहरूमा बेड खोजेँ तर, उहाँहरूले व्यवस्थापन गर्ने प्रयास गर्दैछौं मात्र भन्ने,’ उनले भनिन्, ‘यहाँ चिनजानको साथी पनि हुनुहुन्थ्यो, यहाँ भनँे, पालो पाएपछि ठूलो बुबालाई यहाँ लिएर आएँ।’
कोरोना संक्रमणबाट धेरैले परिवार गुमाएको र अस्पतालमा आउँदा पनि दुःख पाउनुपर्ने उनको अनुभव छ।
‘हामीले त बेड पायौं। तर, अहिले सजिलो छैन बेड पाउन,’ उनले भनिन्, ‘म के भन्छु भने, यस्तो दुःखदायी अनुभव कसैलाई भोग्न नपरोस्। अहिलेसम्म संक्रमित नभएकाहरूलाई म कोरोनाबाट जोखिन आग्रह गर्न चाहन्छु।’
कोरोना संक्रमितको उपचार व्यवस्थापनमा ड्युटीमा रहेकी डा स्वेच्छा कार्कीले पिपिई लगाएर बिरामीको सेवामा ७ देखि ८ घण्टासम्म खटिनुपर्ने बताइन्।
चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचारमा खटिदा पिपिई लगाएर काम गर्नुपर्ने भएकाले खाजा, पानी खान नखाई र शौच गर्न समेत जान नमिल्ने बताइन्।
‘हाम्री डाक्टरहरूको ड्युटी एकसाताको हुन्छ, हरेक दिन ७,८ घण्टा पिपिई लगाएर काम गर्नुपर्छ, पिपिई लगाएर काम गर्दा हामी डिहाईड्रेडेट हुन्छौं, ड्युटी आवरभरी पानी पनि नाखाइ काम गछौं, जति बिरामी बढ्छन्, त्यति नै हाम्रो ड्युटी बढी हुन्छ,’ उनले भनिन्, ‘जति गाह्रो भएपनि मैले मेरो साथीलाई फेरी राउण्डमा पठाउन नपाए हुन्थ्यो, मैले सबै बिरामी हेरेर सकाइदिन पाए हुन्थ्यो भन्ने लाग्छ।’
डा स्वेच्छाले कोरोना संक्रमितको उपचारमा खटिदा भने खुसी लाग्ने उनले सुनाइन्।
‘हामीले जसरी काम गर्नुपरे पनि बिरामीलाई निको पार्न पाए हुन्थ्यो भन्ने मोटिभेसनका साथ काम गछौं।’ उनले भनिन्, ‘बिहान र बेलुका दुईपटक राउण्डमा जान्छौं। बिरामीलाई आवश्यकता परेको समयमा पनि उहाँहरूलाई हेर्न जान्छौं।’
कोरोना संक्रमण बढ्दै जाँदा बिरामीको चाप बढ्दै गएको र संक्रमितलाई बेड अभाव हुदा दुःख लाग्ने उनले सुनाइन्।
‘हामीलाई सबै बिरामीलाई उपचार सेवा दिऊ भन्ने हुन्छ, तर, संक्रमित बढ्दै जाँदा अक्सिजन सहितको बेड खोजिरहेका बिरामीलाई बेड छैन भन्नुपदा दुःख लाग्छ,’ उनले भावुक हुँदै भनिन्, ‘यसरी नै संक्रमण बढ्दै गए बिरामीले बेड पाउन झनै मुस्किल हुनसक्छ, त्यसैले सबैले आफु र आफ्नो परिवारलाई कोरोनाबाट बचाउन अनुरोध गर्छु।’
एफिएफ अस्पतालमा नर्सिङ स्टाफको रुपमा कोरोना संक्रमतिको केयरमा खटिदै आएकी नर्स रोजी गजमेरले हरेक १४ दिनको ड्युटी समय हुने सुनाइन्।
कोरोना संक्रमतिको उपचारमा खटिदा आफ्नो सुरक्षाका लागि पिपिई लगाएर काम गर्न सामान्य बिरामीको केयर गर्दा जस्तो सहज नहुने उनले सुनाइन्। तर आफ्नो ध्यान आफ्नो समस्यामा भन्दा पनि बिरामीको केयरमै बढी हुने उनको अनुभव छ।
‘पिपिई लगाएर काम गर्न सहज त हुँदैन तर, खाना–पानी खान पाइँदैन, पिसाब फर्न जान पाइँदैन,’ उनले भनिन्, ‘तर, हामीले आफ्नो समस्याबारे सोच्दैनौं, बिरामीको कसरी केयर गर्ने कसरी सेवा दिने बिरामीलाई छिट्टै निको पारेर पठाउनुपर्छ भन्ने सोच मात्र राखेर काम गरिरहेका हुन्छौं।
उनले कोरोना संक्रमणबाट जोखिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिन्।
अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालका अनुसार एपिएफ अस्पतालमा कोरोना संक्रमितका लागि १४० शय्या व्यवस्थापन गरिएको छ। जसमा २० बेड आइसियु, ५० वेड एचडियु र अन्य ७० वेड जनरल बेड छन्।
अस्पतालमा स्वास्थ्य मन्त्रालय, अन्य अस्पताल र चन्द्रागिरी नगरपालिकाबाट सम्पर्क भएर सिफारिस भएका बिरामीलाई अस्पतालको बेड क्षमताको आधारमा भर्ना गरिने उनले बताए।
कोरोना संक्रमितहरू पछिल्लो समय बालबालिकादेखि वृद्धवृद्धासम्म भएको र युवाहरूमा संक्रमण दर र गम्भीर बिरामी हुने दर पनि बढेको उनले सुनाए।
‘पहिलाको भन्दा अहिले युवाहरूमा संक्रमण दर पनि बढेको छ, गम्भीर अवस्था भएका, निमोनिया भएर आइसियु भेन्टिलेटरमा पुग्ने युवाहरू पनि बढ्दै छन्,’ उनले भने, ‘अहिले बालबालिकादेखि वृद्धवृद्धासम्म संक्रमित छन्। त्यसमा पनि लक्षणसहितको गम्भीर समस्या बढी भएका युवाहरू पनि बढी छन्।
उनले नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आइसियु र भेन्टिलेटर खोज्नेहरूको फोन बढी आइरहेको बताए।
‘बेड चाहियो भन्दै दैनिक ४०–४५ जनाले फोन गर्नुहुन्छ’, डा नेपालले भने, ‘तर, हामीसँग भएका बेडहरूमा बिरामी भरिएका छन्, दैनिक १०–१२ जना डिस्चार्ज पनि हुन्छन्, त्यही डिस्चार्ज भएका बेडहरूमा हरेक दिन बिरामी थपिन्छन्।’
डा नेपालका अनुसार नेपालमा कोरोना संक्रमण देखिएयता गत वर्षको जेठ महिनादेखि हालसम्म २ हजार ६५० जना संक्रमतिलाई उपचार सेवा दिइएको छ।
‘हाम्रो अस्पतालमा कोरोना संक्रमणको दर कम हुँदा दुईजना मात्र बिरामी पनि थिए, अब संक्रमण सकिन लाग्यो भन्ने सोचेका थियौं। तर, बिरामीको संख्या शून्यमा नझर्दै फेरि दोस्रो लहर आयो,’ उनले भने, ‘अहिले १४० बेड नै संक्रमितले भरिएको छ।’
डा नेपालले कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेसम्म संक्रमित नभएका तथा यसअघि संक्रमित भइसकेका सबैलाई कोरोना संक्रमण हुनसक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे।
भिडियो : निमेष जंग राई