काठमाडौं– देशकै सबैभन्दा पुरानो तथा केन्द्रिय अस्पताल वीर अस्पतालमा बिहानैदेखि बिरामीको भिडभाड छ।
मंगलबार बिहान करिब १० बजे अस्पताल परिसरमा स्वास्थ्यखबरको टोली पुग्दा अस्पताल परिसरमा रहेको हेल्थ डेस्क क्लिनिकमा बिरामीको भिड थियो।
सरकारले कोरोना संक्रमणबाट जोगिन १५ जनाभन्दा बढी भेला हुन नपाइने र दुई मिटरको दुरी अनिवार्य कायम गर्नुपर्ने आदेश जारी गरेको छ।
तर, कोरोनाको आशंकामा वीर अस्पतालमा पिसिआर परीक्षण गराउन आउनेहरुले भने सरकारको यो आदेश पालना गरेका थिएनन्। सरकारको आदेश अनुसार अस्पतालले पनि पिसिआर परीक्षणमा आउनेहरुको व्यवस्थापन गर्न सकेको छैन।
क्लिनिकमा हरेक दिन कार्यरत दुईजना स्टाफ बिदामा रहेकाले १० बजे खुल्ने हेल्थ डेस्क डेढ घण्टा ढिला गरी साढे ११ बजेमात्र खुल्यो। त्यसैले पनि कोरोना परीक्षण गराउन आउनेहरुको लाम बाक्लो देखिन्थ्यो।
वीर अस्पतालमा कोराना परीक्षण र संक्रमितको उपचारसँगै अन्य रोगका बिरामीहरुको पनि उपचार हुँदै आइरहेको छ।
हेल्थ डेस्क नजिकै रहेको ओपिडी टिकट काउन्टर र अस्पतालका अन्य विभागहरुमा पनि बिरामीको चाप उत्तिकै देखिन्थ्यो।
तर कोरोना संक्रमितलाई भर्ना गरि उपचारका लागि राखिएको अस्पतालको पछाडिपट्टिको नयाँ भवनमा भने संक्रमितहरुका लागि उपचार व्यवस्थापन व्यवस्थित देखिन्थ्यो।
वीर अस्पतालले कोरोना संक्रमतिका लागि अस्पताको नयाँ ग्याष्ट्रोलोजी वार्ड र कार्डियोलोजी वार्डलाई कोरोना संक्रमितको उपचारका लागि व्यवस्थापन गरिएको छ।
अस्पतालको नयाँ भवनमा बनाइएको आइसोलेसन वार्डहरुमा संक्रमितहरु भरिभराउ थिए। उनीहरुको लागि केयर गर्न नर्सिङ स्टाफहरु निरन्तर खटिएका थिए। यस्तै चिकित्सकहरु पनि बिरामीको स्वास्थ्य उपचार र औषधि सिफारिसका लागि खटिएका थिए।
अस्पताल परिसरमा भिडभाड भएपनि कोरोना संक्रमित राखिएका वार्डहरुमा पनि शान्त र व्यवस्थित देखिन्थ्यो। अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डाक्टर अच्यूत कार्कीले वीर अस्पतालमा हाल ७६ वटा शय्या कोरोना संक्रमितका लागि छुट्याइएको जानकारी दिए।
उनका अनुसार संक्रमितको चाप बढ्दै गएकाले कतिपय नन्कोभिड वार्डमा पनि कोरोना संक्रमितको उपचार व्यवस्थापन गरिएको छ।
वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई समेत २०० शय्या व्यवस्थापन गरी कोरोना संक्रमितको उपचार गर्ने तयारी भइरहेको डा कार्कीको भनाइ छ।
अस्पतालमा ३ वटा भेन्टिलेटरसहित ८ वटा आइसियु बेड रहेको र सबैमा कोरोना संक्रमित उपचारत रहेको डा कार्कीले जानकारी दिए।
डा कार्कीले वीर अस्पतालमा आएर कोरोना पहिचान भएका तथा उपचारका लागि भर्ना हुनुपर्ने बिरामीलाई हालसम्म फर्काउनुपर्ने अवस्था नरहेपनि अन्य अस्पतालबाट रेफर भएर आउन चाहने बिरामीका लागि भने शय्या व्यवस्थापन गर्न नसकिएको बताए।
‘हामीले यहाँ नै कोरोना पहिचान भएका र भर्ना हुनुपर्ने अवस्थाका बिरामीलाई शय्या अभाव भएर अर्को अस्पतालमा रेफर गर्नुपर्ने अवस्था नै त छैन, अन्य नन्कोभिड वार्डहरुमा व्यवस्थापन गरेर पनि बिरामीलाई राखेका छौं,’ डा कार्कीले भने, ‘तर, बाहिरबाट रेफर भएर यहाँ आउनेका लागि भने आइसियु तथा आइसोलेसन छुट्याउन सकिएको छैन।’
डा कार्कीले कोरोना संक्रमितको चाप बढ्दै जाँदा अस्पतालमा नर्सिङ जनशक्ति र सरसफाइ गर्ने कर्मचारी भने अभाव भएको बताए।
‘अहिले हामीसँग नर्सिङ जनशक्ती र क्लिनरको अभाव नै छ, त्यसैले उहाँहरुलाई डबल ड्युुटीमा खटाउनुपर्ने बाध्यता समेत छ,’ उनले भने, ‘सर्जिकल भवनमा पनि २०० शय्या थप गरेर संचालन गरियो भने थप जनशक्ति विशेषगरी नर्सिङ, क्लिनर र सुरक्षा गार्ड चाहिन्छ।’
डा कार्कीले भर्ना भएका कोरोना संक्रमितको उपचार व्यवस्थापन र अक्सिजन आपूर्तिमा भने अहिलेसम्म कुनै समस्या नभएको बताए।
‘हामीलाई अक्सिजन सप्लाई गर्ने सप्लायर्सले अहिलेसम्म नियमित रुपमा अक्सिजन सिलिण्डर उपलब्ध गराइरहनु भएको छ, उहाँहरुले अभाव हुन दिदैनौं भन्नुभएको छ, यस्तै अक्सिजन प्लान्ट पनि बनाउदै छौं,’ डा कार्कीले भने, ‘त्यसैले अक्सिजनको अभाव हुदैन।’
उनले वीर अस्पतालको अक्सिजन प्लान्ट केहीदिनभित्रै बन्ने पनि जानकारी दिए।
अस्पतालको कोरोना संक्रमितको केयरमा आइसोलेसन वार्डमा खटिएकी नर्स रेखा फुयाँलले कोरोना संक्रमितको उपचार व्यवस्थापनमा आफूहरु निरन्तर खटिएको बताइन्।
नर्स फुयाँलले अघिल्लो वर्षको भन्न्दा यसवर्ष कोरोना संक्रमितमा गम्भीर समस्या बढी रहेको पाइएको बताइन्।
उनले आफ्नो विभागमा १७ वटा आइसोलेसन बेड भएको र सबै बेड संक्रमितले भरिएको जानकारी दिइन्।
बिरामीको केयरमा नर्सिङ जनशक्ती प्रत्यक्ष रुपमा खटिने भएपनि सरकारले नर्सिङ जनशक्तिलाई प्रोत्साहन हुने कार्य भने नगरेको उनको गुनासो छ।
‘हामी संक्रमित बिरामीसँग एक्स्पोज भएर काम गर्नुपर्छ, हामी निरन्तर खटिएका छौं तर डराएका छैनौं,’ उनले भनिन्, ‘हामीले गरेको काममा प्रोत्साहन हुने खालको केही व्यवस्था त छैन, तर बिरामी निको बनाउन पाउदा खुसी र सन्तुष्ट छौं।’
कोरोना संक्रमतिको उपचारकै लागि बनाइएको अर्को वार्डमा खटिएकी अस्पताल नर्सिङ निरीक्षक (अननि) सावित्रा शिवाकोटीले कोरोना संक्रमितको उपचार व्यवस्थापनमा परिवार नै बिर्सिएर खटिएको बताइन्।
‘अहिले त हाम्रो घर नै अस्पताल हो, डबल ड्युटी हुँदा घर समेत जान भ्याइदैन, परिवारसँग टाढा बसेर पनि बिरामीहरुको केयरमा खटिएका छौं,’ उनले भनिन्, ‘बिरामीको सेवामा यसरी खटिन पाउदा खुसी पनि लाग्छ।’
नर्सिङ स्टाफहरु जोखिम मोलेर कोरोना संक्रमितको उपचार तथा केयरमा खटिएपनि सरकारले नर्सिङ जनशक्तिलाई प्रोत्साहन तथा कोभिड जोखिम भत्ता भने नदिएको उनको दुखेसो छ।
उनले गुनासो गरिन्, ‘सरकारले दिने भनेको प्रोत्साहन भत्ताको कुरा त हामीलाई थाहै छैन, एकाउन्टेनले हिसाब गर्दैछन् कि, कोरोना संक्रमितको केयरमा खटिएको एकवर्ष भइसक्यो कोभिड भत्ता त पाएका छैनौं।’
नेपालमा कोरोना महामारी तिव्र रुपमा बढ्दै जाँदा वीर अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामीहरुको उपचार व्यवस्थापनको विषयमा स्वास्थ्यखबरले भिडियो रिपोर्ट तयार पारेको छ।
वीर अस्पतालमा यसरी हुँदैछ कोरोना संक्रमितको उपचार (भिडियो)
भिडियो : निमेष जंग राई