काठमाडौं– सोमबार दिउसो करिब १२ बजे। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा बिरामी, चिकित्सक तथा बिरामी कुरुवाको चहसलपहल थियो।
आकस्मिक कक्ष भित्र अक्सिजनमा राखिएका केही बिरामीका आफन्त बाहिर फोनमा अन्य अस्पतालमा आइसियु र भेन्टिलेटरसहितको शय्या खोज्न फोनमा व्यस्त थिए।
‘कोरोना संक्रमण भएर घरमै राखेका थियौं, आज सिरियस हुनुभएर ल्याएको डाक्टरले भेन्टिलेटरमा राख्नुपर्छ भन्नुभयो तर, यहाँ वेड खाली छैन रे,’ आकस्मिक कक्ष बाहिर रहेकी एक महिलाले भनिन्, ‘सबै सरकारी अस्पतालमा फोन गरिसकेँ, तर बेड नै छैनरे।’
ती महिलाकै छेउमा रहेकी उनकी छोरीले भनिन्, ‘हामीले काँही कसैलाई चिनेको छैन, कसरी बेड पाइएला र !’
आकस्मिक कक्ष कोरोना संक्रमितले भरिएको थियो।
आकस्मिक कक्ष मात्र होइन आइसोलेसन, आइसियु र भेन्टिलेटर पनि संक्रमितले भरिभराउ थिए।
अस्पतालमा शय्या अभाव भएपनि आकस्मिक कक्षमा आएका बिरामीलाई आकस्मिक सेवा दिँदै चिकित्सकहरुले भन्दै थिए, ‘तपाईंको बिरामीलाई भेन्टिलेटर चाहिन्छ, यहाँ छैन, अरु अस्पतालमा बुझ्नुस्।’
बिरामीको गम्भीर अवस्था र शय्याको खोजीमा छटपटिरहेका बिरामीको आफन्त देख्दा अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी पनि मलिन थिए।
‘सकेसम्म अन्त बुझ्दै गर्नुस्, नआत्तिनुस्, अवस्था नै यस्तै छ,’ आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीहरु बिरामी कुरुवालाई सम्झाउदै थिए।
अस्पतालमा शय्या खाली नभएपछि उनीहरुलाई सम्झाउनु बाहेक अरु विकल्प चिकित्सकसँग पनि छैन।
स्वास्थ्यखबरको टोलीले करिब ५ घण्टा अस्पतालमा भइरहेका गतिविधिलाई नियालीरहेको थियो।
बेलुकाको करिब ५ बजे आकस्मिक कक्ष अगाडी एउटा एम्बुलेन्स आइपुग्यो। शुक्रराज अस्पतालको आकस्मिक कक्षबाट एकजना पुरुषले आफ्नी आमालाई एम्बुलेन्समा राखे।
अस्पतालमा १२ घण्टा राखेपनि आइसियु खाली नभएपछि आमालाई अर्को अस्पतालमा लैजान लागेको उनले सुनाए।
‘बिहान ५ बजे अस्पतालमा ल्याएको थिएँ, डाक्टरले आइसियुमा राख्नुपर्छ भन्नुभयो, दिनभर आइसियुको खोजीमा लागे, अहिले एउटा अस्पतालमा बल्ततल्ल मिल्यो, त्यही लैजान लागेँ।’
आफुपनि कोरोना संक्रमित भएको तर, लक्षण नभएकाले आमाको उपचारको व्यवस्थापनमा आफैं खटिएको उनले सुनाए।
कोरोना संक्रमित भएकाले उनले करिब २ मिटरको दुरी कायम गर्दै आफ्ना कुरा हामीलाई सुनाए। संक्रमण अरुलाई नसरोस् भनेर उनले मास्क लगाएका थिए।
‘कोरोना त मलाई पनि पोजिटिभ नै देखिएको हो, आमालाई अलि सिरियस भयो अरु कोही छैन, आफैं उपचार गराउन हिडिरहेको छु’ उनले दुखी हुँदै सुनाए। आमालाई एम्बुलेन्समा राखेर उनी आफ्नो बाइक चडेर अस्पतालबाट निस्किए।
आकस्मिक कक्षमा मात्र होइन, आइसियु बाहिर रहेका बिरामी कुरुवा पनि निराश अनुहारमा देखिन्थे।
‘केही दिन अघि हजुरबुबा गुमाए, अहिले बुबा भेन्टिलेटरमा हुनुहुन्छ,’ आइसियु बाहिर रहेकी एक युवतीले भनिन्, ‘बुबाको अवस्था पनि सिरियस छ, सास रहँदासम्म आस रहन्छ, उहाँलाई ठिक भइदियोस् भनेर प्रार्थना गरेर बाहिर बसिरहेको छु।’
नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएसँगै संक्रमितको उपचार व्यवस्थापनमा समस्या देखिन थालेको छ।
स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीहरु बढ्दै जाँदा अस्पतालहरुमा आइसोलेसन, आइसियु तथा भेन्टिलेटर सहितका शय्या अभाव हुन थालिसकेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि कोरोना संक्रमितले शय्या भरिएका छन्। अस्पतालमा रहेको १२ वटा भेन्टिलेटर सहितको २२ वटा आइसियुमा बिरामी भरिएका छन्।
अकस्मिक उपचारका लागि नयाँ आउने बिरामीहरुको लागि अस्पतालमा आइसियु र भेन्टिलेटरको अभाव हुन थालिसकेको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताए।
उनका अनुसार अस्पतालमा शय्या खोज्दै हरेक दिन करिब ५० जना संक्रमित आउने गरेका छन्। जसमध्ये धेरैलाई फर्काउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ।
अस्पतालकी आइसियु नर्सिङ इन्चार्ज उषा देवकोटाले आइसियु भेन्टिलेटरमा उपचार कोरोना संक्रमित निको हुने दर समेत कम हुँदै गएको बताइन्।
‘पहिला पहिला त आइसियु भेन्टिलेटरबाट बिरामी ठिक भएर घर पठाउन पाएका थियौं, धेरै दिन आइसियुमा राख्नुपर्ने अवस्था पनि थिएन,’ नर्सिङ इन्चार्ज देवकोटाले भनिन्, ‘अहिले एकपटक भर्ना भएको बिरामीलाई तीनसातासम्म भेन्टिलेटरमा राख्दा पनि बचाउन सकिएको छैन।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमितको उपचार र व्यवस्थापन कसरी भइरहेको छ? अस्पतालमा संक्रमितहरु कसरी आइरहेका छन्? कोरोना संक्रमितको अवस्था कस्तो छ? हामीले शुक्रराज अस्पतालमै पुगेर लाइभ भिडियो रिपोर्ट तयार पारेका छौं।
शुक्रराज अस्पतालमा यसरी हुदैछ संक्रमितको उपचार (भिडियो)
भिडियो : निमेष जंग राई