काठमाडौं- नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
दैनिक २ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएसँगै संक्रमति पहिचानका लागि परीक्षण किट तथा स्वास्थ्य सामाग्रीको व्यवस्थापनका लागि स्वास्थ्य सेवा विभागले एक महिनाका लागि आवश्यक पर्ने परीक्षण किट र स्वास्थ्य सामाग्री स्टक राखिने जनाएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्ररमण सिंहका अनुसार कम्तिमा एक महिनाका लागि आवश्यक पर्ने परीक्षण किट, स्वास्थ्य सामाग्री तथा औषधिहरुको व्यवस्थापको तयारी गरिएको छ।
उनका अनुसार केही समयलाई पुग्ने परीक्षण किट तथा स्वास्थ्य सामाग्री विभागसँग मौज्दात छ।
विभागको व्यवस्थापन महाशाखाको तथ्यांकका अनुसार हाल सर्जिकल मास्क, एन९५ मास्क एक लाख भन्दा बढी मौज्दात छ।
विभागसँग रहेका स्वास्थ्य सामाग्री तथा परीक्षण किटहरु अभाव भएका स्थानीय तह तथा केन्द्रिय अस्पतालहरुमा आवश्यकताका आधारमा वितरण गरिने महानिर्देशक डा सिंहले जानकारी दिए।
प्रदेश तथा स्थानीय तहले आफैंले खरीद गर्न सक्ने बाहेकका स्वास्थ्य सामाग्री किन्ने प्रक्रिया स्वास्थ्य सेवा विभागले अघि बढाइसकेको महानिर्देशक डा सिंहले बताए। उनका अनुसार परीक्षण किट, स्वास्थ्यकर्मीका लागि पिपिइ, अक्सिजन लगायतका आकस्मिक स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया अघि बढाइसकिएको छ ।
यी हुन् व्यवस्थापन महाशाखामा मौज्दात रहेको स्वास्थ्य सामाग्री
परीक्षण किट कति छन् ? कति खरिद हुँदैछ ?
स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको व्यवस्थापन महाशाखाको खरिद शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार ४ लाख व्यक्तिको कोरोना परीक्षणका लागि आरटी-पिसिआर टेष्ट किट विभागसँग मौज्दात रहेको छ । यस्तै १ लाख एन्टिजेन टेष्ट किट मौज्दात छन्।
उनका अनुसार युनिसेफ मार्फत करिब डेढ लाख जनसंख्याका लागि कोरोना परीक्षण गर्न पुग्ने एन्टिजेन परीक्षण किट केही दिनमा ल्याइँदै छ । यस्तै विभागले २ लाख एन्टिजेन टेष्ट किट खरिद प्रक्रियासमेत अघि बढाइसकेको छ। यस्तै करिब ५ हजार व्यक्तिमा युके भेरिएन्टको कोरोना परीक्षण गर्ने पिसिआर टेष्ट किट पनि केहीदन भित्रमै ल्याइने ढुंगानाको भनाइ छ।
कोरोना संक्रमितको उपचार व्यवस्थापनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि एकलाख पिपिइ केही दिनभित्रमै आउने खरिद शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए ।
यस्तै डेढ लाख गाउन, फेससिल्ड एक लाख लगायतका स्वास्थ्य सामाग्री पनि केही दिनभित्रमै आउने उनको भनाइ छ ।
अक्सिजन अभाव हुनसक्ने !
व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर भिमसिंह टिंकरीका अनुसार कोरोना परीक्षणका लागि आवश्यक पर्ने भिटिएम, आरटि-पिसिआर र एन्टिजेन्ट परीक्षण किट करिब २ महिनालाई पुग्ने छ । थप खरिदका प्रक्रियाहरु पनि अघि बढाइएको छ ।
नेपालमा कोरोना परीक्षणका लागि भिटिएम तथा किट, मास्क, गाउन लगायतका स्वास्थ्य सामाग्री अभाव भइहाल्ने अवस्था छैन। किनकी मास्क गाउन लगायतका पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्टहरु अहिले बजारमा पनि अभावको अवस्था छैन। तर, संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन अभाव हुनसक्ने संकेत देखिएको डा टिंकरीको भनाइ छ।
हालसम्म भारतबाटै अक्सिजन आयात हुने गरेको भन्दै डा टिंकरीले भारतमा संक्रमण व्यापक रुपमा फैलिएकाले त्यहाँ नै अभावको अवस्था आउँदा भारतले नियमित रुपमा अक्सिजन सप्लाई नगरे नेपालमा अक्सिजन अभाव हुनसक्ने उनको भनाइ छ।
‘अरु परीक्षण किट र स्वास्थ्य सामाग्रीको विषयमा समस्या परिहाल्ने देखिएको छैन,’ डा टिंकरीले भने, ‘तर अक्सिजन भने अभाव हुने हो कि भन्ने लागेको छ, स्वास्थ्य मन्त्रालयमा हामीले अक्सिजनको व्यवस्थापन कसरी गर्ने भनेर छलफल पनि गरिरहेका छौं।’