काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भइसकेको बताएका छन्। स्वास्थ्यखबरको कार्यक्रम ‘स्वास्थ्य संवाद’मा डा गौतमले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भइसकेको बताएका हुन्।
डा गौतमका अनुसार नेपालमा हाल नयाँ भेरियन्टको कोरोना संक्रमण पनि देखिन थालेको छ। खुला सीमानाका कारण मानिसहरू सहजरूपमा आवतजावत गर्ने भएकाले भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको उनले बताए।
यस्तै आमसभा, जुलुस, सेमिनार, गोष्ठी, जात्रालगायत ठूलठूला भेला र भीडभाडका गतिविधि बढेको र यी कार्यक्रमहरूमा जनस्वास्थ्यका मापदण्ड पालना नै नभएका कारण पनि नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भएको डा गौतमको भनाइ छ।
उनले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सीमानाकाहरूमा कोरोना आशंका गरिएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणको व्यवस्थापन गरिएको र नेपाल भित्रिनेहरूलाई मास्क वितरणसमेत गरिएको बताए।
डा गौतमले सीमानाकाहरूमा ‘हेल्थ डेस्क’को व्यवस्थापन गरिएको भए पनि कतिपयमा अझै व्यवस्थित गर्न नसकिएको स्वीकार गरे।
‘सीमानाकाका चारवटा स्थानका हेल्थ डेस्कमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘अझै केही ठाउँमा व्यवस्थित गर्नुपर्ने छ, दुई÷तीनवटा नाकामा अझै अप्ठ्यारो नै छ। पाल टाँगेर हेल्थ डेस्क चलाइएको छ।’
डा गौतमले जनस्वास्थ्यको मापदण्ड पालना नभएकै कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेको बताए।
‘जहाँ भीड, त्यहाँ कोभिड’ हुन्छ। काठमाडौंको जनसंख्या धेरै छ, जनसंख्या धेरै भएको, भीडभाड धेरै भएको, ठूलठूला आमसभा पनि धेरै भएको, गोष्ठी, जुलुस, धर्ना भइरहेको हुन्छ,’ डा गौतमले भने, ‘यी नै कारणले गर्दा पनि काठमाडौंमा संक्रमणको दर बढी भएको हो।’
डा गौतमले पछिल्लो समय विद्यालयहरू खुलेपछि बालबालिकामा कोरोना संक्रमणको दर बढेको बताए। विद्यालयहरूले जनस्वास्थ्यको मापदण्ड पालना गराउन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय विद्यालय बन्द गर्नुपर्ने सुझाव दिइसकेको पनि डा गौतमले जानकारी दिए।
डा गौतमले नेपालमा हालसम्म १८ लाख ७५ हजार व्यक्तिले कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाइसकेको जानकारी दिए।
नेपालमा कोरोना संक्रमणको अवस्था के छ? के कारणले नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेको छ? कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले के–कस्तो तयारी गरिरहेको छ? यी नै विषयमा केन्द्रित रहेर डा गौतमसँग स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छन्।
प्रस्तुत छ डा गौतमसँग गरिएको भिडियोवार्ताः