काठमाडौं - पौष १७ गते धनगढीका सुनिल कुमार विष्ट आमालाई बझाङ पुर्याउन एयरपोर्ट जाँदै थिए। उनी मोटरसाइकलमा थिए। बिहानको १० बज्दै थियो। त्यही क्रममा ट्रकले उनलाई ठक्कर दियो। अनि उनी सडकै पल्टिए।
त्यो दुर्घटनामा सुनिलको देब्रे खुट्टा भाँचियो। उनको खुट्टाको हड्डी मात्र भाँचिएको थिएन, नशा पनि च्यातिएको थियो। रक्तनली चुडिएको थियो या भनौ कमजोर मुटु भएकाले उनको भाँचिएको त्यो खुट्टा सहजै हेर्न सक्दैनथे। सुनिल बेहोस त भएनन् तर खुट्टाको अवस्था हेर्दा उनी पुरा होसमा पनि थिएनन्।
उनलाई उपचारका लागि धनगढीकै एक अस्पतालमा लगियो। तर उनको उपचार सहज थिएन। हड्डी मात्र नभई नशा, रक्तनली पुरै खराब अवस्थामा भएकाले त्यहाँका अस्पतालले उनलाई उपचारका लागि काठमाडौं रिफर गरे।
उनले भने, ‘दुर्घटनापछि मलाई धनगढीकै एक अस्पतालमा लगियो। तर यहाँ उपचार संभव छैन भनेपछि मलाई काठमाडौंमा रिफर गरियो।’
ती अस्पतालका चिकित्सकहरुले ६ घण्टा भित्र अस्पताल पुग्न नसके खुट्टा काट्नुपर्ने बताएका थिए। यो सुन्दा सुनिल र उनको परिवार विक्षिप्त भए। त्यो बेला उनलाई लाग्यो, 'अब मेरो खुट्टा गयो। म फेरी हिँड्न सक्दिन।'
उनी भन्छन्, ‘म आफैँले मेरो खुट्टा हेर्न सकिन। खुट्टा भाँचिएर पुरै फर्किएको थियो। त्यही माथि अस्पतालले पनि यहाँ उपचार हुँदैन भनेपछि अब मेरो खुट्टा गयो भन्ने पनि भएको थियो’ उनले भने।
धनगढीमा प्राथमिक उपचार गरेपछि उनलाई काठमाडौंस्थित ब्लु क्रस अस्तपालमा ल्याइयो। अस्पतालमा ल्याउने बित्तिकै सुनिलको शल्यक्रिया सुरु गरियो।
सुनिल अस्पताल भर्ना भएको एक सय दिनभन्दा बढी भइसकेको छ। यो दिनसम्म आइपुग्दा उनी बैशाखीको सहाराले कोठाभित्रै हिडडुल गर्न सक्छन्।
यतिको हिँडडुल गर्न सुनिलको खुट्टामा मेजर दुई वटा अपरेशन गर्नुपरेको ब्लु क्रस अस्पतालकी अर्थोपेडिक सर्जन डा शिलु श्रेष्ठले बताइन्। उनलाई अझै पनि सामान्य दैनिकीमा फर्कन कम्तीमा तीन महिना लाग्ने उनले बताइन्।
उनी भन्छिन्, ‘यस्तो घटनामा बिरामीको हड्डीमा मात्र चोट लागेको हुँदैन। हड्डी भाँचिएको हुन्छ। रगतको नली छुट्टीएको हुन्छ भने हड्डीको वरिपरि हुने मासंपेशी तथा छालाहरु सबै गएको हुन्छ।’
यस किसिमको दुर्घटनामा बिरामीलाई समयमै अस्पताल पुर्याउन नसके खुट्टा नै काट्नुपर्ने अवस्था आउने उनले बताइन्। उनका अनुसार रक्तनली चुडिने भएकाले ६ घण्टा कटेको अवस्थामा बिरामीको खुट्टालाई जोगाउन निकै मुश्किल पर्छ।
‘यो निकै जटिल खालको शल्यक्रिया थियो। यदी बिरामी ६ घण्टाभित्र अस्पताल नभएको भए खुट्टा काट्नुपर्ने अवस्था आउँथ्यो। तर हामी खुट्टा जोगाउन सफल भयौँ’ उनले भनिन्।