काठमाडौं - सोलुखुम्बुकी २३ वर्षीया छिमी शेर्पाको पेट दुई वर्ष अघिसम्म सामान्य थियो। त्यसपछि उनको पेट असामान्य रुपमा बढ्दै गयो। सुत्न, हिँड्न, सामान्य काम गर्न पनि उनलाई समस्या हुन थाल्यो। अलिकति हिँड्दा पनि उनको श्वास फुल्ने गर्थ्यो।
‘मेरो पेट फुल्लिदै गयो। म हिँड्न सक्थिन। हिँड्यो की श्वास फुलेर आउँथ्यो। मलाई सुत्न पनि निकै गाह्रो हुन्थ्यो’, उनले भनिन्।
उपचारका लागि उनी अस्पताल नधाएको पनि होइन। तर धेरैजसो अस्पतालले उनलाई औषधि नै दिने गर्थे। कति अस्पतालले त उनको अवस्था देखेर नै अन्यत्र रिफर गरिदिन्थे। अनि रिफर गरेका अस्पतालले पनि अर्को अस्पतालमा रिफर गर्थे।
ती अस्पतालहरुको निचोड हुन्थ्यो, ‘यो ट्युमरको शल्यक्रिया गर्न सहज छैन।’ यो शिलशिला यसरी नै दुई वर्षसम्म चल्यो। त्यो बीचमा अस्पतालले दिएको औषधिले उनको ट्युमर घट्न सकेन। झन् दिनप्रति दिन बढ्दै नै गयो। दुखाई पनि कम भएन।
उनी भन्छिन्, ‘काठमाडौंको आधाजसो अस्पताल त म धाइसकेको थिएँ। तर सबैले मलाई अरु अस्पतालमा पठाउने गर्थे। एउटामा गयो अर्कोमा पठाउँथे अनि उता गयो फेरी अर्कोमा पठाउँथे।’
उनको पेटमा बढ्दै गएको ट्युमर देखेर चिकित्सकहरु नै दंग पर्ने गरेको सुनाउँदै उनी भन्छिन्, ‘अस्पतालमा गयो यस्तो ट्यमुर त हामीले अहिलेसम्म देखेका छैनौं भन्नु हुन्थ्यो डाक्टरहरुले पनि।’
अस्पतालहरुले रिफर मात्र गरिरहँदा उनी हैरान नभएकी पनि होइनन्। तर उपचार पाउने आशा भने मरिसकेको थिएन। यही शिलशिलामा उनी करिब एक महिनाअघि राष्ट्रिय ट्रमा सेन्टरमा पुगिन्। त्यहाँ डा जेनिथ सिंहले नेपाल क्यान्सर अस्पतालमा उनको उपचार हुने र त्यही जान सुझाव दिए।
डा जेनिथको सुझाव अनुसार नै उपचार हुने आशामा उनी नेपाल क्यान्सर अस्पताल पुगिन्। त्यहाँ उनको सबै परीक्षण भयो। सुरुमा त चिकित्सकहरु पनि अचम्ममा नपरेका होइनन्। किनभने उनको पेटमा भएको ट्युमर सानोतिनो थिएन। ३३ किलोको ट्युमर थियो।
पेटमा बढ्दै गएको ट्युमरले महत्वपूर्ण अंगहरु आन्द्रा, मिर्गौला, पिसाब नली पाठेघर, फोक्सोलाई असर गरेको थियो। नेपाल क्यान्सर अस्पतालका हाडजोर्नी तथा मासंपेशी क्यान्सर रोग विशेषज्ञ डा ऋषिराम पौडेलका अनुसार ट्युमरले यी सबै अंगहरुलाई धकेल्दै लगेको थियो। त्यसैले पनि यो कुनै एउटा विशेषज्ञको टिमले गर्न सक्ने शल्यक्रिया थिएन।
छिमीको पेटमा भएको ट्युमर निकाल्न विभिन्न विशेषज्ञ सहितको १५ जनाको टोली खटिनु पर्यो। तर चिकित्सकका लागि सबैभन्दा ठुलो चुनौती थियो, यी अंगहरुलाई जोगाउनु र बिरामीलाई निको बनाउनु।
त्यसपछि सुरु भयो, छिमीको जटिल शल्यक्रिया। उक्त शल्यक्रियामा मस्कुलोसकेटल अंकोलोजी, सर्जिकल अंकोलोजी, गाइनो अंकोलोजी, युरो अंकोलोजी, सिटिभिएस, एनेस्थेसिया सहितको टिम लिडरहरु सहभागी भए। छिमी पेटमा भएको ३३ किलो ट्युमर निकाल्न चिकित्सकहरुलाई १५ घण्टा लाग्यो।
छिमी अहिले स्वस्थ छिन्। हिडडुल गर्न सक्छिन्। तर उनको शल्यक्रिया सामान्य थिएन। शल्यक्रिया सफल नभएको भए खुट्टा चल्न नसक्ने र बिरामीको ज्यानै जान सक्ने जोखिम पनि थियो।
हाडजोर्नी तथा मासंपेशी क्यान्सर रोग विशेषज्ञ डा पौडेल छिमीको शल्यक्रिया निकै चुनौतीपूर्ण भएको बताउँछन्। नेपाल क्यान्सर अस्पतालसम्म आइपुग्दा उनको अवस्था निकै गम्भीर खालको भइसकेको उनले बताए।
उनले भने, ‘उहाँको पेटमा एकदम धेरै सोइलिङ थियो। हामीले सिटिस्क्यान गरेर हेर्यौँ। उसको सोइलिङ पछाडीको हड्डीबाट आएर पेट भरिसकेको थियो। पेट भित्रका अंगहरुलाई असर गरेको थियो।’
डा पौडेलका अनुसार यो रोग औषधिले निको नभएपछि शल्यक्रिया बाहेक यसको उपचार विकल्प हुँदैन। यो शल्यक्रिया निकै जोखिमपूर्ण र जटिल खालको भएको उनले सुनाए।
एनेस्थेसिया विभाग प्रमुख डा सुनिता मलेखु अमात्यले बिरामीको पेटको सोइलिङ निकै ठुलो भएकाले शल्यक्रिया सफल बनाउनु सहज नभएको अनुभव बताइन्। शल्यक्रियाको क्रममा उनको रक्तचापदेखि लिएर सबै अंगलाई सन्तुलित अवस्थामा राख्न निकै चुनौतीपूर्ण रहेको उनले बताइन्।
शल्यक्रियामा संग्लन्न डा सिटिभिसका डा सम्पूर्णमान तुलाधर ट्युमरले खुट्टाको नशाहरुलाई समेत असर गरेको बताए। अस्पतालका सर्जरी प्रमुख डा कपेन्द्रशेखर अमात्य ट्युमर निकालेर शरीरका अंग बचाउनु नै मुख्य चुनौती भएको बताउँछन्।
नेपालमा यस किसिमको जटिल शल्यक्रिया गर्न सकिने उनी बताउँछन्। स्वदेशमै विशेष सहितको सुविधा भएको अस्पताल भएकाले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको उनको भनाई छ।
छिमीको शल्यक्रियामा डा ऋषिराम पौडेल, डा जनिथ सिंह, डा वसन्त महर्जन, डा लोकेश झा, डा कपेन्द्रशेखर अमात्य, डा हेमन्त बटाजो, डा अतिश डि ब्रजाचार्य, डा अन्जु श्रेष्ठ, डा सिर्जना लामा, डा रबिन जोशी, डा इसान मल्ल, डा सम्पूर्णमान तुलाधर, डा सुनिता मलेखु, डा मदिन्द्र बस्नेत, डा दिपक अधिकारी, स्टाफ नर्स, क्रिटिकल केयर लगायतको टिम संलग्न थिए।
त्यो दुई वर्षमा बिताएको पीडादायक समय उनी शब्दमा बयान गर्न सक्दिनन्। तर उपचारपछि पाएको नयाँ जीवनको खुशी भने उनको अनुहारमा छर्लङ्गै देखिन्थ्यो।
‘म अहिले एकदम धेरै खुशी छु। मेरो उपचार गर्नुहुने सबै डाक्टरप्रति आभारी छु। मैले नयाँ जीवन पाएकी छु’ उनले भनिन्।