काठमाडौं - दाँतका अनेक फाइदा छन्। दाँत मानिसको सौन्दर्यसँग पनि जोडिएको हुन्छ। टक्क मिलेका र सेता दाँतले अनुहारमा छुट्टै सुन्दरता बढाउँछ।
हामी दैनिक दाँतको सफाई गर्छौं, दैनिक ब्रस गर्छौं तर पनि कतिपयको दाँत पहेँलोे हुन्छ। दाँत सेता बनाउन दैनिक गरिने ब्रस पर्याप्त नभएको पनि अवस्था छन्। दाँत पहेँलोे हुनुको पछाडी विभिन्न कारणहरु छन्।
ललितपुरस्थित पाटन अस्पतालका दन्त चिकित्सक एवं अर्थोडन्टिस डा विष्णुप्रसाद शर्माका अनुसार दाँत पहेँलोे हुनुको मुख्य दुई कारणहरु छन्। एक– जन्मजात, दोस्रो– बाहिरी कारण।
कसैको जन्मजात नै दाँत पहेँलोे हुने समस्या हुन्छ त कसैको व्यवहारले दाँत पहेँलोे हुने उनले बताए। अत्यधिक चिया, कफी, धुम्रपान तथा मद्यपानको सेवनले दाँत पहेँलोे हुन्छ।
कतिपयलाई त दाँत ब्रस गर्ने सही तरिका समेत थाहा हुँदैन। सही तरिकाले दाँतको सफाई नगर्दा पनि दाँत पहेँलोे हुने समस्या आउन सक्ने उनी बताउँछन्।
दाँत किन पहेँलोे हुन्छ? यसको उपचार के–के छन्? पहेँलोे हुनबाट कसरी जोगाउने लगायत विषयमा हामीले डा शर्मासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छः
दाँत पहेँलोे किन हुन्छ ?
– दाँत कसैको जन्मजात त कसैको बाहिरी कारणले पहेँलोे हुन्छ।
– जन्मदा कसैको छाला कालो गोरो भएजस्तै दाँत पनि कसैको सेता र पहेँलोे हुने गर्छ।
– दाँत पहेँलोे हुँदै जान थालेपछि सरसफाईमा ध्यान दिनुपर्छ।
जन्मजात दाँत पहेँलोे हुनेहरुको उपचार हुन्छ?
– दाँत धेरै नै पहेँलोे छ भने त्यसको विभिन्न कस्मेटिक उपचारहरु छन्।
– दाँत ब्लिचिङ गर्न सकिन्छ भने क्याप लगाउन सकिन्छ।
– यदी रोगको कारणले दाँत पहेँलोे भएको हो भने उपचार गर्नुपर्छ।
दाँत पहेँलोे हुनुको बाहिरी कारणहरु के के हुन् ?
– पहिलो कुरा दाँत सफा नगरेकै कारण पहेँलोे हुन्छ।
– अझै पनि कमैले मात्र दिनको दुई पटक राम्रोसँग ब्रस गर्छन्।
– चुरोट, चिया, कफीको अत्यधिक प्रयोगले पनि दाँत पहेँलोे हुन्छ।
दाँतलाई पहेँलोे हुनबाट जोगाउन के–के कुरामा ध्यान दिन आवश्यक छ ?
– मुख्य कुरा भनेको राम्रोसँग दाँतको सफाई नै हो।
– चिया कफी या कुनै खानेकुरा खाने बित्तिकै मुख कुल्ला गर्नुपर्छ।
– पानीमा आइरन बढी छ भने पनि दाँतमा फोहोर बस्न सक्छ।
मानिसहरु अहिले मुख स्वास्थ्य प्रति कतिको सचेत छन् ?
– तुलनात्मक रुपमा मानिसहरु अहिले मुख स्वास्थ्य प्रति सचेत हुँदै गएका छन्।
– धेरैले दाँत ब्रस गर्छन् तर सही तरिका बारे जानकार हुँदैनन्।
– सही तरिकाले दाँतको ब्रस नगर्दा दाँतलाई झन् नोक्सान पनि गरिरहेको हुन्छ।
– मुख स्वास्थ्यलाई ध्यान दिन सके सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
दाँत ब्रस गर्ने सहि तरिका के हो र कसरी गर्ने ?
– दाँतलाई सिधाभन्दा पनि तल माथि र रोल गरेर माझ्नुपर्छ।
– दाँत बाहिरी सतहमा मात्र माझेर हुँदैन। दाँया बाँया र भित्र सबै ठाउँमा सफा गर्नुपर्छ।
– सही तरिकाले दाँत ब्रस नगर्दा फोहोर जम्दै जान्छ।
टूथ पेस्ट र ब्रसको सही छनोट गर्न किन आवश्यक छ र कसरी गर्ने ?
– यो ब्राण्डको भन्दा पनि नरम खालको ब्रस प्रयोग गर्नुपर्छ।
– कडा खालको ब्रसले दाँत धेरै घोटिएर दाँत काटिन सक्छ।
– फ्लोराइड भएको टूथ पेस्टले दाँतलाई सुरक्षा दिन्छ।
अन्त्यमा यहाँको सल्लाह सुझाव के छन् ?
– मुख स्वास्थ्यमा ध्यान दिन मेरो आग्रह छ।
– मुख स्वास्थ्यमा मात्र ध्यान दिन सक्यौं भने विभिन्न रोगबाट बच्न सकिन्छ।
– सही तरिकाले गरिएको ब्रसले मात्र दाँतलाई किरा लाग्नबाट लगायत धेरै समस्याबाट जोगाउँछ।