काठमाडौं– भारतमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सीमानाकाहरुमा रहेका हेल्थ डेस्कलाई सक्रिय बनाएको जनाएको छ।
भारतबाट नेपाल आउनेहरुको ज्वरो परीक्षण गरी कोरोना आशंका लागेमा परीक्षण गर्ने र रिपोर्ट पोजेटिभ आएमा सीमानाकाका स्थानीय अस्पताल तथा क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा कोरोना संक्रमणको दर तीव्र हुँदै गर्दा नेपालमा पनि कोरोना संक्रमणको दर बढेको देखिन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट डा अनुप बास्तोलाले केही दिनयता कोरोना संक्रमणको दर बढेको र आइसियुमा राख्नुपर्ने बिरामीको संख्या पनि बढेको बताए।
डा बास्तोलाका अनुसार केही महिनायता कोरोना संक्रमणको दर कम हुँदै गर्दा नेपालीहरुले जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेका छन्।
यस्तै सरकार पनि जनस्वास्थ्यको मापदण्ड पालना गराउने विषयमा जिम्मेवार नभएको उनको भनाइ छ। जसका कारण पछिल्लो समय कोरोना संक्रमणको दर बढ्न थालेको छ।
नेपालमा पछिल्लो समय संक्रमण पुष्टि भएका बिरामीहरुमा नयाँ वा पुरानै प्रजातिको कोरोना संक्रमण हो भन्ने यकिन नभइसकेको उनले जानकारी दिए।
उनले नेपालमा भेटिएका संक्रमितमा कस्तो भेरिएन्टको कोरोना संक्रमण हो भन्ने पत्ता लगाएर सोही अनुसार कोरोना नियन्त्रणको नीति बनाउन आवश्यक रहेको पनि बताए।
डा बास्तोलाले केही साताभित्रै कोरोनाको प्रजाति पत्ता लगाउन जीन सिक्वेन्सिङ नेपालमै गर्ने तयारी पनि भइरहेको जानकारी दिए।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर किन बढिरहेको छ? भारतमा देखिएको कोरोना संक्रमण नेपाल भित्रिएको हो वा होइन? भारतीय संक्रमण नेपालमा फैलन नदिन केकस्ता सावधानीहरु अपनाउनुपर्छ? नेपालमा देखिएको कोरोना संक्रमण नयाँ वा पुरानै प्रजातिको हो ? पछिल्लो समय कोरोना संक्रमितहरुमा कस्तो लक्षण र समस्याहरु छन्? लगायतका विषयमा केन्द्रित भएर डा बास्तोलासँग रिता लम्सालले कुराकानी गरेकी छिन्।
प्रस्तुत छ डा बास्तोलासँग गरिएको भिडियो कुराकानी