काठमाडौं– चिकित्सा शिक्षा आयोगविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले समयमै सुनुवाइ नगर्दा एमडी/एमएस र एमडिएसका ११ सय ७ जना मेडिकल विद्यार्थीको भविष्य अन्यौलमा परेको छ।
आयोगविरुद्ध मेडिकल विद्यार्थीले नै दिएको रिट निवेदनमा सर्वोच्चले समयमै निर्णय नगर्दा मेडिकल शिक्षा तर्फको एमडी/एमएस र एमडीएस तर्फका यी विद्यार्थीहरु सहित अन्य विधाका विद्यार्थीको पढाई अन्योलमा परेको हो। एमडी/एमएस र एमडीएस सहित अन्य विभिन्न विषयका गरी झण्डै १६ सय विद्यार्थीको पढाईं सुरु हुन सकेको छैन।
आयोगले पूर्णता पाएपछि गत पौष १८, १९ र २० गते पहिलो पटक चिकित्सा शिक्षा तर्पmको स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा लिएको थियो।
आयोगले परीक्षा लिएर प्रवेश परीक्षाको नजिता पुस २२ र २४ गते नतिजा सार्वजनिक गर्यो।
आयोगले चैत २ गतेदेखि कक्षा संचालन गर्ने तयारीका साथ माघ १९ गतेदेखि सरकारी कोटा तर्फको पहिलो म्याचिङको नतिजा प्रकाशित गरी विद्यार्थी भर्ना प्रक्रिया समेत अघि बढाइसकेको थियो।
आयोगले पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिसकेपछि ५२ जना विद्यार्थीलाई दुर्गम क्षेत्रमा तोकिएको अवधी कार्य गरेवापत पाउने अङ्कमा झूटो विवरण पेश गरी अंक प्राप्त गरेको देखिएको भन्दै एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि,२०७७ को दफा ८ को उपदफा ४ बमोजिम मेरिट लिष्टबाट हटायो।
आयोगले माघ १६ गते सरकारी तर्फका ३ जना, माघ २६ गते सरकारी तर्फका १३ जना, फागुन ४ गते खुला तर्फका ३६ जना विद्यार्थीलाई मेरिटको सूचीबाट हटाएको थियो। यसरी आफूहरु हटेपछि त्यसका विरुद्ध एकपछि अर्को मुद्दा लिएर सर्वोच्च पुगे। उनीहरु मध्ये केही जिल्ला अदालत काठमाडौं समेत पुगेका थिए।
प्रवेश परीक्षा पास भइसकेपछि आफूहरुलाई मेरिट लिष्टबाट हटाउने कार्य गैरकानुनी भएको उनीहरुको जिकीर थियो।
सर्वोच्चले फागुन ४ गते मेरिट लिष्टबाट विद्यार्थीलाई हटाउन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्नु भनि अल्पकालिन अन्तरिम आदेश जारी गर्र्यो। न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलाशले यस्तो आदेश जारी गरेको थियो। सर्वोच्चको यो आदेशपछि आयोगले कक्षा सञ्चालन रोक्न वाध्य भयो।
सर्वोच्चको यही आदेशका कारण आयोगले फागुन १४ गतेदेखि आयोगले स्नातकोत्तर तहको खुलातर्फको दोस्रो म्याचिङको कार्यक्रम स्थगित गर्यो।
सो अवधि सम्ममा सरकारी तर्फको म्याचिङ तथा भर्ना प्रक्रिया र खुला तर्फको पहिलो म्याचिङ र भर्ना प्रक्रिया पुरा भइसकेको थियो।
मेडिकल शिक्षामा स्नातकोत्तर तहको करिव १६ सय सिटमध्ये १२ सय सिटमा विद्यार्थी भर्ना भइसकेका थिए।
आयोग विरुद्ध दायर भएको मुद्दा सोमबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलाशमा पेशी रहेको थियो।
पेशी सुचिको २८ औं नम्वरमा पेशी पर्यो। उक्त पेशी हेर्न नभ्याउने हुँदै स्थगीत भयो। अब अर्को पेशी करिव एक सातापछि मात्र तोकिने छ। उक्त अवधीसम्म आयोगले कक्षा सञ्चालनको अनुमति दिन नसक्ने भएको छ।
२०७७ माघ र फागुनमा ११ थान मुद्दा दायर गरेका थिए। २०७७ फागुन ४ र ११ गते सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलाशले फरक फरक मुद्दामा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।
दोस्रो सुनुवाई गर्दै फागुन २६ मुद्दालाई प्राथमिकता दिने निर्णय सर्वोच्चले गरेको थियो। प्राथमिकतामा परेको मुद्दा भएपनि सुनुवाई हुन नसकेपछि यसको प्रत्यक्ष असर विद्यार्थीहरुलाई परेको छ। धमाधम पढाई हुनुपर्ने समयमा उनीहरु कहिले कक्षा शुरु हुन्छ भनि अदालततर्फ हेरेर बस्नुपर्ने भएको हो।
कोरोना संक्रमणका कारण झण्डै एकवर्ष ढिला भएको भर्ना प्रक्रिया तथा कक्षा अहिले फेरि अदालतको कारण रोकिदा आफूहरुको पढाइ प्रभावित भएको विद्यार्थीहरुले बताएका छन्।
‘कोरोनाले गर्दा एकवर्ष खेर गयो, अहिले प्रवेश परीक्षा दिएर पास भएर भर्ना गरिसक्दा पनि समयमै पढ्न पाइएन,’ नाम नबताउने सर्तमा एकजना मेडिकल विद्यार्थीले भने, ‘पढ्नको लागि घर र काम गर्ने ठाउँ छोडेर आइसके। तर, पढाइ नै सुरु हुने कुरा नै अन्यौल छ।’
पढाइ हुने विषयमा अन्यौलता बढ्दै जादा आफूहरुमा मानसिक तनाव समेत बढेको उनले सुनाए।
‘कजेलमा बुझ्दा प्रोफेसरहरु नै पनि अन्यौलमा हुनुहुन्छ, पढाइ कहिले देखि सुरु हुने हो थाहा छैन, हामी मेडिकल विद्यार्थीलाई मानसिक तनाव नै सुरु भइसक्यो।’
चिकित्सा शिक्षा आयोगका उपाध्याक्ष प्राडा श्रीकृष्ण गिरीले पनि अदालतको निर्णय नआएसम्म एमडी/एमएस र एमडीएसको कक्षा संचालन नहुने बताए।
‘आजको पेशी पनि सर्यो, एमडी/एमएस र एमडीएसको कक्षा संचालनको विषय त अब सर्वोच्चको निर्णय आएपछि मात्र भन्न सकिन्छ,’ आयोगका उपाध्याक्ष प्राडा गिरीले भने, ‘सर्वोच्चले आयोग विरुद्ध परेको मुदालाई प्राथमिकतामै राखेको सुनेका छौं, अब भोलीका दिनमा के हुन्छ। अदालतको निर्णय नआइ पढाइ सुरु हुने अवस्था छैन।’
आयोगले एमडी/एमएस र एमडीएस बाहेकका मेडिकल शिक्षाको दोस्रो म्याचिङ भने मंगलबार देखि गर्ने निर्णय गरेको गरेको छ।