काठमाडौं - गत वैशाखामा देशभर लकडाउन थियो। न सडकमा कुनै यातायात चलेका थिए न त बजार नै खुलेका थिए। कोरोना भाइरसको डर चारैतिर थियो। चैतदेखि सुरु भएको लकडाउनका कारण मानिस घरभित्रै बस्न बाध्य थिए।
सुर्खेतका तिलक खनाललाई भने लकडाउनकै समयमा काठमाडौं आउनु थियो। १२ वर्षको कलिलो छोराको उपचारका लागि तिलकलाई जसरी पनि कान्ति अस्पताल आइपुग्नु थियो। तर लकडाउनमा कसरी काठमाडौं आउने? उनमा चिन्ता थपियो। एकातिर लकडाउनले सवारी साधन चलेको छैन अर्कोतर्फ रक्त क्यान्सरका बिरामी छोरोलाई जसरी पनि भिन्क्रिस्टिन नामक इन्जेक्सन लगाउन काठमाडौं पुग्नै पर्ने बाध्यता।
सुर्खेतमा उक्त इन्जेक्सन नपाउने हुँदा उनी कान्ति अस्पतालमा आउनै पर्ने अवस्था थियो। त्यसपछि उनले सवारी साधनको खोजी गरे। तर उनले काठमाडौं आउने साधन पाउन सकेनन्। लामो मिहेनत र प्रयासपछि उनले बल्ल एम्बुलेन्स पाए।
क्यान्सरका बिरामी छोरोको नियमत स्वास्थ्य जाँचसँगै उक्त इन्जेक्सन अनिवार्य रुपमा लगाउनु पर्ने नै थियो। इन्जेक्सन समयमा नलगाउँदा छोराको स्वास्थ्य थप जटिल बन्ने खतरा थियो। स्वास्थ्यकर्मीको निगरानीमा लगाउनु पर्ने उक्त इन्जेक्सनको मुल्य जम्मा १५० रुपैयाँ मात्र हो। तर तिलकलाई लकडाउनको उक्त समयमा त्यो इन्जेक्सन नै सबैभन्दा महँगो पर्न गयो।
सुर्खेतबाट उनले ३० हजार भाडा तिरेर छोरालाई काठमाडौं ल्याए। इन्जेक्सन लगाए। अनि आफन्त कहाँ जाने तयारी गरे। तर, कोरोनाको भय यति धेरै थियो कि आफन्तका घरबेटीले बाहिरबाट मानिस ल्याउन रोक लगाएका थिए। मुस्किलले आर्थिक जोहो गरेर एम्बुलेन्समा काठमाडौंमा आएका तिलक र उनको छोराले एम्बुलेन्समै रात काट्नु पर्यो।
लकडाउन र निषेधाज्ञाका कारण क्यान्सर पीडित छोराको स्वास्थ्य उपचारका लागि अस्पतालसम्म पुग्न भोग्नुपरेको कष्ठबारे तिलकले स्वाथ्यखबरसँग भने, ‘लकडाउनले गर्दा छोराको नियमित स्वास्थ्य उपचार गर्न धेरै कष्ठ व्यहोर्नुपर्यो। १५० रुपैयाँको (भिन्क्रिस्टिन) इन्जेक्सन लगाउनका लागि सुर्खेतबाट काठमाडौंको अस्पतालसम्म आइपुग्न एम्बुलेन्स चालकले एक पटकमै ६० हजार मागेका थिए। पैसा भए पो दिन सक्नु, बल्ततल्त ३० हजार दिएर टारे। काठमाडौं आएपछि पनि धेरै समस्या भोग्नुपर्यो।
डेरा लिएर बसेका आफन्तहरुको डेरामा घरभेटीले जान दिँदैनथे। अझै बिरामी भनेपछि त आफन्तहरु नै पनि डराउँथे। बास बस्न आफन्तको डेरा मात्र होइन, होटलहरु पनि बन्द थियो। छोराको नियमित स्वास्थ्य उपचारका लागि काठमाडौं आउँदा एम्बुलेन्समै रात कटायौं।’
खनालको १२ वर्षका छोरा पुष्कललाई २०६६ साल असोजमै रक्त क्यान्सरको लक्षणहरु देखा परेको थियो। ३/४ महिनासम्म विभिन्न अस्पतालमा धाए। रोग पत्ता नलागेपछि खनालले छोरालाई लिएर गत फागुनमा महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ल्याए।
कान्ति बाल अस्पतालमा आवश्यक जाँचपछि पुष्कललाई एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया (रक्त क्यान्सर) भएको पुष्टि भयो। रगतमा हुने तीन प्रकारका रक्त कोषहरुमध्ये सेतो रक्तकोषहरु वयस्क हुन नसक्दा अनियन्त्रित रुपमा संख्या बढ्न गई एक्युट लिम्फोब्ल्यास्टिक ल्यकुेमिया (एएलएल) हुन्छ
पुष्कललाई ३ वर्षसम्म नियमित उपचार गर्दा क्यान्सर निको हुने कान्ति बाल अस्पतालमा चिकित्सकले बताएका छन्। चिकित्सकले नै महिनामा एक पटक अस्पतालमै आएर स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नुपर्ने बताएका थिए। तर लकडाउन र निषेधाज्ञाका कारण तिलकले आफ्नो छोरालाई नियमित स्वास्थ्य उपचार गराउन धेरै समस्या भोग्नुपर्यो।
‘डाक्टरले एक महिनामा एक पटक अस्पतालमा आउनुपर्ने भन्नुभएको थियो, महँगो एम्बुलेन्स भाडाको खर्च धान्नै सकिनँ,’ खनालले भने, ‘लकडाउनमा दुई पटक काठमाडौं आउँदा ६० हजार खर्च त एम्बुलेन्समै लाग्यो। लकडाउनले गर्दा दुई रात एम्बुलेन्समै काट्यौं।’
लकडाउनमा एम्बुलेन्स समेत पाउन गाह्रो। बल्लतल्ल पाएको एम्बुलेन्सलाई भाडा तिर्न मुस्किल। यही समस्याका कारण उनले चिकित्सकहरुसँग सल्लाह गरेर हरेक महिना गर्नुपर्ने स्वास्थ्य परीक्षण तथा उपचार लकडाउनको समयमा तीन–तीन महिनाको अन्तरमा सीमित गराए।
लकडाउन तथा निषेधाज्ञा खुलेपछि भने तिलकलाई केही सहज भएको छ।
तर अहिले पनि सुर्खेतबाट काठमाडौंसम्म आइपुग्न एक जनाको तीन हजार भाडा लाग्छ। खर्च धान्न नसकेपछि उनले छोरालाई सवारी चालककै जिम्मा लगाएर काठमाडौं पठाउने गरेका छन्। बसले काठमाडौं ओरालिदिएपछि काठमाडौंमै भएका आफन्तले पुष्कललाई अस्पतालमा उपचारका लागि लगिदिन्छन्।
‘अहिले बस चल्न थालेपछि त छोरालाई बस चालककै जिम्मामा पठाउँछु, काठमाडौंमा एक जना आफन्त हुनुहुन्छ, उहाँले अस्पताल लगिदिनुहुन्छ,’ खनालले भने, ‘दुई जना जान दोब्बर खर्च लाग्छ, नियमित खर्च हुने भएपछि धान्न गाह्रो छ।
०००
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाको असर धादिङकी ५२ वर्षीया सेती झुजेलको जीवनमा पनि परेको छ।
भुजेललाई २०७६ साल साउनमा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लाग्यो। २०७६ साल भदौदेखि भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा स्वास्थ्य उपचार सुरु गर्दा उनमा दोस्रो स्टेजको क्यान्सर थियो। चिकित्सकले पनि नियमित स्वास्थ्य उपचार गर्दा निको हुने सम्भावना देखेका थिए।
उनलाई ६ साइकल केमोथेरापी गर्न भनिएको थियो। पहिलो साइकल केमो लगाएपछि उनको दोस्रो साइकल लगाउने पालो थियो चैतको तेस्रो साता। चिकित्सकले तीन हप्ताको फरकमा ६ साइकल केमो लगाउन भनेका थिए। तर लकडाउन र निषेधाज्ञामा उनी केमो लगाउन जान पाइनन्।
‘लकडाउन अघि फागुनमा केमोथेरापी गरिएको थियो, अर्को पटक चैतमा गर्न भन्नुभएको थियो,’ भुजेलकी भदै कविताले भनिन्, ‘तर, लकडाउनले गर्दा केमोथेरापी गराउन आउन सक्नुभएन, झन्डै एक वर्ष ग्याप भयो।’
नियमित रुपमा केमोथेरापी नगराउँदा निकाे हुने क्यान्सर अहिले बढेर चौथो स्टेजमा पुगेको छ। उनले फेरि सुरुवाती चरणबाटै उपचार गराउनुपर्ने अवस्था आएको छ।
‘अहिले क्यान्सर झनै बल्झिएछ, उपचार पनि फेरि सुरुबाटै गर्नुपरेको छ,’ कविताले भनिन्, ‘लकडाउन नभएको भए नियमित उपचार गराउन सकिन्थ्यो, अहिलेसम्म त धेरै निको भइसक्नुहुन्थ्यो होला। तर अहिले त क्यान्सर धेरै फैलिएछ।’
०००
नक्सालका दीपक खड्कालाई पेट दुखिरहने समस्या देखियो। लकडाउनको समय थियो। कोरोना संक्रमणको त्रासका कारण अस्पतालमा स्वास्थ्य परीक्षण गराउन जान सकेनन्।
ग्यास्ट्राइटिसको समस्या होला भन्ने सोचेर घर नजिकैको फार्मेसीबाट औषधि किनेर खाए। तर शरीरको तौल अस्वभाविक रुपमा घट्न थाल्यो। लकडाउन र निषेधाज्ञा खुलेपछि अस्पतालहरुमा कोरोना संक्रमितको चाप कम हुँदै गयो। तिहारपछि भने भक्तपुर क्यान्सर अस्पतालमा आए। स्वास्थ्य परीक्षण गर्दा पेटको क्यान्सर भएको पुष्टि भयो। अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमै केमोथेरापी विधिबाट उपचार भइरहेको छ।
लकडाउन र निषेधाज्ञामा सहज रुपमा अस्पताल आउने वातावरण भएको भए पहिला नै रोग पत्ता लाग्ने र उपचार छिटो हुने खड्काकी श्रीमती विमलाले बताइन्। सुरुमै उपचारका लागि नआएकोमा उनलाई अहिले पछुतो छ।
‘लकडाउनमा कोरोनाको डर मानेर ग्यास्ट्रिकको औषधि खाएर बस्नुभयो,’ उनले भनिन्, ‘कोरोना महामारीका कारण लकडाउन नभएको भए पहिला नै यहाँ आएर रोग पत्ता लगाउन पाएको भए हुन्थ्यो जस्तो लाग्छ।’
यी त प्रतिनिधि घटना मात्रै हुन्। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाको समयमा नियमित स्वास्थ्य उपचारमा रहनुपर्ने धेरै बिरामीले अस्पतालसम्म पुग्न धेरै कष्ट भोग्नुपर्यो।
क्यान्सरको उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता उपत्यका बाहिरका बिरामीको लागि पहिलेदेखिकै समस्या हो। कोरोना संक्रमणको त्रास थपिएपछि उनीहरुलाई नियमित स्वास्थ्य उपचार गराउन झनै समस्या थपिए। जसले गर्दा कतिपय बिरामी नियमित स्वास्थ्य सेवा लिनबाट वञ्चित भए।
त्यसको प्रभाव आजभोलि क्यान्सर फैलिएको तथा फेरि बल्झिएको अवस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्न थालेको चिकित्सकहरु बताउँछन्।
भक्तपुर क्यान्सर अस्पतालका उपनिर्देशक डा रोशन प्रजापतिका अनुसार आजभोलि आउने पुराना क्यान्सरका बिरामीमा समस्या झनै बल्झिएको पाइएको छ। ‘बिरामीहरु त्यतिबेला फलोअपमा आएनन्,’ डा प्रजापतिले भने, ‘अहिले बल्ल फलोअपमा आउँदा क्यान्सरको तेस्रो, चौथो स्टेजमा पुगेर शल्यक्रिया गर्न नमिल्ने अर्थात् उपचारका लागि ढिला भइसकेको देखिएको छ।’
नयाँ आउने बिरामीमा पनि तेस्रो, चौथो स्टेजको क्यान्सर देखिएको डा प्रजापतिले बताए। ‘नेपालमा समयमै पहिचान नहुँदा क्यान्सरका बिरामीहरु उपचारका लागि ढिला नै आउँथे, झनै लकडाउन भएपछि त कतिले क्यान्सरको लक्षण नै देखिँदा समेत बेवास्ता गरे,’ डा प्रजापतिले भने, ‘अहिले लकडाउन खुलेपछि नयाँ आउन थालेका बिरामीमा क्यान्सर फैलिइसकेको अवस्था छ।’
डा प्रजापतिका अनुसार अहिले उपचारका लागि ढिला आउने बिरामीहरुमा धेरैजस्तो फोक्सो र पेटको क्यान्सर भएका बिरामी छन्।
महिलामा हुने स्तन क्यान्सरको लक्षण घरमै आफैंले परीक्षण गर्दा पनि पत्ता लगाउन सकिन्छ। सुरुवाती चरणमै क्यान्सर पत्ता लागे महिलामा हुने स्तन क्यान्सरलाई पूर्ण रुपमा निको पार्न पनि सकिन्छ। तर अहिले स्तन क्यान्सरका बिरामी समेत ढिलो उपचारका लागि आउन थालेको डा प्रजापतिले बताए। उनले भने, ‘अहिले त स्नत क्यान्सरका बिरामी समेत ढिलो उपचारका लागि आउन थालेका छन्।’
समयमै पहिचान गरी नियमित उपचार गर्दा क्यान्सर निको हुनसक्छ। तर लकडाउन र कोरोना संक्रमणको समयमा बिरामीमा क्यान्सर पहिचान कम भएको र पुराना बिरामीले समेत उपचार नियमित नगरेकाले भोलिका दिनमा क्यान्सरका जटिल खालका बिरामी बढ्नसक्ने उनले बताए।
‘कतिपय बिरामी डाइग्नोसिस नै गराएनन्, कतिपयले क्यान्सर हो भन्ने थाहा भइसकेपछि पनि नियमित उपचार गराउन सकेका थिएनन्,’ डा प्रजापतिले भने, ‘अझै पनि कतिपय बिरामी कोरोनाको त्रासले उपचारमा नआएका हुन सक्छन्, यही क्रम चलिरह्यो भने निको हुने क्यान्सर पनि ढिला आएकै कारण केही गर्न नसकिने अवस्था हुनसक्छ। क्यान्सर रोग भयावह हुनसक्छ।’
डा प्रजापतिले अहिले आइरहेका धेरै बिरामीमा क्यान्सर फैलिसकेको अवस्था भएकाले पूर्ण रुपमा निको हुने सम्भावना कम भएको पनि बताए। ‘अहिले नयाँ आएका धेरै बिरामीहरु लेट स्टेजमा पुगिसकेका छन्,’ डा प्रजापतिले भने, ‘उनीहरुको क्यान्सर पूर्ण रुपमा निको पार्न सकिँदैन, आयु केही लम्ब्याउन वा रेखदेख गर्न गरिने सपोटिभ उपचार मात्र सम्भव छ।’
भक्तपुर क्यान्सर अस्पतालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाको समयमा सेवा बन्द भने नगरिएको डा प्रजापतिले सुनाए। तर क्यान्सरको स्क्रिनिङ गर्न आउने नयाँ बिरामीलाई भने केही समय दिन नसकिएको उनको भनाइ छ।
‘सुरुवाती चरणमा त हामी स्वास्थ्यकर्मीमा पनि त्रास थियो, सबै व्यक्तिमा कोरोना संक्रमण छ कि भन्ने आशंका गरेर सचेत हुनुपर्ने अवस्था थियो। त्यसैले क्यान्सर पुष्टि नभइसकेका बिरामीलाई क्यान्सर छ वा छैन स्क्रिनिङ गराएनौं,’ डा प्रजापतिले भने, ‘तर फलोअपमा आउने बिरामी र केमोथेरापी गराउने बिरामीलाई भने सेवा रोकेनौं।’
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउन र निषेधाज्ञाले क्यान्सर रोगको सुरुवाती चरणमै पहिचान गरी क्यान्सरका बिरामीलाई निको बनाउने लक्ष्य प्रभावित भएको डा प्रजापतिले बताए।
‘क्यान्सरलाई सुरुवाती चरणमै पत्ता लगाएर पूर्ण रुपमा निको पार्ने जुन उद्देश्य थियो, लकडाउनले त्यो उद्देश्य नै उल्टो दिशामा गयो। क्यान्सर पहिचान भइसकेका बिरामी समेत उपचारमा आउन सकेनन्,’ डा प्रजापतिले भने।
आफूमा क्यान्सरको आशंका भएमा समयमै रोग पहिचानका लागि स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै अस्पतालमा आउन डा प्रजापतिको सुझाव छ।
भक्तपुर क्यान्सर अस्पतालमा सन् २०१९ मा ३ हजार ४८१ जना क्यान्सरका बिरामीले उपचार सेवा लिएका थिए। तर कोरोना संक्रमण देखिएको सन् २०२० मा २ हजार ५१७ जनाले मात्र उपचार सेवा पाएको देखिन्छ। यो तथ्यांकले पनि कोरोना संक्रमणका कारण भएको लकडाउन र निषेधाज्ञाको समयमा बिरामीको उपचारका लागि अस्पताल पुग्ने क्यान्सरका बिरामीको संख्या कम भएको देखिन्छ।
क्यान्सरका जटिल बिरामी आउन थाले, मृत्युदर बढ्छ
देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा पनि कोरोना संक्रमणको कारण भएको लकडाउन र निषेधाज्ञाको समयमा बिरामीको संख्या निकै कम भयो।
केही समय ओपिडी सेवा बन्द हुदा नयाँ बिरामी आउने क्रम घटेर गयो। कोरोना संक्रमणको त्रासमा अस्पतालमा भर्ना भएर उपचार गराउने बिरामी पनि कम भए। डे केयरमा आउने क्यान्सरका बिरामीको संख्या पनि विस्तारै कम हुँदै गयो।
अस्पतालका क्लिनिकल अंकोलोजी विभागका प्रमुख डा विवेक आचार्यले लकडाउन र निषेधाज्ञाको समयमा क्यान्सरका बिरामीको संख्या निकै कम भएको बताए।
‘सामान्य अवस्थामा केमोथेरापीका लागि डे केयरमा २२ जनासम्म बिरामी हुन्थे, लकडाउनमा त बल्लतल्ल २/३ जना आउँथे,’ डा आचार्यले भने, ‘लकडाउनले बिरामीहरु आउन सक्नुभएन, तर सेवा भने रोकेका थिएनौं।’
वीर अस्पतालमा क्यान्सरको १२ वटा शय्या रहेको भएपछि लकडाउन समयमा भने एक/दुई जना बिरामी मात्र भर्ना भएर उपचार गराएको डा आचार्यले बताए। उनले लकडाउनको समयमा उपचारका लागि आएका बिरामीको पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र अंकोलोजी वार्डमा भर्ना गर्ने गरिएको पनि सुनाए।
‘सामान्य अवस्थामा क्यान्सरको लागि छुट्याइएको १२ वटा बेड कहिल्यै खाली हुँदैनथ्यो,’ डा आचार्यले भने, ‘तर लकडाउनको समयमा त बिरामी निकै कम भए, हामीले पनि पिसिआर रिपोर्ट नेगेटिभ भएमात्र भर्ना गर्ने गर्यौं।’
लकडाउन र निषेधाज्ञाले अस्पतालमा बिरामीको संख्या कम हुनु कोरोना संक्रमणको जोखिमको अवस्थालाई हेर्दा राम्रो नै थियो। धेरैले अस्पतालमा बिरामी कम हुनुको अर्थ लकडाउन र निषेधाज्ञामा मानिसहरु स्वास्थ्यप्रति सचेत भए र पर्यावरण पनि सफा भएकाले रोग कम भए भन्ने आकलन समेत गरे। तर क्यान्सरका बिरामीको हकमा भने यो आकलन गलत सावित भएको छ।
लकडाउन र निषेधाज्ञामा खाली भएका क्यान्सर वार्डमा अहिले बिरामीको चाप बढ्न सुरु भइरहेको छ। त्यतिमात्र होइन लकडाउन अगाडिभन्दा अहिले जटिल अवस्थामा पुगिसेकका क्यान्सरका बिरामीको संख्या समेत थप भएको डा आचार्यले बताए।
लकडाउन र निषेधाज्ञाको प्रभाव क्यान्सरको बिरामीमा प्रत्यक्ष परेको देखिएको डा आचार्य बताउँछन्। उनले लकडाउन र निषेधाज्ञाको कारण क्यान्सरका बिरामी मर्कामा परेको उनले बताए।
‘लकडाउनमा बिरामी कम हुनुको अर्थ बिरामी नै नभएको होइन,’ डा आचार्यले भने, ‘धेरै बिरामी लकडाउनमा नियमित उपचारका लागि आउनै सकेनन्। हरेक २१ दिनमा केमो चढाउनुपर्ने बिरामी ७ महिनासम्म अस्पताल नै नआएका केस थुप्रै छन्।’
नियमित केमोथेरापी गराइरहेका बिरामीको यकिन तथ्यांक नभएको र तीमध्ये कतिपयको नियमित उपचार नपाउँदा मृत्यु भइसकेको हुनसक्ने डा आचार्यले बताए।
‘हामीसँग तथ्यांक नै त छैन, तर केमो छुटाएका कतिपय बिरामीको मृत्यु नै भइसकेको हुनसक्छ, कतिपय बिरामी बल्ल आउन थाल्नुभएको छ,’ डा आचार्यले भने, ‘केमो मात्र होइन, अन्य उपचार तथा सर्जरी गर्नुपर्ने क्यान्सरका बिरामीको उपचार पनि छुट्यो।’
लकडाउन र निषेधाज्ञापछि आउन थालेका पुराना बिरामीमा क्यान्सर फैलिसकेको अवस्था आउन थालेको डा आचार्यले बताए। ‘अहिले बिरामीहरु अलि एड्भान्स स्टेजमा आउन थाल्नुभएको छ,’ डा आचार्यले भने, ‘स्टेज २ मा आउने बिरामी स्टेज ४ मा आउँदा उनीहरुलाई निको पार्न सम्भव हुँदैन।’
लकडाउन र निषेधाज्ञाका कारण क्यान्सरका नयाँ तथा पुराना बिरामीले समयमै उपचार सेवाको पहुँचमा पुग्न नसकेकाले आगामी दिनमा क्यान्सर रोगबाट हुने मृत्युदर बढ्न सक्ने डा आचार्यले बताए।
‘ढिलो उपचारमा आएपछि निको हुने सम्भावना पनि घट्छ, चौंथो स्टेजमा पुगिसकेका क्यान्सरका बिरामी निको हुने सम्भावना २ प्रतिशत मात्र हो,’ डा आचार्यले भने, ‘अहिले अधिकांश बिरामी तेस्रो, चौथो स्टेजमा आइरहेका छन्, त्यसैले अबका दिनमा क्यान्सरका बिरामीको मृत्युदर बढ्छ।’
अबका दिनमा क्यान्सरका बिरामीको संख्या र मृत्युदर बढ्न सक्ने भएकाले सरकारले क्यान्सरको सचेतना तथा क्यान्सर लाग्ने कारक तत्वहरुको नियन्त्रणमा गम्भीर हुनुपर्ने डा आचार्यको भनाइ छ। ‘सरकारले पनि जिम्मेवार हुनुपर्छ, सरकारले कमन क्यान्सरको स्क्रिनिङ गर्न सक्नुपर्छ,’ डा आचार्यले भने, ‘समयमै स्क्रिनिङ गर्ने व्यवस्था भएमा क्यान्सरलाई सुरुवाती चरणमै पत्ता लगाएर उपचार गर्न सक्छौं।’
डा आचार्यले क्यान्सर लाग्नबाट जोखिन व्यक्ति आफैं पनि सचेत हुन जरुरी रहेको बताए। ‘चुरोट खाँदा क्यान्सर हुन्छ भन्ने थाहा भएर पनि युवाहरु चुरोट खाइरहेका छन्, उनीहरुलाई न शिक्षकले रोक्न सकेका छन्, न सरकारको कडा नीति नियम नै लागू भएको छ,’ डा आचार्यले भने, ‘मानिसहरु यहाँ चुरोट खान मनाही छ भनेर लेखेकै ठाउँमा बसेर चुरोट खाइरहेका हुन्छन्। त्यसलाई कारबाही गर्ने निकाय खै ?’
डा आचार्यले क्यान्सर हुने जोखिमबाट बच्न धूमपान तथा मादक पदार्थ सेवन गर्न नहुने, नियमित शारीरिक व्यायाम गर्नुपर्ने, योग तथा ध्यान गर्ने, स्वस्थकर खानेकुरा खाने बानी बसाल्नुपर्ने बताए।
लकडाउनमा पनि रक्त क्यान्सरका नयाँ बिरामी
बालबालिकाको क्यान्सरको उपचार हुँदै आएको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले लकडाउन र निषेधाज्ञाको समयमा पनि क्यान्सर भएका बालबालिकाका लागि सेवा बन्द गरेन। अस्पतालमा विशेषगरी रक्त क्यान्सरका बिरामीको उपचार हुँदै आएको छ। रक्त क्यान्सर बाहेक बालबालिकामा हुने आँखाको क्यान्सर, मिर्गौलामा हुने ट्युमर, मांसपेसीमा हुने ट्युमर लगायतको पनि उपचार हुने गरेको छ।
अस्पतालले लकडाउन र निषेधाज्ञाको समयमा सेवा बन्द नगरेपछि बिरामीको नियमित स्वास्थ्य उपचारमा रहेका बिरामी बालबालिका प्रभावित भएको अस्पतालको अंकोलोजी वार्डमा कार्यरत डा सनी सिपाईले बताए।
‘अस्पतालमा सेवा त बन्द थिएन तर नियमित उपचारमा रहनुपर्ने बिरामीले लकडाउनले गर्दा यातायात बन्द हुँदा आउन समस्या भयो,’ डा सिपाईले भने, ‘केही बिरामी बीचमा उपचार छुटेका कारण अहिले आउँदा रोग बल्झिएको पनि देखिएको छ।’
डा सिपाईका अनुसार लकडाउनको समयमा नियमित उपचार सेवा लिन नसकी हाल उपचारका लागि आएका करिब ७ जनामा क्यान्सर जटिल अवस्थामा पुगिसकेको पाइएको छ। डा सिपाईले कान्ति बाल अस्पतालमा नयाँ क्यान्सरका बालबालिका लकडाउनको समयमा पनि आउने क्रम नरोकिएको बताए।
उनका अनुसार लकडाउन भएको चैतदेखि असारसम्ममा ७२ जना क्यान्सर भएका बालबालिका आएका थिए। उनले भने, ‘हाम्रो अस्पतालमा लकडाउनमा पनि नयाँ क्यान्सरका बिरामी आउने क्रम घटेन।’
कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा विष्णुरथ गिरीले बालबालिकामा हुने क्यान्सर समयमै पत्ता लागे निको हुने दर उच्च रहेको बताए। ‘कान्ति बाल अस्पतालमा आइपुगेका क्यान्सर भएका बालबालिका ६० देखि ७० प्रतिशतसम्म निको हुने गरेका छन्,’ डा गिरीले भने, ‘सरकारले बाल क्यान्सरको क्षेत्रलाई प्राथमिकता दिएको छैन, तर अब प्राथमिकता दिन आवश्यक छ।’