काठमाडौं- संघीय संसदका प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। बुधबार नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा रहेको खोप केन्द्रमा सांसदहरुले खोप लगाएका हुन्।
बुधबार बिहान १० बजे सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगएसँगै सांसद तथा संसद सचिवालयका कर्मचारीहरुका लागि खोप अभियान सुरु गरिएको थियो। अभियानको पहिलो दिन ४ सय ८२ जनाले कोभिसिल्ड खोप लगाएका छन्।
कोरोना भाइरस विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख सापकोटाले खोप लगाउँदा असर देखिन्छ कि भन्ने लागेको भएपनि खोप लगाएपछि कुनै असर नदेखिएको बताए।
कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउँदा खुसी लागेको भन्दै सभामुख सापकोटाले कोरोना भाइरस विरुद्धको खोप अभियान पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरे। उनले वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको खोप भएकाले सबैलाई निर्धक्क भएर खोप लगाउन पनि आग्रह गरे।
खोप लगाउन बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, पूर्वमन्त्री लालबाबु पण्डि, नेकपाका सांसद माधव कुमार नेपाल लगायत मन्त्री, पूर्व मन्त्रि तथा सांसदहरुले पनि खोप लगाएका छन्।
खोप लगाएसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि खोप लगाउन पाउँदा कोरोना भाइरस विरुद्ध विजयको नयाँ सिढीँमा पुगेको अनुभूती भएको बताए।
उनले सबै नेपालीलाई बिना हिच्किचाहट सहज रुपमा कोरोना विरुद्धको खोप अभियानमा सरिक हुन पनि आग्रह गरे।
खोप लगाएपछि प्रतिक्रिया दिँदै नेकपाका अध्यक्ष माधव कुमार नेपालले खोप लगाउने वित्तिकै आफुलाई कुनै समस्या नभएको बताए। उनले कोरोना भाइसर विरुद्धको खोप लगाउदा सामान्य लक्षण देखिनसक्ने भन्दै खोपमाथि शंका गर्न नपर्ने बताए।
सांसदहरुका लागि खोप अभियान शुरु गर्नुअघिदेखि खोप केन्द्र परिसरमा पुगेका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पनि बुधबार खोप लगाएका छन्। उनले खोप लगाएपछि प्रतिक्रिया दिँदै आफु खोप लगाउन मनोवैज्ञानिक रुपमै तयारी रहेकाले कुनै समस्या नभएको बताए।
मन्त्री त्रिपाठीले प्रतिनिधि सभाको संसद अधिवेशन नजिकिदै गरेकाले सांसदहरुका लागि खोप अभियान संचालन गर्नुपरेको बताए। उनले फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने तयारी भइसकेको जानकारी दिए। उनले खोप अभियान खोपको उपलब्धताको आधारमा जारी रहने बताए।
स्वास्थ्यमन्त्री त्रिपाठीले थप ५० लाख डोज खोप ल्याउन पहल गरिरहेको र कोभ्याक्स फ्यासिलिटी मार्फत पनि १ करोड ३० लाख डोज खोप आउने जानकारी दिए।
स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप सुरक्षित रहेको र नेपालमा पनि खोपको प्रतिकुल प्रभाव नदेखिएकाले निर्धक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन्।
खोप केन्द्रमा संसद सचिवालयका कर्मचारीका लागि खोपकार्ड वितरण गर्न छुट्टाछुट्टै स्थान बनाइएको थियो। यस्तै उच्च पदस्थ व्यक्तिहरुका लागि अस्थायी भिभिआइपी विश्राम कक्ष समेत बनाइएको थियो। खोप लगाएका मन्त्री तथा सांसदहरुलाई उक्त कक्षमा आधा घण्टा सम्म अब्जरभेसनमा राखिएको थियो। मन्त्री तथा सांसदहरुलाई खोप लगाउदा अवाञ्छित घटना भएमा तत्काल उपचार व्यवस्थापनका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतम सहित निजामती अस्पतालका स्वास्थ्यर्कीहरु पनि खटिएका थिए।
सांसदहरुका लागि आकस्मिक उपचार व्यवस्थापनको लागि निजामती अस्पतालको आकिस्मक सेवा विभाग पनि तयारी अवस्थामा राखिएको थियो।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, कर्मचारीहरु, अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, सुरक्षाकर्मी, मर्यादा पालक र संसदीय मामिला विटका पत्रकार लगायत करिब १५ सय जनालाई खोप लगाइने छ। सांसदहरुका लागि खोप अभियान फागुन २१ गतेसम्म चल्ने जनाइएको छ।
यस्तै फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष माथिका व्यक्तिहरुलाई देशभरका विभिन्न खोप केन्द्रमार्फत एकैसाथ खोप कार्यक्रम संचालन गर्ने सरकारको तयारी छ।