काठमाडौं– ‘देखादेख वा भेटघाट भएको भए विहेअघि नै मायाप्रीति बस्थ्यो कि!’ डा भोला रिजालकी श्रीमती सरला श्रीमानतिर हेर्दै लामो हाँसो हाँसिन्।
‘हाम्रो मागी विवाह हो। विवाह गर्दा हामी बच्चै थियौं, सरला १२ वर्ष, म १५ वर्ष,’ श्रीमतीतर्फ हेर्दै डा रिजाल पनि मुस्कुराए।
त्यतिबेला डा भोला रिजालको परिवार धरानको पुरानो बजारमा बस्थ्यो। हुनेखाने परिवारमा जन्मिएका भोला रिजाल हजुरबुबाका प्रिय नाति थिए। हजुरबुबा काँशी जाने योजनामा थिए। तर काँशी जानुअघि उनलाई नातिको विवाह हेर्ने चाहना थियो। त्यसैले कक्षा १० मा पढ्दापढ्दै रिजालको घरमा विवाहको कुरा चल्न थाल्यो।
आफन्तहरुले भोला रिजालका लागि धरान, नयाँबजारकी सरला घिमिरेसँग विवाह गरिदिने निर्णय गरे। सरलाका दुई जना दाजुहरु रिजालकै क्लासमेट थिए। तर डा रिजालले सरलालाई कहिल्यै देखेका थिएनन्। रिजाल र सरलाका दाजुहरुलाई पनि थाहा थिएन, सरलासँग रिजालको विवाह तय भइसकेको कुरा।
सरलासँग विवाह गर्ने तय भएपछि आफन्तहरुले भोला रिजाललाई केटी हेर्न प्रस्ताव गरे। विवाह नै फिक्स भइसकेपछि केटी हेर्ने? भनेर प्रश्नसहित आएको प्रस्तावलाई जवाफी शैलीमा भोलाले पनि भनिदिए, ‘विवाह नै टुंगो लागिसक्यो अब किन केटी हेर्ने? अब एकै पटक विहेमै हेरौंला।’
डा रिजालले यस्तो जवाफ दिए पनि उनी मनमनै भने सोच्दैथिए, ‘केटी मन परेन भने भाग्छु।’ तर जब स्वयंवरमा सरलालाई पहिलो पटक देखे, रिजालको भाग्ने सोच आफैं गायब भयो। ‘स्वयंवरमा सरलाको ‘इनोसेन्ट फेस’ देखेर भाग्ने सोच नै हरायो,’ उनले हाँस्दै भने।
तर, सरलालाई भने उनका परिवारले विवाहअघि केटा हेर्ने–नहेर्ने वा विवाह गर्छौ–गर्दैनौ भनेर सोधपुछ नै गरेनन्।
‘कस्तो केटा होला भन्ने नै सोचिएन। हामीलाई त बा–आमाले केटा देखाउनु पनि भएन, हेर्ने भनेर सोध्नु पनि भएन,’ सरलाले भनिन्, ‘सोधेको भए त विवाह गर्दिनँ भनिदिन्थें। नसोधेकाले केही भनिनँ।’
भोला र सरलाको विवाह २०१९ साल असार ४ गते भयो।
दुवैजना जीवनभरका लागि एक हुँदै थिए, तर विवाह मण्डपमा उनीहरुको एकपटक पनि बोलचाल भएन। सरलाले त आफैंसँग विवाह गरेको व्यक्तिलाई आँखा उठाएर हेर्दै हेरिनन्।
विवाहपछि दुई रात घरमा बसेर सरला माइत फर्किइन्। बाल्यकालमै विवाह गरेको भएर पनि सरला कहिले घर, कहिले माइत गरिरहिन्थन् भने रिजाल आफ्नो पढाइलाई अगाडि बढाउनतर्फ केन्द्रित भए।
विवाहपछि हजुरबुबासँगै रिजाल आइएससी पढ्न बनारस गए। सरलाले पनि श्रीमानले पढ्नुपर्छ भनेर भोलालाई ढाडस दिइरहिन्। ‘सरलाले मलाई पढ्नुपर्छ भन्थिन्। सानै भए पनि उनी मलाई पढाइमा फोकस हुन प्रेरित गर्थिन्।’
सरलाले थपिन्, ‘मेरो माइतीमा पनि सबै दाजुहरुले पढ्नुभएको भयो, मलाई पनि उहाँले पढ्नुपर्छ भन्ने नै लाग्थ्यो। त्यतिबेला अहिलेको जस्तो कहाँ हुन्थ्यो र, सासु–ससुरासँगै भएपछि हामी सँगै हुँदैनथ्यौं। सँगै रहनुपर्छ भन्ने सोच नै आउँदैनथ्यो।’
भोला रिजालले बंगलादेशमा एमबिबिएस अध्ययन गरेर नेपाल फर्किएपछि विराटनगरमा अस्पतालमा काम गर्न थाले। कामले थकित भएर सुतिरहेका डा रिजालको घरको आँगनमै बिरामीहरु उपचारका लागि डाक्टर खोज्दै आउँथे।
त्यो समयमा सरला सुतिरहेका श्रीमानलाई उठाएर बिरामीको स्वास्थ्य जाँच गर्न पठाउँथिन्।
‘अस्पतालको क्वार्टरमा बिरामीहरु आँगनमै आउँथे,’ सरलाले भनिन्, ‘दिउँसो खाना खाएर सुत्नुभएको हुन्थ्यो, बिरामी आएपछि म उहाँलाई उठाएर बिरामी हेर्न पठाउँथे।’
२०३५ सालमा विराटनगरमा तेस्रो सन्तान जन्माउने क्रममा सरलाको स्वास्थ्य बिग्रियो। तीन दिनसम्म सुत्केरी व्यथा लाग्दा डा रिजाल निकै आत्तिए।
तीन दिनको व्यथापछि बल्ल सरलाले तेस्रो सन्तानलाई जन्म दिइन्। त्यतिबेला श्रीमतीले भोगेको प्रसव पीडा देखेर डा भोलाले प्रसूति रोग विशेषज्ञ बन्ने प्रण लिए।
पछि आफूले प्रसूति रोग विशेषज्ञ बन्ने योजना सुनाएपछि घर–परिवार र आफन्तले खिल्ली उडाउँदै भने, ‘महिलाको डाक्टर नि बन्छन्।’
तर सरलाले डा श्रीमानको सपनालाई साथ दिइन्। बंगलादेशमा स्त्री तथा प्रसूति रोग विशेषज्ञता हासिल गरेर नेपाल फर्किए।
त्यसपछि सरला डा रिजालको जीवनमा जीवनसाथीको भूमिकामा मात्र सीमित भइनन्।
नेपाली महिलाको उपचारमा खटिएका डा रिजालको क्लिनिकमा सहयोगीको रुपमा श्रीमानकाे कामलाई पनि साथ दिइन्। त्यसैले पनि डा रिजाल सरला जस्ती श्रीमती पाउनुमा आफू भाग्यमानी भएको दावी गर्छन्।
उनले भने, ‘सरला जस्ती श्रीमती पाउनुमा म आफूलाई भाग्यमानी ठान्छु, किनकी म नेपालको पहिलो गाइनाकोलोजिस्ट भएर आएपछि मेरो काममा सरलाले सहयोगी भनेर १२ वर्ष काम गरिन्।’
डा रिजाल प्रसूति रोग विशेषज्ञ भएपछि उनी आफ्नो काममा फोकस हुन्थे भने सरला बालबच्चाको पढाइ र घर सम्हाल्थिन्। डा रिजाल आफ्नो कमाइ श्रीमती सरलालाई नै दिन्थे।
डा रिजाल र सरलाको विवाह भएको ५६ वर्ष भइसकेको छ। यो ५६ वर्षको अवधिमा आफूहरुबीच बोलचाल नै बन्द हुने गरी कहिल्यै झगडा पनि नपरेको सुनाउँछन्।
‘हामी सधैं एकअर्काको परिपुरक भयौं, एकले अर्कालाई सहयोग गर्ने, एकले अर्काको मन बुझ्ने ग¥यौं। त्यसैले हामीबीच त्यस्तो झगडा कहिल्यै परेन,’ रिजालले भने, ‘हामी कुनै पनि कुरामा अन्योल हुँदा झगडाभन्दा पनि छलफल गरेर निचोडमा पुग्थ्यौं।’
आफ्नो श्रीमानसँग कहिल्यै गुनासो नै नभएको सरलाले बताइन्।
डा रिजालदम्पतीको स्वभाव पनि उस्तैउस्तै छ। डा रिजाल भन्छन्, ‘युवा अवस्थामा श्रीमती छोराछोरीसँग घुम्न जानुपर्छ भन्ने नै भएन। मेरो परिभाषामा मनोरञ्जन भनेको बिरामी निको भएर घर जाँदा दिएको आशिर्वाद नै हो, मेरो लागि त्योभन्दा ठूलो मनोरञ्जन अरु केही थिएन।’
सरलाले थपिन्, ‘उहाँको सेमिनारहरु हुँदा लिएर जानुहुन्थ्यो, त्यही हो हाम्रो घुमाइ। अहिले छोराहरु बाहिर छन्, उनीहरुलाई भेट्न जान्छौं। अहिले पनि बाहिर घुम्न जाने भन्ने अरु योजना खासै हुँदैन।’
५६औं विवाहोत्सव मनाइसकेका डा रिजाल दम्पती आजभोलिका सम्बन्धहरु केही वर्ष वा महिनामै टुटेको देख्दा नरमाइलो मान्छन्। एकअर्कालाई बुझ्ने र जीवनमा पर्ने समस्याहरुमा कहिलेकाहीँ सम्झौता गर्ने बानी भएमा वैवाहिक वा प्रेम जीवन सफल र सुखमय हुने उनीहरुको तर्क छ।
सरला भन्छिन्, ‘एकअर्कालाई बुझ्नुपर्छ, श्रीमान–श्रीमतीको झगडा हुन्छ तर त्यो झगडालाई इगोको रुपमा लिनु हुँदैन। आफूलाई जति नै धेरै माया गर्ने श्रीमान् भए पनि उसले आफ्नो बाबुआमालाई पनि धेरै माया गर्छ, त्यसैले आफ्नो श्रीमान् र उनको परिवारलाई पनि सम्मान र माया दिनुपर्छ।’
सम्बन्ध दिगो र बलियो हुन एकअर्कामा समर्पण, त्याग र एकअर्कालाई बुझ्ने शक्ति भएमा प्रेम वा वैवाहिक जीवन सहज हुने डा रिजाल बताउँछन्।
उनले भने, ‘मैले पनि अरुको भावनालाई बुझ्नु प¥यो र अरुले पनि मेरो भावनालाई बुझ्नु प¥यो। त्यो क्रममा केही समस्या आए आफ्नो कुरामा सम्झौता गर्न पनि सक्नुपर्छ। त्यसो भयो भने सम्बन्ध बलियो हुन्छ।’