काठमाडौं - महात्मा गान्धीले भनेका छन्, ‘खराब मानिसलाई सुधार्ने मुख्य औषधि हो, प्रेम र स्नेह।’
वास्तवमै प्रेमले जीवन जीउन सिकाउँछ। मरुभूमी जस्तो जीवनमा प्रेमले पानीको काम गर्न सक्छ। प्रेमले मानिसलाई खुशी बनाउन र रमाउन पनि सिकाउँछ।
प्रेमलाई धेरैले आफ्नो अनुभवको आधारमा परिभाषित गर्दै आएका छन्। तर वास्तवमा प्रेमलाई परिभाषित गरिरहन आवश्यक छैन। किनकी प्रेम शब्द आफैँमा काफी छ। न त यसलाई कुनै शब्दमा अथ्र्याउन नै सकिन्छ न त व्यक्त गर्न सकिन्छ। प्रेमलाई केबल महसुस गर्न सकिन्छ।
प्रेमले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिदैन, स्वास्थ्यमै विभिन्न फाइदा पनि गर्छ।
मानिसको मनोविज्ञान भनेको उसको विचार र मन हो। र यही विचार र मनबाट नै प्रेम उत्पन्न हुने मनोचिकित्सक डा सरोज ओझा बताउँछन्। मानिस प्रेममा भएपछि विचार पनि राम्रो आउने उनी बताउँछन्।
भन्छन्, ‘प्रेम भनेको यस्तो किसिमको चिज हो, जसले मानिसको मनलाई खुशी बनाउँछ र सकारात्मक पाटोमा अघि बढ्न सहयोग गर्छ।’
प्रेमले मनलाई खुशी बनाउने भएका कारण प्रेम अत्यावश्यक मानिन्छ। मन खुशी हुँदा जोश जाँगर आउने, विचार राम्रो आउने, आत्मबल बढ्ने उनी बताउँछन्। प्रेमले कुनै पनि व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्ने उनले बताए।
‘मानिस जब खुशी हुन्छ। उसले राम्रो सोच्छ। त्यसले व्यवहारमा पनि सकारात्मक असर पार्छ’ उनले भने।
तर प्रेम सधै सफल हुन्छ भन्ने हुँदैन। प्रेम सम्बन्धमा विभिन्न कारण उतार चढाव आउन सक्छ। त्यो उतार चढावलाई
केहीले व्यवस्थापन गर्न सक्छन् त केहीले सक्दैनन्। परिणामस्वरुप उनीहरु एक किसिमको डिप्रेशनमा जान्छन्।
सम्बन्धमा आएको उतार चढावलाई व्यवस्थापन गर्न नसक्दा उनीहरुमा एक किसिमको मनोवैज्ञानिक असर पर्ने डा ओझा बताउँछन्।
उनका अनुसार प्रेममा धोका पाएपछि मन विरक्त हुने, मन दुखी हुने र नकारात्मक सोचहरु मात्र आउने गर्छ। कति डिप्रेशनको शिकार हुन्छन् त कतिले आत्महत्याको समेत प्रयास गर्छन्।
धोका पाउँदैमा जीवन नै सकियो भन्ने पनि धेरैले सोच्छन्। तर डा ओझा त्यसो नसोच्न आग्रह गर्छन्।
मन दुखी भएको बेला धैर्य गर्ने, नजिकको कुनै साथीहरुलाई कुराहरु सेयर गर्ने, आफ्नो लागि समय लिन आवश्यक रहेको उनी बताउँछन्।
उनी भन्छन्, ‘प्रेममा धोका पाएपछि मानिसहरु आफुलाई डिप्रेसनमा लैजान्छन्। जीवन बेकार हो भन्ने जस्ता सोच पनि आउँछन्। त्यस्तो बेला बाँच्न पनि मन लाग्दैन। यस्तोमा तत्काल नजिकको कुनै साथीसँग खुलेर कुरा गर्नुपर्छ।’
आफ्ना समस्या बारे नजिकको आफन्त, साथी या चिकित्सकसँग खुलेर कुरा गर्न सके डिप्रेसन जस्तो समस्याबाट छुट्कारा पाउन सकिने उनी बताउँछन्। सफलता होस् या असफलता दुवैमा आफ्नो विवेक प्रयोग गरी व्यवस्थापन गर्न डा ओझा सुझाउँछन्।
प्रेममा धोका पाएपछि निद्रा खल्बलियो, आत्मबल कमजोर हुने, जोश जाँगर कम भई आफ्नो दैनिक जीवनमा असर गरे तत्काल मनोचिकित्सकसँग परामर्श गर्नुपर्ने उनले बताए।
कतिपय समस्या बिना औषधि परामर्शले पनि निको हुने उनी बताउँछन्। यो कुनै ठुलो मानसिक रोग नभएकाले तनाव व्यवस्थापनमा ध्यान दिन सके यी समस्याको समाधान भएर जाने उनले बताए।