काठमाडौं- ‘म हुँ र म गर्छु’ भन्ने नाराका साथ बिहीबार विश्व क्यान्सर दिवस मनाइँदै छ।
नेपाल अर्बुद रोग निवारण संस्थाका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजार ५ सय जना क्यान्सरका नयाँ बिरामी थपिने गरेको संस्थाले जनाएको छ। क्यान्सरका कारण हरेक वर्ष नेपालमा करिब १३ हजार ६ सय २९ जनाको मृत्यु हुने गरेको छ।
नेपालमा करिब ५० देखि ६० हजार क्यान्सरका रोगी रहेको अनुमान गरिएको छ भने विगत ५ वर्षको अवधिमा करिब ४३ हजार क्यान्सरका बिरामी पूर्ण रुपमा निको भएको जनाइएको छ।
क्यान्सरका बिरामी अझै बढ्न सक्छन्
समयमै रोग पत्ता लागे क्यान्सर निको हुने चिकित्सकहरु बताउँछन्। तर अझै पनि क्यान्सरका कारण जटिल समस्या देखिएपछि मात्र बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समय लकडाउन र निषेधाज्ञा हुँदा स्वास्थ्य सेवा प्रभावित भयो।
भक्तपुर क्यान्सर अस्पतालमा लकडाउन र निषेधाज्ञाको समयमा नयाँ क्यान्सरका बिरामी र फलोअपमा स्वास्थ्य परीक्षण गराउने बिरामीको संख्या समेत कम भएको अस्पतालमा उपनिर्देशक डा रोशन प्रजापतिले बताए।
‘लकडाउन र निषेधाज्ञाको समयमा नयाँ बिरामी कम भए, फलोअपमा आउनुपर्ने कतिपय बिरामी पनि कम आए,’ डा प्रजापतिले भने, ‘लकडाउन निषेधाज्ञा कम भएपछि आएका बिरामीहरुमा क्यान्सरको तेस्रो, चौथो स्टेज पुगिसकेको अवस्था पनि छ, फलोअपमा आएका पुराना बिरामीहरुमा पनि क्यान्सर फैलिएको देखिएको छ।’
डा प्रजापतिका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा सन् २०१९ मा क्यान्सरका नयाँ बिरामी ३ हजार ४ सय १८ जना थिए। तर कोरोना संक्रमण देखिएको वर्ष सन् २०२० मा नयाँ क्यान्सरका बिरामीको संख्या २ हजार ५१७ जना मात्र थिए।
क्यान्सरका नयाँ बिरामी करिब २५ प्रतिशत कम भएको उनले सुनाए। लकडाउन र निषेधाज्ञाका कारण बिरामीहरु सेवाको पहुँचमा नपुगेकै कारण पनि आजभोलि क्यान्सरका बिरामीहरु जटिल अवस्थामा आउने क्रम बढ्न थालेको उनको भनाइ छ।
उनले कोरोना संक्रमणसँग डराएर क्यान्सरको समयमै पहिचान र उपचार नहुँदा अवस्था भयावह हुनसक्ने समेत बताए।
‘लकडाउनको असरले क्यान्सरका बिरामीहरु अझै बढ्दै जाने र जति ढिला डाइग्नोसिस भयो, त्यति क्यान्सरका बिरामीको मृत्यु हुने दर पनि बढ्न सक्ने सम्भावना छ,’ डा प्रजापतिले भने, ‘भोलिका दिनमा क्यान्सर रोग भयावह हुनसक्छ, त्यसैले रोगको पहिचान र स्वास्थ्य सचेतनामा विशेष ध्यान दिन आवश्यक छ।’
क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले पनि कोरोना संक्रमणको त्रासले मानिसहरु क्यान्सर रोगको पहिचानका लागि स्वास्थ्य पहिचान तथा उपचारमा कम आएको बताए।
उनले नेपाल जस्तो विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्न सक्ने उनले बताए।
‘विकसित देशहरुमा क्यान्सर रोग समयमै पहिचान हुन थालेको छ, समयमै उपचार गराइरहेका छन्, स्वास्थ्यप्रति सचेत पनि हुन थालेका छन्, त्यसले गर्दा विकासित देशहरुमा क्यान्सर रोग कम हुँदैछ,’ उनले भने, ‘समयमै रोग पहिचान नहुँदा हाम्रो देशमा जटिल अवस्थाका क्यान्सरका बिरामी बढ्ने सम्भावना छ।’
अबको ४० वर्षमा नेपालजस्तो गरिबीको रेखामुनि रहेका देशहरुमा क्यान्सर रोगीको संख्या दुई तिहाइले बढ्ने उनले सुनाए।
खानपान र स्वस्थकर जीवनशैली नअपनाएमा नेपालमा क्यान्सरका बिरामी बढ्दै जाने डा पियाले बताए।
उनले भने, ‘अहिले मानिसहरु हिँड्नै छाडेका छन्, गाडीमा चड्ने, बाहिरको जंगफुड, खाने गर्न थालेका छन्, यस्ता कुरामा नियन्त्रण नभए भोलिका दिनमा क्यान्सरका बिरामीहरु बढ्छन्।’
डा पियाले कोरोना संक्रमण नियन्त्रण नभइसकेकाले अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउने बिरामीहरुले पनि कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताए।
क्यान्सरका बिरामीलाई सरकारी सहुलियतले पुग्दैन
सूर्तिजन्य पदार्थको सेवन तथा धूमपान क्यान्सर लाग्नुको प्रमुख कारण रहेको चिकित्सकहरु बताउँछन्।
नेपालमा वार्षिक २७ हजार १०० मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगले हुने गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ।
विश्व क्यान्सर दिवसको अवसरमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले नेपाल अर्बुद रोग निवारण संस्थासँग सहकार्य गरी नेपालमा सुर्तीजन्य पदार्थको सेवनको प्रभावको विषयमा अध्ययन गरी एउटा प्रतिवेदन समेत तयार पारेको छ।
सो प्रतिवेदनका अनुसार नेपालमा ४८ देखि ६९ प्रतिशत स्वास्थ्य उपचार खर्च प्रायः बिरामी आफैंले बेहोर्नु पर्छ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारत २९४ क्यान्सरका बिरामीसँग गरिएको एक अध्ययनले क्यान्सरको उपचारमा एक व्यक्तिको औसतमा तीन लाख ८८ हजार रुपैयाँ खर्च हुने देखिएको छ।
सरकारले क्यान्सरका बिरामीलाई उपचारमा एक लाख रुपैयाँ नगद सहयोग गर्दै आएको छ। तर बिरामीलाई लाग्ने उपचार खर्चको आधारमा सरकारी सहुलियत कम रहेको उक्त अध्ययनले देखाएको छ।
भक्तपुर क्यान्सर अस्पतालमा गरिएको सर्वेक्षणमा ८६५ जनाले क्यान्सरको उपचार गराउने क्रममा आर्थिक कठिनाइ भोगेको पाइएको छ। तीमध्ये ७८५ जनाले उपचार खर्च जुटाउन ऋण लिएका थिए। यस्तै ४८५ जनाले आफ्नो सम्पत्ति बेच्न बाध्य भएका थिए।