काठमाडौं– ‘म पनि खोप लगाउथें, अहिले मसँग खोपकार्ड छैन’ त्रिवि शिक्षण अस्पतालमा खोप अभियान निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीसँग ठट्टा गरे।
खोप कक्षमा रहेका सबै चिकित्सकहरु प्रधानमन्त्रीको ठट्टामा हाँसे।
त्रिवि शिक्षण अस्पतालमा खोप कार्यक्रम सुरु भएको करिब २ घण्टापछि खोप अभियानको निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए।
प्रधानमन्त्री ओली आउँदा खोप केन्द्रको सुरक्षा व्यवस्था केही कडा पारियो।
प्रधानमन्त्री ओलीले खोप केन्द्रको अवलोकन गरे। खोप लगाएर आराम गरिरहेका व्यक्तिहरुलाई सोधे, ‘खोप लगाइसक्नु भयो, खोप लगाएपछि सबै ठिक छ? केही समस्या छैन नि!’
खोप लगाएर आराम गरीरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रधानमन्त्री ओलीलाई एउटै जवाफ दिए, ‘हामी ठिक छौं।केही समस्या देखिएन।’
त्यसपछि प्रधानमन्त्री ओली खोप लगाएको हेर्न खोप लगाउने ठाउँमा पुगे।
पिपिइ लगाएर बसेका नर्सिङ स्टाफले एकजना स्वास्थ्यकर्मीलाई खोप लगाइदिँदै थिए।
नर्सिङ स्टाफले खोप लगाइदिने वित्तिकै प्रधानमन्त्री ओलीले खोप लगाएका स्वास्थ्यकर्मीलाई सोधे, ‘ठिक छ हैन?’ स्वास्थ्यकर्मीले पनि मुसुक्क हाँस्दै भने, ‘ठिक छु।’
त्यसपछि प्रधानमन्त्री ओलीले खोप केन्द्रको विषयमा अस्पतालका निर्देशक डा दिनेश काफ्लेसँग केही सम्वाद गरे र त्यहाबाट बाहिरिए।
०००
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको नयाँ भवनलाई खोप केन्द्र बनाइएको थियो।
बुधबार बिहान ८ बजेदेखि नै खोप केन्द्र तोकिएको भवन परिसरमा स्वास्थ्यकर्मीहरु खोप अभियानको तयारीमा जुटेका थिए।
त्रिवि शिक्षण अस्पतालमा बुधबार ३ सय जना जनालाई खोप लगाउने योजनाका साथ तयारी भइरहेको थियो।
मनमोहन सेन्टरको नयाँ भवनको बाहिर खोप लगाउने व्यक्तिका लागि खोप मन्जुरीनामा राखिएको थियो। टिचिङ अस्पतालमा पहिलो खोप लगाउने तयारीमा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्लेले लगाउने तय भइसकेको थियो।
डा काफ्लेले खोप केन्द्रको बाहिर राखिएको खोपकार्ड लिएर मन्जुरीनामामा हस्ताक्षर गर्दै भने, ‘ल हामी पनि मञ्जुरीनामा भरौं, खोप लगाउनुपर्छ।’
डा काफ्लेले खोप कार्ड लिएर भरेपछि अन्य चिकित्सकहरुले पनि लाइनमा बसेर खोप कार्ड लिन थाले।
भवनको अन्डरग्राउण्डको एउटा ठूलो हलमा दुई ठाउँमा खोप लगाउने ठाउँ बनाइएको थियो। टिचिङका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खोप दिन नर्सिङ स्टाफ पिपिइ, मास्क, पञ्जा, भाइजर सहित तयारी अवस्थामा बसेका थिए।
खोप लगाइसकेका व्यक्तिहरुका लागि आराम गर्न एउटा कोठामा केही कुर्सीहरु राखिएको थियो।
यस्तै खोपको प्रयोगबाट कसैलाई जटिल खालको स्वास्थ्य समस्या देखिएमा उनीहरुलाई अब्जरभेसनमा राख्नका लागि वेड तथा स्वास्थ्य सामाग्रीहरु सहितको दुईवटा कोठा तयारी अवस्थामा राखिएको थियो।
खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएमा उनीहरुको निगरानी गर्न अस्पतालका क्रिटिकल केयर युनिटका इन्चार्ज डाक्टर सुवास आचार्य सहितको टोली खटिएको थियो।
‘खोप लगाएका स्वास्थ्यकर्मीलाई खोपको नकारात्मक असर देखिन सक्ने भएकाले यही तयारीमा लागिरहेको छु,' डा आचार्यले स्वास्थ्यखबरसँग भने, ‘कसैलाई कुनै समस्या नदेखियोस्, यही कामना गरिरहेको छु।’
000
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा खोप अभियान शुभारम्भ भएको घोषणा गरेपछि त्रिवि शिक्षण अस्पतालले पनि खोप लगाउन सुरु गर्ने तयारी गरिएको थियो। प्रधानमन्त्रीले भर्चुअल रुपमा सुरु गर्ने खोप अभियानमा सहभागी हुन क्यामेरा र प्रोजेक्टर सहितका सामाग्रीहरु खोप लगाउने स्थानको अगाडी राखिएको थियो।
खोप अभियान सुरु गर्नुअघि अस्पतालका निर्देशक तथा विभागीय प्रमूखहरुले खोप लगाइदिन खटिएका स्वास्थ्यकर्मीसँग सामुहिक तस्बिर खिचाए।
करिब सवा १० बजे बालुटारबाट खोप अभियान शुभारम्भ कार्यक्रम शुरु भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुभारम्भ भएको घोषणा गरेपछि अस्पतालका कार्यकारी निर्देशक डाक्टर दिनेस काफ्लेले पहिलो खोप लगाए, अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ताली बजाएर उत्साह मनाए।
‘महामारीको समयमा खोप कहिले आउला भनेर बसिरहेको अवस्थामा अहिले खोप आयो,’ डा काफ्लेले खोप लगाउने वित्तिकै भने, ‘यो अभियान सुरु गर्न पाउँदा म अत्यन्तै उत्साहित छु, हर्षित छु, मैल खोप लगाएँ, म सबैलाई खोप लगाउन सुझाब दिन्छु।’
डा काफ्लेले खोप लगाएपछि विस्तारै अन्य चिकित्सकहरु पनि खोप लगाउन आउन थाले। डा काफ्लेले खोप लगाएको केही समयपछि खोप कार्यक्रम व्यवस्थापनमै खटिए।
‘खोप लगाइहाँले अब केही समयपछि बिरामीको अप्रेसन गर्न जानु छ,’ खोप लगाएको केही समयपछि आफु ड्युटीमा खटिने उनले सुनाए।
तर, खोप केन्द्र परिसरमै रहेका केही स्वास्थ्यकर्मी भने भन्दै थिए, ‘आज खोप लगाउनेहरुमा असर देखिन्छ कि देखिँदैन हेरौं, त्यसपछि लगाउनुपर्ला।’
तर खोप लगाउने चिकित्सकहरु भने खोप लगाइसकेपछि खुसी देखिन्थे। उनीहरुमा खोपले त्यस्तो साइडइफेक्ट देखिएको छैन।
महाराजगञ्ज क्याम्पस प्रमुख प्राडा प्रताप नारायण प्रसादले भ्याक्सिन लगाउनु अघि केही डर रहेपनि भ्याक्सिन लगाएपछि ढुक्क भएको बताए।
‘भ्याक्सिन लगाउनुपर्छ भन्ने योजना बनाएरै खोप लगाउन आएको थिएँ, खोपले केही असर गरिहाल्छ कि भन्ने अलिअलि डर पनि थियो,’ प्रसादले स्वास्थ्यखबरसँग भने, ‘तर, भ्याक्सिन लगाएपछि ढुक्क भएँ, म अरुलाई पनि यो खोप लगाउनुस्, डराउनु पर्दैन भन्छु। यो खोप सुरक्षित छ।’
खोप लगाएपछि आराम कक्षमा बसिरहेका त्रिवि शिक्षण अस्पतालका इमजेन्सी विभागका प्रमुख प्राडा योगेन्द्रमान शाक्यले पनि खोप लगाउन पाउँदा आफूलाई कुनै समस्या नदेखिएको बताए।
उनले कोरोना भाइरस संक्रमण कसैको कन्ट्रोलमा नभएकाले खोप लगाउनै पर्ने बताए।
‘अहिले काठमाडौंको कोलाहल हेर्दा कोरोना गइसक्यो भन्छन्,तर खतरा अझै छ, त्यसैले खोप लगाउँनै पर्छ,’ डा शाक्यले भने, ‘खोप लगाएपछि पनि जनस्वास्थ्यको मापदण्ड पालना गरीरहनु पर्छ।’
कोरोना भाइरस विरुद्धको खोप लगाएर हर्षित मुद्रामा थिए टिचिङ अस्पतालका अप्रेसन थ्रिएटरका सुरक्षा गार्ड बल बहादुर नेपाली। शारीरिक रुपमा अपाङ्गता भएका नेपाली ह्वीलचियरमा बसेर खोप लगाउन आएका थिए।
खोप लगाउन पाउँदा खुसी लागेको उनले सुनाए।
‘खोप नेपालमा पाइँदैन भन्ने सोचेको थिएँ, तर आज पहिलो चरणमै लगाउन पाएँ,’ नेपालीले भने, ‘खोप लगाएपछि अब बाँचिन्छ, मरिदैन भन्ने लागेको छ, खोप ल्याउन पहल गर्नुभएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु।’
पहिलो दिन टिचिङमा १९१ जनाले लगाए खोप
त्रिवि शिक्षण अस्पतालमा बुधबार ३०० जना स्वास्थ्यकर्मीलाई खोप लगाउने योजना थियो। खोप लगाउने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि बिहान ८ बजे देखि नै खोपकार्ड वितरण सुरु गरिएको थियो।
बिहान करिब साढे १० बजेदेखि सुरु भएको खोप अभियान दिउसो ४ बजेसम्म खोप कार्यक्रम संचालन भयो। सो अवधिमा १९१ जनाले मात्र खोप लगाएको अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले जाकारी दिए।
उनका अनुसार खोप अभियानमा बुधबार सहभागी मध्ये अधिकाशं चिकित्सकहरु थिए।
‘आज पहिलो दिन ३०० जनालाई खोप लगाउने योजना थियो, तर आज १९१ जनाले मात्र खोप लगाउनु भयो,’ प्रवक्ता अधिकारीले भने, ‘आज खोप लगाउने धेरैजसो चिकित्सकहरु हुनुहुन्थ्यो। पहिलो दिन भएर होला धेरैले लगाउन आउनु भएन, भोलीबाट खोप लगाउनेको संख्या बढ्छ होला।’
प्रवाक्त अधिकारीले खोप लगाएका १९१ जनामा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको पनि बताए।
‘आज खोप लगाउने कसैमा पनि कुनै समस्या देखिएको छैन,’ प्रवक्ता अधिकारीले भने, ‘खोप लगाएपछि उहाँहरुलाई केही समय आराम गर्न दियौं, खोप लगाएर एकछिन आराम गरेर उहाँहरु अस्पतालमा ड्युटीमै खटिनु भयो।’
टिचिङ अस्पतालमा बिहीबारदेखि दैनिक ४ सय जनालाई खोप लगाउने तयारी छ। खोप कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म लगाइन्छ।
टिचिङ अस्पताल, मनमोहन सेन्टर र बिपी आई सेन्टरमा गरी २ हजार जना स्वास्थ्यकर्मी पहिलो चरणमा खोप लगाउने प्राथमिकतामा छन्। यस्तै कान्ति बाल अस्पताल, चिरायु अस्पताल, इशान अस्पतालका स्वास्थ्यकर्मी र तार्केश्वर नगरपालिका र काठमाडौं महानगरका सरसफाइका कर्मचारीलाई पनि खोप दिइने छ।
यो पनि हेरौं :
टेकु अस्पतालमा कोभिड खोपको पहिलो दिन