काठमाडौं– सरकारले बुधबार बिहान देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्ययमबाट अभियानको औपचारिक सुरुवात गर्ने कार्यक्रम तय भएको छ।
खोप अभियानको शुभारम्भमा कार्यक्रममा शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल लगायत सातै प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप लगाउँदैछन्।
नेपालमा भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि सरकारले फ्रन्टलाइनमा खटिएकालाई खोप लगाउन लागेको हो। खोप नेपाल भित्रिएपछि केही स्वास्थ्यकर्मीले यसबाट हुनसक्ने सम्भावित साइड इफेक्टका विषयमा प्रश्न उठाएका छन्। तर प्रश्न उठाउनेको संख्या भने निकै कम छ।
नेपालमा खोप भित्रिएको र खोप लगाउन पाउनेमा धेरै स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा खटिएकाहरु उत्साहित छन्। स्वास्थ्यखबरले बुधबार खोप लगाउने सूचीमा रहेका केही चिकित्सकसँग कुराकानी गरेको छ। स्वास्थ्यखबरसँगको कुराकानीमा उनीहरुले खोप लगाउन पाउँदा आफूहरु निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
०००
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारी लगायत चिकित्सकहरुले बुधबार कोरोना भाइरस विरुद्धको खोप लगाउने तय भइसकेको छ।
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन पहिलो प्रथामिकतामा परेका डा राजभण्डारी खोप लगाउन उत्साहित छन्। केन्द्रीय अस्पतालमा खटिएका विशेषज्ञ चिकित्सकहरुले नै पहिला खोप लगाउदा खोपप्रति उत्पन्न भएका आशंका कम हुने उनको विश्वास छ।
‘हाम्रो अस्पतालले नै पहिलो कोरोना संक्रमितको उपचार गरेको हो, कोरोना संक्रमितको उपचारका लागि विशेष अस्पतालको रुपमा तोकेर हजारौं संक्रमतिको उपचार गरेर उहाँहरुलाई बचाएका छौं,’ डा राजभण्डारीले भने, ‘कोरोनाको खोप पनि यहीँको डाक्टर, स्वास्थ्यकर्मीहरुले पहिला लगाउँदा सबैमा खोपप्रति उत्पन्न भएको आशंका हट्छ, सबैलाई खोप लगाउन प्ररित गर्न सकिन्छ भनेर पहिलो खोप नै म आफैँ लगाउँदै छु।’
नेपालमा पहिलो पटक आएको कोभिसिल्ड नामक भ्याक्सिन सुरक्षित भएको भन्दै खोप लगाउन आफू उत्साहित भएको उनले सुनाए।
‘यस्तो महामारीको अवस्थामा खोप उत्पादन भएको छ, यो खोपको ट्रायल भइसकेको छ,’ डा राजभण्डारीले भने, ‘यो भ्याक्सिन महामारीबाट हामीलाई बचाउँनकै लागि बनेको हो, यो सुरक्षित छ, यो भ्याक्सिन लगाएर आफू मात्र होइन अरुलाई पनि बचाउँन सकिन्छ। त्यसैले यो खोप लगाउन उत्साहित छु।’
शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनामा खटिएका २६४ जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले बुधबार कोरोना भाइरस विरुद्धको खोप लगाउँदै छन्।
डा राजभण्डारीका अनुसार पहिलो चरणमा शुक्रराज अस्पतालका स्वास्थ्यकर्मीसँगै स्वास्थ्य सेवा विभाग अन्तरर्गत रहेका फ्रन्टलाइमा खटिएका स्वास्थ्यकर्मी तथा प्राविधिक र टेकु क्षेत्रमा रहेका काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पताल लगायतका अस्पतालहरुका २ हजार ४४२ जना स्वास्थ्यकर्मीलाई पनि शुक्रराज अस्पतालबाटै खोप लगाइँदै छ।
डा राजभण्डारीले खोप लगाएर कुनै स्वास्थ्य समस्या देखिएमा उनीहरुको उपचार तथा व्यवस्थापनको तयारी पनि भइसकेको जानकारी दिए।
‘खोप लगाएपछि कसैलाई सामान्य ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने समस्या देखिन सक्छ, यो सामान्य अवस्था हो, यो समस्या केही घण्टामा हराउँछ,’ डा राजभण्डारीले भने, ‘तर खोप लगाएपछि वेहोस् हुने, छटपटी भयो, रक्तचाप घट्यो, श्वासप्रश्वासमा समस्या देखियो भने उहाँहरुको विशेष उपचार गर्नुपर्छ। त्यसको लागि पनि तयारी गरिसकेका छौं।’
त्रिवि शिक्षण असपताल (टिचिङ) मा पनि बुधबार ३ सय जना स्वास्थ्यकर्मीले कोरोना भाइरस विरुद्धको खोप लगाउँदै छन्। टिचिङ अस्पतालका निर्देशक डा दिनेश काफ्लेले पहिलो खोप लगाएर अस्पतालमा खोप अभियानको शुभारम्भ गर्दैछन्।
कोरोना भाइरस विरुद्धको खोप लगाउन आफू उत्साहित भएको डा काफ्लेले स्वास्थ्यखबरलाई बताए।
‘बुधबार बिहान १० बजेदेखि भ्याक्सिन लगाउन सुरु हुन्छ, यो खोप मैले नै लगाउँदै छु र अरु चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि लगाउनेछन्,’ डा काफ्लेले भने, ‘हामी कोरोनाको खोपको प्रतिक्षामा थियौं, हाम्रो प्रतिक्षाको घडी समाप्त भएको छ, हामी एकदमै उत्साहित छौं।’
त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सन्त कुमार दासका अनुसार टिचिङ अस्पतालमा खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई खोपको विषयमा प्रशिक्षण दिइसकिएको छ।
‘खोपको बारेमा जानकारी पाएपछि खोप लगाउन चाहने चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या पनि थपिँदै गएको छ,’ उनले भने।
डा दासका अनुसार बुधबार अस्पतालमा अस्पतालका कर्मचारीसहित टिचिङ अस्पताल परिसरमै रहेको मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बिपी कोइराला नेत्र अध्ययन केन्द्रका ३५ सय जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाइँदै छ।
यस्तै कान्ति बाल अस्पताल, चिरायु अस्पताल र इशान बाल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि टिचिङ अस्पतालमै खोप लगाइने छ।
ती तीन अस्पतालमा रहेका खोप लगाउने चिकित्सक तथा स्वास्थ्यकर्मीको नामावली भने संकलन भइरहेको डा दासले जानकारी दिए।
डा दासका अनुसार खोपको विषयमा सचेतना कार्यक्रम संचालन गर्दा धेरै स्वास्थ्यकर्मीहरुले खोपको साइड इफेक्टको विषयमा जिज्ञासा राखेको थिए।
त्रिवि शिक्षण अस्पतालमा यसअघि कोरोना भाइरस विरुद्धको खोप ट्रायल गर्ने तयारी गरिएको स्थानमै कोभिसिल्ड खोप दिइने व्यवस्था गरिएको छ।
‘हामीले यो खोप नआउँदै एउटा खोपको ट्रायल गर्ने भनेर सम्पूर्ण तयारी गरिसकेका थियौं, त्यो खोपको ट्रायलको विषय अहिले मन्त्रीपरिषद्मा पुगेको छ,’ डा दासले भने, ‘अर्को खोपको ट्रायल गर्ने तयारी गरिएकै ठाउँलाई अहिले सरकारले गर्न लागेको कोभिसिल्ड खोप अभियानको व्यवस्थापनका लागि छुट्याएका छौं।’
डा दासले कोभिसिल्ड खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएमा उनीहरुको उपचार तथा व्यवस्थापनको सम्पूर्ण तयारी पनि भइसकेको जानकारी दिए।
उनले बुधबार टिचिङ अस्पतालमा स्वास्थ्यकर्मीका लागि खोप अभियान संचालन भएपनि अस्पतालको अन्य स्वास्थ्यसेवा भने प्रभावित नहुने गरी व्यवस्थापन गरिएको पनि जानकारी दिए।
यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीण नेपालले पनि बुधबार कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप लगाउँदै छन्।
‘म पनि कोरोना भाइरस विरुद्धको खोप लगाउँदै छु,’ डा नेपालले भने, ‘नेपालमा खोप बन्दैन, खोप कहिले आउँला भन्दाभन्दै अहिले साँच्चै खोप आइपुगेको छ, हामीले लगाउन पाउँदै छौं, सरकारले पहल गरेर खोप ल्याएको छ, यो खोप लगाउन पाउँदा हामी उत्साहित नै छौं।’
डा नेपालले सशस्त्र प्रहरी अस्पतालकै खोप लगाउने स्वास्थ्यकर्मीहरु ५ सय भन्दा बढी रहेको पनि जानकारी दिए। उनले खोप अभियान शुभारम्भ हुने पहिलो दिन बुधबार १ सय भन्दा बढीलाई खोप लगाउने योजना रहेको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीको विवरण पठाएको आधारमा बलम्बु क्षेत्रका अन्य अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पनि सशस्त्र प्रहरी अस्पतालबाटै खोप लगाइने उनले जानकारी दिए।
नेपालमा पहिलो कोरोना संक्रमित भेटिएदेखि हालसम्म कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका शुक्रराज अस्पतालका डाक्टर अनुप बास्तोलाले पनि खोप लगाउन आफू उत्साहित भएको बताएका छन्।
उनले भने ‘कोरोनासँगको युद्धमा जित हाँसिल गर्ने माध्यम नै खोप हो, नेपालमा पनि भारत सरकाले यो खोप उपलब्ध गरायो, पहिलो चरणमा नै हामी स्वास्थ्यकर्मीले लगाउन पाउने भयौँ, फ्रन्टलाइनमा खटिएकाले पहिला लगाउँदा संक्रमणको जोखिमबाट जोगिन र आफ्नो परिवारका सदस्यहरुलाई पनि संक्रमणको जोखिमबाट बचाउन सकिन्छ। हामी स्वास्थ्यकर्मीहरु उत्साहित छौँ,’ उनले भने।
डा बास्तोलाले जुनसुकै भ्याक्सिनमा पनि सामान्य असर देखिनसक्ने भएकाले खोप लगाएपछि देखिन सक्ने स्वास्थ्य समस्याबारे आफूहरु सचेत रहेको जानकारी दिए।