काठमाडौं– नेपालमा कोरोना संक्रमणको जोखिम कम नभइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दीर्घरोगी र वृद्धवृद्धा कोरोना संक्रमणको सबैभन्दा बढी जोखिममा हुने गर्छन्। नेपालमा पनि कोरोना संक्रमण भएर मृत्यु हुनेमध्ये अघिकांश दीर्घरोगका बिरामीहरु छन्।
वीर अस्पतालका चेष्ट युनिटका प्रमुख डाक्टर अशेष ढुंगाना दीर्घ श्वासप्रस्वास अर्थात दमका रोग भएका बिरामीमा कोरोना संक्रमण भए जटिलता बढी हुने र मृत्युदर पनि बढ्न सक्ने बताउँछन्। दमका बिरामीमा छातीमा छिटो संक्रमण हुने भएकाले कोरोना सर्ने र कोरोना संक्रमण भएमा जटिलता आउने सम्भावना पनि बढी हुने उनी बताउँछन्।
दमका बिरामीमा अक्सिजनको मात्रामा कमी हुने, कडा खालको निमोनिया हुने र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने उनले बताए।
डा ढुंगानाले दीर्घ श्वासप्रस्वासको समस्या भएका व्यक्तिहरुले कोरोना संक्रमणको जोखिमबाट बच्न अति आवश्यक रहेको जानकारी दिए।
डा ढुंगानाका अनुसार दम रोगको समस्या भएका व्यक्तिहरु सम्भव भएसम्म भिडभाडमा जानै हुँदैन। यदी भिडभाडमा जानै पर्ने अवस्था भएमा कोरोना संक्रमणबाट बच्ने उपायहरु जस्तै मास्क लगाउने, स्यानिटाइजर बोक्ने लगायतका उपाय अपनाउनुपर्ने पनि उनले बताए।
यदी घरमा वृद्धवृद्धा वा दमका रोगीहरु छन् भने परिवारका अन्य सदस्यहरुले पनि कोरोना संक्रमणबाट जोगिनुपर्ने र विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
दीर्घ स्वासप्रस्वासको समस्या भएका बिरामीले कोरोना संक्रमण सर्ने जोखिमबाट कसरी जोखिने? दमका बिरामी भएका परिवारका सदस्यहरुले कसरी ध्यान दिने? लगायतका विषयमा डाक्टर अशेष ढुंगानासँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको भिडियो कुराकानीको मुख्य अंशः
- नेपालमा कोरोना संक्रमणको जोखिम कम भइसकेको छैन। कोरोना संक्रमणबाट मृत्यु हुनेमा वृद्धवृद्धा र दीर्घरोग भएका बिरामीहरु बढी छन्।
- दमको रोग अर्थात् दीर्घ श्वासप्रश्वासको समस्या भएका व्यक्तिमा कोरोना संक्रमण भएमा जटिलता आउने र मृत्यु हुने जोखिम बढी हुन्छ।
- दमको रोग भएका बिरामीमा कोरोना संक्रमण हुँदा उनीहरुलाई आइसियु तथा भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको थुप्रै घटना छन्।
- त्यसैले दमको समस्या भएका व्यक्तिले कोरोना संक्रमणबाट बच्न सकेसम्म भीडभाडमा जानु हुँदैन।
- घर बाहिर निस्कनै पर्ने अवस्थामा सही तरिकाले मास्कको प्रयोग गर्नुपर्छ। सामाजिक दूरी कायम गर्ने र समय समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउने गर्नुपर्छ।
- यदि तपाईंको परिवारमा दमको बिरामी हुनुहुन्छ भने परिवारका सबै सदस्यहरुले कोरोना संक्रमणबाट बच्न समयमै सचेत हुनुपर्छ।