काठमाडौं– विश्वका विभिन्न देशहरुमा कोरोना भाइरस म्युटेसन भएर नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण देखिन थालेको छ।
बेलायतमा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएपछि नेपाल सरकारले पुस पहिलो साता बेलायतबाट नेपाल आएकाहरुको कोरोना परीक्षण गर्यो ।
सो क्रममा केही व्यक्तिमा नयाँ प्रजातिको कोरोना संक्रमण हुनसक्ने आशंका गर्दै उनीहरुको नमूना परीक्षण गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइयो । हङकङमा पठाइएको नमुनामध्ये तीन जनामा बेलायतमा देखिएकै प्रजातिको कोरोना संक्रमण फेला पर्यो।
नयाँ प्रजातिको कोरोना संक्रमण देखिएका तीनजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्य मन्त्रालयको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट डाक्टर अनुप बास्तोलाले बेलायतबाट आएका व्यक्तिहरुलाई निगरानी गर्दा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएको भन्दै निगरानी बाहिर रहेकाहरुको पनि खोजी गर्नुपर्ने बताए।
बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना संक्रमण नेपाल भित्र छ वा छैन भनेर पत्ता लगाउन त्यहाँबाट आएका सबैको परीक्षण र खोजी गर्नुपर्ने बताए।
स्वास्थ्यखबरको कार्यक्रम स्वास्थ्य संवादमा बोल्दै डा बास्तोलाले बेलायतबाट नेपाल आएकाहरुमा निगरानी गरी परिक्षण गर्दा उनीहरुमा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएकाले यो भाइरस नेपाल भित्रै रहेको भन्न नमिल्ने पनि बताए।
‘नयाँ प्रजातिको कोरोना संक्रमण नेपालमै देखिएको भन्न मिल्दैन, रोगग्रत क्षेत्रबाट आएका शंकास्पद व्यक्तिलाई निगरानी गर्दा उनीहरुमा नयाँ प्रजातिको कोरोना भेटिएको हो,’ डा बास्तोलाले भने, ‘उनीहरु नेपाल आउने वित्तिकै सर्भिलेन्स गरेर पत्ता लगाएको केस हो, अब सर्भिलेन्सबाट छुटेकामा यो नयाँ प्रजाति छ वा छैन भनेर समुदायमा गएर खोजी गरेर पत्ता नलगाएसम्म नेपालमै नयाँ प्रजाति छ वा छैन भन्न सकिदैन।’
डा बास्तोलाले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेको बताए। संक्रमितको संख्या घट्दै गर्दा गम्भीर बिरामी पनि कम हुन थालेको उनले बताए।
नेपालमा पनि कोरोना भाइरस संक्रमण म्युटेसन भएको छ वा छैन यसबारे अध्ययन हुनुपर्ने डा बास्तोलाको तर्क छ।
कोरोना भाइरसको नयाँ प्रजाति कस्तो प्रकृतिको छ? कस्तो अवस्थामा यो नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा फैलिने जोखिम हुन्छ? नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले तत्काल कस्ता कदम चाल्नुपर्छ? नेपालमा कोरोना संक्रमणको अवस्था अहिले कस्तो छ? कोरोना संक्रमण निको भएका व्यक्तिले कस्ता कुरामा सावधानी अपनाउनुपर्छ?
प्रस्तुत छ डा बास्तोलासँगको भिडियो कुराकानीः