काठमाडौं– ‘तपाईंलाई कस्तो छ अहिले? लिनूस् यो औषधि खानूस्। अहिले पानी खानु हुँदैन है, शल्यक्रिया गर्ने वित्तिकै पानी खानु हुँदैन।’
त्रिवि शिक्षण अस्पतालको पोस्टअप वार्डमा भर्ना भएका बिरामीलाई एक जना नर्सिङ स्टाफले सम्झाउँदै थिइन्। ती नर्सिङ स्टाफले शल्यक्रियापछि अस्पतालको बेडमा सुतिरहेका बिरामीहरुलाई आफू रातभरि नसुतेरै केयर गरिन्।
ती नर्स वार्डभरि भएका बिरामीलाई कहिले औषधि खुवाउँथिन् त कहिले स्लाइनपानी चढाउँथिन्। शल्यक्रिया गर्दाको आलो घाउ दुखेर कराइरहेका भनिरहेका बिरामीलाई सान्त्वना दिन पुग्थिन्।
रातभरि बिरामीको केयरमा वल्लो र पल्लो बेडमा दौडिरहेकी ती नर्सको क्रियाकलापलाई नियाल्दै थिइन् सोही वार्डमा भर्ना भएकी काठमाडौंकी १३ वर्षीया अमी थपलिया। कक्षा ७ मा पढ्दै गरेकी थपलियाको एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो। रातभरि ती नर्सले बिरामीलाई गरेको सेवा देखेर उनी दंग थिइन्।
‘म पनि ठूलो भएपछि यो दिदीजस्तै नर्स बन्छु,’ उनको कलिलो दिमागमा यस्तो सोच आयो।
अस्पताल बस्दा नर्स बन्ने सपना देख्ने किशोरी तिनै अमी थपलिया थिइन्, जसले त्यो सपना करिब ५÷६ वर्षपछि नै पूरा गरिन्। २०६३ देखि नर्सिङ क्षेत्रका क्रियाशील अमी विगत ७ वर्ष अघिदेखि एचआइभी संक्रमितलाई उनीहरुको स्वास्थ्य उपचार र केयरबारे परामर्श दिने गर्छिन्।
उनी आफ्नो नर्सिङ पढ्ने सपनाको प्रेरक टिचिङ अस्पतालकै ती अपरिचित नर्सलाई नै मान्छिन्।
‘टिचिङमा बिरामी भएर भर्ना हुँदा त्यो नर्स दिदीले रातभरि बिरामीको सेवा गरेको देखेर मलाई मनैदेखि उहाँजस्तै नर्स बन्छु भन्ने सोच आयो,’ थपलियाले स्वास्थ्यखबरसँग भनिन्, ‘त्यो दिनको मेरो सोच आज यथार्थमा बदलिएको छ, मेरो नर्सिङ करिअरको प्रेरणा म ती अपरिचित नर्स दिदीलाई नै मान्छु।’
हाल उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेर एचआईभी संक्रमितहरुलाई स्वास्थ्य उपचार र परामर्श दिन सक्रिय छिन्। नर्स थपलिया कलात्मक विधिबाट परामर्श र सेवा दिन्छिन्। कम्युनिटीमा पुगेर एचआइभीबारे गीत, कविता नै बनाएर पनि उनी समुदायलाई एचआइभीबारे सचेतना दिन्छिन्। उनी शुक्रराज अस्पतालमा कन्डम दिवसको दिन आयोजना गरेको कविता प्रतियोगितामा प्रथम समेत भएकी थिइन्।
समुदायमा गएर एचआइभी संक्रमणबारे बुझाउन यस्ता कलात्मक विधि उपयोगी हुने अमी बताउँछिन्।
‘फिल्डमा गएर समुदायका मानिसलाई स्वास्थ्य शिक्षाका बारेमा बुझाउन पढाउने तरिकाले मात्र गयो भने उनीहरुले सुन्न खोज्दैनन्, त्यसैले कहिलेकाहीँ नाचेर, गाएर, नाटकहरु गरेर, कविता सुनाएर पनि सचेतना दिन सकिन्छ,’ नर्स अमीले भनिन्, ‘त्यसैले एचआइभी संक्रमण लगायत स्वास्थ्यका विषयमा कविता लेख्छु, गीतहरु बनाएर सुनाउँछु।’
०००
२०४४ मा काठमाडौंमा जन्मिएकी अमीले प्रारम्भिक शिक्षा गणेश हिमाल स्कुलबाट सुरु गरेकी हुन्। ३ कक्षादेखि फ्लोरो सेन्ट इङ्लिस स्कुलमा भर्ना भएकी उनले २०६० सालमा सोही विद्यालयबाट एसएलसी पास गरिन्।
एसएसली पास भएपछि उनले नर्सिङ पढ्ने सपना आफ्नो आमा–बुबालाई सुनाइन्। आमाबुबा पनि नर्सिङ पढाउन सहमत भए। उनले २०६१ सालदेखि काठमाडौं विश्व विद्यालय, धुलिखेलमा स्टाफ नर्सको अध्ययन सुरु गरिन्।
२०६३ सालमा नर्सिङ अध्ययन पूरा गरी उनले नर्सिङ स्टाफको रुपमा चितवनको चितवन अस्पतालमा काम सुरु गरिन्। त्यहाँ पोस्ट अप्रेटिभ र सर्जिकल वार्डमा भर्ना हुने बिरामीको सेवा गरिन्।
एक वर्ष चितवन अस्पतालमा काम गरेपछि उनले विदेश जाने सोच बनाइन्। नर्सिङ अध्ययन गर्ने सोचका साथ विदेश जाने योजनामा रहेकी उनी नर्सिङ विषयको शिक्षामा अध्ययन गर्ने अवसर भने जुरेन। म्यानेजमेन्ट विषय नै पढ्नेगरी स्टुडेन्ट भिषामा उनी अस्ट्रेलिया गइन्।
नर्सिङ स्टाफको रुपमा अस्पतालमा काम समेत गर्न थालिसकेकी अमीलाई व्यवस्थापन विषयमा अस्ट्रेलियाको पढाइ र बसाइ ठिक लागेन। उनी अस्ट्रेलिया गएको एक वर्ष नपुग्दै नेपाल नै फर्किइन्।
अस्ट्रेलियाबाट फर्किएपछि नर्सिङ क्षेत्रमै
अस्ट्रेलियाबाट नेपाल फर्किएपछि उनले नर्सङ क्षेत्रमै फर्किने सोच बनाइन्। स्टाफ नर्सको कोर्ष पूरा गरी एक वर्ष चितवन अस्पतालमा समेत काम गरिसकेकी उनलाई केही अस्पतालहरुले जागिर दिन तयार भए तर, भोलेन्टियर भएर काम गर्नुपर्ने सर्त राखे।
नर्सिङ शिक्षा अध्ययन गरी एक वर्ष काम नै गरिसकेकी अमीलाई विना तलब भोलेन्टियर भएर काम गर्न उपयुक्त लागेन। उनले विनातलब भोलेन्टियर भएर काम पाउने अफरलाई अस्वीकार गरिन्। विदेशबाट आएको केही समयपछि भने उनले स्टार अस्पतालमा स्टाफ नर्सको पोस्टमा काम गर्ने अवसर पाइन्।
उनले अस्ट्रेलियामा बस्दा बिदाको समयमा नेपाल आएको समयमा नै विवाह गरिसकेकी थिइन्। स्टार अस्पतालमा काम गर्दैगर्दा उनी गर्भवती थिइन्। स्वास्थ्य अवस्थामा केही समस्या देखिएपछि उनले स्टार अस्पतालमा काम सुरु गरेको ६ महिनामै जागिर छाड्नुपर्यो।
‘मेरो प्रेगनेन्सी अलि कम्प्लिकेट थियो, त्यसैले स्टार अस्पतालको काम छाड्नुपर्ने भयो,’ उनले भनिन्, ‘दुई वर्षको समय चाहिँ पहिलो सन्तानको स्याहारमा लागें।’
सुत्केरी भएको दुई वर्षसम्म घरमै रहेकी अमी छोरा २ वर्षको भएपछि फेरि नर्सिङ क्षेत्रमै फर्किने सोचमा थिइन्। उनले स्टाफ नर्सहरुको लागि आउने अवसरहरुको विज्ञापन हेर्ने गर्थिन्।
सोही क्रममा उनले स्पर्स नेपाल नामक गैरसरकारी संस्थामा नर्सको आवश्यकता भएको विज्ञापन देखिन्। उनले त्यहाँ आवेदन दिइन् र छानिइन् पनि। स्पर्स नेपाल नामक संस्थामा नर्सिङ स्टाफको रुपमा लागुपदार्थको दुव्र्यसनीमा फसेकाहरु, एचआइभी संक्रमित र उनका परिवारहरुसँग नजिक भएर उनीहरुलाई केयर गर्ने र परामर्श दिने काममा सक्रिय हुन थालिन् उनी।
‘नर्सिङ स्टाफ भन्ने वित्तिकै अस्पतालमै ड्युटी गर्ने काम मात्र भन्ने हुन्थ्यो, तर मेरो लागि स्पर्स नेपालमा गर्ने काम अलि फरक थियो, त्यसैले पनि मलाई यो क्षेत्रमा काम गर्न रमाइलो लाग्यो,’ उनले भनिन्, ‘यो क्षेत्रमा काम गर्दै जाँदा राम्रो पनि लाग्यो।’
एचआइभी संक्रमित श्रीमान–श्रीमतीको झगडा
स्पर्स नेपालमा लागुपदार्थ दुव्र्यसनीमा फसेर एचआइभी संक्रमित भएका व्यक्तिहरुदेखि नयाँ एचआइभी संक्रमितहरु पनि उपचार र परामर्शको लागि आउने गर्थे। नर्स अमीले काम उनीहरुलाई एचआइभी संक्रमणको विषयमा जानकारी दिने र संक्रमित व्यक्तिले स्वस्थ जीवनयावनका लागि अपनाउनुपर्ने उपायहरु र औषधि सेवनबारे परामर्श दिने गर्थिन्।
सोही क्रममा एक दिन एचआइभी पोजेटिभ भएका श्रीमान्–श्रीमती परार्मशका लागि आए। जनकपुरदेखि आएका उनीहरु दुवैको उमेर उस्तैउस्तै थियो। श्रीमान्को फ्याक्ट्रीमा काम गर्ने क्रममा औंला काटिँदा परीक्षण गर्ने क्रममा एचआइभी पोजेटिभ देखियो। श्रीमान्को पोजेटिभ आएपछि श्रीमतीको पनि एचआइभी परीक्षण गरियो। श्रीमतीको पनि एचआइभी पोजेटिभ आयो।
नर्स अमीले एचआइभी सर्ने कारणबारे बताउँदै परामर्श सुरु गरिन्। असुरक्षित रुपमा धेरै जनासँग यौन सम्पर्क गर्दा एचआइभी सर्ने कुरा उनले बताएपछि श्रीमान–श्रीमती नै एकअर्कामा दोषारोपण गर्न थाले। श्रीमान् श्रीमतीबाट एचआइभी सरेको हो कि भन्ने शंका गर्ने र श्रीमती श्रीमान्बाट सरेको हो कि भनेर शंका गर्ने। त्यो समय उनीहरु दुई जनालाई सम्झाउन उनलाई हम्मेहम्मे पर्यो।
‘एचआइभी सर्ने कारणबारे पहिलो कुरा भन्ने वित्तिकै उहाँहरु झगडा गर्न थाल्नुभयो,’ नर्स अमी सम्झिन्छिन्, ‘उहाँहरुले शरीरमा ट्याटु खोप्नु भएको थियो, मैले देखिहालें, त्यसपछि त्यही ट्याटुको उदाहरण दिँदै असुरक्षित यौन सम्पर्कले मात्र नभई एचआइभी सर्ने अन्य कारणहरुको विषयमा बुझाएँ। त्यसपछि उहाँहरुले एकअर्कालाई दोषारोपण गर्न छाड्नुभयो।’
४ वर्ष स्पर्स नेपालमा काम गरेपछि उनी एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालमा आवद्ध भइन्। सोही संस्थाले उनलाई शुक्रराज अस्पतालमा पोस्टिङ गरेपछि विगत ३ वर्ष अघिदेखि शुक्रराज अस्पतालमा कार्यरत छिन्।
एचआइभी संक्रमितको उपचार गर्दा डराउनु पर्दैन
अस्पतालहरुमा एचआइभी संक्रमितको उपचार तथा केयर गर्दा कतिपय चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु एचआइभी सर्ने जोखिम वर्गमा पर्ने गर्छन्। सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ उनीहरुले एचआई एड्स विरुद्धको औषधि खानुपर्ने हुन्छ।
तर, नर्स अमीले पनि एचआइभी संक्रमितको घाउचोट सफा गर्ने, रगत निकाल्ने लगायतका काम पनि गर्नुपर्ने हुन्थ्यो। उनले एचआइभी संक्रमितको हेरचाह गर्ने क्रममा आफैंले एचआइभी विरुद्धको औषधि भने खानु नपरेको सुनाउँछिन्।
‘स्पर्स नेपालमा हुँदा पनि एचआइभी संक्रमितहरुको घाउ सफा गर्ने, स्वास्थ्य परीक्षणका लागि उहाँहरुको रगत निकाल्ने काम गर्नुपर्ने हुन्थ्यो,’ अमीले भनिन्, ‘यस्तो काम गर्दा सानो गल्तीले पनि एचआइभी सर्ने जोखिम हुन्थ्यो, धेरै नर्स, डाक्टरहरुले २८ दिनको एचआइभी विरुद्धको औषधि नै खानुपर्ने अवस्था हुन्थ्यो, तर मैले चाहिँ अहिलेसम्म खानु परेको छैन।’
उनले एचआइभी संक्रमितकै उपचारका क्रममा स्वास्थ्यकर्मी तथा चिकित्सक एचआइभी पोजेटिभ भएको केस भने नभएको बताइन्।
‘एचआइभी संक्रमितको उपचार गर्दा डराउनुपर्ने अवस्था छैन,’ नर्स अमीले भनिन्, ‘तर रोग सर्ने जोखिमबारे सावधानी चाहिँ अपनाउनुपर्छ।’
एचआइभीबारे सचेतनामा काम गर्ने योजना
उनी अहिले सामाजिक र साइकोलोजी विषयमा जनमैत्री क्याम्पसमा स्नातक तह पढ्दै छिन्। साइकोलोजी अध्ययन पूरा गरी एचआइभी संक्रमितलाई परामर्श दिने र एचआइभी संक्रमणकै विषयमा सचेता दिन केन्द्रित हुने उनको योजना छ।
‘एचआइभी संक्रमितलाई नर्सिङ अध्ययन अनुसार केयर गरेर मात्र हुँदैन, उनीहरुलाई मनोसामाजिक परामर्श दिन अति आवश्यक पर्छ, त्यसैले अहिले साइकोलोजी पनि पढ्दै छु,’ नर्स अमी थपलियाले भनिन्, ‘यही क्षेत्रमा सक्रिय भएर काम गर्ने योजना छ।’