काठमाडौं– भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको अप्रेसन थिएटर (ओटी) मा कार्यरत छिन्, नर्स बिनिता उप्रेती।
बिरामीकै निगरानीमा बितिरहेको छ उनको दैनिकी। मिर्गौला प्रत्यारोपण गर्न ओटी पुग्ने बिरामी र मिर्गौला दिने व्यक्ति दुवैको निगरानी गर्ने जिम्मेवारी नर्स बिनिताकै काँधमा छ।
उनी मिर्गौला प्रत्यारोपणका लागि ओटीमा प्रवेश गरेका बिरामीको अवस्था हेर्छिन् र बिरामीको अवस्थाबारे सिनियर डाक्टरलाई ब्रिफिङ गर्छिन्।
उनले मन लगाएर बिरामीको सेवामा खटिएको देख्दा त्यहाँका चिकित्सक र उनकै साथीहरु पनि भन्छन्, ‘तिमीले बिरामीलाई दिने सेवा राम्रो छ।’
दोलखामा जन्मिएकी २४ वर्षीया बिनिताको कक्षा ४ सम्मको पढाइ कोटेश्वरस्थित श्री देवी स्कुलमा भएको हो। ५ कक्षादेखि लोकन्थलीमा रहेको दिव्य दीपज्योति स्कुलमा अध्ययन सुरु गरेकी उनले एसएलसी परीक्षा पनि सोही विद्यालयबाट उत्तीर्ण गरिन्।
विसं २०६९ देखि पिसिएल नर्सिङको अध्ययन सुरु गरेकी बिनिताले पिसिएल नर्सिङ कोर्ष पूरा गरेपछि सन् २०७२ देखि सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण काम गर्न सुरु गरेकी हुन्।
साथीको सल्लाहले नर्सिङ पढें
स्कुल पढ्दा बिनिताको पढाइ राम्रो थियो। उनी कक्षामा टप ५ विद्यार्थीभित्र पर्थिन्। स्कुल पढ्दा उनको रुचि भलिबल खेलमा पनि थियो। स्कुल पढ्दा भलिबल निकै खेल्थिन्।
बिनिताले अठोट नै लिएर नर्सिङ पढेकी भने होइनन्। एसएलसीको नजिता आएपछि साथीहरुले नर्सिङ पढ्ने भनेपछि उनी पनि नर्सिङ पढ्ने निर्णयमा पुगेको उनी बताउँछिन्।
‘स्कुल पढ्दा नै नर्सिङ पढ्छु भन्ने सोचेको थिइनँ। एसएलसी पास भएपछि सबै साथीहरुबीच नर्सिङ पढौं भन्ने सल्लाह भयो, घरमा पनि नर्सिङ पढ्छु भन्दा सबैले मान्नुभयो, त्यसपछि नर्सिङ पढें,’ उनले भनिन्।
बिनिताले नर्सिङ अध्ययन काठमाडौं इन्टिच्युट अफ टेक्निकल साइन्समा गरेकी हुन्।
पहिलो तलब ममी र साथीहरुका लागि सपिङ
२०७२ सालमा उनको पिसिएल नर्सिङको पढाइ सकियो। पढाइ सकिएर नर्सिङ लाइसेन्स प्राप्त गरेपछि उनले सहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रबाट सुरुमा भोलेन्टियरको रुपमा काम सुरु गरिन्। भोलेन्टियर भएर खटिए पनि अन्य नर्सिङ कर्मचारीले जस्तै ड्युटी भने गर्नुपर्ने हुन्थ्यो। सबै काम अन्य नर्सिङ कर्मचारीले जसरी नै गर्नुपर्ने भए पनि तलब भने नपाउँदा उनलाई नराम्रो पनि लाग्यो।
‘हाम्रो हातमा नर्सिङ लाइसेन्स छ, काम पनि पाइएको छ, तर त्यही अस्पतालमा जान, खाजा खान भने घरबाट पैसा मागेर चल्नुपर्ने हुन्थ्यो,’ उनले भनिन्, ‘काम उस्तै, ड्युटी उस्तै तर, भोलेन्टियर भएकाले तलब पाइँदैनथ्यो। त्यतिबेला आफूसँग केही नभएको जस्तो फिल हुन्थ्यो।’
उनले भोलेन्टियरको रुपमा ६ महिना काम गरेपछि केन्द्रमा नर्सिङ स्टाफको लागि आवेदन खुल्यो। उनले आवेदन फारम भरेर अन्तर्वार्ता र परीक्षा दिइन्। केन्द्रले उनलाई स्टाफको रुपमा काम गर्न छनोट ग¥यो।
केन्द्रको स्टाफको रुपमा तलब आउने गरी काम गर्न पाएपछि भने बिनिता खुसी भइन्। उनले आफूले नर्सिङ स्टाफको रुपमा काम गरेर पाएको पहिलो कमाइले आफ्नो आमा र साथीहरुलाई गिफ्ट किनेर दिइन्।
‘६ महिना दुःख गरेर, आवेदन खुलेपछि स्टाफको रुपमा काम गर्न पाएपछि खुसी लाग्यो,’ उनले भनिन्, ‘पहिलो कमाइले ममी र साथीलाई गिफ्ट किनिदिएँ।’
४ महिना ओपिडीमा काम गरेपछि उनी अप्रेसन थिएटर (ओटी) मा सिफ्ट भइन्। ड्युटी ओटीमा भएपछि नै बिनिताले एउटा मानिसको शरीरबाट निकालेको मिर्गौला अर्को व्यक्तिमा राखेको प्रत्यक्ष रुपमा देखिन्।
‘मिर्गौला प्रत्यारोपण कसरी हुन्छ भनेर हामीले पढेका मात्र थियौं, ओटीमा सिफ्ट भएपछि कसरी प्रत्यारोपण गरिन्छ भनेर प्रत्यक्ष देखें,’ उनले भनिन्, ‘मलाई मिर्गौला प्रत्यारोपणको टिमसँग काम गर्न पाउँदा खुसी पनि लाग्यो।’
सुरुमा भोलेन्टियरको रुपमा काम गर्नु परेको भए नेपाल नर्सिङ संघको पटकपटकको आन्दोलन र दबाबपछि अहिले अस्पतालहरुमा नर्सहरुले बिना तलब काम गर्नुपर्ने अवस्था नभएको बिनिता बताउँछिन्।
नर्सको अधिकारका लागि नर्सिङ संघ लगायतका विभिन्न निकायले प्रयास गरिरहेको भए पनि नर्सिङ कर्मचारीको तलब अझै कम भएको बिनिताले सुनाइन्। सरकारले बिरामीको सेवामा अहोरात्र खटिने नर्सहरुको पारिश्रमिक वृद्धि गर्नुपर्ने उनले बताइन्।
‘पहिला पहिला हातमा नर्सिङ लाइसेन्स भएर पनि विना तलब काम गर्नुपर्दा हामी नर्सहरुलाई दुःख लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले भोलेन्टियर राख्न नपाइने व्यवस्था भएको छ, तर अझै पनि कतिपय अस्पतालले नर्सलाई महिनामा ५ हजार मात्र दिएर काममा खटाउने गर्छन्, त्यसैले सरकारले नर्सहरुको पारिश्रमिक वृद्धि हुनुपर्छ।’
ओटीमा गाउन र मास्कमा हुन्छौं, बिरामीले हामीलाई चिन्दैनन्
गाउन, क्याप र मास्क लगाएर बिरामीको सेवामा खटिने हुनाले बिरामीहरुले आफूलाई नचिन्ने नर्स बिनिता बताउँछिन्।
‘ओटीभित्र आएपछि बिरामीको नाम हेर्छौं, तर हामी गाउन, क्याप, मास्क लगाएर गएका हुन्छौं, अन्य वार्डमा खटिने नर्सहरुलाई जसरी बिरामीले हामीलाई चिन्नु हुन्न,’ उनले हाँस्दै भनिन्, ‘मिर्गौला प्रत्यारोपणका लागि उहाँहरुलाई बेहोस पारिएको पनि हुन्छ, अप्रेसन सकिएपछि पोस्टअफ वार्डमा राखिन्छ, त्यहाँ अरु नै नर्सको ड्युटी हुन्छ।’
तर आफू अस्पताल परिसरमा हिडिँरहदा मानिसहरुले नमस्ते भन्दै अभिभावद गर्दा भने खुसी लाग्ने उनले सुनाइन्।
‘अप्रेसन थिएर वरपर हिडिँरहदा बिरामीहरुले हामीलाई देख्ने वित्तिकै ‘नमस्ते सिस्टर’ भन्नुहुन्छ, गाउन, मास्क लगाएर हिँड्दा हाम्रो अनुहार त चिन्नुहुन्न, तर पनि सम्मान गरेर बोलाउनुहुन्छ,’ बिनिताले भनिन्, ‘यसरी बिरामीले बोलाउँदा खुसी लाग्छ, उहाँहरुले हाम्रो कामको सम्मान गर्नुभएको जस्तो महसुस हुन्छ।’
नर्सिङ क्षेत्रमा रमाइरहेकी बिनिता स्टाफ नर्सको कोष अध्ययन गर्नेगरी यही क्षेत्रमा कार्यरत रहने सोचाइमा छिन्।
उनले भनिन्, ‘नर्सिङ क्षेत्रमा समस्यासँगै राम्रा अवसरहरु पनि छन्। मलाई अझै पढ्ने मन छ, स्टाफ नर्सको कोर्ष गरेर यही क्षेत्रमै काम गर्ने योजना छ।’