काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ। गर्मीमा भन्दा जाडो मौसममा भाइरल इन्फेक्सनको जोखिम बढी हुन्छ।
रोग प्रतिरोधात्मक क्षमता पनि चिसो मौसममै कम हुने चिकित्सक बताउँछन्। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा विभिन्न रोग लाग्ने तथा भएका रोग पनि बढेर जाने खतरा हुन्छ।
चिसोमा रोग प्रतिरोधात्मक क्षमता किन कम हुन्छ, विशेषगरी कुन उमेर समूहले र कसरी ध्यान दिनुपर्छ लगायत विषयमा हामीले पोषणविद् बिनिता पन्तसँग कुराकानी गरेका छौं। पन्तसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
चिसोमा रोग प्रतिरोधात्मक क्षमता किन कम हुन्छ ?
– जाडोमा शरीरलाई तातो बनाउन धेरै पौष्टिक तत्व खर्च हुन्छ।
– शरीरमा ती पौष्टिक तत्वको कमी हुँदा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ।
चिसोमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा शरीरमा के–के स्वास्थ्य समस्या देखिन सक्छन् ?
– चिसोमा विशेषगरी रुघाखोकी, निमोनिया, दम, जोर्नी दुख्ने, बाथ रोग बल्झिने समस्या धेरै हुन्छ।
चिसो मौसममा कुन उमेर समूहका व्यक्तिले बढी सावधानी अपनाउनुपर्छ ?
– बालबालिका र ज्येष्ठ नागरिकले चिसोमा बढी सावधानी अपनाउनुपर्छ।
चिसोमा विशेषगरी खानपानमा के–कसरी ध्यान दिन सकिन्छ ?
– हरेक मौसममा सन्तुलित खाना शरीरको लागि आवश्यक पर्छ।
– अन्न, दाल–गेडागुडी, फलफूल–तरकारी, माछा–मासु–अण्डा–दूध र चिल्लो–तेल गरी यी पाँच खाद्य समूह खानामा समावेश हुनुपर्छ।
– शरीरको तौल, उचाइ र काम अनुसार खानाको मात्रा मिलाएर खानुपर्छ।
– जाडोमा पाइने फापर, कोदो, गहुँको रोटीले शरीरलाई शक्ति दिन्छ।
– चिसोमा पाइने अमिलाजन्य फलफूलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– अदुवा, ल्वाङ, मरिच लगायत मसलाले शरीरलाई तातो बनाउन मद्दत गर्छ।
– फलफूल दैनिक २ सय देखि ४ सय ग्राम र तरकारी ३ सय देखि ५ सय ग्राम खानुपर्छ।
चिसोमा के खानेकुरा खानु हुँदैन, जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटाउँछ ?
– चिसोमा कोल्ड ड्रिंक्स, आइसक्रिमजन्य चिसो खानेकुरा खानु हुँदैन।
– प्रशस्त मात्रामा पानी पिउनुपर्छ।
अन्त्यमा के सल्लाह–सुझाव दिनुहुन्छ ?
– चिसोमा सकेसम्म दीर्घरोगीहरु बिहानै व्यायाम गर्न बाहिर निस्कनु हुँदैन।
– घर भित्रै बसेर व्यायाम गर्नुपर्छ। व्यायाम साँझतिर पनि गर्न सकिन्छ।
– दिनको दुई कपभन्दा बढी चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
– तातो झोलिलो पदार्थ चिसोमा शरीरका लागि फाइदाजनक हुन्छ।