काठमाडौं– संयुक्त अधिराज्य (युके)मा नयाँ रुपको कोरोना भाइरस संक्रमण फैलिएको तथ्य बाहिर आएपछि सरकारले गत मंगलबारदेखि युकेमा आवागमन बन्द गर्यो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत पुस १ गतेदेखि एकसाताको अवधिमा नेपाल प्रवेश गरेकाहरुको खोजी र निगरानी गर्ने योजना बनायो।
उनीहरुको कन्ट्याक ट्रेसिङ गरी निःशूल्क पिसिआर परीक्षण गर्ने र पोजेटिभ नतिजा आउनेहरुको जीन सिक्वेन्सिङ गरी उनीहरुमा देखिएको भाइरस नयाँ रुपको हो वा होइन पत्ता लगाउने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।
नेपालमा युकेबाट नयाँ रुपको कोरोना संक्रमण प्रवेश गर्न नदिने भन्दै त्यहाँबाट आउनेहरुलाई प्रत्यक्ष निगरानी गर्ने भनिएपनि उनीहरुको कन्ट्याक ट्रेसिङको काम नै प्रभावकारी रुपमा हुन सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस १ गतेदेखि हालसम्म युकेबाट २७७ जना व्यक्ति नेपाल प्रवेश गरेका छन्।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई २७७ जनाकै कन्ट्याक ट्रेसिङ गरी उनीहरुको अवस्थाबारे जानकारी गराउन निर्देशन समेत दिएको थियो।
तर, युकेबाट नेपाल आएका २७७ जनामध्ये हालसम्म १९३ जना मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सम्पर्कमा रहेको पाइएको छ। तर अन्य ८४ जना व्यक्तिहरु कहाँ छन् भन्ने विषयमा महाशाखा र स्वास्थ्य मन्त्रालय नै बेखबर रहेको पाइएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले युकेबाट पुस १ गतेदेखि आएका ८४ जनासँग सम्पर्क हुन नसकेको बताए।
‘हामीसँग अहिलेसम्म १९३ जना सम्पर्कमा छन्, त्यो मध्ये केहीको परीक्षण गर्दा पहिलो चरणमा परीक्षण गर्दा ५ जनामा पोजेटिभ आएको थियो,’ डा पाण्डेले भने, ‘नेपाल आएका बाँकी व्यक्तिहरु कहाँ छन् भनेर स्वास्थ्य मन्त्रालयलाई सोध्नुपर्छ, मलाई थाहा छैन।’
डा पाण्डेले युकेबाट नेपाल आएकाहरुको कन्ट्याक ट्रेसिङको सम्पूर्ण जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मात्र नभएको पनि बताए।
‘हामीलाई मात्र कन्ट्याक ट्रेसिङको जिम्मा छैन, अहिले त मन्त्रालयमा कन्ट्याक ट्रेसिङ सर्भिलेन्स महेन्द्र श्रेष्ठको अध्यक्षतामा बनाइएको छ, हामीले अलिअलि सपोर्ट मात्र गर्ने हो, कन्ट्याक ट्रेसिङ स्थानीय तहले गर्छ,’ डा पाण्डेले भने, ‘कन्ट्याक ट्रेसिङको विषयमा स्वास्थ्य मन्त्रालयमा नै सोध्नुस्।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले युकेबाट आएका १४ जनालाई मात्र त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाटै होटल क्वारेन्टाइनमा लगिएको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताए। अन्य व्यक्तिहरु कहाँ र कसरी बसेका छन् भन्ने विषयमा डा अधिकारीले एकिन तथ्यांक भने दिन सकेनन्।
‘पुस १ गतेपछि नेपालमा २७७ जना आएका छन्, युकेबीचको आवागमन बन्द गर्ने निर्णय भएपछि बीचबाटोमै १४ जना हुनुहुन्थ्यो, उहाँहरुलाई सरकारले विमानस्थलबाटै होटल क्वारेन्टाइनमा लगेर राखेको हो,’ डा अधिकारीले भने, ‘त्यो भन्दा बाहेक २६३ जनालाई १० दिन आफ्नो तरिकाले होटल वा होम क्वारेन्टाइनमा बस्नुस् भनेर हामीले आग्रह गरेका छौं।’