काठमाडौं- कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेका अवस्थामा नयाँ रूपको कोरोना भाइरस बेलायतमा पत्ता लागेपछि भने चिन्तित बनाएको छ।
बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरुपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनहरूले देखाएका छन्।
पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको बताइएको छ।
नयाँ स्वरुपको भाइरस भएकाले यसको विषयमा अझै अनुसन्धान नै भइरहेको छ। नयाँ स्वरुपको भाइरस संसारभर फैलिएमा अहिले बनिरहेका कोभिड-१९ विरुद्धको खोपले नै काम गर्छ वा गर्दैन भन्ने चिन्ता पनि थपिएको छ।
बेलायतबाट भारतीय बाटो प्रयोग गरेर र हवाई मार्ग हुँदै नेपाल आउने मानिसबाट नेपालमा नयाँ स्वरूपको कोरोना भाइरस फैलन सक्ने जोखिम भएकाले सरकारले यसको प्रतिकार्यको तयारीमा लागेको जानकारी दिएको छ। बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस नेपालमा नआओस् भनेर मंगलबारदेखि लागू हुने गरी बेलायतबाट आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको हो।
यसअघि नै बेलायतबाट नेपाल प्रवेश गरेकाहरूका हकमा भने उनीहरूको खोजी गरी विशेष निगरानी र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत सरकारले दिइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १ गतेपछि नेपाल प्रवेश गरेका नेपाली तथा विदेशी नागरिकको खोजी गरी स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ। बेलायतबाट आएकाहरूको पहिचान गरी उनीहरूलाई आइसोलेट गर्न स्वास्थ्य मन्त्रालयले काम थालिसकेको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले बताए।
‘बेलायतबाट भारतीय बाटो तथा हवाई मार्ग हुँदै नेपालमा मानिसहरुको सहज आवतजावत छ, यसले गर्दा नेपालमा पनि त्यो नयाँ स्वरुपको भाइरस आउन सक्ने भएकाले हामीले पुस एक गते पछि नेपाल आएकाहरुको पहिचान गर्ने, उनीहरुलाई आइसोलेट गरेर राख्ने, उहाँहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कामहरु अघि बढाइसकेका छौं,’ डा अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रालयले हेल्थ डेक्सलाई सक्रिय हुन र नेपाल प्रवेश गरेकाहरुको खोजपड्ताल गर्न सम्बन्धित विभाग तथा व्यक्तिलाई जिम्मेवारी दिइएको छ।’
डा अधिकारीले नेपालमै रहेका कोरोना संक्रमित र अन्य देशबाट नेपाल प्रवेस गरेका संक्रमितहरुको जीन सिक्वेन्सीङ गरी अध्ययन गर्न लागिएको पनि बताए।
‘नेपालमै भएको भाइरस, बाहिरबाट आउने भाइरसबारे अध्ययन गर्न जीन सिक्वेन्सीङ गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी तोकिएको छ,’ डा अधिकारीले भने, ‘बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरसबारे गम्भीर भएर हामीले कामहरु अघि बढाएका छौं।’
पुस १ गते पछि बेलायतबाट नेपाल प्रवेश गरेकाहरुमा कुनै नयाँ लक्षण वा कोरोनाको लक्षणहरु देखिएमा स्वास्थ्य मन्त्रालयको सम्पर्कमा आउन पनि डा अधिकारीले आग्रह गरे।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले परिषद्ले भाइरसको स्वरुप परिवर्तनबारे अध्ययन गर्न लागिएको बताए।
‘हामीले केही समय अघि १५ जनाको जीन सिक्वेन्सीङ गरेर हेर्दा नेपालको कोरोना संक्रमणको म्युटेशन भारत, साउदी अरबिया, अमेरिकाको जस्तै भाइरससँग मिल्दो किसिमको थियो,’ डा धिमालले भने, ‘अब भाइरसले स्वरुप परिवर्तन गरेको छ वा छैन भनेर केही नेपालमै रहेका, केही बिदेशबाट आएकाहरुको फेरी जीन सिक्वेन्सीङ गर्ने तयारीमा छौं।’
भाइरसको स्वरुप परिवर्तन हुनु खतरनाक हो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार कुनै पनि भाइरसको स्वरुप परिवर्तन हुने गर्छ। त्यसैले भाइरसविरुद्ध बनेका खोप तथा औषधिहरु सधै उपयोगी र सफल नहुन सक्छन्।
भाइरसको रूपमा सामान्य र ठूलो परिवर्तन हुनसक्छ। सामान्य परिवर्तनहरुले औषधि तथा खोपको प्रभावकारीतालाई असर नपर्ने हुनसक्छ। तर ठूलो परिवर्तन भएमा त्यो भाइरस सर्ने प्रक्रिया, भाइरसको लक्षण, त्यसले गर्ने असर पनि परिवर्तन हुन्छन्। जसले गर्दा उक्त भाइरसको उपचार पद्धती, खोपको प्रभावकारीलाई नै असर पर्छ।
पछिल्लो समय बेलायतमा कोरोना भाइरसको स्वरुपमा ठूलो परिवर्तन आएको तथ्य बाहिर आएको छ। भाइरसको जीन सिक्वेन्सीङ गरेर हेर्दा उक्त तथ्य बाहिर आएको हो। तर उक्त परिवर्तनले बालबालिका, दीर्घरोगीमा कस्तो असर पर्छ? कोरोनाको उपचार विधि, खोपको प्रभावकारीमा कस्तो असर पर्छ भन्ने विषयमा पूर्ण अध्ययन भइसकेको छैन।
सिफारिस