काठमाडौं- पछिल्लो समय बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ रूपले संसारलाई नै एक पटक पुनः चिन्तित बनाएको छ। बेलायतको राजधानी लन्डन र केन्टलगायतका क्षेत्रमा यो भाइरस रहेको हालै पत्ता लागेको हो। कोरोना भाइरसको नयाँ रूप देखिएपछि बेलायतले स्वास्थ्य सुरक्षाका उपायमा कडाइ गरेको छ। नयाँ रूपको कोरोना भाइरस भेटिएपछि मंगलबार मात्र नेपालले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोकसमेत लगाएको छ।
कोरोना भाइरसको नयाँ रूपलाई 'भियुआई-२०२०१२/०१' नाम दिइएको छ। यो भाइरस नोबेल कोरोना भाइरसको पुरानो रूप (सार्स-कोभ-२)भन्दा पनि बढी हानीकारक रहेको पत्ता लागिसकेको छ। नयाँ रूपको भाइरसका बिरामी बेलायतमा बढ्दै गएका छन्। बेलायतका ६० भन्दा बढी स्थानीय तहमा यो भाइरस फैलिइसकेको रिपोर्ट गरिएको छ। यसबारे केही प्रश्नोत्तर हामीले यहाँ समावेश गरेका छौं।
के नयाँ रूपको कोरोना भाइरसमा देखिने लक्षण फरक हुन्छन्?
नयाँ रूपको कोरोना भाइरसबारे पर्याप्त अध्ययन भई नसकेकाले पुरानो कोरोना भाइरसभन्दा फरक लक्षण हुन्छन् भनेर यकिनका साथ भन्न सक्ने अवस्था छैन। यद्यपि नयाँ रूपको कोरोना भाइरस संक्रमण हुँदा पनि पुरानै लक्षण देखिएको पाइएको छ। सामान्यतया पुरानो कोरोना भाइरस संक्रमित व्यक्ति र नयाँ रूपको कोरोना भाइरस संक्रमित व्यक्तिमा देखिने लक्षणमा खासै फरक पाइएको छैन। रुघाखोकी, छाती दुखाई, ज्वरो, गन्ध र स्वाद थाहा नपाउने, जिउ दुख्ने र शरीर चिलाउनेजस्ता लक्षण पुरानो तथा नयाँ रूपको कोरोना भाइरसमा देखिएका छन्।
के नयाँ रूपको कोरोना भाइरस अझ बढी खतरनाक हो?
हालसम्म गरिएका अध्ययनअनुसार पुरानो रूपको कोरोना भाइरस भन्दा नयाँ रूपको कोरोना भाइरस ७० प्रतिशत बढी संक्रामक (इन्फेक्सियस) हो। यसकारण नयाँ रूपको कोरोना भाइरस पुरानो भन्दा बढी खतरनाक हुन्छ। पुरानो रूपको कोरोना भाइरसभन्दा नयाँ रूपको कोरोना भाइरसबाट संक्रमित हुने जोखिम बढी छ। अनुसन्धानकर्ताहरूका अनुसार पुरानो रूपको कोरोना भाइरसभन्दा नयाँ रूपको कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमतामा छिटो आक्रमण गर्ने र यसको जोखिम पनि उति नै बढी हुने देखाएका छन्।
नयाँ रूपको कोरोना भाइरसको निदान र उपचार पुरानोको तुलनामा झन् गाह्रो हो?
नयाँ रूपको कोरोना भाइरसको निदान पुरानो रूपको कोरोना भाइरसभन्दा झन् गाह्रो भन्नका लागि पर्याप्त प्रमाण हालसम्म उपलब्ध छैनन्। यसको उपचार पनि पुरानो रूपको कोरोना भाइरसभन्दा फरक छैन। यी दुवैको उपचार भनेको संक्रमित व्यक्तिमा देखिएका लक्षणहरूको उपचार मात्र हो। जस्तो कुनै पनि संक्रमितलाई ज्वरो आएको छ भने उसको ज्वरोको उपचार मात्र गरिन्छ। हालसम्म दुवै खाले कोरोना भाइरसमा उपचार विधि समान छ।
नयाँ रूपको कोरोना भाइरसविरुद्ध पनि भ्याक्सिनले काम गर्छ?
नयाँ रूपको कोरोना भाइरसको भर्खरै मात्र बेलायतमा पत्ता लागेकाले पुरानो रूपको कोरोना भाइरसविरुद्ध विकास गरिएका खोपले नै काम गर्छन् भनिहाल्न सकिने अवस्था छैन। यसका लागि छुट्टै परीक्षण गर्नुपर्ने हुन्छ। भ्याक्सिनको प्रभावकारिता मापन गरेपछि मात्र पुरानो प्रकृतिको भाइरसविरुद्ध विकास गरिएको भ्याक्सिनले नयाँ रूपको भाइरसका लागि काम गर्छ वा गर्दैन भन्न सकिन्छ।