‘न कुनै बार, न कुनै भार,
न दिन, न रात
हामी सधैं बिरामीको साथ
कहिलेकाहिँ त खान पनि पाइँदैन भात
तर पनि कहिलेकाहिँ लाग्ने गर्छ बात’
०००
झापाको दमक कोभिड अस्पतालकी कोरोना फोकल पर्सन नर्स देवी दंगालले ड्युटीमा खटिदै गरेको फोटो सामाजिक सञ्जालमा राख्दै काव्यात्मक स्टाटस लेखिन्।
कोरोना संक्रमणका कारण देशभर लकडाउन र निषेधाज्ञा हुँदा सवैजना काम छोडेर घरभित्रै बसे। तर, कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु भने घर परिवार छोडेर संक्रमितको उपचारमा खटिए।
नर्स दंगाल पनि दिन रात, भोक तीर्खा नभनी बिरामीको सेवामा खटिइन्। किनभने ‘न दिन, न रात, हामी सधैं बिरामीको साथ’ उनको जीवनमन्त्र हो।
उनले गरेको सेवाको प्रशंसा गर्दै बिरामीहरुले उनको सामाजिक सञ्जालमा कमेन्ट नै गरे, ‘दमक कोभिड अस्पताल देशकै नमुना कोभिड अस्पताल हो। अब्बल व्यवस्थापनका लागि देवी दंगाल दिदीको योगदानको कदर गर्दै हार्दिक आभार प्रकट गर्दछु।’
बिरामीहरुले आफूले गरेको कामको सम्मान गर्दै यसरी प्रशंसा गर्दा उनलाई आफ्नो सेवामा अझै सक्रिय रहन हौसला थपिन्छ।
उनी भन्छिन्, ‘एक मुठ्ठी सास हुन्जेल पिडामा छट्पटिएका बिरामीहरुको बिना स्वार्थ सहयोगी भएर काम गर्नेछु।’
झापामा पहिलो पटक बैशाख १२ गते नेपालकै ३९ औं कोरोना पोजेटिभ बिरामी भेटिए। झापामा कोरोना संक्रमित भेटिएपछि एकाएक त्रास बढ्यो। एकजना पुरुषमा कोरोना संक्रमण देखिएपछि उनका आमाबुवालाई दमक अस्पतालमा क्वारेन्टाइनामा राखियो। त्यतिबेला दमक अस्पतालमा ५ बेडको आइसोलेसन बेड बनाइएको थियो। उनी कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा सक्रिय भएर लागिन्।
नेपालमा कोरोनाका बिरामी बढ्दै जाँदा झापामा पनि कोरोना संक्रमित बढ्न थाले। संक्रमितको मृत्युदर समेत बढ्न थालेपछि दमक अस्पतालले ३० बेडको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालनमा ल्यायो।
कोभिड उपचार केन्द्र संचालनमा आएपछि उनलाई कोभिड फोकल पर्सनको जिम्मेवारी समेत दिइयो। कात्तिक २३ गतदेखि सञ्चालमा आएको कोभिड उपचार केन्द्रमा हालसम्म ४० जना कोरोना संक्रमितले भर्ना भएर उपचार सेवा पाएका छन्। केन्द्रले होम आइसोलेसनमै बस्ने संक्रमितका लागि स्वास्थ्य जाँचको लागि ओपिडि सेवा समेत सञ्चालन गरेको छ।
उनी कोरोना संक्रमितको उपचार र केन्द्रको व्यवस्थापनमा २४ कै घण्टा खटिन्छिन्। २४ सै घण्टा काममा खटिदा कहिलेकाहिँ त उनलाई खाना खाने फुर्सद समेत हुँदैन।
‘म त २४ सै घण्टा अस्पतालमै हुन्छु, अस्पतालको काममा धेरै व्यस्त हुन्छु,’ उनी भन्छिन्, कहिलेकाही खाना खाने फुर्सद पनि मिल्दैन। बिहानको खाना र बेलुकाको खाना एकैपटक हुन्छ।’
त्यसो त कोभिडको समयमा मात्र होइन। अनमीको रुपमा २०५८ सालदेखि बिरामीको सेवामा खटिन थालेकी दंगाल २०७० सालदेखि स्टाफ नर्सको रुपमा कार्यरत छिन्।
सानैदेखि नर्स बन्ने सपना हुटहुटी
दंगाल झापाको दमक–२ मा २०४० सालमा जन्मिएकी हुन्। उनीसहित चार दिदी– बहिनी, दुई दाजुभाई र आमाबुबा गरी ८ जनाको परिवार थियो। कृषि पेसामा परिवार आश्रित थियो। सन्तानको पालनपोषण र शिक्षाका लागि उनका आमाबुबालाई हम्मेहम्मे नै पर्थ्यो।
ठूलो परिवार भएकाले बाल्यकालमा सामान्य आवश्यकताहरु पूरा हुन पनि गाह्रो नै हुन्थ्यो। दंगालले सरकारी स्कुलबाट नै आफ्नो विद्यालय शिक्षा पूरा गरिन्।
उनले घर नजिकैको सरस्वती निम्न माध्यमिक विद्यालयबाट कक्षा ८ सम्म पढिन्। कक्षा ९ बाट हिमालय माध्यमिक विद्यालयमा पढेकी उनले २०५६ सालमा सोही विद्यालयबाट सेकेण्ड डिभिजनमा एसएसली उत्तिण गरिन्।
भविष्यमा नर्स बनेर बिरामीको सेवा गर्ने उनको सपना थियो।
दंगालको सपनालाई उनका काकाको पनि सपोर्ट गर्दै भन्थें, ‘तिमी त पढ्छौं, बाठी पनि छौं, ठूलो भएपछि तिमी त नर्स नै बन्नुपर्छ।’
तर, दंगालको सपना पूरा हुन त्यति सहज भने थिएन, उनको सपनाको बाधक थियो घरको आर्थिक समस्या।
छोरीले चाहेको विषय पढोस् भन्ने चाहना सबै बाबुआमाको हुन्छ। तर, नर्सिङ पढाउन धेरै खर्च लाग्छ भन्ने सुनेका दंगालका बाबुले नर्सिङ बढाउने आँट गर्न सकेनन्।
झापाकै एउटा सरकारी क्याम्पसमा मानविकी संकायमा भर्ना गरीदिए। तर, दंगाल बुवाले भर्ना गदिदिनुभएको क्याम्पसमा पढ्नै गइनन्।
‘मलाई सानैदेखि नर्स भनेर बिरामीको सेवा गर्ने रहर थियो, ठूलो भएपछि म त नर्स बन्ने हो भन्थें,’ दंगालले भनिन्, ‘काकाले त तिमी नर्स बन्नुपर्छ भन्नुहुन्थ्यो, तर बुबाले चाहिँ खर्च बढी लाग्छ भनेर मानविकी पढ्ने कलेजमा भर्ना गरिदिनु भयो, मैलै रोएर नर्सिङ नै पढ्ने जिद्दी गरें।’
उनको सपनामा आमा र काकाहरुको साथ भने थियो। छोरीले जिद्दी गरेपछि बाबुले आफन्त र छिमेकीसँग छोरीलाई नर्सिङ नै पढाउदा कति खर्च लाग्छ, यो क्षेत्र कस्तो छ भनेर बुझे। तर, आफन्त र छिमेकीहरुले नर्सिङ नपढाउन पो सुझाव दिए।
त्यतिबेला एसएलसीमा सेकेण्ड डिभिजन ल्याउनेले स्टाफ नर्सिङ पढ्न नपाइने नियम रहेछ। तर, अनमीको १८ महिनाको कोर्ष गर्न भने पाइने जानकारी पाएपछि दंगालले अनमी पढेर त्यसपछि स्टाफ नर्सिङ कोर्ष गर्ने सोच बनाइन्। दंगालले नर्स बन्ने नै आफ्नो सपना भएको भन्दै जिद्दी गरेपछि अन्ततः उनका बुवाले झापाको आम्दा अस्पतालमा अनमी पढ्न भर्ना गरिदिए।
उनले २०५८ सालमा आम्दा अस्पतालबाट १८ महिनाको अनमी कोर्ष पूरा गरिन्। उनले गरेको मेहनत र पढाइप्रतिको लगाव देखेर अनमीको लाइसेन्स नआउँदै उनलाई ६ महिना भोलेन्टियर गर्ने अवसर दिए। अनमी परीक्षा पास भएर लाइसेन्स आएपछि उनले २०६० सालमा आम्दा अस्पतालमा कर्मचारीको रुपमा काम गर्न थालिन्।
‘परीक्षाको रिजल्टनआउँदा सम्म मैले भोलेन्टियरको रुपमा काम गरें, रिजल्ट आएपछि आम्दा अस्पतालले मलाई तलब दिएर कर्मचारीकै रुपमा राख्यो,’ दंगालले भनिन्, ‘पहिलोपटक मैले जागिर गरेर १३ हजार पारिश्रमिक पाएकी थिएँ, त्यो पैसा घरमा गएर बुबा, आमा, दिदी, बहिनी र भाईहरु सबैलाई बाँडें।’
अनमीको रुपमा काम गर्न थालेपछि उनले घरपरिवारलाई आर्थिक रुपमा पनि सहयोग गर्न थालिन्। त्यसपछि घर परिवार र आफन्तहरु पनि खुसी भए।
‘मैले अनमीको रुपमा काम गर्न थालेपछि भाइ, बहिनीको पढाइ खर्च पनि आफैंले हेर्न थालें, परिवार पनि खुसी हुनुभयो,’ दंगालले भनिन्, ‘मलाई अनमी मात्र होइन नर्स बन्ने मन थियो, तर खर्च धेरै लाग्छ भनेर मैले नर्सिङ पढ्ने आँट गर्नै सकिरहेको थिइनँ।’
अस्पतालबाटै स्टाफ नर्स पढ्ने अवसर
अनमीको रुपमा ८ वर्ष काम गरेपछि दंगालले आम्दा अस्पतालबाटै स्टाफ नर्स पढ्ने अवसर पाइन्।
‘मैले आम्दा अस्पतालमा राम्रोसँग काम गरे, मेरो काम देखेर अस्पतालमा सबैजना खुसी हुनुहुन्थ्यो,’ दंगालले नर्सिङ पढ्न पाएको अवसर सम्झिइन्, ‘सबैले स्टाफ नर्स पढ्नुपर्छ, प्रवेश परीक्षा दिएर नाम निकाल, पढ्ने खर्चको चिन्ता नगर भन्नुहुन्थ्यो, मैले नाम पनि निकालें। त्यसपछि ५० प्रतिशत छात्रवृत्तिमा नर्सिङ पढ्ने अवसर पनि पाएँ।’
उनले पढ्न थालेपछि आम्दा अस्पतालकी डाक्टर विन्दा बुढाथोकीले गरेको सहयोग उनी अझै सम्झिछिन्।
‘मलाई डा विन्दाले खर्च नभए मलाई भन, तिमी नर्सिङ पढ्नुपर्छ। पछि यही अस्पतालमा काम गर्नुपर्छ भन्नुहुन्थ्यो, सबै पढ्न प्रेरित गर्नुहुन्थ्या,’ उनले भनिन्।
२०७० सालमा स्टाफ नर्सको कोर्ष पूरा गरेपछि उनी आम्दा अस्पतालमा स्टाफ नर्सको रुपमा काम गर्न थालिन्। २०७१ सालमा लोकसेवा खुल्यो। लोकसेवामा नाम निकाल्न सफल भइन्। त्यसपछि सरकारी नर्सको रुपमा उनको पोष्टिङ संखुवासभाको खादबारी जिल्ला अस्पतालमा भयो। उनले त्यहा १९ महिना काम गरेपछि उनको सरुवा धनकुटा जिल्ला अस्पतालमा भयो। धनकुटामा १९ महिना काम गरेपछि उनले एनेस्थेसियाको तालिम लिने सोच बनाइन् र काठमडौं आइन्।
‘मलाई एनेस्थेसियाको तालिम लिन मन थियो, सरकारी कोटाबाट ग्रामिण क्षेत्रमा दुईवर्ष काम गरेकोलाई वीर अस्पतालमा स्कलरसीप पनि मिल्थ्यो,’ दंगालले भनिन्, ‘त्यसपछि एनेस्थेसिया असिस्टेन्ट ट्रेनिङ लिन वीर अस्पतालमा आएँ।’
एक वर्षपछि एनेस्थेसिया असिस्टेन्टको तालिम सकियो। सरकारी खर्चमा पढेकाले उनले फेरी ग्रामिण जिल्लामा दुई वर्ष काम गर्नुपर्ने हुन्थ्यो। उनी फेरी धनकुटा जिल्ला अस्पतालमा एनेस्थेसिया असिस्टेन्ट भएर गइन्।
त्यहाँ गएको दुई महिनापछि उनी आफ्नै घरपायक पर्ने ठाउँ झापाको दमक अस्पतालबाट सेवा गर्ने अवसर पाइन्।
दंगाल २०७६ साल वैसाखदेखि झापाको दमक अस्पतालमा कार्यरत छिन्। उनी एनेस्थेसिया असिस्टेन्ट समेत भएकाले उनी दमक अस्पतालमा आएपछि त्यहाँ प्रसूती सेवा सुरु गरिन्। अहिले दमक अस्पतालमा महिनामा करिव ३० जना गर्भवतीको प्रसुति हुने गरेको छ।
नर्सिङ पेसामा सधैं उत्साह
जब कुनै जटिल रोग वा समस्या लिएर अस्पतालमा पुग्ने बिरामीहरु निको भएर घर फर्किन्छन्। तब बिरामी त खुसी हुन्छन् नै, त्यो भन्दा बढी बिरामीको उपचार तथा हेरचाहमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सक खुसी हुने गर्छन्।
नर्स दंगालको जीवनमा पनि यस्ता खुसीका पलहरु धेरै छन्। विभिन्न रोग तथा प्रसूती पिडामा मलिन अनुहारमा अस्पतालमा आउने बिरामीलाई उनी हसाउँदै सेवा गर्थिन्। बिरामीलाई आफ्नै परिवारको सदस्यलाई जस्तै माया र केयर गर्ने दंगालको बानी बिरामीहरुले पनि विर्सदैनन्। कतिपय बिरामीहरुले निको भएर घर फर्किसकेपछि पनि लामो समयसम्म आफूलाई सम्पर्क गरिरहने गरेको दंगालले सुनाइन्।
‘अस्पतालमा विशेषगरी प्रसूति सेवा लिन आउनेहरु प्रसव पिडामा छटपटाइरहेका हुन्छन्, उनीहरुलाई म हँसाउदै सेवा दिन्छु। कतिपयले त अस्पतालबाट घर गएको धेरै समयसम्म पनि सम्झि रहनुहुन्छ, फोन गर्नुहुन्छ। उहाँहरुले सम्झिएर फोन गर्दा धेरै खुसी लाग्छ,’ उनले अनुभूति बाँडिन्।
उनी आफू यो पेसामा सधैं उत्साही भएर काम गर्ने बताउँछिन्। ‘कहिलेकाहिँ बिदामा पनि ड्युटीमा खटिनुपर्दा बिदा बस्न पाएको भए भन्ने त हुन्छ, तर नर्सिङ पेसामा लागेर नराम्रो गरे कि भन्ने चाहिँ लाग्दैन,’ उनी भन्छिन्। अति आवश्यक पर्दा राति १२ बजे पनि अस्पतालमा पुगेर काम गरेकी छिन्। बिरामीलाई समयमै सेवा दिन पाउँदा उनलाई खुसी लाग्छ।
विवाह नगर्ने, नर्सिङमै समर्पित हुने सोच
झापामा नर्सिङ पेसामा आवद्ध दंगाललाई सबैले चिन्छन्। उनको कामको छरछिमेक र आफन्तहरुले पनि खुलेर प्रशंसा गर्छन्। कोभिड अस्पतालको फोकल पर्सन भएदेखि उनी झनै व्यस्त छिन्। ३७ वर्षकी दंगालले विवाह भने गरेकी छैनन्। नर्सिङ क्षेत्रमा नै आफु रमाइरहेको र विवाह गर्ने सोच नभएको उनी बताउँछिन्।
‘मलाई विवाह गर्ने सोच नै आएन, विवाह भयो भने मन लगाएर सेवा गर्नै पाउँदिन होला जस्तो लाग्छ,’ दंगाल भन्छिन्, ‘म यही क्षेत्रमा रमाइरहेको छु, यही पेसामा रमाउँछु। विवाह गर्छु भन्ने सोच नै छैन।’
सीप विकास गर्ने, शोषण नसहने
दंगाल नेपाल नर्सिङ संघ झापाको जिल्ला सचिव पनि हुन्। विभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निको पार्न प्रत्यक्ष रुपमा खटिएर हेरचाह गर्ने नर्सहरु आफैं श्रम शोषण र अन्यायमा परेका घटनाहरु आइरहेका हुन्छन्। यस्ता घटनाहरुले दंगालको मन पनि बिझाउँछ। नर्सिङ क्षेत्रको समस्या समाधानका लागि सरकारले पनि ध्यान दिनुपर्ने र नर्सहरुले पनि आफ्नो क्षमताको विकास गर्दै लैजानुपर्ने दंगाल बताउँछिन।
‘बिरामीको प्रत्यक्ष निगरानीमा खटिने नर्सहरुको पारिश्रमिक एकदमै न्युन छ, सरकारीमा भन्दा निजीमा अझै बढी समस्या छ। त्यसैले सरकारले पनि नर्सहरुको पारिश्रमिकमा एकरुपता गर्नुपर्छ,’ दंगालले भन्छिन्। नर्सहरु अन्यायमा पर्नुमा केही कमजोरी नर्सहरुको पनि रहेको उनको बुझाइ छ। आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्ने उनको धारणा छ। भन्छिन्, जति तलब दिन्छ त्यतिमै काम गर्ने वा श्रम शोषण सहेर बस्नु हुँदैन। बोल्न सक्नुपर्छ।’