काठमाडौं- नेपालमा कोरोना संक्रमण देखिन थालेपछि सरकारले गत चैत ५ गते देशभर सबै प्रकारका शिक्षण संस्था र तालिम केन्द्र बन्द गर्ने निर्णय गर्यो। चैत ११ गतेदेखि लकडाउन भएपछि देशका धेरै सरकारी विद्यालय क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बने।
कोरोना संक्रमणका कारण बन्द रहेका शैक्षिक गतिविधिमा सहजीकरण गर्न सरकारले लकडाउन भएको ५ महिनापछि साउनमा विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा तयार गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दियो। असोज ६ गतेको मन्त्रिपरिषद्को निर्णय कोरोनाको जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायत मोडालिटीमा अपनाइ विद्यालयमा पठनपाठन सञ्चालन गर्न/गराउन शिक्षा मन्त्रालयलाई स्वीकृति दियो।
शिक्षा मन्त्रालयले विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ बनायो। सोही अनुसार दसैँपछि सामान्य ज्वरो परीक्षण गराएर कक्षा ११ र १२ को परीक्षा सञ्चालन भयो। कक्षा ११ र १२ को परीक्षा सञ्चालन भएपनि करिब ९ महिना पठनपाठन भने बन्द नै अवस्था थियो।
सरकारले विद्यालय शिक्षा प्रभावित हुन नदिने भन्दै विभिन्न वैकल्पिक माध्यमको नीति ल्याएको पनि हो। अनलाइन, रेडियो, टिभी लगायतका माध्यमबाट पठनपाठन गर्ने भनिए पनि यो प्रभावकारी हुन सकेन। सहरी क्षेत्रका विद्यालयमा पनि वैकल्पिक शिक्षण विधि प्रभावकारी भएन भने ग्रामीण र दुर्गम क्षेत्रमा प्रभावकारी हुने कुरै भएन।
कोरोना संक्रमण देखिई रहेपनि छठपछि शैक्षिक संस्था खुल्न थाले। काठमाडौं उपत्यका बाहिरका अघिकांश जिल्लामा पठनपाठन सुरु भएको पनि छ। यसरी खोलिएका विद्यालयमा पनि शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि पुनः बन्द भएका पनि छन्।
पछिल्ला दिनमा नेपालमा दैनिक कोरोना संक्रमित हुनेको संख्या एक हजार भन्दा कम देखिए पनि आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्र भेटिने गरेका छन्। यस्तो अवस्थामा पनि काठमाडौं उपत्यकाका कतिपय निजी विद्यालयले जोखिम लिएरै विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थालिसकेका छन्। तर स्वास्थ्य क्षेत्रका विज्ञका साथै अभिभावकको धारणा भने निजी विद्यालय सञ्चालकोको भन्दा विपरीत छ।
तत्काल विद्यालय नखोलौँ : विज्ञहरू
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेका अनुसार कोरोना परीक्षण गराउनेको संख्या घटेकाले संक्रमितको दर पनि कम देखिएको बताउँछन्। यस्तो अवस्थामा शैक्षिक संस्था खोल्न उपयुक्त नहुने डा पाण्डेको तर्क छ।
‘अहिले कन्ट्याक ट्रेसिङ प्रभावकारी नभएपछि लक्षण नभएपछि घरमै बस्ने त हो भनेर संक्रमितको क्लोज कन्ट्याकमा भएपनि परीक्षण नगराउनेहरु बढी छन्,’ डा पाण्डेले भने, ‘त्यसले गर्दा कोरोना परीक्षणको दर कम भएको छ। तर जतिपनि परीक्षण भएको छ। कुल परीक्षणको १४-१५ प्रतिशतमा संक्रमण देखिरहेको अवस्था छ। यस्तो अवस्थामा अहिले विद्यालय नै खोलेर पढाउने समय भैसकेको छैन।’
नेपालमा पछिल्लो सयम देखिरहेको कुल संक्रमणमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित उपत्यकामै छन् भने सबैभन्दा धेरै संक्रमित काठमाडौं महानगरभित्र रहेको डा पाण्डेले बताए। सो तथ्यले पनि काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममै रहेको डा पाण्डेको तर्क छ। त्यसैले काठमाडौं उपत्यकाभित्र पूर्णरूपमा विद्यालय सञ्चालन गर्न नहुने डा पाण्डे बताउछन्। काठमाडौं, ललितपुर महानगरभित्र पुस महिनाभर पर्खनुपर्ने उनको धारणा छ। डा पाण्डेले उपत्यका बाहिरका कतिपय विद्यालयहरुमा पठनपाठन सुरु गर्दा शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण देखिएर विद्यालय पुन बन्द गर्नुपरेको समेत जानकारी दिए।
नेपालमा कोरोना संक्रमणको अवस्थाबारे यकिनका साथ भन्न सकिने अवस्था नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन बताउँछन्। कोरोना परीक्षणको दर घटेकाले संक्रमणको दर पनि कम भएको भन्दै अहिलेको समयमा कुनै अध्ययन नगरी बिना तयारी विद्यालय खोल्न उपयुक्त नहुने डा पुनको तर्क छ।
‘कोरोनाको जोखिम अहिले पनि घटेको छैन। कोरोना संक्रमण घटेको छ भन्न सरकारसँग कुनै आधार पनि छैन,’ डा पाण्डेले भने, ‘सरकारले संक्रमणको वास्तविक अवस्थाबारे जानकारी नगराउँदै विद्यालय खोल्दा संक्रमणको दर उच्च हुने सम्भावना हुन्छ। विद्यालय खोल्ने, नखोल्ने भन्दा पनि नेपालमा कोरोना संक्रमणको वास्तविक अवस्था कस्तो छ त्यो थाहा पाउन जरुरी छ। किनकि कतिपय विद्यालय खोलेर पनि संक्रमण देखिएर बन्द भएको अवस्था छ।’
जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे उपत्यकामा अझै दुई महिना विद्यालय खोल्न उपयुक्त नहुने बताउँछन्। कोरोना संक्रमण नै शून्य अवस्था भएको जिल्ला भनेर विद्यालय खुलेको हुम्लामा समेत विद्यालय खुलेपछि शिक्षक तथा विद्यार्थीमा संक्रमण देखिएको उल्लेख गर्दै डा पाण्डेले अहिले नै विद्यालय खोल्न हतार गर्न नहुने बताए।
‘कोरोना संक्रमणको अवस्था शून्य जिल्ला भनेर विद्यालय संचालन गरेका ठाउँमा त विद्यालयमै संक्रमण फैलिएको अवस्था छ,’ डा पाण्डेले भने, ‘अहिले विद्यालयमै पठनपाठन सञ्चालन गर्दा विद्यार्थीलाई घरबाट निस्केर सवारी साधनमा चढ्दा, फरक– फरक स्थानबाट आएका साथीसँग भेटघाट गर्दा, घण्टौंसम्म कक्षाकोठामा समूहमा बस्दा एकजनामा मात्रै पनि संक्रमण रहेछ भने पनि धेरैमा फैलिने जोखिम हुन्छ। त्यसैले अझै दुई महिना विद्यालय खोल्न हतार नगरौं।’
के भन्छन् अभिभावक?
अहिलेको अवस्थामा विद्यालयमै पठनपाठन गर्न नहुने चिकित्सकको सुझावप्रति नेपाल अभिभावक महासंघको पनि ऐक्यवद्धता रहेको महासंघका अध्यक्ष शुप्रभात भण्डारीले बताए ।
‘शिक्षा मन्त्रालयले कात्तिकमा कार्यढाँचा तयार गर्दा नै हामी विद्यालय खुलाउन हुँदैन भन्ने पक्षमा थियौं, त्यही कार्यढाँचामा टेकेर केही स्थानीय तहहरुले विद्यालय खोल्ने निर्णय गर्न थालेपछि, त्यसमा हामीले शिक्षा मन्त्रालय र सम्बन्धित स्थानीय तहलाई ध्यानाकर्षण पनि गराएका थियौं,’ अध्यक्ष भण्डारीले भने, ‘विशेषगरी घनाबस्ती भएका काठमाडौं उपत्यका, विराटनगर, चितवन, पोखरा लगायतका शहरहरुमा अहिले स्कुल खोल्नु हुँदैन।’
जाडोयाममा कोरोनाको जोखिम बढ्ने भनिएकाले अझै एक महिना विद्यालय खोल्न नहुने उनको तर्क छ। विद्यालय खुल्न थालेपछि आफूहरूले स्वास्थ्य मन्त्रालयसँग पनि छलफल गरेर उक्त निष्कर्ष निकालेको उनले बताए।
‘विद्यालयहरु खुल्न थालेपछि हामीले स्वास्थ्य मन्त्रालयका विज्ञसँग पनि छलफल गर्यौं, त्यसपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा विद्यालय खोल्न मिल्दैन भनेर सूचना सार्वजनिक गर्नुभयो, काठमडौं महानगरका सबै विद्यालय खोल्ने क्रममा थियो त्यो रोकियो,’ उनले भने।
अध्यक्ष भण्डारीले अहिलेको समयमा विद्यालय खुल्दा घरमा भएको संक्रमण विद्यालयमा पुग्ने र विद्यालयमा भएको संक्रमण घरमा पुग्ने जोखिम रहेको पनि बताए। उनले विद्यालय खुलेका केही जिल्लामा यस्तो घटना देखिएको पनि बताए। उनले पठनपाठनलाई वैकल्पिक माध्यमबाट जारी राख्नुपर्ने बताए।
के भन्छ प्याब्सन?
निजी विद्यालय संचालकहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भने जनस्वास्थ्यको मापदण्ड पालना गर्दै विद्यालय खोल्नुपर्ने पक्षमा छ। प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले शिक्षा मन्त्रालयले नै विद्यालय सञ्चालनको कार्यढाँचा बनाइसकेकाले बालबालिकाको शिक्षा हासिल गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
‘विज्ञहरुको कुरा र कोरोनाको अवस्था फरक देखिएको छ। विज्ञहरुलेअनुमान गरेभन्दा कोरोना संक्रमणको दर कम नै छ। हामी पनि बालबालिकाको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भन्नेमै छौं,’ पुरीले भने, ‘तर उनीहरुको स्वास्थ्यप्रति सावधानी अपनाएर अरु क्रियाकलाप पनि अगाडि बढाउनुपर्छ।’
उनले सिनेमा हल, पार्टी प्यालेस समेत खुल्न लागेको अवस्थामा विद्यालय खुल्न हुदैन भन्नु गलत भएको तर्क गरे। स्थानीय तहको समन्वयमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने विद्यालयलाई सञ्चालन गर्न दिनुपर्ने प्याब्सनका अध्यक्ष पुरीले बताए। उनले स्थानीय पालिकाले अनुमति दिएर नै विद्यालयहरु सञ्चालनमा आउन थालेको पनि बताए।
‘शिक्षा मन्त्रालयले नै विद्यालय खोल्नु भनेर कार्यढाँचा नै बनाइदिएपछि नै सोही कार्यढाँचा अनुसार अहिले विद्यालयहरु सञ्चालित छन्,’ उनले भने, ‘संक्रमणको विषयमा स्थानीय पालिकाले विश्लेषण गर्ने कुरा हो। स्थानीय तहले अनुमति नदिई विद्यालय खुलेका पनि छैनन् र खुल्नु पनि हुँदैन। स्थानीय तहले खोल्नुस् भनेर अनुमति दिएपछि हामीले स्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय खोल्नु परिहाल्यो नि!’
प्याब्सनमा आबद्ध सबै निजी विद्यालयलाई स्थानीय पालिकासँग समन्वय गरेर जनस्वास्थ्यको मापदण्ड पालना गरी विद्यालय खोल्न सुझाव दिएको पनि जानकारी दिए।