काठमाडौं– ‘बधाई छ, तपाईँ विश्वको १०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा पर्नुभयो,’ मिडवाइफ प्रशंशा बुढा लामालाई एक जना परिचित व्यक्तिको म्यासेज आयो।
सुरुमा उनले उक्त कुरामा विश्वास नै गरिनन्। ल्यापटप खोलेर इमेल चेक गरिन्। नभन्दै विश्वका एक सय जना प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा उनको नाम तेस्रो नम्बरमै रहेछ। त्यसपछि मात्र उनलाई विश्वास लाग्यो।
‘विश्वका १०० जना प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा पर्दा एकदमै खुसी लाग्यो, हामीले गरेको कामको मूल्यांकन भयो,’ लामाले स्वास्थ्यखबरसँग भनिन्, ‘नेपालमा मिडवाइफको शुरुवाती चरण नै छ। यही समयमा त्यस्तो सूचीमा पर्दा धेरै खुसी छु।’ प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा परेपछि आफूमा जिम्मेवारी थपिएको उनले बताइन्।
‘यो सूचीमा परेपछि नेपाली गर्भवती महिला र शिशुको स्वास्थ्यका लागि काम गर्न थप जिम्मेवार बनाएको जस्तो महसुस भएको छ। यसका लागि उत्साह पनि थपिएको छ,’ लामाले भनिन्, ‘मलाईं यही क्षेत्रमा सक्रिय भएर लाग्न अझ प्रेरित गरेको छ।’
लामा जस्तै प्रभावशाली मिडवाइफको सूचीमा परेकी रुक्मणी त्रिपाठीले पनि खुशी व्यक्त गरिन्। ‘यो सूचीमा नपरेको भएपनि म मिडवाइफ्रीका क्षेत्रमा डेडिकेटेक नै भएर लाग्ने थिएँ। तर सूचीमा पर्दा अझै यो काममा लागिरहन प्रेरणा मिलेको छ,’ स्वास्थ्यखबरसँग अनुभव साटिन्।
वुमन इन ग्लोबल हेल्थ नामक संस्थाले छनौट गरेका विश्वका १०० जना प्रभावशाली नर्स तथा मिडवाइफको सूची सार्वजनिक गरेको थियो। सोही सूचीमा लामा, त्रिपाठी र नर्सहरू दुर्गा सापकोटा र सुष्मा योञ्जन सूचीकृत भएका छन्।
नर्स सुष्मा योञ्जन समुदायमा पुगेर महिलाहरुलाई पोषण तथा महिलाको स्वास्थ्य समस्याको विषयमा परामर्शमा खटिने गरेकी छन्। यस्तै नर्स सापकोटा महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छन्। आफू १०० प्रभावशाली महिलाको सूचीमा आफू पनि पर्दा सापकोटा निकै खुसी छन्।
महिलाको स्वास्थ्य अधिकारको क्षेत्रमा गरेको कामकै कारण आफू प्रभावशाली नर्सहरुको सूचीमा परेको उनले बताइन्। ‘महिलाहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा र उनीहरुको अधिकारको बारेमा सचेत गराएर समाजका महिलाहरुलाई स्वास्थ्य क्षेत्रको पहुँचमा ल्याउन काम गर्नेछु,' उनले भनिन्, 'यो सूचीमा परेपछि काममा थप लगनशील हुन हौसला थपिएको छ।’
सिफारिस