काठमाडौं– काठमाडौंकी एक महिला कोभिड पोजेटिभ श्रीमानको हेरचाहमा खटिएकी थिइन्। सोही क्रममा उनमा पनि ज्वरो आउने र खोकी लाग्ने समस्या देखियो।
सुुरुमा उनले आफूमा देखिएको समस्यालाई सामान्य ठानेर कोरोना परीक्षण गराइनन्। ज्वरो र खोकी केही दिनमा निको पनि भयो। तर विस्तारै उनमा स्वासप्रस्वासमा समस्या देखिन थाल्यो।
उनलाई सास फेर्न गाह्रो भएपछि उनका आफन्तले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगे।
अस्पतालका चिकित्सक डाक्टर अनुप बाँस्तोला सहितको टिमले तुरुन्त उपचार सुरु गर्नुपर्ने भन्दै एन्टिजेन परीक्षण गरे। तर, एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आयो। चिकित्सकले ती महिलालाई भर्ना गरी भोलिपल्ट पिसिआर परीक्षण गरे। तर पिसिआर परीक्षणको नतिजा पनि नेगेटिभ आयो।
स्वासप्रश्वासमा कठिन भएर महिलाको स्वास्थ्य अवस्था गम्भिर हुँदै जाँदा कोरोना परीक्षणका लागि गरिएको एन्टिजेन र पिसिआर परीक्षण दुवै नेगेटिभ आएपछि चिकित्सकले छातीको एक्सरे गरे। एक्सरे रिपोर्टमा ती महिलाको फोक्सोमा निमोनिया भइसकेको पत्ता लाग्यो। तर, ती महिलामा अन्य रोग वा संक्रमणका कारण हुने निमोनियाको लक्षण भने थिएन। ती महिलामा अन्य कोरोना संक्रमितमा भएको जस्तै प्रकृतिको निमोनिया थियो।
कोरोनाकै कारण निमोनिया भएको हुनसक्ने भन्दै चिकित्सकहरुले एन्टिबडी परीक्षण पनि गराए। एन्टिबडी परीक्षणको रिपोर्ट भने पोजेटिभ आयो। त्यसपछि चिकित्सकहरुले क्लिनिकल जजमेन्ट गरेर उनमा कोभिड निमोनिया भएको भन्दै कोरोना संक्रमित निमोनियाका बिरामीमा प्रयोग गरिने उपचार विधि अनुसार उपचार सुरु गरे। ती महिलालाई केही दिन आइसियुमा समेत राखियो। दुईसाताको अस्पताल बसाइपछि उनको स्वास्थ्य अवस्थामा सुधार आयो। ती महिला केही दिनअघि अस्पतालबाट डिस्चार्ज भइसकेकी छन्।
यी महिला जस्तै स्वासप्रस्वासको समस्या लिएर अस्पताल पुग्ने बिरामीहरुमा एक्सरेमा निमोनिया देखिने तर पिसिआर रिपोर्ट भने नेगेटिभ आउने क्रम बढ्न थालेको शुक्रराज अस्पतालका कोभिड–१९ फोकल पर्सन डा अनुप बाँस्तोला बताउँछन्।
उनले भने, ‘स्वासप्रस्वासको समस्या भएर कोरोना परीक्षण गर्न आउने बिरामीमा पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आउने तर एक्सरे गर्दा निमोनिया देखिने क्रम अहिले बढेको छ।’
पछिल्लो समय कोरोनाको सामान्य लक्षण देखिँदा परीक्षण नगराउँदा पनि संक्रमितमा निमोनिया भइसकेको पाइएको डा बास्तोलाले बताए।
‘पछिल्लो समय कोरोना परीक्षणको दर घटेर गएको छ, मानिसहरुले कोरोना परीक्षण गराएका छैनन्, ज्वरो आउँदा, खोकी लाग्दा अस्पताल जान नमानेका घटनाहरु पनि हामीले सुनेका छौं,’ डा बास्तोलाले भने, ‘स्वासप्रस्वासमा समस्या भएर धेरै गाह्रो भइसकेपछि मात्र अस्पताल आइपुग्नुहुन्छ। जसले गर्दा कोभिडका कारण निमोनिया विकास भइसकेको हुन्छ।’
पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने र सिटी स्क्यान तथा एक्सरेमा कोभिड निमोनिया देखिएका बिरामी त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पनि छन्।
टिचिङका कोभिड–१९ फोकल पर्सन डाक्टर सन्त कुमार दासका अनुसार टिचिङ अस्पतालमा स्वासप्रस्वासको समस्या लिएर कोभिडको आशंकामा आउने बिरामी मध्ये दैनिक ३ देखि ४ जना बिरामीहरुमा पिसिआर रिपोर्ट नेगेभिट आउने र सिटी स्क्यान तथा एक्सरेमा निमोनिया देखिने गरेको छ।
यस्ता प्रकृतिका बिरामीहरु बढ्दै गर्दा उनीहरुलाई कसरी उपचार गर्ने भनेर अन्यौलता बढेको डा दास बताउँछन्।
‘सिटी स्क्यान, एक्सरे गर्दा कोभिड निमोनिया देखिन्छ, लक्षण पनि सबै कोभिड संक्रमितको जस्तै छ, तर पिसिआर नेगेटिभ,’ डा दासले भने, ‘यस्तो अवस्थामा हामीलाई कसरी, कहाँ राखेर उपचार गर्ने भनेर अलि दुविधा हुने गरेको छ।’
टिचिङ अस्पतालमा यस्ता बिरामीलाई कोरोना संक्रमित राख्ने वार्डमा नराखेपनि छुट्टै स्थानमा व्यवस्थापन गरी उपचार गरिएको डा दासले बताए।
‘कोभिड वार्डमा राख्दा बिरामी र उनका आफन्तले पिसिआर नेगेटिभ भएकालाई पोजेटिभसँगै राख्यो भनेर गुनासो गर्छन्, कोभिड संक्रमण नभएका अन्य बिरामी भएको वार्डमा राख्दा हाम्रो मनले मान्दैन, किनकी त्यो बिरामीमा कोभिडकै निमोनिया हो,’ डा दासले भने, ‘यस्तो अप्ठ्यारो भएको छ, उहाँहरुलाई हामीले जनरल वार्डमा छुट्टै ठाउँ बनाएर त्यहा राखेर उपचार गर्ने गरेका छौं।’
पिसिआर नेगेटिभ रिपोर्ट भएको तर कोभिड निमोनिया देखिएका बिरामीहरुलाई पनि आवश्यकता अनुसार कोरोना संक्रमित निमोनियाका बिरामीहरुलाई गरिने उपचार विधि नै प्रयोग गरिएको डा दासले बताए।
‘हामीले यस्ता बिरामीलाई आवश्यकता अनुसार अक्सिजन सपोर्टमा राख्ने, कोरोना संक्रमितलाई जस्तै गरी आवश्यकता अनुसार रेम्डेसिभिर, डेक्सोना, एन्टिकोभिलेसन लगायतका औषधिहरु प्रयोग गर्ने गरेका छौं,’ डा दासले भने, ‘पिसिआर नेगेटिभ हुनेलाई प्लाज्मा थेरापी विधि चाहिँ प्रयोग गरेका छैनौं, अरुसबै उस्तै विधिबाट उपचार गर्छौं।’
संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी पनि पछिल्लो समय कोभिड निमोनिया भएका व्यक्तिहरुमा पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आउने क्रम गरेको बताए।
‘हामी सबैले देखिरहेको कुरा हो, यस्तो बिरामी अहिले बढी भएका छन्,’ डा सुवेदीले भने, ‘कोरोना भाइरसको बिरामीहरु अहिले शुरुमा लक्षण देखिने वित्तिकै परीक्षण गराउनु हुन्न, घरमै बस्नुहुन्छ, अलि सिकिस्त भएपछि मात्र परीक्षण गराउनुहुन्छ। संक्रमणले सिकिस्त हुने भनेको दोस्रो सातामा हो, त्यो समयमा पिसिआर गर्दा नेगेटिभ आउँछ।’
कोरोना संक्रमित व्यक्तिमा दोस्रो सातासम्ममा पिसिआर परीक्षणमा कोरोना भाइरस देखिने सेन्सेटिभिटी कम हुने डा सुवेदीको भनाइ छ।
कोरोना भाइसरका बिरामीमा दोस्रो सातामा परीक्षण गर्दा कोरोना पोजेटिभ आउने सेन्सेटिभिटी कम हुन्छ,’ डा सुवेदीले भने, ‘बिरामीमा संक्रमण हुन्छ तर दोस्रो सातामा पोजेटिभ नदेखाउँन सक्छ।’
कोभिड नियमोनिया भएका बिरामीमा पिसिआर रिपोर्ट नेगेटिभ आएपनि क्लिनिकल जजमेन्टका आधारमा कोरोना संक्रमितलाई गरिने विधिबाटै उपचार गरिने डा सुवेदीले बताए।
‘पिसिआर नेगेटिभ आएपनि उहाँहरुको हिस्ट्री हेरेर कहिलेदेखि ज्वरो आयो, लक्षण देखिन थाल्यो, रोगको विकासक्रम, कहिलेदेखि अक्सिजन लेभल कम हुन थाल्यो ? जस्ता कुराहरुको आधारमा संक्रमितलाई जसरी नै उपचार गर्छौं,’ डा सुवेदीले भने, ‘यदि कोरोना नभइ अरु नै कारणले निमोनिया भएको भए कोरोना संक्रमितलाई गरिने उपचार विधिले बिरामी झन् सिकिस्त हुनुपर्ने, हामीले कोरोनाको नै हो भनेर सोही अनुसार उपचार गर्दा उहाँहरु निको भएर घर फर्किनुभएको छ।’
कोरोनाको लक्षणलाई शुरुवाती चरणमै वेवास्ता गर्दा उनीहरुमा पछि गम्भिर समस्या देखिन सक्ने भएकाले कोरोनाको लक्षण भएमा पिसिआर परीक्षण गर्न डा सुवेदीको आग्रह छ।