सरकारले निषेधाज्ञा लागू गरेपछिका हरेक दिन कोरोना संक्रमितको दर बढेको देखिन्छ। कतिले निषेधाज्ञापछि बढेको रुपमा यसलाई बुझेको पाइएको छ। यो निषेधाज्ञा गर्नुअघि सरेको संक्रमणको नतिजा हो। निषेधाज्ञाको एक हप्तादेखि दुई हप्तासम्म यो दरमा संक्रमित भेटिएलान्। त्यसपछि मात्रै निषेधाज्ञाको प्रभाव देखिन थाल्नेछ।
संक्रमण र मृत्युको यो भयावह चित्रको दोषारोपण हामीले सरकारमाथि गरिरहेका छौं। तर, पछिल्लो अवस्था आउनुको हिस्सेदार हामी पनि हौं। हाम्रै लापरबाहीका कारण यस्तो अवस्था आएको हो।
हामी इमान्दार भइदिएको भए यो अवस्था आउँदैनथ्यो। सरकारले वा जनस्वास्थ्य विज्ञले हरेक दिनजसो दिइरहेका सुझावहरु पालना गरिदिएका थियौं भने हामीलाई दोहोर्याएर लकडाउन भोग्न पर्दैनथ्यो। नेपाल सरकारले चाहेर मात्रै कोरोना संक्रमण शून्य बनाउन सक्दैन। किनकि खुला सिमाना भएको नजिकको देश भारतमा यसको प्रकोप बाँकी रहुन्जेल हामीकहाँ पनि रहन्छ।
कोरोनाको डर सबैलाई छ। जानकारी पनि सबैलाई छ। टिभीमा त्यही, इन्टरनेटमा त्यही र रेडियो त्यही जोगिने उपायबारे बोलेका देखिन्छ । तर, किन हामी यस्तो अटेरी? हामी अनुशासनमा किन नभएको?
म छक्क परिरहेको छु। मान्छेहरुले थाहा पाएको कुरा किन व्यवहारमा लागू गरिरहेका छैनन्। लकडाउन खुलेपछि सबै भेडाबाख्रा जस्तै हिँडिरहेका हुन्छन्। कोरोना नियन्त्रणमा आएको होइन, जनजीवनलाई सहज तुल्याउन त्यसो गरिएको हो भन्ने किन बुझिरहेका छैनन्।
निषेधाज्ञाले सरकारलाई कोरोना नियन्त्रण गर्न सजिलो बनाउँछ। तर, शून्यमै पुर्याएर खोल्ने भन्ने कुरा व्यवहारिक हुँदैन। यसअघि त्यति लामो समय निषेधाज्ञा गर्दा त देखियो भने अहिले छोटो समयकोले त्यति धेरै अर्थ राख्दैन।
हामी पहिलो पिसिआर भनेर त्यतातिर लाग्यौं। अहिले आइसियू र भेन्टिलेटरको हिसाब गरिरहेका छौं। ती भविष्यका कुरा हुन्। सरकारले गर्दै गर्छ। नागरिक आफैं सचेत हुँदा ती आवश्यक पदैनन्। मेरो निष्कर्ष के भने नागरिक सचेत भएको भए न आइसियुको चर्चा गर्नुपर्थ्यो। न धेरै पिसिआर गर्नुपर्थ्यो।
हामी भविष्यको कुरा गर्नेभन्दा पनि वर्तमानमा सजग हुनुपर्छ। त्यो भनेको जनस्वास्थ्य विज्ञले सुझाएका कोरोना संक्रमण हुन नदिने उपाय अवलम्बन गर्ने हो। तर, त्यसमा हाम्रो पटक्कै रुची नभएको जस्तो देखिन्छ।
मैले देखिरहेको छु– तपाईंहरु यताउता नजानुहोस् भन्यो, मान्छेहरु लुकीलुकी गइदिन्छन्। आफैंले सकेसम्म हुलमुलमा नजाने हो। मास्क सही तरिकाले लगाउने हो। तर, मास्क अरुलाई देखाउनका लागि लगाए जस्तो देखिन्छ।
मकहाँ जँचाउन आउनेहरुमा अझै गम्भीरता देख्दिनँ। जब म उहाँहरुसँग कुराकानी गर्न थाल्छु, मास्क खोलेर कराउन थाल्नुहुन्छ। हरेक सय जनामध्ये ७०/८० जनालाई मास्क लगाउने तरिका सिकाएर पठाउनु परेको छ। यो भनेको नजानेर होइन, नटेरेर हो। लाइन बसुन्जेल मास्क लगाउने तर डाक्टरसँग कुरा गर्दा हटाउने बानीको विकास कसरी भयो? उहाँहरु अन्य ठाउँमा पनि जब कुरा गर्न थाल्नुहुन्छ, मास्क खोल्नुहुन्छ होला।
कुराकानी गर्ने ठाउँमा त सकेसम्म दोहोरो मास्क लगाउने गर्नुपर्छ। ठूलो पदमा आसिनहरुले नलगाउने चलन छ। उहाँहरुलाई नै ठूलठूलो स्वरले कराउनुपर्छ। सुन्नेले मास्क लगाएर नाकमुख त छोप्ला तर आँखामा थुकको छिटा पुगिहाल्छ। यस्तो बानीले त कोरोना संक्रमण नियन्त्रणमा कसरी ल्याउन सकिएला र?
बाहिर निस्किएको हो भने सकेसम्म अनुहारमा हात नलग्ने। घर गएपछि साबुनपानीले राम्ररी हात धुने गर्नुपर्छ। यो दोहोर्याइरहेका हुन्छौं। मास्क लगाउनु अनिवार्य भनिरहेका हुन्छौं। तर, नागरिकका तहबाट अनुशरण हुन सकेको देखिदैन। जसको नतिजा लकडाउन खुलेपछि हामीले देखाएको व्यवहार हो। त्यो व्यवहारको परिणाम अहिले कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढ्दो छ। संक्रमणदर बढ्दो छ।
इटली, स्पेन र बेलायतमा कोरोना संक्रमित बढ्दै जाँदा स्वास्थ्यकर्मी अपुग भयो। उपचार पाउँदा बाँच्नेहरु पनि अस्पतालमा उपचार गर्ने ठाउँ नपाएर मरे।
अमेरिकामा पनि हेरें। एकजनासँग चिनेको डाक्टरसँग कुरा गरेको हो। त्यहाँ पनि यस्तै हेलचक्र्याइँ भयो। अमेरिकीलाई के अप्ठ्यारो पार्छ भन्ने पर्यो। जति धनी भए पनि, जति विकास गरे पनि नागरिक सचेत भएनन् र इमान्दारिता साथ बच्ने उपाय अनुशरण गरिएन भने अवस्था जटिल हुँदोरहेछ।
नेपाल सरकार नियन्त्रण गर्नेगरी अघि बढ्यो भने पनि भारतमा रहेसम्म संकटको सामना गरिरहनुपर्छ। जनस्वास्थ्यका मापदण्ड पालना गरिएन भने सरकारलाई धारे हात लगाएर बाँचिदैन। यतिबेला बल नागरिकको कोर्टमा आइपुगेको छ।
त्यसैले अवस्था चुनौतिपूर्ण छ। आगामी दिनमा के हुन्छ भन्ने कुरा हामी नागरिक कति सचेत हुन्छौं भन्नेमा निर्भर रहन्छ। किनभने लकडाउन खुलेपछि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गरेका रहेनछौं।
मान्छेमा डर छ तर जनस्वास्थ्यका मापदण्ड पालना गर्दैनन्। यसले हामीलाई चकित बनाएको छ। स्थिति अब कसैले केही गरिदेला भन्ने ठाउँमा छैन। आफ्नो ज्यान आफैं जोगाउनुपर्ने अवस्थामा पुगेको छ।
अनिकालमा बीउ जोगाउने, हुलुमलमा जिउ जोगाउने बेला हो यो। अब सरकारले के–के राम्रो गर्यो, के–के गरेन भनेर हिसाब गर्ने बेला छैन। बरु जति सकिन्छ सरकारसँग हातेमालो गरियो भने मात्रै कोरोना नियन्त्रण सम्भव छ। मान्छे यस्तै अटेरी भएमा चाहिँ समस्या निरन्तर रहिराख्छ।
(कुराकानीमा आधारित)