काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण भई अस्पताल भर्ना गर्न व्यवस्था गरेको ३ लेभल अस्पतालको व्यवस्था खारेज गरेको छ।
मन्त्रालयले लेभल अस्पताल छुट्याउन कुन लेभलको अस्पतालको कति उपचार गर्ने भन्ने अलमल धेरै भएपछि १, २ र ३ लेभलको कोभिड अस्पताल भनी गरेको व्यवस्था खारेज गरेको हो।
भदौ ७ गते स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सबै अस्पताललाई कोभिड अस्पताल नामकरण गर्ने र लेभल १,२ र ३ भनी गरेको वर्गीकरण खारेज गर्ने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने, ‘लेभल अस्पतालको व्यवस्थाले बिरामीले दु:ख पाएको र अस्पतालमा पनि यो हाम्रो अस्पताल जिम्मा होइन, यो लेभलको अस्पतालको काम हो भन्ने द्विविधा भएपछि यो व्यवस्था खारेज गरी सबै कोभिड अस्पताललाई एउटै व्यवस्था गरिएको हो।’
यसका साथै मन्त्रालयले कोभिड उपचारका लागि यसअघि सूचीकृत गरेका सबै अस्पताललाई कोभिड अस्पताल भनेर नामकरण गर्ने र ती अस्पतालमा कोभिड र ननकोभिडको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको छ।
'सूचीकृत अस्पतालले कोभिड र ननकोभिडको छुट्टाछुट्टै व्यवस्था गर्ने/गराउने विषयमा निर्णय भएको हो,' डा अधिकारीले भने, 'सबै अस्पतालले कोभिडका बिरामी आएपछि उपलब्ध भएका सेवा सोही अस्पतालमा गराउनुपर्ने र आवश्यक भएमा मात्र अन्यत्र रिफर गरियोस् भनी मन्त्रालयले यस्तो निर्णय गरेको हो।'
यसअघि मन्त्रालयले विभिन्न अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तहगत रुपमा कोभिड विशेष अस्पताललाई लेवल १, लेवल २ र लेवल ३ भनेर छुट्याएको थियो।
मन्त्रालयले बनाएको ‘कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’मा तहगत रुपमा वर्गीकरण गर्ने व्यवस्था गरेको थियो।
जसअनुसार, लेवल १ अस्पताल भन्नाले सामान्य केसहरु व्यवस्थापन गर्ने भन्ने बुझिन्छ। जसमा संक्रमित पुष्टि भई आएका वा यी अस्पतालहरुमा पहिचान भएका बिरामीहरु प्रोटोकल अनुसार आइसोलेसनमा राखी उपचार गर्ने व्यवस्था थियो। तर लेवल खारेज भएसँगै सबै अस्पताल अब कोभिड अस्पतालका रुपमा परिणत भएका छन्।
आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टर अस्पताल कीर्तिपुर, काठमाडौं मेडिकल कलेज, कोरोना अस्थायी अस्पताल चितवन, अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल) विराटनगर, जानकी अस्पताल, बागलुङ अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिपी कोइराला राष्ट्रिय सेन्टर फर रेस्पेटरी डिजिज तनहुँ, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत, अछाम अस्पताल, भीम अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताललाई लेभल १ अस्पताल भनी वर्गीकरण गरिएको थियो।
यस्तै, लेवल २ अस्पताल भन्नाले मध्यम र अति जटिल केसको उपचार जसमा संक्रमित भई आएका अस्पतालहरु वा यी अस्पतालमा पहिचान भएका मध्यम र अति जटिल केसहरु हाइडिपेन्डेन्सी र आइसियु केयरमा राखी उपचार गर्ने व्यवस्था गरिएको थियो।
लेवल २ मा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल नेपाल सशस्त्र बल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र सेती अस्पताललाई राखिएको थियो।
यस्तै, लेवल ३ अस्पताल भन्नाले बहुविज्ञ सेवा चाहिने कोभिड संक्रमित बिरामीहरुको उपचार गरिने अस्पताका रुपमा मन्त्रालयले वर्गीकरण गरेको थियो। जसमा विशिष्टकृत शल्यक्रिया सेवा लगायत बहुविज्ञ सेवा सहितका सेवाहरु प्रोटोकल अनुसार उपलब्ध गराइन्छ।
लेवल ३ कोभिड अस्पतालहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज रहेका थिए।
मन्त्रालयले लेवल १ अस्पतालमा सामान्य संक्रमित, दुईमा लक्षण भएका बिरामी र लेवल ३ मा विशिष्टकृत शल्यक्रिया सेवा लगायत बहुविज्ञ सेवा सहितका सेवा उपलब्ध हुने व्यवस्था गरेको थियो।
मन्त्रालयले लेवल खारेज गरेर कोरोना उपचार गर्ने कोरोना अस्पताल भनेर ४९ वटा अस्पताल बनाएको छ। लेवल १ मा रहेका २३, लेवल २ मा रहेका १८ र लेवल ३ मा रहेका ७ गरी ४८ र पछिल्लो समयमा मेघा अस्पताल थप गरेर ४९ कोभिड अस्पताल भएको उनले बताए।
यसका साथै देशका सरकारी, निजी र मेडिकल कलेज गरी १२४ अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेको पनि मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।
‘लेवल खारेज भएर अब सूचीकृत भएका सबै अस्पताल एकै लेवलका अस्पताल हुन्। ती अस्पताललाई कोभिड अस्पताल नामकरण गरिएको छ’, उनले भने।
यी हुन् कोभिड र सूचीकृत अस्पताल