काठमाडौं– नेपालमा कोरोनाको पहिलो लहर (२०७६ माघ ९ देखि २०७७ चैत १ गते)मा २ लाख ७५ हजार २३१ जनामा कोरोना संक्रमण देखिएको थियो। पहिलो लहरमा ३ हजार १४ जनाको मृत्यु भएको थियो।
कोरोनाको पहिलो लहरमा संक्रमित धेरै हुनेमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीका साथै ज्येष्ठ नागरिक बढी थिए। पहिलो लहरमा ज्येष्ठ नागरिकको मृत्यु धेरै भयो। यसका साथै गम्भीर समस्या देखिनेमा पनि ज्येष्ठ नागरिक नै थिए।
तर, कोरोनाको दोस्रो लहर सुरु भएसँगै फ्रन्टलाइनर र ज्येष्ठ नागरिकभन्दा पनि युवा उमेरका व्यक्तिहरू बढी संक्रमित भए। पहिलो लहरको तुलनामा दोस्रो लहरमा फैलिएको भाइरसको भेरियन्ट निकै संक्रामक थियो। जसका कारण संक्रमण देखिएकाहरूमा गम्भीर र जटिल समस्या निम्त्याएको थियो।
पहिलो लहरको तुलनामा निकै संक्रामक र जटिलता निम्त्याउने कोरोनाको डेल्टा भेरियन्टको संक्रमण फैलिरहँदा पनि दोस्रो लहरमा भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतका फ्रन्टलाइनर र ज्येष्ठ नागरिक भने पहिलेको तुलनामा निकै कम मात्र संक्रमित भए। संक्रमण देखिएकामा पनि अधिकांशमा गम्भीर र जटिलता देखिएन।
झन् संक्रामक भाइरसको भेरियन्ट फैलँदा पनि यो समूहलाई किन कम असर गर्यो त ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल भन्छन्, ‘यसको एक मात्र प्रमुख कारण भनेको दोस्रो लहर सुरु हुनुभन्दा अघि नै उक्त समूहले कोभिड विरुद्धको खोप लगाउनु।’
सरकारले नेपालमा कोरोना संक्रमण देखिएको एक वर्षपछि (२०७७ माघमा) कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको थियो। पहिलो खोप अभियानमा कोरोना नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू सहभागी थिए। त्यससँगै अन्य फ्रन्टलाइनर र संक्रमणको उच्च जोखिममा रहेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिक थिए।
दोस्रो लहर सुरु हुँदा स्वास्थ्यकर्मीसँगै अन्य फ्रन्टलाइनरहरूले पूर्ण मात्रा र ज्येष्ठ नागरिकले पहिलो मात्रा खोप पाएका थिए। जसकारण दोस्रो लहरमा स्वास्थ्यकर्मी कम संक्रमित भएको र संक्रमित भएपनि गम्भीर हुने संख्या निकै कम देखिएको बताउँछन् प्रवक्ता डा पौडेल।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संकलन गरेको तथ्यांकले पनि पछिल्ला दिनहरूमा संक्रमण देखिएर अस्पताल भर्ना हुनेमा ८० प्रतिशतभन्दा बढी संक्रमितले खोप नलगाएको पाइएको छ। यतिमात्र होइन संक्रमण देखिएर गम्भीर हुनेमा पनि खोप नलगाएका र मृत्यु हुनेमा पनि खोप नलगाएका नै छन्।
कोरोना संक्रमितको उपचार गर्दै आइरहेका अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर, पाटन, सशस्त्र प्रहरी, भरतपुर, भेरी, कोशी र सेती अस्पतालको तथ्यांकले पनि संक्रमण देखिनेमा ८० प्रतिशतभन्दा बढीले खोप लगाएका छैनन्। यसका साथै खोप लगाएकामा संक्रमण देखिएका न्यून संख्यामा पनि गम्भीर र जटिल समस्या देखिएको छैन।
प्रवक्ता डा पौडेलका अनुसार खोपका कारण मानिसहरूमा बनेको एन्टिबडीका कारण संक्रमण नदेखिएको र केहीमा देखिए पनि जटिलता नभएको हो।
‘खोपले धेरै नै काम गरेको पाइएको छ,’ उनले भने, ‘खोप लगाएकामा पनि केहीमा संक्रमण देखिनुको कारण जनस्वास्थ्यको मापदण्ड पालना नगरेर हो। त्यसकारण खोप लगाएकाले पनि जनस्वास्थ्यको मापदण्ड भने पालना गर्न जरुरी हुन्छ।’
दुवै डोज खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी
मन्त्रालयका अनुसार नेपालमा कोभिडविरुद्धको दुवै डोज (पूर्ण मात्रा) खोप लगाएकाहरूमा ९० प्रतिशतमा एन्टिबडी देखिएको छ। यस्तै, एक मात्रा मात्र कोभिड खोप लगाएकामा ८० प्रतिशतमा एन्टिबडी देखिएको छ।
स्वास्थ्य मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेर समूहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्भेले दुवै डोज खोप लगाएकामा ९० र एक डोज लगाएकामा ८० प्रतिशतमा एन्टिबडी देखाएको हो।
शरीरमा कोभिड विरुद्धको एन्टिबडी बन्नु भनेको कोरोना संक्रमण फैलिने क्रमलाई रोक्नु हो। जति धेरै मानिसमा एन्टिबडी बन्छ त्यति नै कोरोनाको चेन रोकिन्छ र व्यक्तिहरू संक्रमित हुनबाट जोगिन्छन्।
नेपालमा कोभिड–१९ संक्रमण कुन तहमा पुग्यो, संक्रमणको अवस्था के छ, कति जनामा एन्टिबडी विकास भएको छ भन्ने थाहा पाउन सेरो प्रिभिलेन्स सर्भे गरिएको हो। सर्भेले पनि पनि खोप लगाएका भन्दा नलगाएकामा संक्रमण उच्च देखाएको छ।
१३ हजार १६१ जना सहभागीमध्ये पूर्ण मात्रा खोप लगाएका ९२० मध्ये ८२९, पहिलो मात्रा खोप लगाएका १ हजार ९६९ मध्ये १ हजार ८२ र खोप नलाएका १० हजार २७२ मध्ये ६ हजार ५५९ जना एन्टिबडी बनेको पाइएको थियो।
‘सर्भेका क्रममा धेरै व्यक्तिले खोप पाएका थिएनन् तर जतिले खोप लगाएका थिए उनीहरूमा ९०.१ प्रतिशत र पहिलो मात्रा मात्र लगाएमा ८०.३ प्रतिशतमा एन्टिबडी बनेको पाइएको छ। यसले खोपले राम्रो काम गरिरहेको छ भन्ने पुष्टि गर्छ,’ प्रवक्ता डा पौडेलले भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको उक्त सर्भेका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, केन्द्रीय तथ्यांक विभाग र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नमूना संकलन गरिएको थियो।
कोभिड खोपलाई संक्रमण नियन्त्रणको वरदानका रुपमा लिन्छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिकुमार अधिकारी। ‘खोप नभएको भए संक्रमणका कारण धेरै क्षति हुने रहेछ,’ उनले भने, ‘समयमा नै खोप ल्याएर पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनरलाई लगाउन सकिएका कारण धेरै फाइदा पुगेको छ। कोभिड नियन्त्रणमा खोप त वरदान नै सावित भएको छ।’
चैतभित्र सबैलाई खोप लगाउने लक्ष्य
२०७६ सालको माघमा नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको एक वर्षपछि २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो।
सरकारले दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरूको संख्या भने समावेश गरिएको छैन।
२०७७ माघ १४ गते देशभरका ६६ जिल्लाका १२० भन्दा बढी खोप केन्द्रबाट खोप अभियान सुरुवात भएको थियो।
सरकारले पहिलो चरणको खोप अभियान अन्र्तगत देशभरका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव सवारी चालक, सुरक्षाकर्मीलगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप लगाएको थियो।
नेपाललाई भारतले अनुदानमा १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएसँगै खोप अभियान शुरु भएको हो। त्यसयता नेपालमा ( कात्तिक२२ गतेसम्म) १ करोड ७८ लाख ५८ हजार ७१० डोज खोप आइसकेको छ। जसमध्ये एक करोड ६१ लाख ७३ हजार २४६ डोज खोप लगाइसकिएको छ।
सरकारले चैत मसान्तसम्म लक्षित वर्गमा परेका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ।
नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको जोन्सन एन्ड जोन्सन, र जापानले उपलब्ध गराएको एस्ट्राजेनेका खोप प्रयोगमा आएको छ।
कोरोना भाइरस संक्रमणबाट बच्ने एक मात्र उपाय खोप भएपनि हाम्रो व्यवहार परिवर्तन समेत जरुरी छ।
नयाँ भेरियन्ट र भीडभाडका कारण जोखिमको खतरा
खोप तथा जनस्वास्थ्यका मापदण्डको पालनाका कारण नेपालमा पछिल्लो समय संक्रमणको दरमा कमि आइरहेको छ। तर, जोखिम भने अझै कायम रहेको विज्ञहरूले बताउँदै आइरहेका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार भाइरसको नयाँ भेरियन्ट आउने र मानिसहरू वेपर्वाह हुँदै भीडभाड गर्ने हो भने छिट्टै अर्को लहर आउने खतरा छ। यसका साथै चाडबाडको समय सुरु भएकाले मानिसहरूको बढ्दो चहलपलका कारण पनि संक्रमण बढाउने सम्भावना छ।
‘अहिले संक्रमणदर कम हुनुमा खोप प्रमुख कारण भएपनि भाइरसको नयाँ भेरियन्ट, बढ्दो भीडभाड र जनस्वास्थ्यको मापदण्ड पालना नहुँदा तेस्रो लहर ल्याउन सक्ने जोखिम बढेको छ,’ सचिव डा पोखरेलले भने, ‘त्यसकारण जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कुरामा सबै सचेत हुनैपर्छ।’
खोप कति आयो, कति आउँदै छ?
कात्तिक २२ गतेसम्म नेपालमा लक्षित समूहमध्ये ४३ दशमलव ९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। यस्तै पहिलो डोज खोप लगाउने ३७ दशमलव ३ प्रतिशत प्रतिशत पुगेका छन्। नेपालमा हालसम्म ४ प्रकारका कोभिड खोप ल्याइएको छ। कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर नेपालमा अहिलेसम्म (कात्तिक २२ गतेसम्म) २ करोड २० लाख ८० हजार ९३० डोज कोरोना विरुद्धको खोप आइसकेको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार २०७७ माघ ८ गते देखि २०७८ कात्तिक २२ गतेसम्म नेपाल उक्त संख्यामा खोप आएको हो।
नेपालमा हालसम्म कोभिसिल्ड/एस्ट्राजेनेका खोप भारत सरकारको अनुदान १० लाख डोज, भारतसँग खरिद गरिएको २० लाख डोज, भारतीय सेनाले नेपाल आर्मीलाई उपलब्ध गराएको एक लाख डोज, कोभ्याक्स फ्यासिलिटी मार्फत ३ लाख ४८ हजार डोज खोप आइसकेको छ। त्यसैगरी, भुटान सरकारको सहयोगमा २ लाख ३० हजार, जापान सरकारले कोभ्याक्स फ्यासिलिटी मार्फत १६ लाख १४ हजार ७४०, बेलायत सरकार मार्फत १ लाख ३१ हजार १२० र माल्दिभ्सबाट २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० खाेप नेपाल आइसकेको छ।
चीनसँग खरिद मार्फत एक करोड ३० लाख र अनुदानमार्फत ३५ लाख डोज भेरोसेल खोप नेपाल आइसकेको छ। कोभ्याक्स फ्यासिलिटि मार्फत एक लाख डोज फाइजर खोप पनि दसैं अघि नेपाल आइसकेको छ।
यी खोपमध्ये नेपालमा १ करोड ६१ लाख ७३ हजार २४६ डोज खोप लगाइसकिएको छ।
तथ्यांक अनुसार नेपालमा पहिलो डोज खोप लगाउनेको संख्या ८७ लाख ३६ हजार ५३२ पुगेको छ। यस्तै दुवै डोज खोप लगाउनेको संख्या ७४ लाख ३६ हजार ७१४ पुगेको छ।
नेपालमा अनुदान, कोभ्याक्स सुविधा र खरिदमार्फत खोप आइरहेको छ। कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत् ल्याइने छ। कोभ्याक्सबाट निःशुल्क रुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त हुने छ।
सरकारले थप २ करोड ५५ लाख ४८ हजार ५६० मात्रा खोप ल्याइसक्ने बताइसकेको छ। यसै वर्षको अन्त्यसम्म अन्त्यसम्ममा एक लाख ४४ हजार एस्ट्राजेनेका, ९९ लाख १६ हजार ४०० मात्रा भेरोसेल, ४१ लाख ८८ हजार १४० मात्रा मोडर्ना, ५ लाख डोज जोन्सन एन्ड जोन्सन, ६० लाख डोज फाइजर र नपुगेको खण्डमा ६ लाख १० हजार थप खोप खरिद गर्ने लक्ष्य राखेको छ। जसमध्ये जोन्सन खोप खरिदका लागि सरकारले पहल गरेपनि आउने निश्चित नभइसकेको व्यवस्थापन महाशाखाले जनाएको छ।
यी खोपमध्ये फाइजर र मोडर्नाकाे विश्व बैंकको सहुलियत ऋणमार्फत् खरिद गर्नका लागि पैसा समेत तिरिसकिएको मन्त्रालयले जनाएको छ। फाइजर पहिलो चरणमा १० लाख र दोस्रो चरणमा ५० लाख गरी आउने योजना छ।
गाभी र विश्व स्वास्थ्य संगठनले गरीब देशलाई उपलब्ध गराउने भनेको एक करोड १३ लाख डोज पनि आउने प्रक्रियामा रहेको छ।
खोपको प्रभावकारिता र ढुक्क हुने अवस्था
नेपालमा हालसम्म अक्सफोर्ड एस्ट्राजेनिका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ। विश्व स्वास्थ्य संगठनबाट प्रयोगको लागि स्वीकृत भएका यी खोपमध्ये अक्सफोर्ड एस्ट्राजेनेका ८१ प्रतिशत, भेरोसेल ७८ प्रतिशत र जोन्सन एन्ड जोन्सन ८५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। यी सबै खोपको प्रभावकारिता हेर्दा समग्रमा ८५ प्रतिशतसम्म देखिन्छ। यसको मतलब बाँकी १५ देखि २० प्रतिशत व्यक्ति कोरोना संक्रमणको जोखिममै रहेका छन्।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका प्रमुख डा विवेकलाल कर्ण भन्छन्, ‘उनीहरू सधै नै संक्रमणको जोखिममा रहने भएकाले कोरोना खोपसँगै स्वास्थ्यका मापदण्ड पालना गर्ने कुरालाई पनि सँगसँगै लैजानुपर्छ।’
के हो र किन गरिन्छ सेरो प्रिभिलेन्स सर्भे?
डा कृष्ण प्रसाद पौडेल, प्रवक्ता स्वास्थ्य मन्त्रालय
हाम्रो देशमा कोभिड–१९ संक्रमण कुन तहमा पुग्यो भन्ने पत्ता लगाउन सेरो प्रिभिलेन्स सर्भे गरिएको हो। हामीकहाँ कति व्यक्ति संक्रमित भए भन्ने पनि यो सर्भेले देखाउँछ। त्यस्तै, कति व्यक्तिमा एन्टिबडी विकास भएको छ भन्ने पनि पत्ता लाग्छ।
पहिलो सर्भे अघिल्लो वर्षको कात्तिकमा गरेका थियौंँ। त्यो बेलामा नेपालमा कोरोना संक्रमण उच्च तहमा थियो। दोस्रो सर्भेका लागि गत चैत महिनादेखि तयारी गरिएको थियो। हामी सबैलाई थाहा छ, चैतको तेस्रो हप्तादेखि कोभिड संक्रमणदर बढ्दै गयो। वैशाखमा त निषेधाज्ञा नै गर्नुपर्ने अवस्था आयो।
दोेस्रो लहरमा विशेष गरी डेल्टा भेरियन्ट बढी फैलियो। पहिलो लहरमा भन्दा बढी संक्रमित भए। संक्रमित हुने क्रम पनि दुई गुणाले बढ्यो। अस्पतालमा अक्सिजनको अभाव भयो। कोभिड संक्रमणबाट हुने मृत्युदर पनि बढ्यो। त्यसकारण सर्भे चैतमा नै हुन सकेन। असारको अन्त्यमा सुरु गरेर साउनभरिमा सक्यौँ।
सर्भेका क्रममा देशका सातै प्रदेश, ७७ वटै जिल्लाबाट नमूना लिइएको छ। धेरै जनसंख्या भएको काठमाडौं उपत्यका, प्रदेशका सदरमुकाम भएका सहर र संक्रमण बढी भएको क्षेत्रबाट नमूना संकलन भयो। अन्य तीन कलस्टरहरू कम जोखिम, मध्यम जोखिम र बढी जोखिम भएका ठाउँबाट पनि नमूना लिइएको थियो।
किनभने, कतिपय जिल्लाबाट कम रिपोर्टिङ भएको थियो। उदाहरणका लागि हुम्ला, बाजुरा जिल्लाको कम रिपोर्टिङ छ। कम रिपोर्टिङ भएका जिल्लाबाट धेरै नमूना र धेरै संक्रमित भएको ठाउँमा थोरै नमूना संकलन गर्नुपर्ने रणनीति रहेछ। त्यस हिसाबले पनि प्रदेशगत रुपमा सुदूरपश्चिम प्रदेशको सबैभन्दा धेरै नमूना लिइएको थियो।
थोरै लिइएको प्रदेशको १५ सय र धेरै लिइएको सुदूरपश्चिमको २७ सय नमूना लिइएको छ। हामीले १३ हजार ७०० जनाको नमूना संकलन गरेका थियौं। त्यसमा ६ महिना उमेरदेखि माथिका सबै उमेर समूहबाट नमूना लिएका थियौँ। यो सर्भेमा देशभर ठूलो अन्तर देखिँदैन। विशेषगरी ४ वर्षमुनिका बालबालिकामा ५० प्रतिशत, ४ वर्षमाथि ५५ प्रतिशत, ७५ वर्षभन्दा माथिका उमेर समूहमा ७५ प्रतिशत हाराहारीमा एन्टिबडी विकास भएको देखिन्छ। ७५ वर्षमाथिका धेरैले पहिलो मात्रा कोभिड खोप लगाइसक्नु भएकोले पनि धेरै देखिएको हुनसक्छ। किसानमा ६६ प्रतिशत, विद्यार्थीमा ५९ प्रतिशत छ। अफिस स्टाफमा ८० प्रतिशत छ।
पेसागत रुपमा पनि स्वास्थ्यकर्मीमा कोभिड–१९ को एन्टिबडी अन्य पेसा तथा समूहभन्दा उच्च देखिन्छ। अन्य पेसाका व्यक्तिमा ७० को हाराहारीमा छ भने स्वास्थ्यकर्मीमा ८० प्रतिशतको हाराहारीमा देखिन्छ।
हिमाल, पहाड र तराईमा ठूलो फरक देखिँदैन। हिमालमा पनि ६० प्रतिशत मानिसमा एन्टिबडी छ। पहाडमा ६३ र तयारीमा ७३ प्रतिशत छ।
ठूला सहरमा धेरै परीक्षण भएको, कम जनसंख्या भएको ठाउँमा कम परीक्षण भएको पायाँै। तर, कम परीक्षण भए पनि संक्रमण बढी भएको देखिन्छ। शहरमा ६८ र गाउँमा ६६ प्रतिशत मानिसमा एन्टिबडी देखिन्छ।
पहिलो सेरो प्रिभिलेन्स सर्भेमा सहभागी देशभरको औसत १४ प्रतिशत थियो। त्यतिखेर प्रदेश २ मा २७ प्रतिशत थियो। यो पटक प्रदेश २ मा ८४ प्रतिशत छ। सबैभन्दा कम गण्डकी प्रदेशमा ६० प्रतिशत देखिएको छ। प्रदेश १ मा ६३ प्रतिशत, बागमती प्रदेशमा ६८, लुम्बिनीमा ७३, कर्णालीको ६३ र सुदूरपश्चिमको ६४ प्रतिशतमा एन्टिबडी देखिएको छ।
काठमाडौं उपत्यकामा ६० देखि ६४ प्रतिशतको हाराहारीमा छ। काठमाडौं जिल्लाभरी ६४ र शहरमा ६० प्रतिशतमा एन्टिबडी बनिसकेको छ। यसको विस्तृत रिपोर्ट आउन केही समय लाग्छ। जसमा कति व्यक्तिले एकपटक कोरोना परीक्षण गरेका थिए, कतिले खोप लगाएका थिए लगायतको तथ्यांकहरू समावेश हुन्छ।
यसले के देखाउँछ भने अझै पनि हाम्रो परीक्षण पुगेको छैन। लक्षणविहीन, सामान्य लक्षण भएका परीक्षणबाहिर रहेका धेरै संक्रमित भइरहेको सेरो प्रिभिलेन्सको तथ्यांकले देखाउँछ। खोप र परीक्षण अभियान बढाउँदै सँगसँगै लैजानुपर्ने हुन्छ।
हामीले अब तथ्यांकले देखाएअनुसार गाउँगाउँमा, जहाँ मानिसको भीडभाड बढी हुन्छ त्यस्तो ठाउँमा परीक्षण बढाउनुपर्छ। जोखिम क्षेत्रमा परीक्षण बढाउने रणनीति लिनुपर्ने हुन्छ। अहिले हामीले गरेको परीक्षणले २५ जना व्यक्ति संक्रमित छन् भने हामीले १ जना मात्र भेटेका छौँ। यो सेरो प्रिभिलेन्सको तथ्यांकले त्यही देखाउँछ। यसको अर्थ हामी करिब ५ प्रतिशत संक्रमित मात्र ‘क्याच’ गर्न सकेको रिपोर्टले देखाएको छ।
महत्त्वपूर्ण कुरा के हो भने, एन्टिबडी छ भनेर हामी ढुक्क हुने अवस्था छैन। तर, यो एन्टिबडीले हामीलाई कति समय सुरक्षित राख्छ भन्ने स्पष्ट छैन। अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिर्वतन गरिरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय हो, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाइमा ध्यान दिन जरुरी छ। खोपले संक्रमितलाई गम्भीर हुनबाट बचाएपछि हाम्रो व्यवहारमा परिवर्तन हुन जरुरी छ।
कोरोना नियन्त्रणमा खोप वरदान सावित भएको छ
डा समीरकुमार अधिकारी, सहप्रवक्ता स्वास्थ्य मन्त्रालय
कोभिड १९ संक्रमण रोकथाममा खोप निकै प्रभावकारी देखिएको छ। हामीले हेर्यौँ भने पहिलो लहरमा विश्वव्यापी रुपमै कसैले खोप लगाइसकेको अवस्था थिएन। त्यो समयमा मास्क, सामाजिक दूरी र हातको सरसफाइ नै बच्ने उपाय थियो। त्यसैले त्यतिखेर धेरै व्यक्तिहरू संक्रमित हुनुभयो। त्यसमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरू सबैभन्दा बढी संक्रमित हुनुभएको थियो। मृत्यु पनि तुलनात्मक रुपमा धेरै भएको थियो। जोखिमपूर्ण अवस्थामा अस्पताल भर्ना हुने संख्या पनि स्वास्थ्यकर्मीको धेरै थियो।
तर, दोस्रो लहर आइपुग्दा नेपालमा स्वास्थ्यकर्मीलाई पूर्ण मात्रा खोप लगाउन सकिएको थियो। त्यसैगरी, घरभन्दा बाहिर निस्कनुपर्ने धेरै मानिसहरूसँग भेटघाट गर्नुपर्ने सञ्चारकर्मीलगायत अग्रपंतिमा काम गर्ने मानिसहरूलाई खोप लगाउन सकिएको थियो। त्यसको नतिजा दोस्रो लहरमा के देखियो भने घर परिवारका सबै संक्रमित हुँदा, कति व्यक्तिहरू अस्पतालमा भर्ना हुँदा स्वास्थ्यकर्मीमा संक्रमण समेत नदेखिएको अवस्था पनि थियो। कहीँकतै संक्रमण देखिएपनि स्वास्थ्यमा ठूलो जटिलता भएको देखिएन।
त्यसैले कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिता धेरै छ। पछिल्लो समय दोस्रो लहरपछि बीचमा सम्भावित तेस्रो लहरको कुराहरूलाई लिएर हामी धेरै चिन्तित थियौँ। हामीले विश्लेषण गरेको आधारमा तेस्रो लहर आउन सक्ने सम्भावना उच्च नै थियो। नेपालमा दैनिक रुपमा पुष्टि भएका संक्रमणको ग्राफ हेर्दा पनि पहिलो लहर, दोस्रो लहर र तेस्रो लहर पनि अलिकति चुच्चो जस्तो देखिएको अवस्था छ।
दोस्रो लहर र सम्भावित तेस्रो लहरको कुरा गरिरहेको बीचको समयमा धेरैभन्दा धेरै मानिसहरूले खोप लगाउनुभएको छ। जसको नतिजा स्वरुप अहिले दैनिक रुपमा संक्रमित पुष्टि हुनेको संख्या कम भएको छ। अस्पताल भर्ना हुने संख्या कम भएको छ। मृत्यु हुने संख्या पनि अझ कम भएको छ।
यो सबै तथ्यांक हेर्दाखेरि र जसरी दोस्रो लहरपछि बन्दाबन्दी खुकुलो हुँदै जाँदा, सार्वजनिक रुपमा भीडभाड बढ्दै जाँदा, जनस्वास्थ्यको उल्लघंन धेरै भइरहेपनि बाक्लो सहरमा संक्रमण अझै पनि छ। तर, हाम्रो समुदायमा फैलिएको डेल्टा भेरियन्ट घरपरिवारका सबै सदस्यलाई प्रभावित गर्न सक्ने खालको संक्रामक भेरियन्ट हो।
अहिलेसम्मको अवस्था र संक्रमणको दरलाई हेर्दा खोपको प्रभावकारिता र खोपको देनमा कुनै सन्देह गर्ने कुरा भएन। बरदान सावित भएको छ खोप हामीलाई। खोप नआएको भए अहिले नै संक्रमण नियन्त्रण गर्न हामीलाई गाह्रो हुने थियो।
बीचमा खोप आपूर्तिमा ठूलै समस्या देखिएपनि पछिल्लो समय सहज रुपमा ठूलो मात्रामा खोप आइरहेको छ। हाम्रो अपेक्षित हिसाबले प्रगति भइरहेको देखिन्छ। हामीले सरसर्ती हेर्यौं भने चैत सम्ममा सबैलाई खोप लगाउने रणनीतिका साथ काम भइरहेको छ।
अबको जोखिम भनेको कोभिड खोप लगाउन बाँकी वर्गहरू नै हुन्। अझैपनि हामीले लक्षित गरेको उमेर, पेशागत उमेर समूहमध्ये कतिपय खोप नलगाउने निर्णयमा हुनुहुन्छ। त्यस्ता व्यक्तिहरूलाई कसरी खोप लगाउने, खोप नलगाउँदा उहाँहरूमा पर्न सक्ने जोखिम अर्को ठूलो चुनौती हो।
अर्को भनेको भारतसँगको खुला सिमाना पनि हो। दुई देशमा सहज आवातजावतका कारण जहाँ संक्रमण देखिएपनि फैलने खतरा रहन्छ। त्यसकारण यसतर्फ पनि समयमा नै उचित कदम चाल्नु पर्ने देखिन्छ।
नयाँ भेरियन्ट अर्को जोखिम हो। अहिले त हामीकहाँ नयाँ भेरियन्ट देखिएको छैन। भारतमा देखियो भने हामीकहाँ आएर फेरि गाह्रो पार्न सक्छ। अहिले डेल्टा र डेल्टा प्लसले नै धेरै दुःख दिएको हो।