काठमाडौं- स्वास्थ्य सेवाका कर्मचारीहरूले स्तरवृद्धिका लागि स्वास्थ्य सेवा विभागमा बुझाएका फाइल नै हराएको खुलासा भएको छ। फाइल हराएकै कारण लामो समयदेखि विभाग मातहतका निकायमा कार्यरत कर्मचारीको स्तरवृद्धिसमेत हुन सकेको छैन।
विभागका करिब ४ सय कर्मचारीको फाइल हराएको विभागको उच्च स्रोतले बताएको छ।
'कर्मचारीले विभागमा बुझाएकामध्ये करिब ४ सयको फाइल भेटिएको छैन,' विभाग स्रोतले भन्यो, 'यसैकारण कर्मचारीको स्तरवृद्धि पनि रोकिएको छ। फाइल नभेटिएको अवस्थामा के गर्ने भनेर विभाग अन्यौलमा छ।'
विभागले आर्थिक वर्ष २०७५/७६ मा सबै प्रक्रिया पुर्याई स्तरवृद्धिका लागि निवेदनसहित फाइल बुझाएका कर्मचारीको फाइल हराएको स्रोतको भनाइ छ।
विभागले ४ देखि ७औं तहसम्मका सबै समूहका स्वास्थ्यकर्मीको स्तरवृद्धि गर्ने व्यवस्था छ।
नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपकराज भट्ट कर्मचारीले बुझाएको फाइल हराएकै कारण स्तरवृद्धिको काम रोकिएको बताउँछन्।
‘स्तरवृद्धिको फाइल बुझाउनकै लागि दुर्गममा कार्यरत कर्मचारीहरू हप्तौं लगाएर काठमाडौं आउनुपर्ने बाध्यता छ। उनीहरुको फाइल हराउनु भनेको दुर्भाग्यपूर्ण हो,' महासचिव भट्टले भने, 'फाइल हराउनु भनेको विभागको गैरजिम्मेवारपन हो।'
स्वास्थ्यकर्मीको मनोबल बढाउन आफैँ फाइल खोजेर भएपनि स्तरवृद्धि गर्नुपर्ने ठाउँमा बुझाएको फाइल हराएको विषयलाई ढाकछोप गर्ने र स्तरवृद्धिको कामलाई थाती राख्ने काम विभागबाट भएको भन्दै उनले आक्रोश व्यक्त गरे। उनले दर्ता अभिलेखमा स्तरवृद्धि हुने कर्मचारीको फाइल दर्ता भएको देखिए तापनि प्रशासनिक त्रुटिले गर्दा फाइल हराएको आरोप लगाए। स्तरवृद्धि नहुँदा कर्मचारीमा परेको मनोवैज्ञानिक असरको जिम्मेवारी कसले लिने भन्दै उनले प्रतिप्रश्न गरे।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले भने स्वास्थ्यकर्मीको स्तरवृद्धि प्रक्रियामा नै रहेको दाबी गरे। उनले छिट्टै समस्या समाधान हुने भने पनि के कारणले रोकिएको भन्ने खुलाउन चाहेनन्।
‘कोभिड वा अन्य कारणले रोकिएको होइन। प्रक्रियामा नै छ। यो विषय छिट्टै समाधान हुन्छ,’ महानिर्देशक डा सिंहको दाबी थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न बहानामा स्तरवृद्धि रोकेको भन्दै स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। स्वास्थ्य मन्त्रालयले गत असारमा केही स्वास्थ्य कर्मचारीको स्तरवृद्धि गरेपनि अझै बाँकी कर्मचारीको स्तरवृद्धि नगर्दा उनीहरु निराश बनेका हुन्।
स्तरवृद्धिका लागि पटकपटक स्वास्थ्य सेवा विभागमा सम्पर्क गर्दा पनि 'कहिले कर्मचारी छैनन्, कहिले कोरोनाको समयमा के को स्तरवृद्धि?' भन्ने खालका प्रतिक्रिया पाएको स्वास्थ्यकर्मीको गुनासो छ।
एक स्वास्थ्यकर्मीले स्वास्थ्यखबरसँग भने, ‘कोरोना त्रासमा पनि हामी स्वास्थ्यकर्मी दुर्गम ठाउँ खटेर काम गरिरहेका छौँ। आफ्नो ज्यानको माया नमानी जनताको सेवा गरिरहेका छौँ। तर मन्त्रालयले हाम्रो मनोबल बढाउनुको साटो रुखो व्यवहार गरिरहेको छ।’
स्तरवृद्धिको पखाईमा बसेका सुदुरपश्चिम प्रदेशमा कार्यरत एक कर्मचारीले भने, ‘कार्यरत संस्थाले सबै काजजात नपठाउँदा पनि रोकिएको छ। तर केके पुगेन भनेर वेव साइटमा सुचना राखिदिए सबै स्वास्थ्यकर्मीले सबै कागजात पठाउथे। यस्तो समयमा नेपाल प्रहरीको स्तर वृद्धि भयो तर हाम्रो भने किन भएन भनेर सोध्न पनि रोक लगाइएको छ।’
स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवा ऐनमा रहेर रहेक वर्ष कर्मचारीको स्तरवृद्धि गर्ने प्रावधान छ। स्वास्थ्य सेवा विभागका उपसचिव इन्द्र गौतमको गत महिनामा श्रम मन्त्रालयमा सरुवा भएपछि विभागमा उपसचिवको पद रिक्त छ। सोही बहाना बनाएर विभागले स्तरवृद्धिको विषयलाई पन्छाएको स्वास्थ्यकर्मीको आरोप छ।
मन्त्रालयले संघीयतामा देश गएपछि कर्मचारी समायोजन गर्ने भन्दै कर्मचारीको स्तरवृद्धि रोकेको थियो। दुई वर्षपछि गत असारमा आधा कर्मचारीको मात्र स्तरवृद्धि भएको भयो।
कर्मचारीहरूले गुनासो व्यवस्थापन इकाइमा १५ दिनभित्र सबै कागजातसहित निवेदन दर्ता गर्न विभागले निकालेको सूचनाप्रति पनि चित्त दुखाएका छन्।
‘विपतका समयमा फाइल खोजेर राजधानी जानु कि महामारी नियन्त्रणमा खटिनु? विभागले यस्तो अप्ठ्यारो पारेर तनाव दिने काम गरेको छ,’ एक स्वास्थ्यकर्मीले टेलिफोनमा भने।
स्तरवृद्धि गर्दा अनिवार्य दुर्गममा खटिएको हुनुपर्ने स्वास्थ्य सेवा ऐनमा व्यवस्था छ। तर, मन्त्रालयले यसमा पनि विभेद गरेको छ। सातदेखि आठौं तहमा स्तरवृद्धि हुँदा दुर्गममा सेवा नगरेको भएपनि महान्यायाधिवक्ताको कार्यालयबाट सिफारिस लिई स्तरवृद्धि गरिएको छ। तर सोही कुरा, ४ देखि ५, ५ देखि ६ र ६ देखि ७ औँ तहमा भने लागू नगरी विभेद गरिएको उनीहरुले गुनासो गरेका छन्।