काठमाडौं- सरकारले कोभिड-१९को लागि मात्र ध्यान दिँदा अन्य रोग तथा समस्याको स्वास्थ्य परीक्षण गर्ने रिएजेन्ट (केमिकल तथा प्रयोगशाला परीक्षणका महत्वपूर्ण सामग्री) अभाव हुन थालेको छ।
धेरै रोग तथा समस्या पत्ता लगाउन प्रयोगशालामा गरिने परीक्षणका लागि आवश्यक रिएजेन्ट अभाव हुन थालेको र सरकारले ध्यान नदिएको भन्दै प्रयोगशाला सञ्चालकहरुले चिन्ता व्यक्त गरेका छन्।
सम्यक डाग्नोस्टिक सेन्टरका सञ्चालक तथा क्लिनिकल प्याथोलोजिष्ट डा केयुर गौतम अन्य रोगको परीक्षणका लागि आवश्यक रिएजेन्ट अभाव हुँदा समस्या भएको बताउँछन्।
उनले नियमित अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र चाटर्ड विमान समेत नियमित नहुँदा आवश्यक रिएजेन्ट नआएकाले समस्या भएको बताए।
उनले भने, ‘अहिले हामीलाई अन्य रोग तथा समस्याको परीक्षणका लागि रिएजेन्ट नहुँदा समस्या भएको छ। हामीसँग भएको मौज्जाद रिएजेन्ट पनि सकिएको छ। सरकारले यस विषयमा ध्यान नदिने हो भने कोभिडसँगै अन्य स्वास्थ्य समस्याले चुनौति दिनेछ।’
उनले रिएजेन्ट अभाव हुन थालेपछि विभिन्न परीक्षण गर्नका लागि सञ्चालन गरिरहेको प्याकेजहरु बन्द गर्नुपरेको बताए।
‘हेल्थ प्याकेजमा मानिसहरु आफुखुसी परीक्षण गनर्् आउनुहुने भएकाले अहिलेलाई बन्द गरेका छौँ किनभने पछि बिरामीकै लागि रिएजेन्ट थप अभाव नहोस। आवश्यक पर्नेको मात्र परीक्षण गरिरहेका छौँ।’
उनले कोभिड बिरामी भई अस्पताल भर्ना भएपछि गरिने डि डाइमर लगायतका अन्य टेष्टकै रिएजेन्ट पनि अभाव रहेको बताए। यस्तै कलेजो सम्बन्धी गरिने विभिन्न परीक्षणका रिएजेन्ट पनि अभाव रहेको उनले जानकारी दिए।
नेशनल रिफ्रेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक किशोर खनालले अन्य समस्याका परीक्षण गर्ने धेरैजसो रिएजेन्ट अभाव भएको बताए।
उनले भने,‘सबै रिएजेन्ट सकिएको छ। अभाव हुन थालेको धेरै समय भयो। सप्लायर्सले छैन भन्छन्। भएको रिएजेन्ट पनि २०, २५ प्रतिशत बढी मूल्य तिरेर ल्याउनुपरेको अवस्था छ। यही अवस्था रहीरहे अन्य परीक्षण रोकिने अवस्था आउन सक्छ।’
उनले सरकारले कोभिडबाहेक अन्य स्वास्थ्य समस्यालाई बेवास्ता गरेकोले यस्तो समस्या आएको बताए। उनले अन्य समस्या पनि उत्तिकै महत्वपूर्ण भएकाले यतातिर पनि ध्यान दिन आग्रह गरे।
उनले हेपाटाइटिस बी को भाइरल लोड गर्ने रिएजेन्ट नहुँदा समस्या भएको बताए। उनले सामान्य परीक्षण् देखि जटिल खालका स्वास्थ्य परीक्षण गर्ने रिएजेन्ट अभाव रहेको बताए।
सनराइज सर्जिकलका सिताराम कार्की उडान नियमित नहुँदा ३, ४ महिनादेखि रिएजेन्ट लगायतका सामान ल्याउन नसकेको बताउँछन्।
उनले भने, ‘अहिले उडान नियमित छैन। रिएजेन्टका लागि कोल्ड चेन व्यवस्थापन गर्नुपर्ने हुन्छ। सामान मगाएर यहाँ सम्म आइपुग्न समय लाग्यो भने समस्या हुन्छ। फेरी ठूला विमान चार्टड गरेर ल्याउन पनि निकै महङगो भइरहेको छ। त्यसैले पनि सामान आउन सकेको छैन।’
उनले रिएजेन्ट ल्याउनका लागि प्रयास भइरहेको बताउँदै सरकारले सहजीकरण नगरेकाले पनि समयमा सामग्री ल्याउन कठिनाई भइरहेको दुखेसो गरे।
प्रयोगशालाहरुले जुन कम्पनीको मेसिन चलाइरहेका छन्, अधिकांश रिएजेन्ट पनि सोही कम्पनीकै आवश्यक पर्ने हुनाले अहिले बजारमा भएका सबै रिएजेन्ट सबै प्रयोगशालाका लागि उपयुक्त छैनन्। जसका कारण कोभिडबाहेक अन्य बिरामीलाई परीक्षण गरेर उपचार गर्न समस्या हुन थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा रोशन पोखरेलले नियमित उडान नभएकाले रिएजेन्टको अभाव नभएको तर केही मंहगो भएको बताए।
उनले भने, ‘रियजेन्ट पहिले जस्तो सजिलै त पाइएको छैन। तर अभाव नै भने भइसकेको छैन। महंगो भने छ पहिलेको भन्दा। धेरैजसो भारतबाट रिएजेन्ट, सिटी स्क्यान प्लेट लगायतका अन्य सामान पनि आउने भएकाले अहिले आइरहेको छ। पहिलेको भन्दा कठिन स्थिति पक्कै छ।’